‘तिम्लाई देख्दा डर लाग्छ कसम!’ उसले आँखा बटार्दै भनि।
मैले खिस्स हाँस्दै सोधें, ‘म बाघ हुँ?’
ऊ झन् रिसाई। क्यामरातिर आँखा तर्दै भनि, ‘म विवाहित हुँ, अर्कैकी श्रीमती। तिमी मलाई लाइन हान्दैछौ।’
यो पटक म खित्का छाडेर हाँसें अनि भनेँ, ‘म पनि त विवाहित हुँ यार! कस्ले भन्यो र तिमी अविवाहित हौ भनेर!’
उसले लामो सुस्केरा हाली। ढोकातिर इशारा गर्दै भनि, ‘छोराछोरी आए, पछि बोल्छु।’
मैले बाई पनि भन्न नपाउँदै हाम्रो भिडिओ कल काटियो।
भिडिओ कल कटेपछि दिमागमा ऊमात्र नाचिरही। ऊ के गर्दैछे, थाहा छैन तर म उसलाई मिस गर्दैछु यतिबेला।
सुरूआती दिन एकदम रमाइला थिए हाम्रा। टिकटकमा ऊ भेटिई। ऊ मेरा लागि हिरोइनजस्तै राम्री।
फलो बटन थिचेर उसको पिछा सुरू गरेको थिएँ मैले। उसले फलो ब्याकको बटन थिचेकै दिनबाट हजारौं म्यासेज उसको टिकटकमै पठाएँ मैले।
उसका भिडिओमा कमेन्ट लेख्ने काम त मेरा दैनिकी जस्तै थिए। उठ्यो, टिकटकमा सर्च गर्यो अनि उसका भिडिओमा लेख्यो ‘वाउ, राम्रो अभिनय, आहा!’
यतिले मात्र मन भरिँदैनथ्यो मेरो। कमेन्टको अन्तिममा लभ रियाक्ट वाला इमोजी घुसाउँथें। ताकी उसलाई लागोस् ‘केटो फिदा छ!’
उसको रिप्लाई कमेन्टमा मात्र आउथ्यो, म निराश हुन्थेँ। म्यासेज उसले पढेकी छैने, या इग्नोर गर्दैछे? मलाई रिस उठ्थ्यो।
‘थ्याक्ङ्स सर!’ उसले टिकटक भिडिओको कमेन्टमा दिने रिप्लाई सधैं एउटै हुन्थ्यो। मैले गरेका कमेन्ट पनि फरक चाहिँ हुँदैन थिए।
म म्यासेजको पर्खाइमा भएको कुरा उसलाई महिनौसम्म थाहा भएन। तर एकदिन बिहान उठ्दा टिकटकमा एउटा म्यासेज भएको नोटिफिकेसन मोबाइलमा देखियो।
अरू बेला पनि त्यस्ता म्यासेज आउथे, तर कसैले भिडिओ पठाएका हुन्थे लाइकको आशामा त कसैले हेल्लो भनेका हुन्थे। ती हेल्लो मेरा सरोकारका हेल्लो थिएनन्। म इग्नोर गर्दिन्थें।
तर त्यो दिनको म्यासेज नोटिफिकेसनले मलाई बिस्तारामै फ्रेस बनाइदियो। म्यासेजमा क्लिक गरेर हेरें, आहा। मन खुसीले दिनको सुरूआत शुभ बनाइदियो।
उसले माफी माग्दै लेखेकी थिई, ‘मैले त हजुरको म्यासेज हेरेकै थिइनँ, सरी ल!’
उसले म्यासेजको रिप्लाई दिएपछि सुरू भएको थियो हाम्रो मित्रता। मित्रता अलि गाढा थियो, सायद भलादमी प्रेम थियो हाम्रो। उत्ताउलो प्रेम होइन।
टिकटकबाट सुरू भएको थियो हाम्रो मित्रता अनि बिस्तारै फेसबुकसम्म आएका थियौं हामी।
अनि आजसम्म टिकिराको छ हाम्रो मित्रता। तर आजभोलि ऊ डराउँछे हाम्रो मित्रतासँग। भन्छे ‘यो मित्रता मात्र हैन, प्रेम हो।’
उसले ‘केटाकेटी आए’ भनेर फोन काटेलगत्तै म्यासेज गरी ‘साँच्चै म डराउँछु के, तिमीसँग।’
मैले म्यासेजमा पनि सोधे ‘किन यार ? भन्देऊ न प्लिज!’
उसले म्यासेज लेख्न थालेको पन्ध्र मिनेटपछि एउटा लामै म्यासेज आयो, म्यासेजको सार थियो ‘विवाहपछि प्रेम गर्नु या पराईसँग बोल्नु, मित्रता बढाउनु घातक हुन्छ।’
उसको म्यासेज पढेर मलाई हाँसो लाग्यो। मैले म्यासेजको रिप्लाइमा लेखें ‘फ्री हुँदा कल गर ल।’
‘अब नबोलौं, हुन्न?’ उसले डराएको भाव म्यासेजमा पोखी।
मैले हाँसेको इमोजी पठाउँदै लेखेँ- फ्री हुँदा कल गर, फोनमै सम्झाउँछु।
ऊ म्यासेन्जरबाट पनि हराई। म्यासेन्जरमा हरियो बत्ती बालेर घन्टौं बस्ने ऊ आज दिनभर हराई।
टिकटकमा पनि उसका नयाँ भिडिओ आएनन्। मलाई छटपटीले सतायो।
सिधै फोन नम्बरमा कल गर्ने अधिकार उसले दिएकी छैन, म्यासेन्जरमा ऊ अफ छे। एकै पटक दस घन्टापछि ऊ फेरि हरियो बत्ती बाल्दै म्यासेन्जरमा झुल्किई।
मैले हतारिँदै लेखेँ- ‘कता हराएकी दिनभर?’
उसले म्यासेजको जवाफ नदिई सिधै भिडिओ कल गरी।
मैले उठाएँ।
उसले भनि- ‘मेरो घर त बिगार्दैनौ नि तिम्ले है?’
मलाई हल्का रिस उठ्यो। रिसाउँदै भनेँ- ‘उता छाडेर आऊ , भगाउँछु भनेको छु मैले?’
ऊ चुप थिई। मैले पुनः भनेँ- ‘मैले तिम्लाई प्रेम गर्नै नहुने हो? मसँग आऊ भनेको छु? तिम्लाई हात–पात गरेको छु? कि शारीरिक सम्पर्कको लागि उक्साएको छु?’
ऊ झन् रिसाई।
बीचमा मलाई रोक्दै भनि- ‘चुप! अनि यो कस्तो खालको प्रेम हो, कस्तो मित्रता हो हाम्रो ? कुन प्रेम गर्छौ मलाई?’
मैले भनेँ- ‘एउटा साथीको प्रेम, शुभचिन्तकले गर्ने प्रेम। म तिम्रो घर बिगार्नको निम्ति तिम्रो जीवनमा प्रवेश गरेको हैन, बुझ्यौ?’
ऊ मान्न तयार छैन।
मैले उसलाई गर्ने प्रेमले उसको परिवारमा असर गर्ने दावा गर्दै उसले भनि- भोलि मेरा घरकाले थाहा पाए भने के गर्छौ, मलाई स्वीकार्छौ? साथ दिन्छौ मलाई?
मलाई उसको कुराले हाँसो उठ्यो। उसलाई सम्झाउँदै भनेँ- ‘म तिमीलाई बिग्रन दिन्नँ, अब त खुसी हुन थाल प्लिज।’
उसले फेरि हतारिएको स्वरमा भनि- ‘उहाँ आउनु भो। म्यासेज गर्छु , बाई!’
भिडिओ कल कट्यो, म्यासेज आउन थाल्यो।
‘तिमी भन न यार! मलाई कस्तो खालको प्रेम गर्छौ? आजभोलि तिम्रो प्रेममा पनि डराउन थालेको छु’, उसले म्यासेज लेखि।
मैले म्यासेजमा लभको रियाक्ट ठोक्दिएँ अनि लेखेँ, ‘तिम्लाई म एकदम माया गर्छु। एउटा मित्रताको माया। उता छाडेर यता आऊ भन्दिनँ। यसको अर्थ म तिम्रो जीवन साथी बन्न सक्दिनँ भन्ने कुरा बुझ।’
मेरो म्यासेजमा उसले रिसाएको इमोजी रियाक्ट गरि। अनि लेखि, ‘अनि के बन्छौ त, घर बिगार्ने दुश्मन?’
‘गोप्य पति!’ मैले हाँस्दै लेख्दिएँ। किनकि मलाई पनि रिस उठ्यो यतिबेला।
‘नकराऊ! नहँसाऊ न यार प्लिज, मलाई त हाम्रो मित्रता नै गलतजस्तो लाग्दैछ।’ उसले सिरियस कुरा निकाली।
‘म तिम्रो जीवनभरको साथी हुँ, तर जीवन साथी होइन।’ उसलाई खुसी पार्न थालेँ।
फेरि लेखेँ- ‘तिम्रा हरेक सुख दु:खमा तिम्रो नजिकको मान्छे बन्ने रहर छ तर यो जुनिका निम्ति तिम्रो र मेरो जीवन साथी अलग–अलग छन्, अर्को जुनि हेरौंला हुन्न?’
ऊ म्यासेज हेरेर हराई। सायद घरको काममा व्यस्त भई होला।
ऊ उता बिजी भएपछि म यता यो ब्लग लेख्न थालेँ।
के साँच्चै एउटा विवाहितलाई प्रेम गर्ने, मित्रता गाँस्ने अधिकार छैन त ? प्रेमभन्दा पनि पराईसँग बोल्ने अधिकार नै छैन त?
मैले उसलाई गर्ने प्रेम र हाम्रो मित्रता स्वच्छ छ तर समाजको निम्ति त मेरो प्रेम र मित्रता नै पाप हो। उसले नै भनेकी हो ‘मेरो घर बिगार्ने छौ!’ भनेर।
म ऊसँग बोल्नै नहुने कि ऊ मसँग? गल्ती कस्को हो?
मैले उसलाई प्रेम गर्छु, ऊसँग मेरो गाढा मित्रता छ। यसको मतलब ऊबिना बाँच्नै सक्दिनँ पनि त होइन।
उसलाई राम्रो मान्छु। यसको मतलब उसलाई मेरो परिवारको सदस्य बनाउनु नै पर्छ भन्ने पनि त होइन।
हामी राम्रो साथी बन्न सक्दैनौ? के विवाहित महिला र विवाहित पुरूष एउटा राम्रो साथी बन्न सक्दैनन्?
साथी बन्न सक्छन् तर प्रेम गर्न सक्दैनन् भन्नुहुन्छ होला है ?
मैले उसलाई गर्ने प्रेम नकारात्मक नै छ भन्ने के प्रमाण?
एउटा पुरूषले नारीलाई गर्ने प्रेम समाजले सदैव नकारात्मक दृष्टिले हेरेकै कारण मेरो प्रेम नकारात्मक नै देखिन्छ। यही हो प्रमाण र यसकै कारण ऊ डराइरहन्छे, जीवनभर।