केही दिन अघिको मात्रै कुरा हो, आमा बिरामी हुनुभयो भन्ने खबर मामुमार्फत मैले थाहा पाएँ। आमा मेरो मामाघर पट्टिको अनि दुई आमाबुवा झापामा हुनुहुन्थ्यो। सानैदेखि मामाघर बसेकोले गर्दा एकदमै माया लाग्छ उहाँहरूको। खबर सुन्ने बित्तिकै न त आमालाई फोन गर्न भ्याएँ न त बुवालाई नै। कलेज र कामको चपेटामा फोन गर्नुपर्छ भन्ने कुरा दिमागबाट हटेछ।
फेरि केही दिनपछि आमालाई ब्रेन ट्युमर भयो भन्ने खबर पाएँ। अलि धेरै नै झस्किएँ म त्यतिबेला। दिमागले आमा बिरामीभन्दा पनि बुवा प्रतिको माया जागेर आयो। बुवाको चार पटक मुटुको शल्यक्रिया गरेको पहिला, अनि एकदमै भावनात्मक मान्छे हुनुहुन्छ। मैले कसलाई फोन गरेर के सोध्नेजस्तो भयो।
मामु र सानी सुनसरी घरबाट तुरुन्तै मामाघर पुग्नुभयो। एकजना मामा अनि सानी विदेशमा हुनुहुन्छ, जेठो मामा-माइजू चाहिँ काठमाडौंमा बस्नुहुन्छ। म र मेरो बहिनी बेलामौकामा मामाकोमा गइरहन्छौँ। आमा र बुवा आत्तिएको देखेर मामु अनि सानीले तुरुन्तै काठमाडौं पठाइदिनु भयो। यहाँ आएपछि सुरुआती बेलाको ट्युमर रहेछ भन्ने थाहा भयो। जोर-जोरसँगले धढ्किएको मुटु मानौं एकदम शान्त भयो, शालिन नदीजस्तै।
असली खुसी त झन् त्यतिबेला लाग्यो जब शल्यक्रिया बिना नै ठिक हुन्छ भनेर डाक्टरको भनाइ रह्यो। केही दिनदेखि भंग भएको ध्यान फेरि एकाग्रह हुन पुग्यो। म अनि मेरो बहिनी छुट्टीको दिन मिलाएर भेट्न गयौँ। मेरो भाइ पनि एसइई परीक्षा दिएर यतै थियो। उसले पनि आमाबुवाको मज्जाले सेवा गर्यो। तर बुवाको जस्तो प्रेममय सेवा सायदै कसैले गर्छ पनि होला।
आमाबुवाको सम्बन्ध मलाई पहिलादेखि नै उदाहरणीय लाग्छ। दुवै जना एकअर्कालाई एकदमै माया गर्ने। अहिले आफै दबाइको भरमा रहिरहँदा पनि कहिले कुन दबाइ खाने भन्ने कुरामा बुवाबाट गल्ती भएको छैन। बेलाबेलामा 'के खान्छौ त लता?' भनेर प्रश्न गरिरहनु हुन्छ। हामीलाई त्यो देखेर एकदमै खुसी लाग्छ। कस्तो प्रगाढ माया! अब अन्त्यको पर्खाइसँगै गर्न पाएर हो कि वा बुढेसकालमा एकअर्काको सहारा हुन पाइयो भनेर हो थाहा भएन।
'तर यति छिटो औषधिको गुलाम भइएला जस्तो लागेको थिएन नातिनी' भनेर चाहिँ दु:ख पोख्नुभयो। आफ्नो पनि यस्तै दिनहरू आउलान् भनेर सोचेँ। तर 'बुवाजस्तो माया गर्ने मान्छे भएन भने नि?' भन्ने प्रश्नले एकैछिन दिमाग तताएँ। फेरि आमाबुवा तिरै फर्किएर 'दुई रोगीहरूलाई मायाले नै त बलियो बनाएको होला नि' भन्ने सोचेँ।
माया अलि अचम्मको नै हुने रहेछ। कुनै बेला फलजस्तो लाग्छ, जति मान्छे पाक्दै गयो त्यति मिठो हुँदै जाने। अनि कुनै बेला सबै स्वास्थ्य समस्याको जडजस्तो पनि लाग्ने। मायाले बाँधिएर गरेको बिहे अनि सन्तानको लागि गरेको दु:ख गलत त होइन होला नि जस्तो पनि लाग्ने। के हो माया चाहिँ बुझ्न सकेको छैन। मेरो लागि मैले बुझेको चोखो माया केबल आमा बुवाको माया हो। म धेरै बुझ्न पनि चाहन्नँ अहिलेलाई किनभने धेरै भारी लाग्छ यो शब्द आजकल।
दिमागमा कुरा खेलाउँदा खेलाउँदै आमाको आवाजले अलि झस्किएँ। 'तिमीहरू गयौ भने शून्य हुन्छ' भन्नुभयो। समय मिलाएर अलि बस्न सकिनँ। फेरि छुट्टीमा आउँछु भनेर मन भारी बनाएर बिदा मागेँ। कोठामा फर्किंदै गर्दा अनेकौं प्रश्नहरूले हान्यो। अनि मनमनै संकल्प गरेँ- जस्तोसुकै भए पनि विदेश चाहिँ जान्नँ। मलाई महङ्गो घर गाडी चाहिएकै छैन, बस् नजिकै भएर वृद्ध आमाबुवा, मामुबाबाको सेवा गर्न पाइयोस्।