हामी सानैदेखि स्कुलमा सँगै पढेका साथी सरोज, अर्जुन, सन्देश र राजन। स्कुल पढ्न पनि सँगै जाने हामीहरू।
बिदाको दिन सरोजले घुम्न जाने कुरा निकाल्यो। कति घर मात्रै बस्ने भनेर हामी घुम्न जाने निर्णय गर्यौं।
अर्जुन हामी साथीहरू मध्ये धेरै उटपट्याङ गर्ने मध्ये पर्छ। राजन भने गीत गुनगुनाइ रहने हुँदा हामीहरूबीच विशेष किसिमको रमाइलो हुने गर्छ।
अर्जुनले 'हामी सधैं घुम्न जान पनि पाइँदैन। घुन्न जाने अवसर पनि मिल्दैन, सबै दुई/तीन दिनको घरमा बिदा मागेर तयारी हुनू' भन्दै खबर गर्यो। उसको प्रस्ताव स्वीकार गर्यौं।
अर्जुनले पोखरा घुम्न जाने कुरा गरेपछि मैले पनि सोचेँ- जाउँ न, के छ र मरी लानु? चार जना गएपछि रमाइलो पनि हुन्छ। धेरै कुराहरू देख्न सकिन्छ। अनुभवहरू अरुलाई सुनाउन सकिन्छ।
केही दिनपछि हामी पोखरातिर लाग्यौं? जब हामी हिँड्ने सुर गर्यौं तब पानी पर्ने थाहा भयो। तैपनि हामी यात्राका लागि अघि बढ्यौं। बाटोमा हिलो बढी भएकोले यात्रा गर्न साह्रै दु:ख भयो, जेनतेन पोखरा पुग्यौं।
फेवातालको वरिपरि रहेको दृश्य निनै मनमोहक थियो। पोखरा गएपछि रमाइलो नहुने कुरै भएन। प्याराग्लाइडिङ पनि गर्यौं। तर सबैभन्दा पहिला हामी बीच बाटोमै ओर्लियौँ र मनकामना मन्दिर दर्शन गर्ने निर्णय गर्यौं। केबुलकारमा पनि हामीले खुब रमाइलो गर्यौं। त्यहाँ थुप्रै फोटो खिचियो।
साँझ परेपछि पोखराको एक होटलमा बस्ने गरी हामी मनकामनाबाट पोखरातर्फ यात्रालाई निरन्तरता दियौँ। होटेल पनि सन्देशको आफन्तको रहेछ। बस्नको लागि कुनै समस्या भएन।
कोठामा बस्दाबस्दै हामीहरूबीच पढाइको र भविष्यबारे कुराकानी भयो।
साथीहरूको लक्ष्य जापान, अमेरिका, अस्ट्रेलिया र क्यानडा जाने रहेछ। नेपालमा भविष्य छैन भन्दै विभिन्न किसिमका कुराहरू भए। हामी एकअर्काका योजनाको बारेमा कुराकानी गर्न थाल्यौं। यसै क्रममा साथीहरू विभिन्न कुरा सुनाउन थाले।
सरोजले भन्यो, 'मेरो त एउटै लक्ष्य हो विदेशमा गएर पढ्दै, कमाउदै केही खर्च बचाउँदै परिवारलाई पठाउने। अब परिवार पनि त पाल्नु पर्यो होइन र!'
सरोजको भनाइ पनि ठिकै हो भन्दै अर्जुन बोल्यो, 'विदेशमा गएर उच्च शिक्षा हासिल गरेमा अन्तर्राष्ट्रिय श्रम बजारमा बिक्न सकिन्छ कि भन्ने हो मेरो विदेश जानुको योजना।'
सरोज र अर्जुनको कुरा सुनेर सन्देश भन्छ, 'नेपालको शिक्षा प्रणाली कमजोर हुँदै जानुले हामी युवाहरू विदेश जाने लक्ष्य राख्न बाध्य भएका छौं।'
राजन भन्छ, 'दु:ख लाग्छ यसरी देशका बौद्धिक वर्ग अध्ययन गर्ने बहानामा विदेश जाने। तर स्वदेश नफर्कने प्रवृत्तिले गर्दा नेपालको शिक्षा प्रणालीमा समस्या छ भन्ने कुरा स्पष्ट पार्छ। यसरी विदेश पढन जाने लहर बढेसँगै नेपालबाट ठूलो रकम पनि बाहिरिरहेको छ। सरकारी र निजी क्षेत्रमा नेपालको शिक्षामा ठूलो लगानी भए पनि विद्यार्थीको वैदेशिक अध्ययन मोहमा भने कमि ल्याउन सकेन। साथीहरू सबैको लक्ष्य जापन, अमेरिका, अस्ट्रेलिया र क्यानडा जाने छ। म पनि सायद बाहिर जान्छु' भन्दै आफ्नो कुरा टुङ्गायो।
तर मेरो लक्ष्य भने देशमा नै केही गर्ने, आफ्नो कारण अरुको जीवनमा परिवर्तन ल्याउने भन्ने हो। साथीहरू भन्छन्, 'नेपालमा बसेर के गर्छस्? किन आफ्नो भविष्य बिगार्छस्? नेपालमा के नै छ र? सबै युवाहरू विदेशतिर लागिसके।'
आफ्नो जन्मभूमिमा पसिना बगाउनु ठिक कि अरुको देशमा गएर पसिना बगाउन? आफ्ना बाबु आमा र परिवारको खुसी ठूलो कि विदेशको पसिना? सायद यहाँ बाध्यता थियो होला। केही गर्ने इच्छाशक्ति राखे आफ्नै देशमा गर्न र परिवर्तन ल्याउन सकिन्छ।
आफ्नो देशको सेवा गर्ने लक्ष्य राख्दा यहाँ जिन्दगीमा पछि परिन्छ भने पनि परियोस्। जीवनमा एकचोटि जन्मने चोला हौँ, हामी आखिर एकदिन मर्नु नै छ भने किन अरुको देशको सेवा गर्ने? जति सकिन्छ आफ्नै माटो, आफ्नै देशमा केही गर्ने सपना र लक्ष्य राखौँ हुन्न र? पक्कै पनि हाम्रो देश पनि बन्नेछ।