हो, म एक अभिभावक पनि हुँ। हाम्रो समाज र शिक्षालाई नजिकबाट नियाल्ने अवसर मिलेको छ। मेरो कक्षा तीनमा पढ्ने छोराको लागि विद्यालयले दश वटा किताब, प्रत्येक किताबका लागि कक्षाकार्य र गृहकार्य कापी र हस्तलेखन पुस्तकको व्यवस्था गरेको छ।
त्यसमाथि दिउँसोको खाजा, एक बोटल पानी र एउटा वर्षादी मैले थपिदिन्छु। त्यो र मेरो छोराको उमेर दाँजेर हेर्छु। केही किताब कापी कम गर्न खोज्छु, फेरि छोरो भन्छ- 'म्यामले गाली गर्नुहुन्छ।' झोला हाम्रो विद्यालय शिक्षाको बिम्ब बनेको छ। प्रत्येक अभिभावकको सपना र चाहना झोलामा रहेको किताब कापीमा छ।
मैले शिक्षकलाई विभिन्न प्रश्न गर्छु र शिक्षकले दिइएका मिठा उत्तर, घरमा आएर ती प्रश्न आफैले आफैलाई गर्छु। उत्तर अनुत्तरित हुन्छ। मैले आफ्नो बच्चालाई के सिकाउँदा ठिक, के बेठिक छुट्याउन सक्ने अभिभावक भए पनि अनुत्तरित प्रश्न धेरै पाउँछु।
सबैकुरा जान्दाजान्दै पनि विद्यालय जाँदा बच्चाले बोक्ने झोलामा राख्ने किताब-कापी देखेर आफैलाई अचम्म लाग्छ। हामीले शिक्षालाई अति नै विद्यालयमुखी देख्न खोज्यौँ, किताबमुखी देख्न खोज्यौँ, झोलामुखी देख्न खोज्यौँ। एक झोला छ त शिक्षा छ जस्तो।
शिक्षालाई दैनिक जीवनसँग जोड्न नसकेर होला सायद, विद्यालयभन्दा बाहिर ल्याउन नसकेर होला सायद, किताबबाट बाहिरको शिक्षा देख्न नसकेर होला सायद, हामी झोलाबाट बाहिर शिक्षाको सम्भावना देख्नै सकेनौँ। त्यसैले होला, हाम्रो शिक्षा झनै झोले हुँदै गएको।
आफैले आफैलाई प्रश्न गर्छु- 'मेरो बच्चाले के सिक्छ, के सिक्न सक्छ र के सिकाउनु पर्छ? किन झोलाभरि किताब कापी अनिवार्य बनाइएको होला?'
विद्यालय र घरको दूरी विस्तारै हिँड्दा १० मिनेट लाग्छ। बच्चा आफै जान सक्ने हुँदा पनि उसले बोक्न नसक्ने झोलाको कारण आमाबाबाले जहाँ जस्तो हालतमा भए पनि समय मिलाएर विद्यालय पुर्याउनु पर्ने बाध्यता छ।
ठूलो झोलासँगै झोलाभरि सपना बुनेर पठाइने हाम्रो मानसिकता, समृद्ध बनिहाल्छन् भन्ने ठूलो अभिलाषाले गर्दा पनि बालबालिकामा मार परेको आभास हुन्छ। किन बच्चाले बोक्न नसक्ने झोला पठाउनु पर्ने? हामी शिक्षामा कति पुरातन, कति आधुनिक? कति सैद्धान्तिक, कति समय सापेक्ष? यस्ता अनेकौँ प्रश्न मनमा खेल्दा खेल्दै पनि नियम मान्नु र गर्नुपर्ने जरुरी छ।
समाज परिवर्तनशील छ। हाम्रो समाज २१ औं शताब्दीमा प्रविधिका कारण धेरै अगाडि र विकसित भएको पाइन्छ। अहिलेका बालबालिका पनि अभिभावकले भन्दा बढी डिभाइसहरू चलाउने गर्दछन्। सहरी वातावरण हेरेर मात्र नहुने, गाउँ र सहरमा धेरै भिन्नता प्रत्यक्ष पाउन सकिन्छ।
शिक्षालाई सहरमा हेर्ने तरिका र गाउँमा हेर्ने तरिका पक्कै पनि फरक छ। समाज परिवर्तन गर्न सबैजना हातमा हात मिलाएर लाग्नुपर्छ। हामीले अरु तरिकाबाट परिवर्तन देख्दा देख्दै पनि बच्चाले बोक्ने किताब कापीमा परिवर्तन कहिलेसम्म ल्याउन सक्छौँ?
धेरैजसो अभिभावकहरूले आफ्नो बच्चालाई विद्यालय पुर्याएपछि जान्नेसुन्ने हुन्छन् भन्ने भ्रम छ। त्यो त्यागेर बच्चा, परिवार, समाज र विद्यालय सबैतिरबाट सिक्ने र सिकाउने वातावरण मिलाएमा मात्र बच्चा सवल र सक्षम हुन सक्छन् भन्ने हाम्रो मानसिकता कहिले पलाउँछ होला?
आफ्नो बच्चाले झोला बोकेर विद्यालय जाँदा केही लेख्ने पढ्ने गर्यो कि विद्यालय मात्र पुगेर आयो त्यति हेर्ने र जानकारी लिने काम अभिभावकको पनि भएमा बच्चाले सिक्ने, चासो दिने र सुनाउन प्रयत्न गर्ने गर्छन् कि?
बालबालिकाहरूको गुनासो सुन्ने र समाधान गर्ने प्रयास गरौं। त्यति भए पनि बालबालिकाले दिनभरिको थकान बिर्सने गर्छन् होला। जहाँ जस्तो ठाउँमा शिक्षा दिइन्छ मायालु वातावरण बनाउने, उत्साहित बनाउने, सिक्नुपर्छ भन्ने भावना बालबालिकामा छाप पार्न सकेमा पक्कै पनि प्रभावकारी बन्न र बनाउन सकिन्छ कि।
आजको विश्व जगतले शिक्षामा निकै फड्को मारेको छ। हामीले सुन्दा त अनेक विकसित देशका कुराहरू सुनिन्छ। पश्चिमी देशहरूमा थोरै कापी किताब हुन्छ रे, बच्चालाई पढ्नका लागि जबरजस्ती कक्षामा राखिँदैन रे, बच्चाको मनो भावना बुझेर शिक्षा दिने व्यवस्था छ रे, त्यस्तो नियम हाम्रो देशमा कहिले आउँछ होला?
हाम्रा बालबालिकालाई पनि विकसित देशजस्तो किताब कापी कम कहिले हुने? आशा छ पक्कै पनि समाज सुधारसँगै योभन्दा बढी बालबालिकाको चौतर्फी विकास हुनेछ। देश उन्नती र प्रगतिको बाटोमा लाग्नेछ।
आशा छ झोलाको तौल र बालबालिकाको तौल तुलना गर्न नपर्ने दिन छिट्टै आउला।