यो लेख लेख्दै गर्दा कम्मरमा हजुरआमाको पुरानो मजेत्रो बेरेर छेउको टेबुलमा एक कचौरा भेज सुप राखेर, पेटमा हट वाटर ब्याग लिएर बसेकी छु। अर्थात् महिनावारीकै समयमा महिनावारीको बारेमा केही लेख्न बसेकी छु। केही समय अघिसम्म पेट नमज्जाले दुखेको थियो, अहिले पेनकिलरले काम गरेको हुनुपर्छ, दुखाइ केही कम भएको छ, त्यसैले औंलाहरू किबोर्डमा चल्न सकेका छन्।
म सम्झन्छु पहिलो पटक महिनावारी हुँदाको समय। माइतीको मुख हेर्न हुन्न भनेर अर्काको घरमा लुक्न पठाइने चलनसँग डराएर कसैलाई भन्न नसकेको अवस्था सम्झँदा अझै डर लाग्छ। पछि कपडामा लागेको दाग हेरेर मम्मीले आफै पत्ता लगाउनु भएपछि घरमै बस्न दिने कुरा सुनाउँदा कम्ता खुसी लागेको थिएन।
पहिलो पटकको महिनावारीसँग डराएको मेरो मन, चौथो दिनमा निकै फुरुङ्ग बनेको थियो। यो सोचेर कोठाभित्र एक्लै निकैबेर मुस्कुराएकी थिएँ कि अब त म पनि अरुजस्तै सामान्य मान्छे बन्छु।
आमाले आफ्नो महिनावारीको चौथो दिनमा नुहाएर भान्सा सम्हालेको देखेर हुर्किएको मेरो बालमस्तिष्कले धारणा बनाएको रहेछ, चौथो दिनमा सबै कुरा गायब हुन्छ।
यही सोचले नुहाएर निस्कँदा रगत सोस्न प्रयोग गरिने कपडाको आवश्यकता महसुस गर्न दिएन। अर्थात्, मलाई लाग्थ्यो 'नुहाएर चोखिनु'को अर्थ रक्तस्राव पनि रोकिनु हो। बिना कुनै रोक्ने साधन, सामान्य दिनझैँ कपडामा स्कुल पुगेर केही समयमा आफू बसेको बेन्चभरि रगत लागेको थाहा पाएर अप्ठ्यारो परिस्थितिको सामना गर्दै अनेक बहाना बनाएर घर फर्कनु पर्दाको क्षण कम पीडादायी थिएन।
त्यो महिनावारी नबुझ्दै भएको महिनावारीलाई सम्हाल्न नसकेको कलिलो उमेर, ती नराम्रा शब्दले जिस्काउने केटा साथीहरू, शिक्षकहरूसँग त्यसै डर लाग्ने वातावरणमा घर जानका लागि बहाना बनाउनुपरेको क्षण, बेन्चमा लागेको रगत लुकाउन गरेको संघर्ष, अनि पाइन्टमा लागेको रगत किताबको झोलाले छोप्दै स्कुलबाट घरसम्म गरेको 'जिन्दगीको सबैभन्दा लामो' यात्रा, यी क्षणहरू सम्झिँदा अझै पनि शरीरमा काँडा उम्रन्छन्।
मलाई पहिलो पटकको महिनावारीमा बाबा र भाइलाई छुन हुन्न भनेर सिकाइयो तर चार दिनपछि पनि रक्तस्राव नरोकिन सक्छ भनेर सिकाउन न त मेरो परिवारको ध्यान पुग्यो, न समाज र आफन्त यस बारेमा खुलस्त बने। न त यो विषय मेरो पाठ्यक्रममा नै समावेश थियो। यदि मेरो माध्यमिक तहको स्वास्थ विषयमा उक्त कुरा समावेश गरिएकै थियो भने पनि स्वास्थ्य विषय पढाउने शिक्षकले मलाई त्यसबेला कहिल्यै खुलस्त रुपमा यस बारेमा भनिदिनु भएन।
स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा नामको पाठ्यपुस्तकमा, स्वास्थ्य शिक्षाअन्तर्गत यौन स्वास्थ र किशोरी स्वास्थ्यका कक्षाहरू रातो गाला बनाएर भुइँतिर हेरेर बस्दाबस्दै सकिन्थे।
कक्षामा कहिल्यै ध्यान नदिने उरन्ठेउला केटाहरू, यी विषयको कक्षामा भने शिक्षकलाई अनेक नचाहिँदा प्रश्न सोधेर हैरान बनाउथे। हामी केटीहरू एक शब्द चुइक्क बोल्न सक्दैन थियौ।
यसबारेमा सहजीकरण गर्न न त विद्यालयले जरुरी ठान्यो न त विषय शिक्षकले नै। फलस्वरुप पढाइनु पर्ने कुराहरू पढाइनुपर्ने तरिकाले कहिल्यै पढाइएनन्। यही कारण मैले आफ्नो पहिलो महिनावारीको चौथो दिनमा भोग्नुपरेको जस्तै अवस्था अरु कति केटीहरूले भोगे होलान्! अझ त्योभन्दा खराब अरु कति अवस्था भोग्नुपर्यो होला! त्यो विषयलाई पनि अझै कोही साथीहरू कहिल्यै कुरा गर्न लायक ठान्दैनन्।
यस्ता कुरा सही तवरले सिकाइन र पढाइन किन जरुरी ठानिन्न? के मेरो देशको, मेरो विद्यालयको अनि मेरो परिवारको महिनावारी शिक्षा पर्याप्त छ?
किशोरीहरूलाई महिनावारीको समयमा हेर्न हुने र नहुने, छुन हुने र नहुने, गर्न हुने र नहुने कुराहरू बीचको फरक सिकाइँदै गर्दा अर्थात्, सिक्न जरुरी नै नभएका रुढीवादी परम्परासँग परिचय गराउँदै गर्दा, कतै सिकाउनै पर्ने अत्यावश्यक कुराहरू छुटिरहेका पो छन् कि?
यो लेख लेख्नुको उद्देश्य यही हो कि, महिनावारीलाई घरभित्र बिनासंकोच सामान्य तवरले छलफल गर्न सकिने विषय बनाउन सकियोस्। कक्षाकोठामा अन्य विषयजस्तै निसंकोच पढ्न र पढाउन सकिने विषय बनाउन सकियोस्।
सबै महिलाले भोगेका र प्रायः सबै पुरुषले नजिकबाट देखेका यी सामान्य कुरा आफ्ना साना छोरीहरूलाई बुझाउन कुनै स्वास्थसम्बन्धी डिग्री अवश्यक पर्दैन। तपाईं यति त अवश्य भन्न सक्नुहुन्छ,
'छोरी, महिनावारीको रक्तस्राव तीन/चार दिनदेखि आठ/नौ दिनसम्म हुनसक्छ। यो समयमा पेट दुख्ने, ढाड दुख्ने, रिस उठ्ने, मन छिटै दुख्नेजस्ता शारीरिक र मानसिक समस्याहरू हुन सक्छन्। यस्तो समयमा आत्तिनु हुँदैन। सरसफाइमा ध्यान दिनुपर्छ। दुखाइ धेरै भएमा चिकित्सकको सल्लाह लिएर औषधिको प्रयोग गर्न सकिन्छ। सामान्य दुखाइलाई हट ब्याग वा अन्य कुनै तरिकाले सेकेर, न्यानो कपडा लगाएर पनि ठिक गर्न सकिन्छ।
पोषिलो खानेकुरा खानुपर्छ। सामान्य शारीरिक कसरत गर्न सकिन्छ, तर भारी कामहरू गर्नु हुँदैन। सकेसम्म स्यानिटरी प्याडको प्रयोग गर्नुपर्छ। उपलब्ध नभएमा सफा सुतिको कपडाको प्रयोग गरेर रक्तस्राव रोक्न सकिन्छ। हाल बजारमा टेम्पोन र महिनावारी कपहरू पनि उपलब्ध भएका छन्। केही गरी रगतको दाग कपडामा लागिहालेमा, त्यो एकदमै सामान्य कुरा हो। त्यसमा कुनै संकोच मान्नु हुँदैन।'
यतिमात्र भन्न सक्नुभयो भने तपाईंकी सानी छोरी या बहिनीलाई पहिलो महिनावारीको समयमा विभिन्न शारीरिक समस्याका साथमा ठूलो मानसिक तनावबाट समेत बच्न निकै सजिलो हुनेछ। साथै दीर्घकालमा जटिल रोगहरू लाग्नसक्ने खतरा समेत अवश्य कम हुनेछ।
रक्तस्राव नै नबुझी रक्तस्राव हुने उमेर पुगेर समस्या भोगेकी मलाई कहिलेकाहीँ मुड स्विङ्सबारे सोचेर कहाली लाग्छ। मलाई चौथो दिनमा रगत बग्न रोकिन्न है छोरी भनेर भन्नसमेत नसक्ने मेरी आमाले आफ्नो मुड स्विङ्सलाई कसरी झेल्नुभयो होला?
म आफै महसुस गर्न सक्छु, प्रत्येक महिना महिनावारी सुरु हुनुअगावै साना अनि नचाहिने कुरामा उठ्ने मेरो रिस, रुनु हुन्न है, यति सानो कुरा रुनका लागि हुँदै होइन भनेर आफूले आफूलाई सम्झाउँदा सम्झाउँदै पनि सानै कुरामा बग्न थालिहाल्ने आँसु, कहिले घरका सारा काम एक्लै सकाउँलाझैँ गरी चल्ने जाँगर, अनि कहिले पस्किदिएको खानासमेत मुखसम्म पुर्याउन नसकौँलाझैँ गरी लाग्ने अल्छी।
कहिले पानीसमेत पिउन अमन हुने अनि कहिले गुलियोमात्रै, कहिले अमिलो-पिरोमात्रै खान मन लाग्ने तलतल, कहिले कोही छेउ नपरिदिए हुन्थ्यो, एक्लै बस्न पाए हुन्थ्यो भन्ने अनि कहिले चुपचाप लागेर आफ्ना कुरा सुनिदिने कोही भइदिए हुन्थ्यो भन्ने चाहना। यी सबै मेरा नजिकका मान्छे अनि मेरो समाजलाई बुझाउन मैले अझै कति वटा स्यानिटरी प्याडहरूमा दाग लगाउनु पर्छ होला?
हुन त महिनावारीको समय मेरो मानसिकता म आफैले बुझ्न सकिरहेकी हुन्नँ, मेरा नजिकका मान्छेहरूलाई कसरी बुझाउन सकौँ? सबैले यति मात्र बुझिदिए हुन्थ्यो कि यो समय नै यस्तै हो। यो रिस, चित्तदुखाइ, आँसु, हाँसो सबै त्यही हर्मोनको उतारचढावको कारण हो। यसलाई ठूलो कुरा बनाएर अरु मानसिक तनाव थपिदिनु हुँदैन।
अन्त्यमा, पाठकहरूलाई सानो अनुरोध। यदि तपाईंको घरमा महिनावारी हुने उमेर पुग्दै गरेकी सानी नानी छिन् भने उनलाई महिनावारी कुनै ठूलो हाउगुजी नभई एउटा सामान्य प्राकृतिक कुरा हो, यसबारेमा परिवारका सदस्यहरूबीच सामान्य तरिकाले छलफल गर्न सकिन्छ भन्ने कुरा बुझाइदिनु होला ताकि उनले त्यस समयमा भोग्नुपर्ने मानसिक र शारीरिक समस्याहरू केही सजिला बनुन्!
महिनावारी भइरहेकी श्रीमती, छोरी या बुहारी छिन् भने उनको त्यस बेलाको रिस, चित्तदुखाइ, आँसु, या हाँसोपछाडि कुनै ठूलो कारण नभई यी सबै क्षणिक हुन र केही समयमा ठिक हुन्छ भन्ने कुरा भने आफूले बुझिदिनुहोस्, ताकि त्यस समयको सानो निहुँले ठूलो पारिवारिक झगडा या अन्य तनावको रुप नलियोस्।
अँ साच्चै, आफ्नी छोरीलाई महिनावारी बुझाउँदै गर्दा आफ्ना छोराहरूलाई पनि यति चाहिँ अवश्य बुझाइदिनुस- तिम्री बहिनी, साथी, या कुनै अपरिचित केटीको पछाडिको कपडामा लागेको रगतको दाग सृष्टि लेख्ने मसीको थोपा हो न कि हेयपूर्वक होच्याएर हाँस्नुपर्ने कुनै तुच्छ कुरा!
साथै, कोही विद्यालयमा स्वास्थ्य शिक्षा पढाउने शिक्षक हुनुहुन्छ भने मेरा त्यसबेलाका शिक्षकले झैँ झारा टार्ने काम नगरिदिनु होला। पाठ्यक्रममा राखिएका महिनावारीका कुरा शिक्षक निर्देशिकाबमोजिम निसंकोच पढाइदिनु होला। त्यस विषयमा आफूले आवश्यकता महसुस गर्नुभएका अन्य कुरासमेत साना नानीबाबुहरूलाई बुझाइदिनु होला। तपाईंको त्यो सानो प्रयासले कसैको जीवनमा ठूलो फरक पार्न सक्छ।