यदि बानेश्वर- माइतीघरतिर हुँदै गइरहेको रिद्धिसिद्धी यातायात पछाडि कोही बेतोडले कुदिरहेको देख्नुभयो भने अन्यथा नसोच्नुहोस्, त्यो मान्छे म नै हुँ। रिद्धिसिद्धी र मेरो गहिरो प्रेम सम्बन्ध छ। ऊ मलाई धेरै पर्खाउँछ। मलाई कुर्न पटक्कै मन पर्दैन तर ऊ सधैं मलाई सताइरहन्छ। हाम्रो सम्बन्ध जोडिएको धेरै भएको पनि छैन।
म ११/ १२ पढ्दा कलेजको गाडी थिएन। गुर्जुधारादेखि हस्याङ्फस्याङ् गर्दै त्रिपुरेश्वरसम्म पुग्नु पर्थ्यो। त्रिपुरेश्वरदेखि नाकका चालले हिँड्दै, कुद्दै, पुगिन्थ्यो कलेजसम्म।
‘गुर्जुधारा ! हँ ! कता हो यो गुर्जुधारा ?’ मेरा धेरै साथीले झैं टाउको कन्याउँदै हुनुहुन्छ भने नआतिनुस्। तपाईंको मर्म म बुझ्छु। नेपालमा नै छ गुर्जुधारा, अझ काठमाडौंमा नै छ।
म भन्दै थिएँ ११/१२ पढ्दा गुर्जुधारादेखि बानेश्वरसम्म जाने सिधा गाडी चल्दैनथ्यो। मेरो अधुरो जीवनको दु:खमा मल्हम लगाउन ‘रिद्धिसिद्ध’ भर्खरै चल्न थालेको हो।
थोरै समय भएता पनि उसको र मेरो सम्बन्ध प्रगाढ भैसकेको छ।
मेरो जीवन चलायमान बनाउन, मेरा सपनालाई गति दिन, मेरो हरेक दिनको ‘कम्प्यानियन’हो रिद्धिसिद्धी। ऊप्रति मेरो अथाह लगाव छ। तर ऊ सधैं सजिलो रूपमा प्रस्तुत हुँदैन।
कहिलेकाहीँ त म कुरिरहेको थाहा पाएर तुरून्तै मलाई लिन आइपुग्छ। मेरो मन त्यो दिन प्रफुल्ल हुन्छ। तर ऊ धेरै मनपरी गर्छ। १० देखि ३० मिनेट ,कहिलेकाहीँ त घन्टौंसम्म पनि म उसलाई कुरिरहन्छु। असाह्य थिएँ म, अरू केही उपाय नि थिएन। घर त पुग्नै पर्यो। त्यसैले चुपचाप सहिरहेँ।
आजकल भने मेरो नयाँ दोस्त साझा यातायात पनि छ भरपर्ने! को कुरिरहोस् रिद्धिसिद्धी। चटक्क छोडेर म त साझा बसमा मस्त हिँड्दिन्छु। निस्ठुरी ठान्दो हो, बेलाबेला हर्न बजाउँदै ओभरटेक गर्न खोजिरहन्छ।
के गर्नु, आफूलाई दुवै चाहिन्छ। त्यसैले झोला बोकेर म भागिरहन्छु कुनै न कुनै को पछाडि।
दिलवाले दुल्हनियाँ लेजायङ्गेमा काजोलले के भागी होली, त्यो भन्दा बढी म दिनदिनै भाग्छु रिद्धिरिद्धी र साझाको पछाडि। हात दिएर तान्ने नि कोही छैन यार!
‘ए दिदी ! चाँडो चढ्नू न!’भन्दै धकेलिनुपर्छ।
सार्वजनिक यातायात चढेर हिँड्डुल गर्ने हामीमध्ये धेरैलाई यो पीडा थाहा हुनुपर्छ। गाडी कुर्नुको पीडा, बल्लतल्ल आएको गाडीमा चढ्दा सिट नपाउनुको पीडा, हाम्रो दिनहुँको कहानी हो।
कलेजको गाडी भए त ठिकै हो। ब्याचलर्स पढ्न थालेपछि त यो सुविधा पनि छैन। घर टाढा छ भने त दिनको २/३ घन्टा त चोखै छुट्याएरै घरबाट निस्किए हुन्छ। राती अनिन्द्रा भएको खण्डमा पनि केही पीर लिनु पर्दैन, गाडीमा सिट पाए त मज्जाले घच्याकघच्याक गर्दै झोलुङ्गोमा निदाएझैं फुसफुस हुने त हो। नत्र भाँङ् खाएको मान्छेझैं लर्खराउँदै उभिनुको पीडा भुक्तभोगीलाई मात्र थाहा छ।
घरमा बाइक, स्कुटर किन्दिनु भनेर हामीमध्ये कतिजना साष्टाङ्ग दण्डवत गर्न पनि तयार छौँ। मलाई त मेरी आमाले स्कुटर किन्दिन्छु भने त म दिनदिनै छमछमी नाच्ने थिएँ।
‘लास्टै गाह्रो भैसक्यो क्या मामे, स्कुटर किन्दिस्यो न पिलिज’ हरेक दिन भगवानलाई प्रसाद चढाएजस्तै म मेरी मामुदेवीलाई बिन्ती चढाउँछु।
‘हेर बाबु, ज्यान जोखिममा राखेर दुई पाङ्ग्रे चलाउने कुरो नगर, यस्तो हाइवेको बाटोमा ट्रक, टिपर हुत्याएर ल्याउँछ। तँलाई केही भइहाल्यो भने म के गर्नु।’
नेपाली आमा न हो चट्याङसहित जोडले दर्कने पानी पर्दा त कलेज नगए हुन्थ्यो भन्छिन्, के बोली साध्य छ र!
‘सबैजना आफ्नै साधनमा हिँड्छन्, म यति टाढादेखि सार्वजनिक गाडीमा कति हिँड्नु क्या, कति दु:ख गर्नु ?’
मेरी आमा साह्रै आदर्शवादी छिन् ‘हेर बाबु, दु:ख गर्न सिक्नुपर्छ, दु:ख गरेको मान्छेले नै जिन्दगीमा केही गर्छ। तँ मास्टर पढुन्जेल दु:ख गर न! अनि तँलाई म गाडी नै किनिदिउँला।’
‘तबैतारे!’ मैले गाडी कहिले किन्नु, कहिले सिक्नु, कहिले चलाउनु। छेपाराकै उखान हुने भयो आरामले हिँड्नु पनि।
हुन त स्कुटर, बाइक भएका मेरा साथीहरूलाई पनि खासै सुख छैन। ज्यान हत्केलामा लिएर हिँड्छन् दिनदिनै नेपालको सडकमा। ठूलाठूला गाडी मनपरी चलाइदिन्छन् रे। चेपिएरै मरिएला भन्ने पीर। अनि पेट्रोलको भाउ सुन्दासुन्दै कुन दिन हृदयघात भएर मरिने हो।
‘पेट्रोल खर्च चाहियो भन्दाभन्दै सकिने भएँ यार, असार कट्दैन कि जस्तो छ मेरो , महङ्गीले उडाउने भो प्राणपखेरू।’ गनगन गरेको सुन्छु म। बाइक सर्भिसिङ गर्नुपर्यो। घरी के मिलाउनु पर्यो घरी के। आफ्नै दु:ख छ साधनवालाहरूको पनि।
तर म भने आफूलाई नै चटारो परेको देख्छु। विद्यार्थी मान्छे छु सानै देखिन्छु क्यार। बल्लतल्ल सिट पाए पनि महिला सिट, जेष्ठ नागरिक सिट सबै छाडेर लाष्टतिर हुत्तिन्छु।
भरिएको गाडीबाट बाहिर निस्किनु जस्तो हरिबिजोक अरू के हुन्छ र ? कोचिएर, च्यापिएर,निसासिएर मान्छेलाई कुल्चिँदै बल्लतल्ल झर्दा त बाफ्रे बाफ् युद्ध जितेर फर्केको सरदारझैं गौरव महसुस हुन्छ।
बस्न पाए त लु यो पनि मानौँला। उभिनु पर्यो भने ? राम राम राम ! खाँदेको खाँदै गर्ने हाम्रा सहचालकहरू ‘ए सरौँ न सरौँ’ भनेर कहिले थाक्दैनन्। बेलुनमा हावा फुक्या जस्तो गरी गाडी फैलिदिने भएको भए त के हुन्थ्यो होला।
अमिलो पसिना, कहिलेकाहीँ दुर्गन्धित पाद सुङ्दै वाक्कदिक्क भएर उभिनु पर्छ। अझ कोरोनाले गर्दा मास्क लगाउनु परेदेखि सास फेर्न नपाएर प्राणवायु नै खुस्किएको जस्तो हुन्छ। त्यसरी उभिँदा अचानक ब्रेक लाग्दा तिरिमिरी झ्याइँ देखिन्छ। अनि धेरैचोटि मृत्युसँग साक्षात्कार भएको छ।
ब्रिज कोर्ष पढ्न जाँदा एकाबिहानै रूखमा लगेर गाडीले ठोक्यो। श्रेस्ता र मैले निधारको टुटुल्को छाम्दै पहिलो दिन सार्वजनिक गाडीबाट यमदूतलाई नियालेका थियौँ।
यसरी उभिनबाट त्राहिमाम भएर धेरैजसो युवा पछाडि नै गएर बस्छन्। अनि आउँछन् कहिलेकाहीँ अन्टीहरू
‘हेर,यस्ता जवानहरू बसेर हामी बूडीलाई उठाका! उठिदेऊ बा! उठिदेऊ! "
इमोस्नल ब्ल्याकमेल गर्न पछि पर्दैनन्। अनि विरक्त हुँदै सिट छोडिदिनु पर्छ। हाम्रा दाजुभाइलाई त अझ यस्तो घटना झेलिरहनु पर्छ । बिचराहरू कता बस्ने ? अगाडि सबै सिट आरक्षणका छन् । पछाडि नि आएर सिटमा बारम्बार हमला हुन्छ।
म दसमा पढ्दाखेरी भारतले नाकाबन्दी गरेको थियो। पेट्रोल, डिजेलको कमी भएर गाडी जोर बिजोर चल्थ्यो। स्कुलले साँझको कोचिङ राखिदियो। म एसएलसी नै दिएको पछिल्लो सन्तति हुँ। कोचिङ अनिवार्य थियो। त्यो बेलाजति गाडीले कहिले रूवाएको छैन। घरि छतमा चढेर शाहरूख खान जसरी छैँया छैँया गरियो, घरी बाटोमा मगन्ते जसरी लिफ्ट माग्दै हिँडियो। मेरो साथी प्रत्युस यो दु:खको प्रत्यक्ष साक्षी छ । यतिसम्म भयो कि हामीले दुईतीन पटक भैंसी ओसार्ने गाडीमा घर आएका छौँ। प्रत्युसले फोटो खिचेर फेसबुकमा हालेको पनि थियो ।
‘भैंसी बोक्ने गाडीमा चढेर हिँड्नु पर्या छ’ पीडाले उकुसमुकुस भएको क्यापसनमा सबैले हा: हा: हा गरेर बिल्ला उडाइदिए । तर त्यो पीडाको काँडो खिल बनेर मेरो मस्तिष्कमा बल्झिरहन्छ । साँच्चै परम पीडामा साहित्य जन्मिँदो रहेछ । त्यो दिन घर गएर ब्यागस्याग फुत्त फालेर एउटा कविता लेखेंँ , ‘मेरो सपनाको नेपाल’।
सबैले प्रतिक्रिया दिनुभयो, असाध्यै मन छुने कविता, विद्रोही कविता । म पनि मख्ख परेँ । दु:ख गरेको काम आउँछ भन्थिन् आमै साँच्चै त्यो कविताले पुरस्कार नै पायो।
केही समय म युरोपमा बसेँ। सार्वजनिक यातायात चढ्ने फरक अनुभूति छ। युरोपमा धेरैजसो ‘मास ट्रान्सपोर्ट’हुन्छ। अर्थात् एकैचोटि धेरै मान्छेहरूलाई यातायात सुबिधा प्रदान गरिने । ट्रेन, मेट्रो, ठूला बस। गाडी आउनेजाने निश्चित समय तोकिएको हुन्थ्यो।
समयमा गाडी आउँथ्यो, कसैलाई पर्खिदैनथ्यो। सभ्य तरिकाले मान्छे चढ्थे उभिन्थे। झर्ने स्टप आउनु अघि एउटा बटन हुन्थ्यो र ढोका अटोमेटिक खुल्थ्यो। सार्वजनिक यातायातमा चढ्न टिकट काट्नु पर्थ्यो। टिकट चेक गर्न कोही आउँथेनन् तर यदि चेक गर्न कोही आएको बेला टिकट नभए तुरुन्तै ७० युरो जरिवानामा परिन्थ्यो। सार्वजनिक यातायात सबै वर्गका मान्छेले चढ्थे । हुन त सबैका आआफ्नो गाडी हुन्थे तर सार्वजनिक यातायातको सुविधा सशक्त थियो।
युरोपको सबैभन्दा मनपर्ने कुरा त्यहाँको साइकल सुलभ सिष्टम हो। मज्जाले साइकल चलाउने लेनहरू हुन्थे। जताततै साइकलमा हिँड्न रमाइलो हुन्थ्यो । नेपालमा म त्यसरी हिँड्न सक्दिनँ।त्यसै त रोडको हालत बेहाल छ । अहिले अब असार साउन लाग्यो फिस्कल वर्षको अनत्य आयो। वरिपरि रोड पिच हुँदैहोलान् । अरुबेला साइकल निर्धक्कसँग कसरी चलाउनु? राम्ररी नचलाए लडिएला भन्ने डर, राम्ररी चलाएपनि मरिएला भन्ने डर।
‘राति अँध्यारोमा अति गाह्रो हुन्छ स्कुटर चलाउन।’ मेरी साथी मोहिताको गुनासो हो यो ।न हाम्रा रोडमा ट्राफिक लाइटको सुविधा छ , न सिस्टम छ।
‘लाइसेन्स छ?’ मैले त सोध्न पनि छोडिसकेँ ।लाइसेन्स भए पनि नभए पनि कसको बाउको के तागत भनेर हुँइक्याइदिन्छन् बुद्धिजीवी भनाउँदाहरूले पनि। रक्सी खाएर गाडी चलाउने त फेसन छ। मापसेमा पक्डिए लाइसेन्स दुलो पर्छ भन्ने सुनेको थिएँ। खै त्यही पनि डर छैन हाम्रा साथीहरूलाई। के हेर्नू खतरों के खेलाडी टिभीमा ? नेपालका सडकसडकमा भेटिन्छन्।
मेरी साथी कृपा अर्की दिलदार मान्छे हो।अँध्यारो होस् या अप्ठ्यारो बाटो होस् , साइकल चलाएर हिँड्छे। अर्को मिलन दाइ छन्। साइकलसँग आन्द्रा जोडिएको।
‘काठमाडौँभरि जता नि चलाइदिन्छु साइकल’, उनी भन्छन्।
म भने त्यही रिद्धिसिद्धी कै पर्खाइमा बसिरहन्छु।
केही वर्षअधि त यो पठाओ, इनड्राइभर, टुटल केही थिएन। अहिले त हातहातमा फोन छ, टक्क पठाओ बोलायो सुइइँ। म यस्तो बुध्दू मान्छे हुँ कि मलाई राम्रोसँग बाइक चढ्न पनि आउँदैन थियो। एकदिन मेरो भिनाजु मलाई लिन बाइकमा आइस्यो , चोकैमा बाइक गर्ल्यामगुर्लुम लडाइदिएँ।
पहिलोचोटि पठाओ चढ्दा म तर्सिएँ ।
‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ’ भने जस्तै भयो।
ती दाइलाई भने ‘दाइ मलाई त बाइक चढ्न आउँदैन।’
लाजले भुतुक्क भएँ।
दाइ असल थिए। ‘राम्ररी बस नानी डराउनु पर्दैन’ भने। बेलाबेला रिद्धिसिद्धी 'डिच' हानेर म पठाओ नि चढ्छु।
यातायातबिना जीवन ठप्प हुन्छ। आधारभूत आवश्यकता त यो हो नै। जीवनस्तर बढाउन, घटाउन यातायातको सुविधाले ठूलो भूमिका निभाउँछ। विकासको बलियो पूर्वाधार पनि हो यो। तर नेपालको सार्वजनिक यातायात अझ सुलभ र सुरक्षित छैन। पहिले भन्दा धेरै सुधार भए पनि सहज रूपमा हिँड्न पाइँदैन।
गाडीमा भएका यौन दुर्व्यवहारका घटना, पाकेटमारी, चोरी, अन्य हिंसा हाम्रा दैनिक खबर हुन्। विशेष गरी महिलाहरू सार्वजनिक यातायातमा सुरक्षित महसुस गर्दैनन्। हिंसा भनेको कुनै क्रियाकलापले मात्र हुँदैन। मान्छेको मनस्थिति, सोच, र नजरले पनि दुर्व्यवहार हुन्छ।
‘पब्लिक गाडीमा जानुछ, के लुगा लगाउनु यस्तो।’
यसरी मनपरेका लुगा दराजमा थन्क्याएर राख्न बाध्य छौँ हामी। प्राइभेट स्पेसलाई अतिक्रमण गरेर अरूलाई अप्ठ्यारो अवस्थामा बारम्बार पार्ने हामी धेरै छौँ।
ढुक्कसँग सार्वजनिक यातायात चढ्न पाउनु सपना हो सबैको। काठमाडौं फोहोर भयो भनेर नाक खुम्च्याउने हामी नै हौं। तर हिँडिरहेको गाडीबाट प्याच्च थुक्ने, छाद्ने,खाएका खोल फुत्त फ्याँक्ने यी सबै गर्ने हामी नै हौँ। सिष्ट, सभ्य र सचेत भएर सार्वजनिक यातायात चढ्न हामीले सक्नुपर्छ।
मेरो आफ्नो पीडा आफैँसँग छ । घरी जनता यातायात, घरी रिद्धिसिद्धी, घरी साझा, म सधैँ कसैको पछि भागी रहन्छु। दिकदार भइसकेँ।अरू त ठीकै हो।
सहचालकले कहिलेकाहीँ 'आन्टी भाडा दिनुस न।' भनेर भन्दा मुटु छियाछिया हुन्छ।
'को आन्टी ?' हँ ! आन्टी देखिन्छु?' भनेर सिँगौरी खेल्न मन लाग्छ तर स्तब्ध बस्छु।
अति नै भइसक्यो, सबै यातायातहरूले पिरोले मलाई।
लौ न मेरी आमालाई निवेदन गरिदिनुपर्यो- मिमांशालाई एउटा स्कुटर किनिदिनै पर्यो भनेर।