समयको धागोमा थुप्रै वसन्तहरूलाई उनेर जिन्दगी पाको बनाइसकेको छु मैले। हुन त म त्यति धेरै पुरानो जमानाको भने पक्कै होइन। तर अहिलेको जस्तो इन्टरनेटको बेला चाहिँ थिएन मेरो जिन्दगीले युवा अवस्था बिताइरहँदा!
अहिलेजस्तो फेसबुकमा ग्रुप च्याट अनि युट्युबमा रचिने भाइरल काण्डहरूको सट्टा जुनेली रातहरूसँग गजबको मित्रता गाँसेर रोदी बस्दै र झ्याउरे गाएर भरपुर आनन्द बटुल्ने गरिन्थ्यो! अहिलेजस्तो फेसबुक वाल चहार्दै साथीसंगी बटुल्ने बेला थिएन त्यो बखत।
हप्ताभरि कुरेर रेडियो नेपालबाट प्रसारण हुने साप्ताहिक सुमनसुधा साइनो कार्यक्रममार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नयाँ-नयाँ साथीसंगीसँग मित्रताको न्यानो सम्बन्ध गाँस्ने गरिन्थ्यो! युवा मन्च, मधुपर्कजस्तो मासिक पत्रिकाको अन्तिम पृष्ठमा प्रकाशित गर्ने पत्रमित्रता स्तम्भको सहयोगले थुप्रै मित्रहरू बनाउन सफल भएको थियो!
विज्ञानको विचित्रमयी चमत्कारको फाइदा लुटेर फोटोशपबाट अर्धबैंसे तन्नेरी फोटोलाई भर्खरको लर्के ठिटोजस्तै बनाएर फेसबुकको भित्ताभरि सजाउन सिपालु बनिसकेँ म आजभोलि। आज आफ्नै जिन्दगीको स्वर्णिम अतीततर्फ फर्कने दुस्साहस गर्दैछु!
गजबको थियो त्यो दिनहरू। स्कुलको कक्षा कोठा चहार्दै, आफू समानको साथीसंगीसँग खेल्दै डुल्दै बा-आमाको आँखा छल्दै, उमेर नपुगेको आँपको चिचिला तोड्दै, छिप्पिन नपाएको केराको बुंगा चुड्दै अनगिन्ती गरेको उटपट्याङ कर्महरूको लिस्ट बनाउने हो भने थुप्रै कोरा पन्ना भरिन्छ होला।
मानौं पढ्नु भनेको आफ्नो लागि नभएर बा-आमाको लागि पढिदिनु पर्ने जस्तो लग्दथ्यो! विवश हुँदै बाध्यताको गह्रुङ्गो भारी बोकेको भान हुन्थ्यो त्यो बेला। जुन बेला गोराहरूको भाषामा टीनएज भन्ने गर्दो रहेछ, बैंसमा स्याल पनि घोर्ले हुन्छन् रे भन्ने उखान हो जस्तै लागेको थियो। सायद बैंसालु बैंसको हुरीले तनमनलाई न्यानो स्पर्शले छोपिँदै गरेको मेरो जिन्दगीले विपरीत लिंगिप्रति आकर्षण हुने हर्मोन उत्पादन गरिसकेकोले होला, लुकिलुकी हेर्ने गरिन्थ्यो आफू समानको उमेर भएकी संगीलाई।
कुरा कक्षा नौ पढदा बेलाको हो। म अनि मेरो साथी मिलेर युवामन्च पत्रिकामा पत्रमित्रताको लागि फोटो, ठेगाना, रुचिबारे लेखेर पत्र पठाउने निधो गर्यौं। फोटो थिएन, फोटो खिच्न जिल्ला सदरमुकाम नै पुग्नु पर्थ्यो त्यो बेला। सदरमुकामसम्म पुगेर फोटो खिच्ने काम चानचुने कुरा थिएन हाम्रो लागि। तैपनि झुटो बहानाको साथ लिएर सिधा बा-आमालाई मनाउन सफल भयौं हामी। फलस्वरूप गाउँदेखि टाढाको सदरमुकाम पुगेर काम फत्ते गर्यौं। फोटो तत्काल नपाउने रहेछ अहिले जस्तो। केही दिनको पर्खाइपछि फोटो ल्याएँ अनि युवामन्च पत्रिकाको ठेगानामा पठाएँ मैले र मेरो साथीले।
त्यसरी फोटोसहित पठाएको चिठी पुगेछ उता पुगेछ। ५/६ महिनापछि म र मेरो साथीको फोटोसहित नाम-ठेगाना पत्रमित्रता स्तम्भमा छापियो। खुसी कति भइयो वर्णन गर्न सक्दिनँ अहिले। रिजल्टमा पास हुँदा पनि त्यति खुसी हुँदैन थियौं हामी।
जीवन बगिरहेको थियो खोलाजस्तै गरी। समयसँगै बग्दै गरेको म स्कुलले शिक्षा पूरा गरेर उच्च शिक्षा हासिल गर्न सहरतिर बसाइँ सरिसकेको थिएँ। लगभग बिर्सिसकेको थिइयो त्यो बालपनको कुराहरूलाई। पढाइको साथसाथ हातमुख जोर्न गर्नुपर्ने कर्ममा तल्लीन हुँदै हराउँदै थियो विशाल सहरको विशाल भिडहरूमा।
समय मिलाएर गैइन्थ्यो गाउँ, बेलाबेला बा-आमासँग बिछोडिएको पीडामयी उकुसमुकुस मेटाउन।
ठ्याक्कै तिथिमिति भुलें अहिले! तर शुक्रबार थियो त्यो दिन। म गाउँमा थिएँ त्यो बेला। के-के गर्दै बा-आमासँग रमिरहेको थिएँ। मेरो घरको दोबाटो हुँदै गाविस नजिकैको हुलाक कार्यलयबाट गाउँकै हुलाकी दाइ हातमा केही थान पत्र लिएर 'सुशील, तेरो पनि चिठी छ' भन्दै एउटा खाम मेरो हातमा थमाएर लागे उनी आफ्नो बाटो।
त्यो शिलबन्दी खाम ओल्टाइ-पल्टाई हेरेँ। खाममा पाउनेको नाम-ठेगाना मज्जाले लेखेको छ। तर पठाउनेको ठेगानामा जिल्ला अनि नेपाल मात्रै लेखेको रहेछ। नाममा अगाडिको एक अक्षर अनि थर मात्रै लेखेको थियो।
हतार हतार चिठी खोलें।
प्रीय साथी,
छोटो जीवनको लामो सम्झना।
'प्रिय साथी' सम्बोधन गरेर चिठी लेख्ने दुस्साहस गरें, यो शब्दले तिमीलाई अप्ठ्यारो लागे क्षमा गरिदिनू! साथी तिमीलाई अचम्म लाग्ला कसरी मैले तिम्रो नाउँमा चिठी लेखेँ भनेर। तिम्रो नाम ठेगाना युवामन्चको पत्रमित्रता स्तम्भबाट पाएको हो। जुन दिन मैले तिम्रो ठेगाना रुचि अनि निर्दोष फोटो देखेँ! म तिमीभित्र हराउन पुगें। मिठो-मिठो सपनाहरू सजाएर कल्पनाको रंगिन दुनियाँमा असीमित खुसी र उमंगको खेती गर्न पुगेछु। कल्पिरहेको कल्पनाको फूलबारीमा रंगिबिरंगी पिरतीको फूल फुलाउन थालेछु। यथार्थदेखि धेरै टाढाको कल्पनाको क्षितिजबाट निर्लज्जा भएर एकतर्फी माया गर्न थालेछु! प्रेम गर्नु पाप होइन भन्ने कुराको ख्याल राखेर तिमीलाई प्रेम गर्छु प्रेम गरिरहने छु। तिमीसँग भेट हुन्न! तिमीलाई चाहेर पनि आफ्नो बनाउन सक्दिनँ। र पनि म तिमीलाई निश्वार्थ माया गरिरहने छु!
उहीँ अज्ञात साथी।
खामभित्र बन्द भएर आएको एक पोको निःस्वार्थ प्रेमले सजिएको चिठी मेरो नाउँमा चिट्ठा पर्दा खुसी पनि लजाएको थियो होला सायद म खुसी भएको देखेर! तर पीडा यो कुराको थियो, चाहेर पनि मैले उनलाई चिठी पठाउन सक्दिनँ। उनीले चाहेर वा नचाहेर आफ्नो ठेगाना उपलब्ध गरेको थिइन। किन दिइन ठेगाना उनी जानून तर पत्रमा लेखी पठाएको शब्दहरूले गजबसँग बास गरेको थियो मेरो मनमा। को होलिन्? कस्ती होलिन्? कुन गाउँकी होलिन्? जवाफ बिनाको थुप्रै प्रश्नहरू धेरै पटक दोहोरिने छ म जीवित रहिन्जेल!
सरदर नेपालीको उमेरको हिसाबले जिन्दगीको आधा बाटोतिर आइपुगेको छु र पनि मन उस्तै पाउँछु, जस्तो पहिला थियो। उनले पठाएको त्यो अज्ञात प्रेम पत्रको अक्षरहरू शिशिरको पातझैँ उजाड हुँदै गएको छ! पुरानो भएर होला गाढा निलो अक्षरहरू फिक्का-फिक्का हुँदैछ।