'दलित भएकै कारण घरबेटीले कोठाबाट निकाले'
अनलाइन पत्रिकामा प्रकाशित यो खबरले मलाई धेरै पटक नराम्ररी पिरोलेको छ। २०६१ साल तिरको कुरा होला, म कक्षा ११ को परीक्षा दिन महेन्द्रनगरमा एक महिनाका लागि कोठा भाडामा खोज्दै गर्दा कतिपय कथित उपल्लो जातका घरबेटीले मेरो जात थाहा भएपछि कोठा दिनु भएन।
कोठा खाज्दै गर्दा केही सीप नलागी अत्यमा आफ्नो जात छलेर म एक महिनासम्म एउटा घरमा भाडामा बसेँ। त्यो बसाइको बेला उक्त घरमा पनि कक्षा ११ मै पढ्ने एकजना विद्यार्थी थिए। कतै उसले मेरो नोटहरू देख्लान् कि भन्ने डरले मैले मेरा कापीको पहिलो पेज जसमा मेरो नाम थियो सबै च्यातेको थिएँ।
आफूले जतन गरी राखेको त्यो नोटको पहिलो पाना च्यातेर फाल्नु कम्ता पीडादायी थिएन। एकछिन कल्पना गर्नुस् त त्यो क्षण, कसैले आफ्नो जात थाहा पाउने र त्यसपछिको परिणामको डरले आफूले एक वर्षसम्म माया गरेको त्यो कापीको पहिलो पेज नै च्यात्नु पर्दा कस्तो होला?
कानुनी हिसाबले त जातकै आधारमा भेदभाव गर्न पाइँदैन थियो र पनि समाजमा यस्तै प्रकारका विभेद कायम थिए र छन्। त्यसबेला त्यो विभेद हो भन्ने जान्दाजान्दै पनि मैले विरोध गर्ने आँट गरिनँ। कारण विरोध गरियो र कानुनी उपचार खोज्न तिर लागियो भने मेरा तत्कालीन आवश्यक कामहरू सम्पन्न हुन बाधा पर्थ्यो। कतै उपल्लो जातका मानिसहरूले कुट्लान कि भन्ने डर पनि थियो र चुपचाप त्यो विभेद सहेँ।
अब कुरा गरौँ २०७६ सालको, त्यति बेला मलाई त्रिभुवन विश्व विद्यालयले स्नातकको उपाधि समेत थमाइसकेको थियो। मानव अधिकारका बारेमा धेरथोर सुनेको पनि र नेपालको संविधानमा जातीय विभेद विरुद्धको व्यवस्था पति थाहा थियो। त्यस समयमा फेरि एक पटक कञ्चपुर जिल्लाकै सदरमुकाममा सानो व्यवसाया सुरु गरेको थिएँ। एउट घरमा कोठा भाडामा लिएर बसेँ।
सुरुमा घरबेटीले पनि जातको कुरा गर्नु भएन, मैले पनि आफ्नो परिचय त्यसै दिइरहन आवश्यक ठानिनँ। परिचय थियो त केवल एक साइकल व्यवसायीको रुपमा। कोठा भाडामा लिएको ७/८ दिन भएको होला, घरबेटी काकीले आएर भनिन्- 'हाम्रो घरमा आफन्त आउने भएकाले ससुराबाले त्यो कोठा दिइसक्नु भएको रहेछ। मैले थाहा पाइनँ। त्यसैले कोठा खाली गरिदिनु।'
अचानक त्यो कोठा खाली गर्नुपर्ने सूचनाले म झस्किएँ। जब म कथित तल्लो जातको भएको ती घरबेटीले थाहा पाइन् तब मलाई कोठा खाली गर्न भनिएको थियो तर पनि मैले त्यस विभेदविरुद्ध कानुनी उपचार खोज्न लागिनँ। किनकि मलाई थाहा छ, कानुनी उपचार खोज्न तिर लाग्यो भने मेरो घरको दैनिकी चलाउन मुस्किल पर्नेछ।
भर्खर व्यवसाय सुरु गर्दै थिएँ, आफूले पारिवारिक जिम्मेवारी बहन गर्नुपर्ने आवस्था थियो। आफूले घर-परिवारलाई पुग्ने गरी दैनिक ज्यालादारी वा व्यवसाय गरिनँ भने चुलो बल्नेवाला थिएन। त्यसैले मैले त्यो विभेदको पीडाभन्दा आफ्नो दैनिकी नचल्दाको पीडा बढी कष्टकार हने निश्चित ठानी यस्तै विभेद सहेर सरासर आफ्नो व्यवसाय गरिरहेँ।
अहिले म एक गैह्रसरकारी संस्थामा कार्यरत छु र सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बस्छु। मलाई यस प्रदेशको राजधानीमा पनि कोठा खोज्छ साह्रै कष्ट भयो। कोठा छ भन्छन्, कोठा हेरिन्छ, भाडामा चित्त बुझ्छ। विस्तारै पहाड घर कता हो भनि सोध्छन्। बैतडी भन्यो, बैतडी कुन ठाँउको भन्छन्। श्रीकोट भन्छु, श्रीकोट को... जी हो भन्छन्। होइन म ओड हु भन्छु, त्यसपछि एकछिन मौनता छाउँछ।
एकछिन त्यही घरको अर्को सदस्यले थप्छन्, 'अस्ति आएको आन्टीले नि फोन गर्नुभाको छ, अब पहिले विचरा महिलालाई हुन्छ भनेकी छु कसरी धोका दिनु? यदि उहाँ आउनु भएन भने हजुरलाई नै दिन्छौ' कोठा नदिइने संकेत गर्छन्।
यसरी पटक-पटक विभेद हुँदा पनि मलाई कानुनी उपचार खाज्ने आँट छैन किनकि कानुनी उपचार खोज्दै गर्दा मेरो दैनिक गाँस हराउँछ। मैलैजस्तै यहाँ सबैले विभेद सहनु पर्छ भन्न खाजेको पक्कै होइन।
जसरी जातीय भेदभाव विरुद्धका उजुरीहरू सितिमिति हाम्रो प्रशासनले लिँदैनन्, लिइएता पनि कानुनी प्रक्रिया निकै लामो र झन्झटिलो अनि फेरि कतिपय मुद्दाहरूको फैसलामा पीडितहरू नै झन् प्रताडीत हुनुपर्ने अवस्थाप्रति राज्य संवेदनशील होस भन्न मात्र खाजेको हुँ ताकी पीडितहरूको पक्षमा राज्य छ भन्ने सन्देश हामीलाई पनि मिलोस्।