डेनमार्क अध्ययन गर्न गएकी आफ्नी श्रीमतीको निमन्त्रणामा भिजिट भिसामा डेनमार्क पुगे झापाका सरोज पौडेल (नाम परिवर्तन)। भिसा चाँडो लगाउने सुरमा भिजिट भिसामा डेनमार्क पुगेका उनलाई काम गर्ने अनुमति पाउन डिपेन्डेन्ट भिसाको निर्णय आउन्जेल कुर्नु पर्यो।
एकातिर चर्को कलेज शुल्क, अर्कोतर्फ कोपनहेगनको महंगो जीवन बसाइ। नचाहँदा नचाहँदै पनि उनले खाली बोतल तथा क्यानहरू सङ्कलन गरेर खर्चको जोहो गर्न थाले। विकेन्ड अनि घमाइलो दिन हुने हो भने त दिनकै सात सय क्रोनरसम्म बनाएको उनी बताउँछन्। कोपनहेगनको नरेपोर्ट नजिकैको पार्कमा भेटिएका उनले आसपासका पार्क तथा मान्छेको जमघट हुने क्षेत्रमा खाली सिसी तथा क्यानहरू सङ्कलन गर्ने बताए।
यहाँ उठाउन खोजिएको प्रसङ्ग सरोजले डेनमार्कमा कसरी आर्थिक जोहो गर्छन् भन्ने होइन। बरु एक पटक मात्र प्रयोग हुने प्लास्टिक बोतल, टिनका क्यान तथा सिसाका बोतलहरूको व्यवस्थापन विकसित मुलुकहरूले कसरी गर्छन् भन्ने कुरा जोड्न खोजिएको हो।
के हो बोतल बैंक?
उपभोक्ताहरूले पेय पदार्थ खरिद गर्दा नै पेय पदार्थको मूल्यभन्दा केही बढी रकम तिर्नुपर्छ। जस्तै- एक लिटर पानीको बोतल किने भने पानीको मूल्यभन्दा माथि डेढ क्रोनर उनीहरूले तिर्नुपर्छ। त्यस्तै दुई लिटरको कोक किने भने थप तीन क्रोनर तिर्नुपर्छ। बढी तिर्नुपर्ने रकम भनेको पेय पदार्थ राखिएका क्यान, सिसी वा प्लास्टिक बोतलको लागि डिपोजिट स्वरूप तिर्नु पर्ने पैसा हो।
त्यो पेय पदार्थ उपयोग गरी सकेपछि ती खाली बोलत वा कन्टेनर तोकिएको ठाउँमा लगेर जम्मा गर्यो भने आफूले ती कन्टेनर बापत तिरेको पैसा फिर्ता हुन्छ। यो प्रणालीलाई संसारमा विभिन्न देशमा फरक-फरक नामले चिन्ने गरिन्छ जस्तै- डिपोजिट रिटर्न स्किम डिआरएस (युरोप), बोटल बिल्स (अमेरिका), कन्टेनर रिफन्ड स्किम सिआरएस (अस्ट्रेलिया) आदि। फरक-फरक नामले चिनिए पनि यसको काम गर्ने प्रणाली भन्ने प्रायः उस्तै हुन्छ, केवल फरक भनेको कुन कन्टेनरको डिपोजिट कति भन्ने मात्र हो।
त्यसैले यो स्किम लागु भएका देशहरूमा उपभोक्ताहरूले पेय पदार्थ उपयोग गरी सकेपछिको खाली कन्टेनर जतनका साथ राख्छन् किनकि उनीहरूले डिपोजिट बापतको रकम तिरेका हुन्छन्। कति मानिसहरू भने ती खाली बोतलहरूलाई सडक तथा पार्कहरूमा राखिएका डस्टबिनहरूमा राखी दिन्छन्।
तिनै खाली क्यान तथा बोतलहरू उठाएर सरोजजस्ता सयौँ मानिसहरूले आफ्नो घर खर्च चलाएका हुन्छन्। डेनमार्कमा ३ किसिमका (ए, बी र सी) डिपोजिट मार्कहरू प्रयोगमा छन्। 'ए' डिपोजिट मार्कको १ क्रोनर, 'बी'को डेढ क्रोनर र 'सी'को ३ क्रोनर डिपोजिट शुल्क राखिएको छ। एबिसी डिपोजिट मार्क डेनिस रिटुर सिस्टमको नाममा स्वामित्व रहेको रजिस्टर्ड ट्रेडमार्क हो।
बोतल बैंकले कसरी काम गर्छ?
पेय पदार्थ राखिएको बोतल वा क्यानमा विशेष किसिमको डिपोजिट मार्क (बार कोडको रूपमा) हुन्छ। डिपोजिट मार्क कन्टेनरमा सिधैं प्रिन्ट भएको पनि हुनसक्छ अथवा स्टिकरको रूपमा लगाएको पनि हुन सक्छ।
डिपोजिट मार्कका बारकोड अध्ययन गर्न सक्ने रिभर्स भेन्डिङ मेसिन (आरभिएम) हरू सबैलाई पायक पर्ने ठाउँमा जडान गरिएका हुन्छन्। त्यस्ता स्वचालित मेसिनहरूमा खाली कन्टेनर जम्मा गरेपछि डिपोजिट बापतको रकम फिर्ता हुन्छ। यो रकम एपमार्फत डिजिटल्ली सिधैं बैंक एकाउन्टमा पनि लिन सकिन्छ वा रिसिप्ट लिएर सम्बन्धित ठाउँको स्टोरको काउन्टरबाट लिन सकिन्छ। आरभिएम नभएका ठाउँहरूमा त्यस्ता पेय पदार्थ बिक्री गर्ने पसलहरूले खाली बोतल वा क्यान लिएर डिपोजिट स्वरूप लिएको पैसा फिर्ता दिने गर्छन्।
यसरी सङ्कलन भएका कन्टेनर, सिसी तथा प्लास्टिकका बोतलहरू पुनः प्रयोग गर्न मिल्ने भए पुनः प्रयोग हुन्छन् र प्रयोग गर्न नमिल्नेलाई प्रसोधन गरेर अर्को उत्पादनको लागि कारखानामा पठाउने गरिन्छ।
कुन-कुन देशमा छ यो स्किम?
सन १९८४ मै आलमुनियमका क्यानहरूको सङ्कलनको लागि स्विडेनमा सुरु भएको यो प्रणाली अहिले विश्वभरि ४० भन्दा बढी देशहरूमा सुरु भइसकेको छ। दर्जनौं देशहरू कार्यान्वयनको चरणमा छन्। सन् २०२२ स्लोभाकिया र लाटभियाले लागु गरिसके भने रोमानिया लगायतका देशहरू लागु गर्ने अन्तिम चरणमा छन्।
लागु भएका सबै देशहरूमा सफल कार्यान्वयन भएका छन्। नर्वेमा त प्लास्टिक बोतलको ९७ प्रतिशत रिसाइकल दर रहेको अध्ययनले देखाएको छ। स्कान्डिनेभियन देशहरूमा बोतल डिपोजिट प्रणालीलाई पेन्टको नामले बढी चिनिन्छ। यो प्रणालीमा स्कान्डिनाभियान देशहरू डेनमार्क, नर्वे र स्विडेनले यो प्रणालीको बिसौं वर्षको अनुभव संगालिसकेका छन्। जर्मनी, स्विडेन, नर्वे तथा डेनमार्कमा लगभग उस्तै किसिमको डिपोजिट रिटर्न स्किम सञ्चालनमा छन्।
डेनमार्कको बोतल निक्षेप प्रणालीजस्तै नेपालमा लागु गर्न सकिन्छ।
डेनमार्कमा लागु भएको डिपोजिट रिटर्न स्किमको अपरेसनको सम्पूर्ण काम डान्स्के रिटुर सिस्टम (डिआरएस) ले हेर्ने गर्छ। सन २००० गैरसरकारी संस्थाको रूपमा दर्ता भएको यो संस्था दुई वर्ष पछाडि नै कम्पनीको रूपमा दर्ता भएर क्रियाशील छ। यो कम्पनीमा कार्सबर्ग, रोयल ब्रुअरी, थिस्टेड र फुलसाङजस्ता पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीको ८५ प्रतिशतभन्दा बढी लगानी हरेको छ। वातावरण मन्त्रालयले नीति निर्माण र नियमन गर्ने काम गर्दछ।
डेनमार्कमा पेय पदार्थ उत्पादन गर्ने कम्पनीहरू तथा त्यस्ता पेय पदार्थ आयातकर्ताहरू डिआरएसमा अनिवार्य रुपमा दर्ता हुनु पर्दछ। आफूले उत्पादन गरेको वा आयात गरेको क्यान तथा बोतलहरू बजारमा पठाउनुभन्दा अगाडि नै डिपोजिट बापतको रकम यिनीहरूले डिआरएसलाई तिर्नु पर्दछ। उपभोक्तालाई डिपोजिट फिर्ता नहुन्जेल डिआरएसले डिपोजिट राख्छ।
आयातकर्ता तथा उत्पादकबाट उपभोक्तासम्म पेय पदार्थ पुर्याउने पसल, रेस्टुरेन्ट होटेल आदिले पेय पदार्थ बेच्दा डिपोजिट बापतको रकम जोडेर ग्राहकबाट पैसा लिने गर्दछ। यिनीहरू पनि डिपोजिट सिस्टममा अनिवार्य दर्ता हुनु पर्दछ। उपभोक्ताले पेय पदार्थका खाली बोतल तथा क्यानहरू तोकिएको सङ्कलन केन्द्रमा जम्मा गरेपश्चात् आफूले तिरेको डिपोजिट बापतको रकम फिर्ता पाउँछन्।
डेनमार्कमा देशैभरि खाली बोतल तथा क्यान सङ्कलन केन्द्रहरू छन्। तीन हजारभन्दा बढी स्वचालित रिभर्स भेन्डिङ मेसिनहरू तथा १२ स्वचालित पेन्ट स्टेसनहरू छन्। रिभर्स भेन्डिङ मेसिनले पेय पदार्थको कन्टेनरमा भएको डिपोजिट मार्क अध्ययन गरेर उपभोक्ताले पाउने पैसाको हिसाब गर्छ। त्यो पैसा एपमार्फत डिजिटल्ली सिधैं आफ्नो खातामा पनि लिन सकिन्छ वा रिसिप्ट प्रिन्ट गरेर त्यसलाई सम्बन्धित स्टोरबाट नगद लिन वा सामान खरिद गर्न मिल्छ।
पेन्ट स्टेशनमा भने एकैचोटि बोरा-बोरा खाली बोतल तथा क्यानहरू डिपोजिट गर्न सकिन्छ। भेन्डिङ मेसिन तथा पेन्ट स्टेशन नभएको ठाउँमा भने पेय पदार्थ बिक्री गर्ने स्टोरले खाली कन्टेनर लिएर उपभोक्ताको डिपोजिट बापतको रकम फिर्ता दिनु पर्दछ। उदाहरणको लागि- कुनै पसलले कोकाकोलाको दुई लिटरको बोतल बेच्यो। उपभोक्ताले त्यो कोकाकोलाको खाली बोतल लिएर त्यो पसलमा गयो भने उसले खाली बोतल लिन्न भन्न मिल्दैन। पसलले त्यो बोतलको पेन्ट बापतको ३ क्रोनर ग्राहकलाई फिर्ता दिनु पर्दछ।
धेरै बोतल जम्मा भएपछि पसलेले आफै पेन्ट स्टेशन वा भेन्डिङ मेसिनमा जम्मा गरिदिन्छ। यो उदाहरणमा हेर्ने हो भने पसल व्यवसायीले पनि बोतल व्यवस्थापनमा धेरै महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
डेनमार्कका पेन्ट सिस्टमको प्रभावकारी कार्यान्वयनको लागि विद्यालयदेखि नै चेतना बढाउने कार्यक्रमहरू चलाएको देखिन्छ। स्कुल समयभन्दा बाहिरको समयमा सार्वजनिक स्थलहरूमा बोतल तथा क्यानहरू सङ्कलन गर्ने, त्योबापत आएको पैसा विभिन्न च्यारिटीको लागि प्रदान गर्ने अभियानहरू विद्यालयमा साह्रै लोकप्रिय छन्।
गैरनाफामूलक कम्पनीको रूपमा दर्ता भएको डिआरएसको प्रमुख आयस्रोत तीन किसिमको देखिन्छ। पहिलो भनेको सङ्कलित क्यान तथा बोतलहरू बिक्रीबाट प्राप्त रकम हो। दोस्रो पेय पदार्थ उत्पादक तथा आयातकर्ताहरूले बोतल तथा क्यानको ओसारपसार गर्दा तिर्ने शुल्क हो। यो रकम प्याकेजिङको आकार र प्याकेजिङ कतिको सहज छ भन्ने कुरामा निर्धारण हुन्छ।
अर्को श्रोत भनेको बजारमा पठाएका सबै पेय पदार्थहरू सङ्कलन भएर फिर्ता नआउन सक्छन्। उत्पादक कम्पनी तथा आयतकर्ताबाट सुरुमै राखिएको डिपोजिट रकम सबै फिर्ता दिनु नपरेपछि बचेको रकम डेनिस रिटुर सिस्टमको श्रोत बन्न जान्छ।
काठमाडौंको फोहोरको अवस्था हेर्ने भने उल्लेख्य मात्रामा मिनिरल वाटर, कोकाकोला, जुस आदिको देखिन्छ। यस्ता नकुहिने तथा प्लास्टिकजन्य फोहोरले वातावरणमा तथा स्वास्थ्यमा पार्ने असरको त कुरै छोडौँ। बोतल बैंक लागु गर्न सके नेपालमा नकुहिने फोहोरको धेरै हिस्सा ओगटेको प्लास्टिकका बोतलहरू व्यवस्थापनमा सहजता आउने देखिन्छ।
डिपोजिट रिटर्न स्किम प्रभावकारी रूपमा लागु भएका देशका मोडेलहरूको अध्ययन गरेर, नेपालको परिवेश सुहाउँदो स्किम लागु गर्न सकिन्छ। यो स्किम लागु गर्नको लागि आवश्यक नीति निर्माणको लागि सरकारले अब विलम्ब गर्नु हुँदैन।
डेनमार्कको जनसङ्ख्याको आधाभन्दा धेरै मानिस बस्ने काठमाडौं उपत्यकामा मात्र भए पनि यो स्किम लागु गर्न सके दैनिक सडकमा फालिने हजारौँ प्लास्टिकका बोतलहरू फ्याँकिनबाट जोगिन्छन्। ढिलोचाँडो यो स्किम संसारलाई सबै देशहरूले लागु गर्छन्, हामी किन पछि पर्ने?
सडकमा फ्याँकिने प्लास्टिकका बोतलहरू टिपेर झोलामा हालेर हिँड्ने दिन काठमाडौंमा आएको हेर्न मन छ, त्यो दिन चाँडै आवस् शुभकामना।
(प्राकृतिक श्रोत व्यवस्थापनमा, स्विडेनबाट उच्च शिक्षा हासिल गरेका लेखक वैदेशिक रोजगारीको सिलसिलामा डेनमार्कमा छन्।)