मेरो हालैको मलेसिया भ्रमणमा डाक्टर महाथिर महमदको पार्टी, होमल्यान्ड फाइटर्स पार्टीको युवा सङ्गठनका पूर्व-महासचिवसँग लामो छलफल भयो। मित्र भएको नाताले उनीसँग राजनीति र विशेष गरी मलेसियन राजनीतिबारे गहिरो छलफल भयो।
झट्ट हेर्दा विशाल संरचना, सफा सहर, गुणस्तरीय शिक्षा र लगभग निःशुल्क स्वास्थ्य सेवा अनि देशको जनशक्तिले नपुगेर बाहिरबाट आयत गर्नुपर्ने। मैले सोचेँ, यहाँ के समस्या होलान् र?
उनले जवाफ दिए, 'साथी, हाम्रो देश हाँक्ने नेता सबै बुढा भइसके। उनीहरूलाई प्रविधि आउँदैन। यो प्रविधिले चल्ने युगमा उनीहरूले कसरी शासन गर्छन्? मलाई त मेरो छोरीको पुस्ताको लागि डर लाग्छ।'
मनमनै सोचेँ, अवस्था त हाम्रोजस्तै रहेछ।
तर कहाँ हाम्रो नेपाल, कहाँ १३,२६८ डलर प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन भएको मलेसिया! त्यत्तिको देश हुन्थ्यो भने त किन गुनासो हुन्थ्यो र जस्तो लाग्ने हामी नेपालीलाई। तर मानव स्वभाव न हो, पूर्ण सन्तुष्टि हुँदैन र हुनु पनि हुँदैन।
अनि एकान्तमा नेपालको अवस्था सम्झेँ। त्यहाँ त कम्तीमा आधारभूत सेवा सुविधा पुगेपछिको गुनासाहरू हुन्। हाम्रोमा आज पनि स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता आधारभूत विषयले नै राजनीति सञ्चालित छ। नेपालको हालको अवस्था समग्रमा निराशाजनक नै देखिन्छ।
भयको विषय त अहिलेका शीर्ष नेता जो अधिकांश ७० पार या हाराहारीको अवस्थामा छन्। उनीहरूसँग न रूपान्तरणको कुनै योजना छ न त विश्राम लिने छनक। घरीघरी त उहाँहरूलाई पनि लाग्दो हो- म राजनीति किन गर्दैछु?
ठूला राजनीतिक दलमा ७८ वर्षीय देउवाको सभापतित्वको यो अन्तिम कार्यकाल हो। विधान मिच्ने काम भएन भने पुस्तान्तरणको सम्भावना बोकेको पार्टी कांग्रेस नै देखिन्छ। कम्युनिस्ट पार्टीहरूमा माओवादीको अध्यक्ष स्थापनाकालबाट नै ६९ वर्षीय प्रचन्डनै छन् र उनैले मलाई पुग्यो नभनुन्जेल मृत्युपरान्त सुप्रिमो रहने निश्चित छ। एमालेमा कुनै समय कांग्रेसभन्दा राम्रो रहेको आन्तरिक लोकतन्त्रलाई ओलीको राजले समाप्त पारिदिएपछि सम्भवतः ७० पुगेका ओली पनि अझै एक दशक सत्तामा रहने सपना देख्दै छन्।
जेमी ससकाइन्डले आफ्नो किताब 'फ्युचर पोलिटिक्स'मा भनेका छन्, '२०औ शताब्दी तनाशाहहरूसँग स्वतन्त्रताको लागि लड्नु पर्ने युग थियो भने २१औं शताब्दी 'टेक जाइन्ट्स' सँग फेरि त्यही स्वतन्त्रताको लागि लड्नु पर्ने युग हो।'
केही मुलुकहरूले महत्त्वपूर्ण सूचना चुहिने भन्दै टिकटकलाई प्रतिबन्ध गरे। हामीले मोबाइल फोनमा ५ मिनेट वाशिङ मेसिनको कुरा गर्दा एकछिनमा इन्स्टाग्रामको स्टोरीमा वाशिङ मेसिनकै विज्ञापन आउँछ। यो सुविधा त होला तर यसले ल्याउने खतराका बारे हामीले छलफलसम्म गरेका छैनौं। हाम्रा संसदीय बहसमा यी विषयले कहिले ठाउँ पाउने? आधारभूत आवश्यकताभन्दा माथि हाम्रा छलफल कहिले पुग्ने? समस्या त के छ भने यी विषय महत्त्वपूर्ण हुन भन्ने कुरा हाम्रा पहिलो पुस्ताका नेताहरूलाई थाहा नै छैन।
केही औँलामा गन्न सकिने नेताहरू बाहेक २० वर्ष पछिको नेपाल कस्तो हुन्छ भन्ने दृष्टान्त पाइँदैन। गगन थापा, विश्वप्रकाश शर्मा, स्वर्णिम वाग्ले, बाबुराम भट्टराईलगायत केही नेताहरू अपवाद मान्न सकिन्छ तर अधिकांश समकालीन नेताहरूमा त अब परिवर्तनको हुटहुटी पनि देखिन्न। गगन थापासँगको हालैको भेटमा उनी ब्लक-चेनको बारे हामीलाई आफूले पढेको कुरा बताउँदै थिए।
नेपालमा उनी मैले देखेको पहिलो नेता हुन् जो सत्ता पाइहालेमा के गर्ने भनेर पर्याप्त अध्ययन गरेका छन् र अरूभन्दा धेरै तयार छन्। अहिलेको अवस्थामा ७० आसपासका नेताहरूको यो सिन्डिकेट तोड्ने सम्भावना पनि उनै गगनको देखिन्छ।
राजनीतिक परिवर्तन लगभग संस्थागत भइसकेको र अब अभूतपूर्व रफ्तारमा समुन्नतितर्फ दौडिनु पर्ने युगमा, केवल क्रान्ति हाँकेको कलाले काम दिँदैन। यो युगमा शासन गर्ने मापदण्ड आन्दोलन सफल पारेको, त्याग गरेको, जेल-नेल भोगेको इत्यादि मात्र हुन सक्दैन।
म फेरि त्यो पुस्ताका नेताहरूको केही योगदान नै नभएको भाष्यसँग पनि सहमति राख्दिनँ। तर क्रान्ति हाँकेका गान्धीले देश निर्माणको जग बसाल्न जसरी नेहरूलाई सत्ता सुम्पिए, त्यो दूरदर्शिता र त्याग नेपाली नेताहरूमा देखिएन। हुन त सुशीला कोइरालाले पनि विपीलाई गान्धीको भूमिकामा रही, सत्ता अरुलाई नै चलाउन दिनु भनेर आग्रह गरेकी थिइन्। तर नेपालको परिवेश र समय फरक थियो। प्रतिभा र अनुभवको पनि अभाव थियो जसले विपीलाई गृहमन्त्री बन्न बाध्य बनायो। अधिकांश नेताहरूले सत्तालाई आफ्नो सङ्घर्षको क्षतिपूर्तिका रूपमा मात्र लिए।
धेरै देशले अहिले ई-गभर्नेन्सलाई गम्भीर रुपमा लिएका छन्। कतिले ई-गभर्नेन्स मन्त्रालयसम्म बनाएका छन्। हाम्रोमा यो छलफलमा आएको छैन। प्रविधिको विकास यो रफ्तारले भइरहेको छ कि पहिले ३० वर्षमा हुने पुस्ता परिवर्तन अहिले ५-६ वर्षमै हुन्छ। हाम्रो पहिलो पुस्ताको नेताले बुझ्नु पर्छ, अहिलेको संसार अब उहाँहरूले बुझिनसक्नु छ। यो अल्गोरिदमले चलाउने संसारको लागि सुहाउँदो नेतृत्व दिलाउन उहाँहरूले मार्गप्रशस्त गर्नैपर्छ। अन्यथा के हुन सक्छ भन्ने त काठमाडौँको स्थानीय चुनावले देखाइसक्यो। सत्ताको ढिपी नछोड्ने हो भने भोलि केशव स्थापित र सिर्जना सिंहको ठाउँमा देउवा, ओली र प्रचण्ड हुने निश्चित छ।
जनताको अपेक्षा अभुतपूर्व रुपमा आकाशिएको छ। अहिले धेरै नेपालीले विदेश देखेका छन्, विकसित देश देखेका छन्। नदेख्नेले पनि युट्युबजस्ता प्ल्याटफर्ममार्फत एक विकसित मुलुक कस्तो हुन्छ भन्ने भेउ पाएका छन। आफ्नो देश पनि त्यस्तै होस् भन्ने इच्छा राख्नु नाजायज पक्कै होइन। यो देश नबन्नकै लागि बनेको पनि त नहोला।
यही अनुहारहरूले राजनीति कब्जा गरेको देख्दा जनता बेचैन हुनु पनि स्वभाविक हो। निचोडमा भन्दा पहिलो पुस्ताका नेताबाट देश बन्छ भन्ने आशा जनतामा त के, स्वयम उहाँहरूको परिवारलाई पनि नहोला।
तसर्थ, पहिलो पुस्ताले आफैलाई सोध्नै पर्छ- 'अब मेरो राजनीति केको लागि?'