नदी किनारमा बसेको एउटा सानो गाउँ। जसको नाम बढो चाखलाग्दो छ- घुइयाँघाट्।
८० को दशकतिर त्यहाँ हाम्रो सानो खेत थियो। मेरा बाजे-बजै त्यही बस्नुहुन्थ्यो। हामी परिवारका अन्य सदस्य धनगढीमा बस्थ्यौं।
कुरा बाजेबाट सुरू गरौं। साधारण शारीरिक बनावट, औसत नेपाली उचाइ, चौडा अनुहार्, एक प्रकारको कान्ती थियो उहाँको मुहारमा। झट्ट हेर्दा लाल बहादुर शास्त्रीझैं लाग्थ्यो। शास्त्रीजीको नाम पनि मैले पहिलो पटक उहाँकै मुखबाट सुनेको हुँ।
धनगढी बजारबाट घुइयाँघाट पुग्न करिब डेढ घन्टा पैदल हिड्नुपर्थ्यो। साइकलमा जाने हो भने आधा घण्टामा पुगिन्थ्यो। बिचमा ठूलो जंगल थियो। त्यसअघि बहुसंख्यक थारू समुदाय रहेको रमाइलो गाउँ थियो। अहिले गाउँ कम, शहर बढी लाग्छ।
गर्मी महिना थियो। म बजैलाई भेट्न दिदी, बहिनी र काकाहरूसँग घुइयाँघाट जादै थिएँ। एउटा आँपको रूख भएको घर नजिक पुग्दा प्यास लाग्यो। पसिनाले निथ्रुक्क थियौं। त्यो घरमा इनार देखेपछि नजिकै रहेकी एक वृद्धालाई हामीले भन्यौ, ‘पानी देइबा माँ जी’।
वृद्धा भए पनि फूर्तिली ती आमाले स्नेहपूर्वक हामीलाई इनारबाट पानी तानेर दिइन्।
त्यो पानीको स्वाद यति मिठो थियो कि, अहिलेसम्म भूल्न सकेको छैन।
स्कुल बिदा भएपछि प्रायःशुक्रबार परिवारका केही सदस्यहरू घुइयाँघाट जाने गर्थ्यौं। बाजेबजैलाई भेट्न र हाम्रा केही बाल रहर पुरा गर्न हामी त्यहाँ पुग्थ्यौं।
मलाई लोकल कुखुराको मासु खाने लोभ हुन्थ्यो भने अरूलाई दूध-दही र नदीमा खेल्न। दिदी बहिनी दही-मोही भनेपछि हुरूक्कै हुन्थ्ये।
बाजेको बोल्ने शैली रोचक थियो। उहाँसँग कथा सुनाएर मन्त्रमुग्ध पार्ने खुवी थियो।
बाजेको एउटा अनौठो बानी थियो। उहाँ केही कुरा लेख्दा डट्पेनको खोल फालेर रिफिलले मात्र लेख्नुहुन्थ्यो।
एक दिन मैले सोधेको पनि थिएँ- तपाईं डट्पेनको खोल फालेर (सरा) रिफिलले किन लेख्नुहुन्छ? उहाँले भन्नु भयो- लेख्ने सराले हो, खोलको के काम?
उहाँले किन रिफिलले मात्र लेख्नुभयो भनेर मैले आजसम्म बुझ्न सकेको छैन।
महात्मा गान्धीको हत्या हुँदा म दिल्लीमा थिएँ। संयोगले म पनि उहाँको अन्त्येष्टीमा सहभागी हुने मौका पाएँ।
‘जब गान्धीलाई अग्नी दिईयो, धुँवाले गान्धीको शरीर आकारको रूप लियो। यो अदभूत दृश्य थियो। अलौकिक थियो’, मलाई मेरो बाजेले भन्नु भयो।’
मलाई गान्धी र भारतीय स्वन्तन्त्रतासँग बाजेले नै परिचित गराउनु भएको हो।
राणाकालिन समयमा सेनामा कार्यरत उहाँले विगतबारे मलाई सबै जानकारी गराउनु भएको थियो। ‘म गेटमा बिगुल बोकेर बसेको थिएँ भिम दत्त पन्त नारा लगाउँदै सिलगढी आइपुगे। म पनि जय-जय भन्दै भिम दत्तको सेना पछाडि लागेँ। भिम दत्तको सेनाले खाना बनाएर सबै जातका मानिसलाई सँगै बसेर खान लगाए। मलाई त्यही दिन लागेको थियो- जातिवादको अन्त्य एउटा ब्राम्हणले मात्र गर्न सक्छ,’ उहाँले विगत सम्झदै भन्नुभयो, ‘त्यसपछि भागेर भारत गएँ। ९ वर्ष दिल्ली-टनकपुर गर्दैमा बित्यो। नेहरू प्रधानमन्त्री थिए, भारतमा सर्वसाधारणको नेपाली राजाप्रति ठूलो सम्मान थियो। त्यो देखेर मेरो मन गदगद हुन्थ्यो।’
उहाँले अगाडि भन्दै जानुभयो- नेहरूको अवसानपछि शास्त्री आए। लालबहादुर शास्त्रीको जीवन बहुत सरल थियो। शास्त्रीजी पछि ईन्दिरा गान्धी भारतको प्रधानमन्त्री बनिन्। ईन्दिरा गान्धी नेहरू कै छोरी थिइन्।
एउटा दुई कक्षा पढेको निम्न वर्गको मान्छेबाट इतिहासको ज्ञान त्यो रोचक रु मौलिक शैलीमा ज्ञान सुन्न पाउँदा इतिहासको हिस्सा भएको महसुस हुन्थ्यो।
पछि इतिहास शिक्षकले पढाउँदा पट्यार लाग्थ्यो। बाजेको विशिष्टता के थियो भने उहाँ अहिंशाका पूजारी गान्धी, क्रान्तिकारी भिम दत्त पन्त, नेपालका राजा कथित हिन्दू सम्राटबाट प्रभावित हुनुहुन्थ्यो। उहाँले यीनलाई मान्नुको खास कारण कहिल्यै खुलाउनुभएन।
उहाँ भन्नुहुन्थ्यो- मान्छेलाई सही र गलतको तराजुमा जोखेर हेर्नुभन्दा उनीहरूको असल कर्मको अनुशरण गर्नुपर्छ र गलत कर्मबाट सिक्नुपर्छ। मेरो विचार मात्र सही र तिम्रो गलत भन्ने सोच बनाउँदा त्यसले घर, समाज र देशको चिन्तन साँघुरो हुन्छ, दरिद्र हुन्छ।
मेरा बाजेलाई जीवनप्रति साह्रै प्रेम थियो। मदिराका शौखिन उहाँलाई दमले च्याप्न थालेपछि रक्सी र चुरोट छोड्नु भयो। त्यसपछि उहाँ करिब तीस वर्ष बाच्नु भयो।
हरेक पुस १५ मा बाजेको साह्रै याद आउँछ। त्यो दिन विषेश हुन्थ्यो। बाजेले हामीलाई कथा सुनाउनुहुन्थ्यो। बजैले मकै भट्मास भुटेर दिनुहुन्थ्यो।
घुइयाँघाटमा बाजे-बजै बस्ने त्यो घर माटोको भित्ताले बनेको थियो। माथि छानामा टायल ओछ्याइएको थियो।
कुन वर्ष हो, ठ्याक्कै याद भएन तर गते भने पुस १४ नै हो। बाजेबजैसँग पुस १५ मनाउन हामी घुइयाँघाट् गएका थियौं। नाती-नतिना आउँछन् भनेर बाजेबजैले लोकल कुखुराको मासु र भात बनाउनु भएको थियो।
खाना खाएर हामी कथा सुन्न अगेँनाको वरिपरि बसेका थियौं। बजै मकै भुट्दै हुनुहुन्थ्यो। त्यो दिन बाजे अलि फरक मुद्रामा देखिनु भयो।
हिउँदको बेला उनको टोपी लगाउने बाजेले आज धागाको टोपी लाउनुभएको थियो। उहाँले जाडोको पर्बाह गर्नुभएन। त्यो दिन उहाँले कथा सँगै गीत पनि गाउनु भयो। हामीले बाजेको यस्तो कला देखेका थिएनौं।
बजैले बिचमै रोकेर भन्नु भयो- तेरो बाजे दिल्ली बस्दा फिलिम खुब हेर्नुहुन्थ्यो। हिरो हिरोनीलाई त्यो जमानामा हामी जोकर भन्थ्यौं, उनीहरूको तस्बिर र गीतका किताब लिएर घर आउनुहुन्थ्यो। मैले त फिलिम कहिल्यै हेरेको थिइनँ। हिरोनीको तस्बिर देखाएर मलाई जिस्काउनु हुन्थ्यो। म त साचै ठानेर रून्थेँ।
दिदीले एउटा गीत फेरि गाउनु न बाजे भने पछि उहाँले मिठो लयमा गाइदिनुभयो- हम तुम से जुदा होके मर जायेँगे रो रो के...
बाजेको त्यो गीतले हामी सबैको आँखा रसाए। थाहा छैन बाजेले त्यो गीत किन गाउनु भो। त्यसपछिका दिनमा बाजेको स्वास्थ्य ठिक भएन। केही महिनापछि घुइयाँघाट्लाई विदा ङ्गागेर धनगढीमा सबै परिवारसँगै बस्न थाल्नु भयो।
घुइयाँघाट छोड्दा बाजेका आँखा रसाएका थिए। उहाँ भन्नुहुन्थ्यो-जमीन गरिबको जिन्दगी हो तर जमीनलाई धनीले शक्तिका रूपमा प्रयोग गर्छन्।
घुइयाँघाट्मा डोटीबाट झरेका मान्छे बस्थे। जो उहाँलाई राम्ररी चिन्थे र माया गर्थे। बाजे तमसुक बनाएर गाउलेलाई ऋण दिनुहुन्थ्यो। घुइयाँघाट् छोड्दा उहाले भन्नुभएको थियो, ‘तमसुक बनाएको मात्र हो, यसलाई च्यातेर फालिदिनू। यी गाउँले र मेरो दु:खमा कुनै भिन्नता छैन।’
अति मेहनति मेरा बाजेले जीवनको उतरार्धसम्म काम गरिरहनु भयो। कथित ठूला बडाले अलि हेपेर बोल्योकि, उहाँ जंगिनुहुन्थ्यो। उहाँ सधै भन्नु हुन्थ्यो- मेरो जस्तो काम नगर्नू यसले अपमान भन्दा अरू केही दिन्न।
अन्तिम समय उहाँ हस्पिटल बस्न मान्नुभएन। मलाई घरै लैजाऔं भनेर निरन्तरत भनिरहनूभयो। त्यसपछि मेरो दाजुले बाजेलाई रिक्सामा राखेर घर ल्याउनुभयो।
सुदूरका विभिन्न जिल्लामा रहेका आफन्त भेट्न आउन थाले। घरमा ठूलो भिड भो। बाजेको बोली अप्रस्ट भईसकेको थियो। मैले उहाँ नजिक गएर भनेँ, ‘बाजे केही त बोल्नुस् न, म तपाईँ को सानु बदमास नाती।
म उहाँको बदमास नातीमध्ये पर्थेँ। बाजेलाई सुन्तला जस्तो टफी खुब मन पर्थ्यो। मैले खाएको देख्ने वित्तिकै ‘मलाई पनि एउटा देन’ भन्नुहुन्थ्यो।
म तपाईँलाई खोकी लाग्छ भनेर टार्थेँ। म पैसा दिन्छु ल्याइदे न भन्नुहुन्थ्यो, पैसा लिएर म बेपत्ता हुन्थेँ। यो बदमास छ मात्र भन्नु हुन्थ्यो तर कहिलै गाली गर्नुभएन।
महेन्द्रनगरबाट उहाँकी एउटी छोरी आउन बाँकि हुनुहुन्थ्यो। तिनै छोरीको हातबाट पानी पिएपछि सजिलै उहाँको निधन भयो। उहाको मृत्यु साच्चै ऋषिमुनी झै भयो।
मेरा बाजे कोही ठूला मानव हुनुहुन्न थ्यो। अत्यन्त मेहनती, हक्की र दृढ इच्छा शक्ति भएको र न्याय बुझेको एक साधारण व्यक्ति हुनुहुन्थ्यो। मेरा लागि उहाँ एक महान हुनहुन्थ्यो। यस्तो बाजे आजको युगमा पाउन असम्भव प्रायः लाग्छ।
मेरो बाजेको जस्तो अनुशासित र अर्थपूर्ण जीवन त मैले बाचिनँ। तर मेरो जीवनको धरातल नै बाजेको जीवनगाथा हो।
पछिल्लो पटक नेपाल जाँदा म घुइयाँघाट पुगेको थिएँ। तर घुइयाँघाट मैले देखेको त्यो घुइयाँघाट थिएन। सडक पुगेको रहेछ। माटोका घर पक्की घरको रूप लिएछन्। क्रमशः घुइयाँघाट शहरीकरणको बाटोमा अघि बढेको रहेछ।
गाउँको चिया पसलमा जुलेबी र पकौडाको बासना पाइन छोडेर मःमः, चाउमिन र चाउचाउ पाइदो रहेछ।
हो, मेरो गाउँ विकास भएछ। गाउँको मुहार बदलिएको थियो। तर गरिबी बेरोजगारी, बिभेद घटेन छ।
सबैलाई एउटै ध्याउन्न देखिन्थ्यो-जसरी पनि पैसा कमाउ। पैसा कमाउने होडमा नजिकका ताल सुक्दै गएछन्। त्यो बेलाको घनाजंगल पातलिएछ।
सबैका हातमा मोबाइल फोन र ईन्टरनेट पुगेछ तर गाउँलेको अनुहारमा इमान्दारी हराएछ।
यो कस्तो विकास हो- जहाँ गाउँ गाउँ जस्तो लाग्दैन, शहर शहर जस्तो लाग्दैन। गाउको आत्मा भनेकै त्यहाँको बासिन्दाको सादगी संस्कृति, वन जंगल, तालतलैया पशुपंक्षी हुन्।
म न्यूयोर्क फर्कनु अघि बाजेसँग त्यहाँ बिताएका पल र स्थानलाई विवित गर्न चाहन्थेँ।
तर यो मेरो घुइयाँघाट थिएन। मेरा बाजेका समकालिन कोही पनि जिवित थिएनन्। घुइयाँघाट विकसित बन्ने धुनमा न गाउ रह्यो,
न शहर नै बन्न सक्यो। घुइयाँघाटलाई याद र कल्पनामा लिएर म न्यूयोर्क फर्किएँ।
तर अझै पनि मेरो कानमा बाजेको त्यही गीत गुन्जिरहेको थियो- हम तुम से जुदा होके मर जायेँगे रो रो के...