अँ म त भगुसँगै (मेरो नाम भगवान भए पनि मामाघरमा सबैले भगु भन्नुहुन्थ्यो) बिहे गर्ने हो साह्रै मन पर्यो भन्दै झन् गफ गर्न मच्चिइन् उनी।
मलाई भने यति ठूली केटीले मजस्तो सानो केटासँग किन बिहे गर्छु भनेकी होली भनेर मनमनै चिन्ता पर्न थालेको थियो।
उसको उमेर त्यस्तै सोह्र सत्र थियो होला म भने ११/१२ वर्षको। उसले माया गरेर दिएका पाकेका बेलौती पनि मलाई फकाउन दिएजस्तो लाग्न थाल्यो।
मलाई त साँच्चै उसले मसँग नै बिहे नगरी नछाड्ने भई भने कसरी उसलाई बिहे गर्ने, बिहे भएपछि के गर्नुपर्ने हो भन्ने पनि थाहा नभएको त्यो उमेरमा एक्कासि आइलागेको यो तनावले म भित्रभित्रै उकुसमुकुस भैरहेको थिएँ।
म उसलाई बिहे गर्दिनँ भन्न पनि सकिरहेको थिइनँ र भनिहाले पनि मेरो कुरा सुनिदिने कोही थिएन त्यहाँ।
दुइटी मावल्नी दिदीहरूले झन् उल्टै उसलाई उक्साउँदै ‘ए तिमी त हाम्री भाइ बुहारी बन्ने नै हौ त, अलिक मिठो मिठो खान देऊ है हाम्रो भाइलाई’ भन्दै मच्चाइरहनु हुन्थ्यो।
घरबाट मसँग साथैमा गएकी मेरी सहोदर दिदी भने खासै त्यति धेरै बोल्नु भएको थिएन किनकि दिदीको लागि पनि त्यो ठाउँ नौलो र तिनी मैया अलिक नौलै थिइन्। तर पनि दिदीले यो सानै छ यसको बिहे गर्ने बेलै भएको छैन भनिदिए हुन्थ्यो नि जस्तो चाहिँ लाग्थ्यो। शायद दिदीलाई यिनीहरूले ठट्टा गरेको भन्ने लागेर पनि होला मेरो पक्ष लिएर बोल्नुभएको थिएन।
हामी दिदीभाइभन्दा पनि साथी जस्तै थियौं। तपाईं हजुर भन्दैनथ्यौं तँ नै भनेर सम्बोधन गर्थ्यौं, दिदीको बिहे भएपछि मात्रै निकै संकोच मानी मानी दिदी, हजूर भन्न बानी पारेका थियौं।
दसैंको रमझम चलिरहेको बेला थियो, म आफैं हिँडेर पुग्न सक्ने भएपछि पहिलो चोटी दिदीसँग मामाघर दसैंको टीका लगाउन जाँदै थिएँ।
घरबाट हिँडेदेखि नै हरेक कुरा नौलो लागिरहेको थियो। दिदी भने त्यस अगाडि नै धेरैचोटि हिँडेकोले बाटो बिराउने सम्भावना थिएन। रामपुरको रातमाटादेखि दक्षिणतर्फको खेतको बाटो हिँड्दै गर्दा एक जना महिला भेटिइन्।
उनी पनि त्यतै अल्कीचौरतिर टीका लगाउन जाँदै रहिछिन्। तर उनी एकोहोरो बोल्दै थिइन्। हामी बोलेको जवाफ नदिएर एकोहोरो बोल्दा कतै बहुलाई त हैनन् भनेर हामी दिदीभाइ खासखुस गर्यौं। पछि उनैले कुरा खोल्दै आफू कत्ति पनि कान नसुन्ने बताइन् र एकोहोरो आफ्नो बारेमा सबै कुरा भनिन्। हामीलाई पनि कहाँ जाने हो भनेर एक दुई वटा ठाउँ रोमन्दी, माझकोट, लाम्दी खोला आदिको नाउँ लिइन्। तर हामीले हैन भन्ने संकेतसूचक टाउको हल्लायौं र अन्त्यमा अर्खलडाँडाको नाम लिँदामात्रै हो भन्ने कुरा सूचित गर्यौं।
कानले नसुने पनि उनले हाम्रो कुरा बुझिन्। उनीसँग केहीबेर हिँड्यौं अनि उनलाई उछिनेर अघि बढेपछि केहीबेरमा बाहुन डाँडाको उकालो सुरू हुन्थ्यो।
असिनपसिन हुँदै उकालो चढे पनि त्यहाँबाट देखिने सुन्दर चापाकोट र विशाल रामपुर फाँट अनि बीचबाट बग्ने कालीगण्डकीको मनोरम दृश्यले मन लोभ्याएकोले खासै थकानको महसुस हुँदैनथ्यो। बरू त्यहीँबाट कालीगण्डकीको बीचमा अलिकति जंगल र दुईतिरबाट काली बगेको देखियो नौलो लागेर दिदिलाई सोधेको त्यहाँ पहिले सत्य युगमा काली गण्डकी बग्दै आउँदा नदीको बाटोमै अगाडि एउटी गाई ब्याएर बाच्छी पाएको देखेर नदीले त्यो ठाउँ गाईको लागि सुरक्षित छाडेर दुईतिरबाट बग्दै गएकोले त्यस्तो भएको बताउनुभयो।
दिदीले त्यसो भनेपछि त म झन् उत्सुक भएर रोकिएरै हेरिरहेँ। तर लामो बाटो अझै धेरै नै बाँकी रहेकोले दिदीले छिटो हिँड नत्र अँध्यारो हुन्छ भन्नुभयो र फेरि फटाफट उकालो लाग्यौं।
अलिक माथि नै सिलुवातिर पुग्ने बेलामा भने हामी बाटोमा फलेको टिमुर समेत टिप्थ्यौं र खल्तीमा हाल्थ्यौं। सल्लोको बोट पनि पहिलोचोटि त्यहीँ देखेको।
नितान्त गाउँले परिवेशमा हुर्केका हामी, तीन ताक नचिनेको कोही मान्छे हाम्रो अघि पछि गर्यो भने पनि शंका र डर लाग्थ्यो कतै चोर पो हो कि या हामीलाई कुट्ने पो हो कि झैं लाग्थ्यो। किनकि उबेला कहीँ बाटो हिँड्दा आफूभन्दा ठूला कोही नचिनेको मान्छेले बच्चा देखेपछि नानाथरी कुरा गरेर डर देखाउने, तर्साउने आदि गर्थे।
त्यस्तैमा एक जना महिला भेटिइन्, उनी कहिले हाम्रो अगाडि कहिले पछाडि हुन्थिन्। हेर्दा अलिक जवानी गैसकेको जस्ती, कुर्ता सलवार लगाएकी, अनुहारमा कुनै आकर्षण नभएकी, गरगहना पनि नलगाएकी एकल महिला जस्ती भेष देखिन्थ्यो। उनीसँग आँखा जुध्दा केही संकोच र डर महसुस हुन्थ्यो हामी दुवै दिदीभाइलाई। सिलुवा काटेर माझकोटको ओरालो झर्ने बेलामा त्यहाँ खल्लुकको ठूलो रूख थियो र पाकेका केही फल भुइँभरि थियो दिदीलाई थाहा रहेछ त्यो खाने चिज हो भन्ने अनि टिप्न थाल्नुभो त्यति नै बेला ती महिलाले हाम्रो परिचय सोधिन्।
‘कहाँ जाने र कहाँबाट आएको’ भन्ने जस्ता प्रश्नहरूले।
दिदीले नै सबै कुरा बताउनुभयो र उनले पनि आफू मामाघर टीका लगाउन हिँडेको र अलि-अलि हाम्रो नाता पर्ने बताइन् अनि बल्ल हामी दिदी-भाइको संकोच र डर हरायो र ढुक्क भयौं।
पछि घर फर्केपछि पो थाहा भयो उनी 'बाल बिधुवा' रहिछिन् र त्यस्तो पहिरनमा भेटिएकी।
उनले त्यतै रामपुरमै कुनै संस्थामा जागिर गर्ने कुरा पनि आमाले बताउनु भयो। यसरी हामि त्यहाँबाट ओरालो झरेर बेलुका घाम अस्ताउने बेलातिर घुमाउने खोलामा पुग्दा भने निकै डर लाग्यो निकै निर्जन लाग्ने ठूलो बगैंचा पनि थियो त्यो शमशान घाट रहेछ।
त्यो कटेर खोला तरेपछि बल्ल साहस आयो, त्यहाँबाट केही उकालो हिँडेपछि मात्रै हाम्रो मामाघर पुगिन्थ्यो।
डाँडाघरको पँधेरो नजिकै पुग्दा त्यहाँ पानी लिन आउनुभएकी कान्छी बोई (मामाघरको हजुरामा) भेट भयो।
त्यहीँ झुम्म रूखै-रूखले ढाकिएको छहारीमुनि पानीको पँधेरो रहेछ। त्यहाँ भुइँभरि कटुसको फलहरू देखिन्थ्यो।
फल खाए पनि बाहिरको बोक्रा सहितको फल र बोट पहिलोचोटि देखेको थिएँ त्यो पनि मेरो लागि नौलै थियो।
बोइलाई ढोगभेट गरेर अलि-अलि कटुस टिप्दै बोइसँगै उकालो लाग्यौं।
मामाघर पुग्दा घरमा हजुरबुवा र दुई दिदीहरू मात्रै हुनुहुन्थ्यो। हजुरामा मामा माइजु लगायत मामाको अरू परिवार मधेशमै बस्नुहुन्थ्यो। मामाघरमा माया गर्ने हजुरामा नहुँदा साह्रै खल्लो र नरमाइलो हुँदो रहेछ। त्यो दिन मामा, हजुरबुवा लगायत मान्यजनबाट टीकाटालो र खानपिन आदि गर्दैमा बितिहाल्यो, भोलिपल्ट पनि बस्यौं हामी।
मान्छेले दुईतिरबाट बाहाँ घुमाएर उखू पेल्ने कोल चल्तीमा थियो, हाम्रा लागि त्यो कोल नौलो नभए पनि कोल भन्ज्याँगतिर उखु समेत खाने सूरले उखु पेलेको हेर्न गयौं।
मेरो घरकी दिदी मामाघरका दुइटी दिदी र मबाहेक हाम्रो ग्रुपमा अर्की एक जना मसँग बिहे गर्छु भन्ने दिदीहरूको साथी पनि थपिइन्। त्यस दिन दिदीहरूसँग हामी धेरै ठाउँ घुम्यौं कोल भन्ज्यांग, खरक, गैर्हा, डाँडाघर आदि।
जतासुकै उखु, बेलौती आदि फलफूल खाँदै अनेक तरहका गफ गर्दै हिँड्यौं।
म त खास बोल्दैनथे दिदीहरूको गफ सुन्नेमात्रै हुन्थ्यो। त्यसै पनि कम बोल्ने मान्छे म त्यसमाथि नौलो ठाउँ र मन मिल्ने मान्छे नभएको अवस्था।
रमाई रमाई दिदीहरूसँग बेलौती खान पाखोतिर गएको म उनले त्यसरी खुलेआम मसँग बिहे गर्छु भनेपछि न त पाकेका बेलौतीमा रूचि भयो न त मामाघर गएकोमा खुसी नै। बरू मामाघर नआएको भए हुन्थ्यो भने झैं भयो।
कम से कम मामाघर नआएको भए यो केटीसँग बिहे गर्न त पर्दैनथ्यो भनेझैं भयो।
मन एक्लो र उदास भैरहेको थियो र नाना तरहका कुराहरू खेलिरहेको थियो।
मामाघर दसैंको टीका लगाउन गएको म बिहे गरेर दुलही लिएर घर जाँदा के भन्ने हुन् भन्ने डरभन्दा पनि लाज बढी लागेको थियो, त्यसमाथि आफू समानको उमेरकी नभएर ठूली केटी।
उनी तरूनी र सबै कुरा बुझ्ने भैसकेकी थिइन्। स्कुले ड्रेस आकाशे सर्ट र निलो मिडी (फ्रक) मा थिइन् उनी। छाती पुष्ट भैसकेका थिए , अग्ली गोरी र राम्री पनि थिइन्।
हाम्रा अरू दिदीहरूभन्दा उनी अलिक बढी नै बोल्ने गर्थिन्।
मनमनै सोच्थें कि- उबेला हाम्रातिर त कसैले बिहे गर्ने कुरा गर्दा मात्रै पनि केटीहरू रून्थे या झगडा गर्थे र यदि बिहे नै छिनेको छ भने झन् घरबाट बाहिर निस्कँदैनथे, तर यिनी त केटी मान्छे भएर पनि बिहे गर्छु भन्न कति लाज नलागेको होला!
म आफूलाई भने अझै बच्चै सम्झन्थें र घरमा कहिलेकाहीँ कसैले बिहे गर्ने कुरा गरेर जिस्क्याउँदा समेत रून्थें।
हुन पनि उनले पाकेका र राम्रा बेलौती मलाई नै दिने गर्थिन्।
सुरूमा त उनले दिएका पाकेका पहेला बेलौती मिठो मानी मानी खाएको थिएँ तर जब उनले मसँगै बिहे गर्ने कुरा गरिन् अनि ती बेलौतीमा मन गएन रिसाएर फाल्न पनि सकिनँ, साथैमा जम्मा पारेर राखें।
बरू उनले मसँग बिहे नगरी नछोड्ने भइन् भने के गर्ने होला कसरी बिहे गर्ने होला, कसरी दुलही भन्ने होला भन्ने कल्पनामा हराउन र टोलाउन थालें।
गाउँघरमा कसैकसैले केटी भगाएर ल्याउँदा घरकाले कसरी उनीहरूको बिहे गरिदिन्थे र कसरी बस्थे ती कुराहरू सम्झें।
अनि उनी यत्तिकै अहिले म घर फर्कंदा नै मसँग भागेर जाने हुन् या घरमा भनेर सहमतिमै बिहे गर्ने होलिन् भन्ने कुरा पनि सोच्न भ्याएँ त्यतिन्जेल।
उनीहरू रूख रूख चाहर्दै हिँड्थे यता,मेरो मनमा कत्रो भुइँचालो गैरहेको छ तिनीहरूलाई केही वास्ता थिएन तर पनि म चुपचाप उनीहरूका पछिपछि हिँड्थें। घरि-घरि दिदीहरूले ए त्यसो भए त तिमीलाई हामीले बुहारी भन्नुपर्ने भो भन्दै उनलाई समेत जिस्क्याउनुहुन्थ्यो।
उनी भने झन् मच्चिँदै ‘मैले कति माया गरेर राख्छु मेरो बुढालाई, मिठो मिठो खान दिन्छु’ भन्थिन्।
त्यतिबेला मामा, दिदी लगायत तीनै जना दिदीहरूको कसैको पनि बिहे भएको थिएन दिदीहरूको उमेर र मेरोमा यस्तै चार पाँच वर्ष भन्दा बढीको फरक थिएन।
यता घरमा भने ठूल्दाइको समेत बिहे भएको थिएन भने अरू दिदी र दाइको त झन् कुरै छोडौं।
म बुवाआमाको सन्तानमध्येको चौथो रोलको साइँलोमा पर्थें। ठूल्दाइको सम्म बिहेको कुरा चल्दै गर्दा म बच्चोको बिहेको कुरा गर्दा घरमा के हुन्थ्यो, म कल्पना पनि गर्न सक्दैनथेँ।
खासमा मलाई बिहे गरेपछि श्रीमती कसरी पाल्ने, लाउन खान दिने भन्ने कुराको जिम्मेवारीको बोध नभएकोले त्यो चिन्ता पनि थिएन। गाउँघरमा भित्रिएका बुहारीहरूका श्रीमानको कमाइ नभए पनि सामान्य रूपमा घर बार चलेको देखेको थिएँ, अचेल जस्तो आफ्नो खुट्टामा नउभिई बिहे नगर्ने परिपाटी थिएन उबेला।
त्यसैले पनि बिहे गरेपछि आफैंले पाल्नुपर्ने जिम्मेवारीले पनि त्यो चिन्ता लागेको हैन।
यति सानैमा बिहे गर्दा दुनियाँले के भन्लान् भन्ने कुरा र सबैभन्दा बढी लाज लाग्ने समस्या थियो।
बिहे गरेपछि दुनियाँले जिस्क्याउँछन्,नानाथरी कुरा गर्छन् घरमा बाआमाले के भन्ने होला, अनि छर छिमेकका साथीभाइ ल झन् कति जिस्क्याउने हुन् त्यसमाथि स्कुलमा त झन् मुख देखाउन पनि सक्ने थिइनँ।
मेरो स्कुल जान बाटो नै बन्द हुन्थ्यो। बिहे गरेपछि प्रायः धेरैले पढाइ छोड्थे उतिबेला। त्यसै पनि घरमा दाजुभाइ र दिदीसँग कहिलेकाहीँ यसो झगडा हुँदा एक अर्कोमा आफ्नै क्लासका सहपाटी केटी साथीको नाम जोडेर बोलाउने र धेरै रिस उठाउने चलन थियो ऊबेला।
त्यतिमै पनि रूने र पिट्न झगडा गर्न थाल्ने म बिहे नै गरेपछि त झन् के बाँकी रहन्थ्यो र?
त्यसरी आफूसँग नाम जोडिएका क्लासका केटी साथीहरूसँग बोल्न पनि अप्ठ्यारो र लाज लाग्थ्यो स्कुलमा।
कहिलेकाहीँ आमाले काखमा लिएर टाउको सुम्सुम्याउँदै मेरो काली कहिले ठूलो भएर दुलही ल्याएर मलाई सुख कटाउने होला भन्नुहुँदा त जुरूक्क आमाको काखबाट उठेर खुट्टा बजार्दै रून्थें तर त्यहाँ त त्यस्तो घुर्की देखाएर रूने ठाउँ पनि कोसँग गरू।
यति हुँदाहुँदै दोमन दोधार र अन्योलमा पिङ खेल्दा खेल्दै बेलुकी भैहाल्यो र हामी फर्कने तरखर गर्यौं अब के गर्लिन् के भन्लिन् भन्ने जिज्ञासा मनमा लागिरहँदै गर्दा ती मैयाले मायालु पाराले मेरो गाला चिमोटेर हामी सबैसँग बिदा भएर गइन्।
उनी हाम्रो बिहेको बारेमा केही निर्णय नगरी बिदा भएर गएपछि भोलि बिहे गरेरसँगै जाने हुन् कि हैनन् त्यो प्रस्ट भएको थिएन अथवा फेरि बिहेको कुरा गर्न आउँछिन् कि आउँदिनन् भन्ने निश्चित नभएकोले मेरो मन यत्तिकैमा शान्त भएन तर दिदीहरूसँग हाम्रो बिहेको कुरा सोध्न पनि सकिनँ।
घर पुगेपछि पनि म नखुलेर बसेको देखेर दिदीहरूले नै कुरा कोट्याउँदै ‘तिमीलाई त्यो केटीले बिहे गर्छु भनेर पीर मानेर नबोलेको हो कि क्याहो? दिनभरि पनि बोलेनौ ठुस्स परेर हिँडी रह्यौ भन्दै बिचरा हाम्रो बालखा भगु भाइको अहिले नै किन पो बिहे गर्न दिन्थ्यौं, त्यसले त जिस्क्याएको पो साँच्चै झैं मानेछौ तिमीले त, कति लाटो हाम्रो भाइ त्यति कुरा पनि नबुझेर यत्रोबेर फुलेर बसेको? दुलही पाल्न पर्यो भनेर डराएको हो कि क्याहो’ भन्नुभो।
त्यसमा दिदीले पनि थप्दै यो त यस्तै छ के कुनै कुरा चित्त बुझेन भने सधैं यस्तै हो जहिले पनि एकोहोरिएर बस्छ भन्नु भयो।
अनि बल्ल दिदीहरू मात्रै भएको मौकामा मेरो वाक्य फुट्यो र उनले मसँग बिहे गर्ने कुराले नै त्यस्तो गरेको बताएँ।
अनि किन त झन् तिमीहरूले समेत मलाई जिस्क्याएका र उसैलाई साथ दिएका भनेर म अलिक रिसाएँ पनि।
दिदीहरूले साँच्चै हो त अनि? जिस्क्याउन पनि नपाइने के भयो त ? जिस्क्याएर त्यो केटी भोलि नै तिमीसँग जाँदिन क्यारे, अब चुप्प लागेर खुसी भएर बस भन्नुभो।
दिनभरि वर्षायामको कालो बादल मडारिएझैं धुम्मिएको मेरो मन बेलुका मात्रै खुलेर प्रफुल्ल भएको थियो र सामान्य अवस्थामा आएको थिएँ।
बिहे गर्न नपर्ने र दुलहीको कुरा सकिएकोले ठूलै दशा काटेको जस्तो मन हलुका भएको थियो र क्षण भरमै फुरुंग हुँदै दिदीहरूसँग गफिन थालेको थिएँ म, ठूलै युद्ध जितेजस्तो भैरहेको थियो।
पछि हामी घर फर्केपछि पनि दिदीले घरमा आएर ती मैयाको बारेमा अरू कसैसँग र उनको नाम लिएर मलाई पनि केही भन्नु भएन।