श्रीमतीको, छोराको, दाइभाइ र नानीबाबु तथा साथीसंगीका जन्मदिन कण्ठस्त पारियो। आमा तिम्रो जन्मदिन भने बिरलै वर्षमा सम्झिएँ। अहिले तिम्रो जन्मदिन सम्झने कोसिसमा अलि पहिलेबाटै थिएँ। किनकि फेसबुकमा फोटो राखेर 'ह्याप्पी बर्थ डे आमा' लेख्न।
तिम्रो गुन त जुनै जन्मदिनमा पनि तिर्न के सकुँला र आमा! तिमीले मेरो लागि बिताएका भोका र अनिदा रातको गुन मैले फेसबुकमा 'ह्याप्पी बर्थ डे आमा' लेखेर पुग्दैन। म सहितका पाँच भाइलाई पेटमा राखेर बोकेका गह्रुंगा भारीका कारण अहिलेसम्म एक पसर औषधि खान्छौ। दुःख पोख्ने माइती थिएनन्, कुचो छोप्ने छोरी र हत्तर उचाल्ने छोरा।
चप्पल भएनन् भुइँ टेक्ने, आफन्त थिएनन् दुःख देख्ने। मेरा लागि तिमीले लगाएका पर्म, बोकेको पानी, पिसेको जातो, नखाएका गाँस, नगरेका आश र अड्कलेर फेरेको सासको गुन तिर्न जन्मदिनको शुभकामना लेखेर पुग्दैन आमा। म जन्मिँदा दूध-घिउ सोधे वा सोधेनन्? खै कति दिन सुत्केरी बस्यौ! मैले कहिल्यै सोध्न पाइनँ।
त्यो चलन, त्यो व्यवहार, त्यो बुर्हातन। पहिले थिएन, अहिले शरीरले दिएन। त्यसैले कमजोर छौ आमा। बुझेको छु, अझै पनि रोग र पटपटी फुटेका खुट्टाले ठिङ्ग उभिएर सास फेरेकी छैनौ। ८२ पुगेका बा, रोगले च्यापेको शरीर। अवसर कुरेका छिमेकी। चाडपर्व कुरेका छोरा-बुहारी। त्यसैले तिमीले खोजेको बिहानी आएको छैन। किनकि औषधिले भेटेपछि खुल्छन् तिम्रा ओठहरू।
मैले फेसबुमा 'ह्याप्पी बर्थ डे' लेखेर पुग्दैन आमा। दुई परिवार, दुई परिस्थिति। उपाध्याय गाउँमा जैँसी बुहारी। त्यो बेला गाउँभरका सासु-ससुरा र देउरानी-जेठानीका कति वचन सहेर हिँडेकी हौली। भान्सा उम्काउन मसुरो, रोग उम्काउन असुरो। व्यथा च्यापेर पनि जिन्दगीको कथा कहिल्यै भनिनौ आमा।
मैले बल्ल बुझेको छु, त्यो बेला तिमीले मेरा लागि पर सरेको रगतले लतपतिएको फरिया पनि फेरिनौ। मेरो शिक्षादिक्षा र रहर मेट्न आफ्नो पेट हेरिनौ। अहिले उमेर ढल्कियो, रोग पल्कियो। अझै पनि घाँस टुटेको छैन डोकामा। तिम्रो खुसी खोज्न थैलामा 'बर्थ डे केक' होइन, औषधि बोकिरहेको छु। फेसबुकमा 'ह्याप्पी बर्थ डे' लेखेर पुग्दैन आमा।
तैपनि ह्याप्पी बर्थ डे मेरी आमा।