फेसन भन्ने बित्तिकै तपाईंको दिमागमा के कुरा आउँछ? पक्कै पहिरन भन्ने आई नै हाल्छ। मानिसको जीवनशैलीसँग जोडिएको ‘पहिरन’ एक अभिन्न अंग हो। मानिसहरूका लागि आधारभूत आवश्यकताभित्र गास र बासपछि कपास आउँछ। सकभर मीठो खाने र राम्रो लगाउने रहर हर कोही व्यक्तिको मनमा हुन्छ। तर, रहरले मात्र सबैथोक पुग्ने भए पो !
यस लेखमा विशेषगरी पहिरनको बारेमा चर्चा गरिनेछ। जसरी जीवनमा खानपान, योग, ध्यान, रहनसहनको महत्व छ, त्यसरी नै पहिरनको पनि आफ्नै महत्व छ। पहिलो भेटमै हामीले कोही व्यक्तिप्रतिको धारणा कस्तो बनाउँछौ? पहिरन र उसको बोली, बचनले मानिसको व्यक्तित्व झल्काउँछ। कुन ब्राण्ड र कति महंगो लुगा लगाएको छ भन्ने कुरा गौण हो।
अरुको नजरमा पर्नका लागि महंगो लुगा, महंगो परफ्युम लगाउँनै पर्छ भन्ने छैन। बरु आफ्नो ज्यानमा सुहाउने पहिरन छ कि छैन ? कसरी लगाईएको छ ? छनोट मिलेको छ कि भन्ने कुराले अर्थ राख्ने गर्छ। आफ्नो पेशाको मर्यादा राख्न र व्यक्तित्व झल्काउँन उचित पहिरनको छनोटबारे ज्ञान हुनु जरुरी छ।
हामीले कुनै मानिसप्रति कस्तो धारणा बनाउँछौं भन्ने कुराको निर्धारण उसले लगाएको पहिरनले मुख्य भूमिका खेल्ने गर्छ। हामीले पहिरनकै आधारमा अरूको पेशा, व्यवसाय, आम्दानी, सामाजिक मर्यादा र हैसियतबारे मत बनाउने गर्छौं। पोशाककै भरमा हाम्रो बारेमा पनि अरूले आफ्नै धारणा बनाउँने गर्छन्। तसर्थ तपाईँ कुन कार्यक्रममा जाँदै हुनुहुन्छ? कस्तो ठाउमा जाँदै हुनुहुन्छ? कस्तो व्यक्तिलाई भेट्दै हुनुहुन्छ ? त्यसबारे ज्ञान हुनु एकदमै जरूरी छ। एउटा नेपाली उखान नै छ नि,
‘खाना खानु आफ्ना लागि, लुगा लगाउनु अर्काका लागि!’
मन लाग्दि खान थालियो भने स्वास्थ्यमा असर पर्छ। मन लाग्दि लगाउन थालियो भने समाजमा नराम्रो छवि स्थापित हुन्छ। खानेकुरा व्यक्तित्वको छनोटको विषय हो भने पहिरन सामाजिक रूची र मान्यताको वस्तु हो। पहिरनले जाति, धर्म, पेशा, व्यवसाय, परम्परा, सामाजिक र आर्थिक हैसियत झल्काउँछ। कतिपय व्यक्तिहरुलाई पेशा र व्यवसायका आधारमा चिन्न सकिन्छ। सेना, प्रहरी, डाक्टर, नर्स, पाइलट, वकिललाई उनीहरूको पहिरनका आधारमा सजिलै चिन्न सकिन्छ। युनिफर्म वा ड्रेस कोड त्यसैको अभ्यास हो।
लामो समय शैक्षिक क्षेत्रमा बिताएकाले मलाई के अनुभव छ भने, विद्यार्थीहरूले कुन शिक्षकसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा शैक्षिक सत्रको पहिलो दुई हप्ताभित्र शिक्षकका आनीबानी, काम र पहिरनका आधारमा निर्धारण गरिसक्छन्। शिक्षकले आफ्नो पहिरन, बोलीचाली, व्यवहारबाटै आफ्नो बारेमा बताउने गर्छ। मानिसहरूले अरूको लवाइ–खवाइ र बानी–व्यहोराका बारेमा हरदम चियो–चासो राखिरहेकै हुन्छन्।
अमेरिकी शिक्षाविद्द्वय ह्यारी वोङ र रोजमरी वोङले आफ्नो पुस्तक ‘द फस्ट डेज अफ स्कूल’ मा गतिलो शिक्षक बन्नका लागि शिक्षकले पहिरन पनि उपयुक्त छनोट गर्नुपर्ने आधार र कारणहरुबारे ब्याख्या गरेका छन्। ह्यारी र रोजमरी लेख्छन्, ‘अन्तर्वार्ता लिने व्यक्तिले अन्तर्वार्ता दिने व्यक्तिका बारेमा प्रारम्भिक धारणा २० सेकेण्डमा बनाईसक्छन् भने बिक्रेताहरू आफना ग्राहकहरुलाई प्रभावमा पार्न सात सेकेण्ड पर्याप्त हुन्छ भन्ने ठान्छन्।’ उक्त पुस्तकमा लेखिएको छ, ‘शिक्षक कक्षाकोठामा प्रवेश गर्दा विद्यार्थीहरुको पहिलो हेराइ शिक्षकको अनुहार र उसले लगाएको पहिरनमा पर्छ।’ पहिरनले शिक्षण र शिक्षण व्यवसायमा के कस्तो असर पार्छ? नेपालमा यस सम्बन्धी बहस, छलफल चलाउनु एकदमै जरूरी छ।
अलिकति प्रसंग बदलौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रायः चिटिक्क परेर हिँड्नुहुन्छ। उहाँको पहिरनको चर्चा निकै हुने गर्छ। उहाँले लगाउने कोट त ‘मोदी कोट’ का रुपमा ब्राण्ड बनिसकेको छ। कुर्ता बाहिर भारतीय प्रधानमन्त्री मोदीले लगाउने चिटिक्क परेको कोटले उहाँको व्यक्तित्व अर्कै रुपमा स्थापित छ। मिडियाकर्मीले एक पटक उहाँलाई सोधेका थिए, ‘तपाईँको पहिरनको डिजाइनर को हुनुहुन्छ?’ मुसुक्क हाँस्दै मोदीले त्यसको जवाफ दिएका थिए, ‘त्यस्तो विशेष डिजाइनर कोही छैन। म आफैंले पहिरनको छनोट गर्छु।’
भारतीय चर्चित मिडिया आजतकले त मोदीलाई ‘द स्टायल आइकन’ भनेर एक रिपोर्ट नै प्रशारण गरेको थियो। फेसन डिजाइनर रीना ढाका र गौरव गुप्ताले मोदीको पहिरन कन्सियसप्रति तारिफ गरेका थिए। पूर्व राष्ट्रपति बराक ओबामाले मोदीको पहिरनको प्रशंसा गरेका थिए। हरेक कार्यक्रम र अन्तर्राष्ट्रिय सभा, समारोहमा उनको पहिरनको चर्चा हुनेगर्छ। भारतको अहमदाबादस्थित एक कम्पनीले मोदी सुट्, ज्याकेट, कुर्ता तयार पार्नेगर्छ। विश्वका चर्चित फेसन म्यागेजिनले मोदीको फेसनबारे कभरेज गर्ने गर्छन्।
यस्तै अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाकि पत्नि मिसेल ओबामा पनि पहिरनकी सौखिन हुन्। उनी पहिरनप्रति निकै कन्सियस हुन्छिन्। उनको पहिरन नेपाली मुलका फेसन डिजाइनर प्रबल गुरूङले गर्ने गर्छन्। प्रख्यात व्यक्तिका पहिरनले मात्र होइन फेसन डिजाइनरले समेत पर्याप्त चर्चा बटुल्ने गर्छ। मिसेल ओबामाको फेसनबारे अमेरिकन प्रतिष्ठित मिडिया एबिसी न्युज लगायत कैयौंले बिशेष सामग्री प्रशारण गरेका छन्। र, उनका फेसन डिजाइनरको समेत अन्तवार्ता पस्किएका छन्।
विश्वका चर्चित व्यक्तिको हकमा मात्र होईन। सामान्य मानिसहरुको जीवनमा पनि यही कुरा लागु हुन्छ। पहिरन केवल मानिसको शोभा मात्र होईन। यो मानिसको गहना पनि हो। उचित पहिरनले मानिसलाई आत्मविश्वास पनि दिने गर्छ। जुन कुरा एक पटक नियाल्ने बित्तिकै अनुमान लगाउन सकिन्छ।
पहिरन हाम्रो मौलिक संस्कृति पनि
पहिरन हाम्रो मौलिक संस्कृति पनि हो। हरेक जात जातिको आफ्नै बेग्लै पहिरन छ। गुरूङ, मगर, थारु, नेवार, राजबंशी लगायत जातजातिहरूको आ–आफ्नै पहिरन छ। नेपालको कैलाली कञ्चनपुरमा बस्ने राना थारू समुदायको आफ्नै भाषा, संस्कृति छ। उनीहरुको आफ्नै मौलिक पहिरन छ।
राना समुदायका महिलाहरु आफ्नै हातले सिलाएको घघरिया (गुन्यू) र अगियाँ (चोली) पहिरिने गर्छन्। उनीहरुको गरगहना झनै आकर्षक देखिन्छ। गुन्युमा चाला, कंचट लगाउँछन्। खुट्टामा चाँदीको बिच्छु, मालाका रुपमा गरेला, चाँदीको हार, सुनको नग्वेसर, कानमा वीर, उफनको डल्लो बनाएर फुलवा र गुट्का, चाँदीकै सिक्कामा माला लगाउने गर्छन्। हेर्दै लोभ लाग्दो देखिने राना समुदायको पहिरनले उनीहरुको बेग्लै पहिचान स्थापित भएको छ। यस्तै थारू, मगर र राजबंशीहरुको पनि आफ्नै मौलिक पहिरन छ।
शैक्षिक क्षेत्रमा लामो बिताएपछि म अहिले फेसन उद्योगमा प्रवेश गरेँ। बिगत ५ वर्षदेखि सर्टिङ सुटिङ व्यवसायमा आवद्ध छु। नरदेवीमा श्रीराज कलेक्सनसँगै अहिले बागबजारमा सुट्माला सञ्चालन गरिरहेको छु। यस क्रममा समाजका बिभिन्न पेशा, व्यवसाय र आम नागरिकहरुको जीवनशैली र पहिरनको ट्रेन्डलाई नियालेको छु। धेरैजसो स्थापित, प्रतिष्ठित व्यक्तिहरुले पहिरनप्रति त्यती ख्याल नगरेको पाउँछु। यसप्रति सचेत बन्न, आधारभुत ज्ञान हुनु जरुरी छ जस्तो लाग्छ। अरु भन्दा फरक, स्मार्ट देखिन पहिरनप्रति थोरै कन्सियस हुन आवश्यक छ। आखिर सानै कुराले पनि हाम्रो जीवनमा ठूला महत्व बोकेका हुन्छन्।
कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बाग्मति प्रदेशका सचिव हुन् ।