आज पसल छिट्टै बन्द गरें। उसो त मैले पसल बेलुका नौ बजेभन्दा पछि नै बन्द गर्थें। तर आज आठ पनि बज्न पाएन।
टोकियोमा हिउँ पर्ने सिजनमा त्यति ग्राहकको भिड हुँदैन। अल्छी लाग्दो समय लाग्छ मलाई यो सिजन।
जापान छिरेको पनि वर्षौं भैसक्यो, मेरो छोरा नै दस वर्ष पुगिसक्यो। ऊ यही जन्मियो, उसले नेपाल देखेको छ तर भोगेको छैन।
मेरी उनी उता भान्सामा छिन्, बेलुकाको खाना बनाउँदै। छोरो उसको कोठामा छ, गेममा मस्त।
मेरी उनी जापानी हुन्, तीन वर्षको प्रेमपछि हामी एक अर्काका भएका। उनी नेपाली बुझ्छिन् तर बोल्न जान्दिनन्। घरमा हामी जापानी भाषा नै बोल्छौं।
यो आजभोलिको मेरो परिचय हो।
छोरो खेल्दै अनि उनी भान्सामा व्यस्त हुँदै गर्दा यता मेरो मोबाइलमा म्यासेन्जरको नोटिफिकेसन बज्यो ‘ट्वाङ’।
मैले तानेर मोबाइल हेरें। मेरो फेसबुकमा साथी नभएकी अपरिचित केटीको म्यासेज थियो।
मैले उनको म्यासेज पढेँ, लामो लेखाइ केही थिएन। मात्र ‘हेल्लो’ थियो।
म खास्सै म्यासेन्जरमा च्याट गर्न रूचाउँदिनँ तर केटीको म्यासेज भनेसी मलाई पनि कौतुहलता लाग्यो, को होलिन् त उनी?
मैले म्यासेजमा हेल्लो को रिप्लाइ नदिई उनको फेसबुक प्रोफाइल हेर्न खोजेँ।
प्रोफाइलको बटन थिच्ने बित्तिकै म झसंग भएँ, मनमा एक प्रकारको सुनामी आयो। प्रत्येक हप्ता जापानमा आउने साना तिना भूकम्पले भन्दा ठूलो झट्का दियो मलाई उनको प्रोफाइलले।
मलाई एकैपटक १५ वर्ष अघिको सम्झना दिलाइदियो उनको फेसबुकले। मैले ती दिन सम्झन थालें यतिबेला।
उनको हेल्लो को उत्तरभन्दा पहिला मैले उनलाई फ्रेण्ड रिक्वेष्ट पठाएँ। अनि म्यासेन्जरमा गएर भने ‘मलाई भुलेकी छैनौ?’
फ्रेण्ड रिक्वेष्ट दुई मिनेट पनि नहुँदै एसेप्ट भयो। म खुसी हुँदै थिएँ, फेरि म्यासेन्जरमा म्यासेजको घन्टी बज्यो।
उनले हाँसेको इमोजी एक दर्जन जति पठाइन्, अनि लेखिन्, ‘म एकछिनपछि तपाईंलाई कल गर्छु नि ल, मिल्छ?’
‘आज मिल्दैन, अबको दस घन्टापछि गर न प्लिज ! हुँदैन?’ मैले बाध्यता बताएँ।
अबको दस घन्टापछि म पसलमा हुनेछु, मेरो श्रीमती काममा अनि छोरो स्कुल। मैले आफ्नो सजिलोको लागि उनलाई अनुरोध गरेँ।
उनले छोटो उत्तर लेखिन्, ‘हस!’
मैले म्यासेन्जरमा उनीसँग भएको दुई लाइन गफ डिलेट गरेँ।
त्यति डराउनु पर्ने त हुँदैन किनकी मेरी श्रीमती नेपाली पढ्न जान्दिन तर पनि मनको डर ‘कुन केटीसँग गफिइस’ भन्ने अनाहकको शंका निस्कन बेर लाग्दैन।
बेलुकाको खाना तयार भएको खबर भान्साबाट आयो, छोरो गेम छाडेर भान्सातिर कुदयो। मैले यतै टेबलमा खाना मगाएँ।
एउटा हातले मोबाइल चलाउँदै खाना खाँदै थिएँ। मनले नमानेपछि फेरी उनै नेपालवालीको फेसबुक प्रोफाइलमा दौडिएँ।
कभरमा उनको बाबा र मम्मीको फोटो थियो, अनि प्रोफाइलमा उनको मात्र।
फोटाहरूमा क्लिक गरेर हेरेँ, तर अहँ! कतै उनको बुढाको फोटो भेटाइनँ। फेसबुक प्रोफाइल हेर्दा लाग्यो, उनी अझै अविवाहित छिन्।
फेसबुकमा उनका प्रत्येक फोटाहरू हेर्दै लाइक गरेर सकिएपछि मैले खाना खाएर सकें। अनि हात धोएर बिस्तरामा आएँ।
आहा ती दिनहरू। सम्झँदै कस्तो मजा आयो। अघि म्यासेजमा गफ गर्ने केटी अरू कोही नभएर मेरो ऊ बेलाकी मायालु थिइन्, मेरी पानवाली।
धादिङबाट जापानी भाषा सिक्न काठमाडौं छिरेको थिएँ म उतिबेला। सिनामंगलमा डेरा, पुतलीसडकमा भाषा क्लास। अनि मैतीदेवी चोकमा उनको बाको पान–पसल।
बाको पान पसलमा सघाउन बसेकै बेला सयौं पटकको आँखा जुधाइपछि एकदिन उनलाई किनेको पानको पैसासँगै एउटा कागजको टुक्रा थमाइदिएको थिएँ।
कागजको टुक्राभित्र लेखेको थिएँ, ‘आई लभ यू, मलाई यसको जवाफ भोलि दिनु ल!’
भर्खर भर्खर मोबाइल फोनको जमाना आएको थियो, फेसबुक त थाहै थिएन।
मैले पानवालीलाई कागजमै लेखेर प्रपोज गरेको थिएँ। किनकि मसँग मोबाइल थिएन।
म जापानी भाषा कक्षा लिन जाँदा उनलाई हेर्थें, पान किन्थें अनि मुसुक्क हाँसेर बिदा हुन्थें। फर्कंदा उनका जुंगे बा अटसमटस गरेर बसेका हुन्थे, पसलतिर हेर्न पनि डर लाग्थ्यो।
कागजमा प्रपोज लेखेर दिएको भोलिपल्ट म डराउँदै मैतीदेवीको बाटो हिँडें। अलि वरैबाट पानवाली एक्लै भएको या बा भएको चियो गरें।
नजिकै गए, पानवाली मुसुक्क हाँसिन्। मैले सधैं खाने एउटा जर्दा वाला पान बनाइन् अनि दिँदै भनिन्, ‘छुचो मान्छे, बाबालाई भन्दिन्छु अनि थाहा हुन्छ।’
मलाई डर लागेन, बरू हिम्मत बढ्यो। पानवाली पट्याउन सफल भएजस्तै लाग्यो अनि बिन्दास हिँडें।
पर बागबजार पुग्दासम्म फर्केर मैतीदेवी चोकतिर हेरिरहेँ। आज क्लास नलिएर उनकै पसलमा घुमिरहुँजस्तो पनि लाग्यो।
फर्कंदा पसलमा बा नै थिए हरेक दिन जस्तै, म निराश हुँदै कोठा पुगें फेरि भोलि बिहानको पर्खाइमा।
मैले प्रपोज गरेको पर्सिपल्ट पानवालीले पान दिँदै भनि, ‘२ बजे पद्मकन्या क्याम्पसको गेटमा मलाई कुर्न सक्नुहुन्छ?’
म छक्क परें, खुसीको सीमा रहेन। हतारिँदै भनें, ‘पक्का ल! फेरि धोका दिन पाउँदिनौ नि?’
उसले मुसुक्क हाँस्दै भनि, ‘२ बजेभन्दा ढिला नगर्नु नि ल, मलाई बाटोमा कुर्न मन पर्दैन।’
भाषा कक्षाका किताब हावामा उडाएर दिवानापन देखाउन मन थियो, मैतीदेवी चोकमै नाच्न गर्न मन थियो।
अझ आजभोलिको जस्तो अवस्था हुन्थ्यो भने त स्याम्पियनको बोतललाई बेस्सरी हलाउँदै हावामा उडाएर चियर्स गर्न मन थियो।
तर के गर्नु, मुटुको ढुकढुकी बढाउँदै पुतलीसडकतिर लम्किएँ।
मेरो क्लास तीन बजे सकिन्थ्यो, तर यता पहिलो डेट दुई बजे नै फिक्स थियो। जाम कि नजाम हुँदाहुँदै मनमा एउटा कुरा आयो– ह्याँ आज क्लास जाँदिनँ, यतै बसेर कुर्छु।
बागबजार, डिल्ली बजार अनि रत्नपार्क गर्दै मैले साढे १ बजाएँ। २ बज्नै लाग्दा उसलाई मैले श्रेष्ठ टेलरिङको अगाडि देखेँ।
गएर गर्लम्म अंगालो मारूम् जस्तै महसुस भएको थियो मलाई तर आफैंले आफैंलाई सम्हालें। खिस्स हाँस्दै हात समाएँ अनि फेरि भने, ‘आई लभ यू के।’
उसले दायाँ–बायाँ हेर्दै भनि, ‘उत्ताउलो मान्छे। मलाई लाज लाग्छ।’
त्यो मेरो पानवालीसँगको पहिलो डेट थियो। त्यसपछि यस्ता डेट दिनहुँ चले, हरेक दिन।
पद्मकन्या क्याम्पसको गेट हाम्रो जक्सन हुन्थ्यो अनि लाग्थ्यौं गन्तव्यतिर।
ऊसँगको मेरो प्रेमको खबर मेरा प्राय साथीलाई थाहा छ। जापान छिरेको यतिका वर्षपछि पनि मलाई साथीहरू पानवालीको नाम जोडेर जिस्क्याउँछन्।
मैले पनि भुल्न सकेको छैन उसलाई आजसम्म। सायद ऊ बेला पनि आजभोलिको जस्तै फेसबुक हुन्थ्यो भने पानवालीसँग मेरो कथा अधुरो रहँदैनथ्यो।
हरेक दिन घुम्दै, रमाउँदै गर्दा एकदिन मेरो जापानको भिसा लाग्यो। वर्ष दिन ऊसँग घुमेका यादहरूलाई संगालेर म जापान उडेँ।
जापान आएको छ/सात महिनासम्म त मैले उसलाई फोन गरेँ, बोलेँ, फर्कने आश्वासन दिएँ। तर एक दिन ऊ हराई।
फोनवाला साउजीले भने, ‘उनीहरूले पान पसल अनामनगरतिर सारेका छन रे, यहाँबाट गैसके।’
त्यसपछि मेरो जीवनबाट हराएकी ऊ आज फेसबुकको म्यासेन्जरमा आएकी छे। मनले नमानेपछि फेरि एकपटक उसको फेसबुक प्रोफाइल हेर्न थालेँ।
ऊ उस्तै छे, मैले चुमेका ओठ उस्तै रसिला देखिन्छन्। आँखा उस्तै नसालु।
उसका हरेक फोटा हेर्दै चुमे यतिबेला। कमेन्ट गर्ने तागत ममा थिएन। पहिला मनको धोको फुकाएर फोनमा बोल्नु छ ऊसँग।
म्यासेन्जरमा उसको नामको साटो निक–नेम राख्ने अप्सनलाई सदुपयोग गर्दै लेखेँ- पानवाली!
भान्साको काम सकेर मेरी जापानिज श्रीमती कोठामा आइपुगिन्। पानवालीसँग भोलि बोल्ने मीठा सपना मनमा सजाउँदै मैले आँखा चिम्लिएँ।
पानवालीसँगको मीठो गफ अनि उनको आजभोलिको अवस्थाबारे फेरि सुनाउनेछु ल!