आजभन्दा ठिक एक वर्षअघि असार १ गते मेलम्ची बजारबाट नवलपुर जाने पुलमा म पुग्दा साँझको ६ बज्न लागेको थियो। सदाझैँ आफ्नो कार्यालयको काम सक्काएर म सिम्लेस्थित आफ्नो घर जाँदै थिएँ।
पुल नजिक पुग्दा मैले इन्द्रावती नदीको आवाज अरु दिनभन्दा फरक महसुस गरेँ- ओहो! पोहोर साल कत्रो बाढी आयो भनेको त यसपालि झन् ठूलो पो आउलाजस्तो छ त!
पुलको अन्तिम बिन्दुबाट हाम्रो घर २०० मिटरभन्दा टाढा छैन। घर पुगेर परिवारका सबै सदस्यलाई पोहोरको भन्दा निकै ठूलो बाढी आइरहेको कुरा उत्साहपूर्वक सुनाएँ। बच्चाहरूसहित सबैजना बरन्डामा बसेर हेर्न लाग्नुभयो। म भने भान्सातिर लागेँ।
भान्साको काम गर्दैगर्दा पनि बाहिर खोलाको चर्तिकला भने नियालिरहेको थिएँ। यतिबेलासम्म बजार र आसपासका बच्चादेखि बुढापाकाहरू त्यही पुलमाथि ओहोरदोहोर गर्ने र बाढीको अवलोकन गर्ने कामसमेत हामीले हेरिरहेका थियौँ।
हुन त वर्षात महिनामा खोलाको बहाव बढ्नु नौलो कुरो होइन तर त्यो दिन पानीको बहाव मात्र बढिरहेको थिएन। पानीसँगै ठूला-ठूला काठका मुढा समेत ल्याउने क्रम करिब आधा घण्टाजस्तै चल्यो। खोला सुसाएको त सामान्य हो, खोलामा कहिल्यै नदेखिएका भयंकर ठूला ढुङ्गाहरू पल्टाएर ल्याएको आवाजले मन अझै आतंकित हुन्थ्यो।
यो सबै देख्दा काऽऽऽलो लेदो पानी, ठूला-ठूला मूढासँगै केही नराम्रो खबर समेत मिसिएर आएको बाढी हो कि भनेर डर लाग्न थाल्यो। 'नदी किनारमा भएका कसैको घर/गोठ नै बगाएर ल्यायो अथवा कसैको फर्निचर बगायो। कतै थुपारेर राखेको काठ थियो होला, त्यही बगायो होला' भन्दै हुनुहुन्थ्यो। हामी अनुमान मात्र गर्न सक्थ्यौँ।
खाना तयार भइसकेकोले हामी खाना खाने तर्खरमा थियौँ। सुरुमा बच्चालाई खुवाउन भनेर के लागेको थिएँ, भूकम्पको समयमा जस्तो घर नै हल्लिएको महसुस भयो। त्यतिखेर घर मात्रै हल्लिरहेको थिएन, हाम्रो मुटुको कम्पनमा समेत उतारचढाव हुन्थ्यो। भूकम्प आउँदा खासै नडराएको मान्छे म त्यो दिन गोडा काँपेको त कहिल्यै बिर्सिन्नँ होला। हामी सकेसम्म आफ्नो त्रास बच्चालाई नदेखाउन प्रयत्न गरिरहेका थियौं।
साँझको करिब साढे ७ बजेको हुँदो हो, घरसँगै मेलम्ची-टिपेनी सडक हुँदै प्रहरी कार्यालयको गाडी हुँइकियो। केही जोखिमयुक्त खबर सुनाएझैँ लाग्यो तर हामी प्रष्ट भने हुन सकेनौँ। परिवारभित्रै कुराकानी हुँदा कसैले 'सुरक्षित बस्नुहोला' कसैले 'टिपेनी खोला थुनिएको खबर आएको' भन्ने सुनेका रहेछौँ। सबैको बुझाइलाई हामीले जोड्दा माथिल्लो तटमा विनाशकारी बाढीले दु:ख दिएको भन्ने अनुमान गर्यौँ।
त्रासैत्रासको बीचमा हामीमध्ये कोहीले खाना खान भ्यायौँ त कोही आत्तिएर त्यसै जाने तयारी गर्न लाग्यौँ। बच्चाहरूको लागि घरमा भएको बिस्कुट, तातो पानीलगायत खानेकुरा बोकेर निस्कियौँ। बेलुकाको करिब ८ बजेको थियो। हामी घरबाट निस्किँदा निस्किँदै बिजुली काटियो हाम्रै सुरक्षाको लागि।
नदी वारिपारि र पुलमा भने मानिसहरूको अझै राम्रै चहलपहल देखिन्थ्यो। आफ्नो घरभन्दा अलि पछाडि नदी किनारबाट केही टाढा हामीले सुरक्षित मानेको एउटा निर्माणाधीन होटेलमा बसौँ अलि समय भन्ने लाग्यो, यद्यपि हामी हाम्रो घरसम्म बाढी नआउने कुरामा ढुक्क थियौँ। वरपरका मान्छेहरू हामी झोला बोकेर हिँडेको देखेर कति डराएका भनेर अनौठो मान्दै थिए।
बेलुका ९ बजेतिर घर नजिकै निर्माणाधीन सिटी पार्कस्थित मन्दिरलाई नदीले बेस्सरी हानिरहेको कुरा सुनियो। माथिल्लो तटीय क्षेत्रका हाम्रा अलि परका आफन्तको फोन आयो, 'हाम्रोतिर त बाटो मुनिका घरहरू नै बगाउँदै छ, यहाँ हाम्रो घरमा तल तिरका मान्छेहरू आएर करिब डेढ सय जना जति एकै ठाउँमा बसेका छौँ, तिमीहरू सुरक्षित ठाउँमा बस्नू।'
यो खबर सुनेको केही समयमै भाइहरूले खबर ल्याउनुभयो, पुरानो बसपार्क त पूरै डुबाइसक्यो रे! रात छिप्पिँदै जाँदा अलि पर गाउँहरूबाट समेत बाढी हेर्न आउने मान्छे देखिन थाले। खोला वारिपारि कोही मान्छे सुत्न सक्ने अवस्थामा थिएनन्। सबैतिर हाहाकार चलिरहेकोले रातभरि नै नदी किनारमा बसेर मान्छेहरू पावरवाला टर्चलाइट बालेर खोलाको अनुगमन गरिरहेको थिए।
राति करिब १२/१ बजे तिर त पुलमाथि नै पानी चढ्न थाल्यो, पानीको छाल तटबन्धबाट माथि उक्लिसकेको थियो। त्यसपछि हामी अझै डरायौँ। हामी अझै परबाट खोलालाई नियालिराख्यौँ।
लेदोको बहाब कहिले बजारपट्टि, कहिले सिटी पार्कपट्टि त कहिले बीच भाग गर्दै परिवर्तन भइरहन्थ्यो। एकतर्फ पाँगो थुप्रिएपछि अर्कोतर्फ बहने रहेछ। रातभरि हामी अर्को घरको छतबाट अवलोकन गरिरहेका थियौँ, कहिले उज्यालो होला अनि के-के क्षति भयो भनेर हेरौँला भनेर।
बिहानपख पनि नजिकैका खेतहरूमा बाढीले कटान गरिरहेको प्रत्यक्ष हेरिरहेका थियौँ, हरिया मकैलाई लेदोले विस्तारै-विस्तारै छोप्दै थियो। अझै खबरहरू आउँदै थिए- मेलम्ची बजारस्थित निर्माणाधीन बसपार्क बगायो, मेलम्ची-नवलपुर सडकको बेलीब्रिज भाँचियो, निर्माणाधीन कभर्ड हल बगायो।
योसँगै हाम्रो ती तले घरको दुई तला पूरै पुरिएको/बगाएको र माथिल्लो तला पनि पुरिने/बगाउने क्रम जारी नै थियो। यो सबै देख्दा छाँगाबाट खसेजस्तै भयो। धैर्य गर्नुबाहेक अरु कुनै उपाय थिएन हामीसँग। सोच्दै नसोचेको र पुस्तौँदेखि नघटेको यो विध्वंशात्मक घटना जीवनकै कष्टकर र अविस्मरणीय घटना बन्न पुग्यो।