विपदपछि तत्काल गर्नुपर्ने राहत तथा उद्धार कार्यमा खोज तथा उद्धारकर्मीहरूले प्रमुख भूमिका र साहस प्रदर्शन गर्दै आइराखेका छन्। राष्ट्रको विपद प्रतिकार्यलाई चुस्त, दुरुस्त र समय सापेक्ष बनाउन राष्ट्रिय खोज तथा उद्धार प्रणालीको आधुनिकीकरण गरी मौजुदा खोज तथा उद्धार टोलीको राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रमाणीकरण तथा मान्यता प्रक्रियामा लैजानु पर्ने बेला भइसकेको छ।
यो लेखले विपद् व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउन खोज तथा उद्धार संयन्त्रको आधुनिकीकरण र प्रमाणीकरणको प्रक्रियाको बारेमा उल्लेख गर्न खोजेको छ। खोज तथा उद्धारमा राष्ट्रिय मापदण्ड र क्षमताको विकास गर्न तिनै तहका सरकार र अन्य सरोकारवालाहरूले सहकार्य गरी अगाडि बढ्न यस लेखले योगदान गर्ने छ भन्ने अपेक्षा गरिएको छ।
नेपाल विभिन्न खाले प्रकोप र त्यसबाट सिर्जना हुने विपदको उच्च जोखिममा भएको कुरा सर्वविदितै छ। विभिन्न खाले जोखिमहरू जस्तै भूकम्प, पहिरो, बाढी, आगलागी, सडक दुर्घटना, विष्फोटन, औद्योगिक दुर्घटनाको जोखिमबाट सिर्जित विपदबाट हरेक वर्ष सयौंको ज्यान र अर्बौंको धनमाल क्षति भइराखेको छ। वैज्ञानिकहरू हिन्दुकुश हिमालय क्षेत्रमा जुनसुकै बेला ठूलो भूकम्प जान सक्ने खतरा छ भन्छन्।
द्रुत जलवायु परिवर्तनले पनि प्राकृतिक प्रकोपका घटनाहरूमा वृद्धि भैराखेको छ र विपद् पनि बढ्दो छ। यही परिप्रेक्ष्यमा सम्भावित वा अकल्पनीय किसिमका विपदको सामना गर्न सक्ने क्षमता विकास गर्नु नेपाली समाज र राज्यका सम्बन्धित निकायहरूको आजको टड्कारो आवश्यकता हो।
विसं २०७२ वैशाख २९ गते गोरखा भूकम्प दोस्रो ठूलो पराकम्पले सिन्धुपाल्चोक र दोलखामा ठूलो मानवीय र भौतिक क्षति गर्यो। त्यस दिन चौतारा बजारमा नै भएकोले तत्काल खोज तथा उद्धार कार्यको प्रत्यक्षरुपमा देखियो। स्थिति भयावह थियो, बजारका कयौं घरहरू गर्लमै ढले, कयौं मानिसहरूको मृत्यु भयो, सयौं घाइतेहरूको चिच्याहट, तालिएका मानिसहरू रोई कराई रहेका थिए।
यस्तो भयावह अवस्था पनि आफ्नो र परिवारको पर्वाह नगरी सुरक्षाकर्मीहरू नजिकको ब्यारेकबाट दगुर्दै घाइते मानिसहरूको उपचारका लागि एक टोली तत्कालै जुटिहाल्यो। अर्को टोपकरण भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धारमा जुटिहाल्यो। सुरक्षाकर्मीहरूको त्यो साहस र सहयोगको स्थानीय समुदायले आजसम्म पनि प्रशंशा गरिराखेका हुन्छन्।
उद्धार राहतको परम्परा र संस्थागत प्रयास
समयमै गरिने प्रभावकारी उद्धारले विपदबाट थप क्षति हुन र परिस्थिति थप बिग्रनबाट बचाउँछ। विपदको बेला बढीभन्दा बढी ज्यान जोगाउनु र धन-सम्पत्तिको संरक्षण गरी थप क्षति हुनबाट रोक्न खोज तथा उद्धार कार्यको महत्त्वपूर्ण भूमिका हुन्छ।
भूकम्प, बाढी, आँधिवेहरीजस्ता विपदको केही घण्टा र दिनमा सबैभन्दा चाहिने भनेको विपद प्रभावितको जीवन जोगाउने सहयोग नै हो। त्यसैले मानिसहरूले परापूर्वकालदेखि नै विपदमा आफन्तको खोजी र उद्धारलाई स्वचालित प्रक्रियाका रूपमा अवलम्बन गर्दै आएका छन्।
चलिआएको परम्पराअनुसार स्वत:स्फूर्त रूपमा खोज तथा उद्धारमा स्वयंसेवीहरू जुटेको पाइन्छ। आज पनि विपदको बेला निर्बाध रूपमा मानिसहरू उद्धार कार्य लाग्छन्। समयक्रम अनुसार विपदको बेलामा खोज र उद्धारको यो अभ्यास समाजमा स्थापित हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा संस्थागत भएको छ।
हरेक देशले आफ्ना नागरिकको सुरक्षाको लागि भइपरी आउने आपत विपदको सामना गर्ने र नागरिकको जीउधन जोगाउनका लागि खोज तथा उद्धार कार्यका लागि संस्थागत प्रयत्न गरेका छन्। आवश्यक नियम, कानुन, विधि र मापदण्ड बनाएका हुन्छन्। खोज उद्धारमा स्वयमसेवकदेखि व्यवसायिक खोज तथा उद्धारकर्ताहरू उद्धारमा संलग्न भइराखेका छन्।
प्राविधिक रूपमा विशेष प्रशिक्षित व्यक्तिहरू वा समूह हुन्छन् जसले विपदबाट प्रभावित र ज्यान खतरामा परेका व्यक्तिहरूलाई उद्धार गर्दछन्। यस्तो कार्य मुख्यत: प्राविधिक र व्यवसायिक खोज तथा उद्धारकर्मीबाट हुन्छ। खोज तथा उद्धारमा परिचालन हुने जनशक्ति र प्रक्रियालाई समय सापेक्ष रूपमा मजबुत, आधुनिक उपकरण र प्रविधिले सुसज्जित अवस्थामा राखेका हुन्छन्।
यही परिप्रेक्षमा नेपालले विगत दुई दशकयता विपद व्यवस्थापनलाई अनुमानयोग्य, उत्तरदायी र समाजका विभिन्न क्षेत्रसँग सहकार्यमा जोड दिँदै व्यवस्थापकीय र संरचनागत सुधारका प्रयास जारी राखिराखेको छ। विगत २० वर्षमा विपद प्रतिकार्य, राहत, खोज तथा उद्धारमा नेपाली समाजले विभिन्न प्रकृतिका चाहे त्यो मानव सृजित होस् वा प्राकृतिक प्रकोपसँग जुधेको अनुभव बटुलेको छ। फलस्वरुप समाजका विभिन्न तह र तप्कामा विपदका सम्भावित परिदृश्यमा चासो र विपद पूर्वतयारीमा सहभागिता बढ्दो रूपमा देखिन्छ।
खोज उद्धारलाई व्यवस्थित र स्तरीय बनाउने प्रयास
विपद उद्धार एक दक्ष र विवेकपूर्वक गरिनुपर्ने संवेदनशील कार्य हो। यसका लागि पर्याप्त अभ्यास, अनुभव र मानसिक चुस्तता चाहिन्छ। कतिपय अवस्थामा त स्वयमसेवकले खोज तथा उद्धार कार्यलाई अप्ठ्यारो पनि पार्दछन्। र सही तरिकाले उद्धार नगर्दा घाइतेको ज्यान पनि जान सक्दछ। त्यसैले विपदको अवस्थामा सहयोगी र व्यवसायिक उद्धारकर्मीमा फरक छुट्याउनु आवश्यक हुन्छ।
विश्वभर नै दक्ष जनशक्ति मात्रै खोज तथा उद्धारमा परिचालन हुने मान्यता स्थापित भएको छ। स्वत:स्फूर्तरुपमा सहयोग गर्न आउने स्वयंसेवीहरूलाई उनीहरूको ज्ञान, सीपअनुसार अनन्य क्षेत्रमा परिचालन गर्नु पर्दछ, जस्तो कि विपद प्रभावितको लागि खान व्यवस्था, बास, र स्वास्थ्य सहयोग, मनोसामाजिक परामर्श, राहत संकलन आदि।
नेपालमा पनि सरकारले खोज तथा उद्धार कार्यलाई प्राथमिकता दिएर व्यवस्थित बनाउने थालनी विसं २०६८ देखि सुरु भएको देखिन्छ। सोही समयतिर खोज तथा उद्धार कार्यलाई विशिष्टीकरण, आधुनिकीकरण गर्ने योजनालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय खोज तथा उद्धार सलाहकार समूहले अध्ययन गरेको थियो।
त्यसपछि विसं २०७० मा खोज तथा उद्धार राष्ट्रिय रणनीतिक कार्य योजनाको तर्जुमा गरियो। अझ विसं २०७२ सालको गोर्खा भूकम्प र हरेक वर्षजसो जाने बाढी, पहिरो, आगलागी, बारम्बार हुने सडक दुर्घटना, हवाई दुर्घटना र अन्य प्रकोपले नेपालमा सशक्त, दक्ष, र व्यवसायी खोज तथा उद्धारकर्मीहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने कुरालाई पुष्टि गर्दछ।
भूकम्पलगायत ठूला प्रकोपजन्य घटनाहरूसँग सामना गर्ने खोज तथा उद्धार क्षमतालाई चुस्त दुरुस्त गर्न केही सीमितताहरू र चुनौती छन्। माथि भनिएजस्तो विपदको बेलामा विभिन्न निकाय, व्यवसायिक खोज तथा उद्धारकर्मीहरू र स्वयंसेवीहरू बीचको समन्वय र सहकार्यको ठूलो आवश्यकता हुन्छ। त्यसैगरी विभिन्न तहका सरकारहरूको समन्वय हुनु जरूरी छ। खोज तथा उद्धारकर्मीहरूबीच सूचनाको आदान प्रदानले पनि कार्यक्षेत्रमा समन्वयलाई मजबुत बनाउँछ।
खोज तथा उद्धार क्षमतालाई उत्कृष्ट, जवाफदेही, समयसापेक्ष, प्रविधियुक्त र आधुनिक बनाउने कार्यको लागि राष्ट्रिय प्रमाणीकरण र अन्तर्राष्ट्रिय मान्यता प्रक्रियामा जाँदा सहयोगी सिद्ध हुन्छ। विश्वस्तरमा खोज तथा उद्धारलाई निश्चित मापदण्डसहित प्रमाणीकरण, सङ्गठित अभ्यास, प्रक्रिया र प्रविधिसहितको क्षमतावृद्धिको सुरुआत सन् १९७० बाट सुरु भएको देखिन्छ। यसैगरी संयुक्त राष्ट्रसंघको मातहतमा अन्तर्राष्ट्रिय प्रतिवद्धता पारस्परिक सहयोग, सल्लाहको लागि विसं २०४८ मा अन्तर्राष्ट्रिय खोज र उद्धार सल्लाहकार समूह स्थापना गरियो।
सुधारको आवश्यकता र अवसर
२०७२ सालको गोरखा भूकम्पपश्चात नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा नीतिगत, संस्थागत र कार्यगत रूपमा ठूलो फड्को मारेको छ। तर पनि बढ्दो जोखिमको चुनौतीसँग सामना गर्न सक्ने गरी राष्ट्रिय विपद् प्रतिकार्य प्रणालीलाई थप मजबुत र आधुनिक उपकरण र प्रविधिले सुसज्जित गर्नुपर्छ।
प्रायःजसो उद्धारकर्मीहरू लामो समयसम्म बिना विश्राम खटिइराखेको पाइन्छ, यस्तो अभ्यासले उदारकर्मीहरूलाई थप जोखिम हुन्छ। अरूको ज्यान जोगाउन गएको मानिसले आफनो ज्यान जोखिममा राख्न दिनु हुँदैन। त्यसैगरी व्यक्तिगत सुरक्षा सामान्य उपकरण जस्तो हेल्मेट, पन्जा, बुट, चस्मादेखि विशिष्टिकृत उपकरणको उपलब्धता र प्रयोगसहित खटाउने व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्नु पर्दछ। यस्तो कठिन कार्यमा खटिने जनशक्ति उचित तालिम प्राप्त गरेको हुनुपर्छ।
सरकारले नागरिकको सुरक्षालाई प्राथमिकता दिने हो भने चुस्त, दुरुस्त र दक्ष खोज तथा उद्धार प्रणालीको विकास गर्न ढिलो गर्नु हुँदैन। विपद व्यवस्थापनमा खोज तथा उद्धार कार्य अति नै महत्वपूर्ण हुन्छ र यस्तो बेला सेकन्ड, मिनेटको प्रतिकार्यको ठूलो माने हुन्छ। हराएका व्यक्तिको खोजी गर्नु, घाइतेहरूको तत्काल उद्धार गर्नु, प्राथमिक उपचार उपलब्ध गराउनु र सुरक्षित स्थानमा लैजानु र भग्नावशेषबाट मानिसको उद्धार गर्न निकै कौशल र दक्षता चाहिन्छ।
यस्तो खतरायुक्त र जटिल कार्यको लागि विशिष्टिकृत तालिम, उपकरण, प्रविधि, व्यवस्थापन र बन्दोबस्तीको आवश्यकता पर्दछ। खोजकार्यहरू विभिन्न प्रकार हुन्छन् जस्तो कि जंगलमा, हिमालमा हराएका व्यक्तिहरूको खोजी गर्नु, संरचना/भवनका भग्नावशेषमा पुरिएका मानिस वा जन्तुको उद्धार गर्नु, हवाई दुर्घटना, नदीनाला, खोल्सा आदिमा परेका व्यक्तिहरूको उद्धार गर्न।
हाल नेपालमा उच्च दक्ष जनशक्ति, आधुनिक उपकरण र औजारदेखि सामान्य उपकरणबाट खोज तथा उद्धार भएको पाइन्छ। विपद व्यवस्थापन कार्यको आधुनिकीकरण र सुधारको पहिलो खुड्किलो चुस्त दुरुस्त खोज तथा उद्धार कार्य नै हो।
संलग्न संस्थाहरूको समन्वय
हाल नेपालमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका तालिमप्राप्त सुरक्षाकर्मी, वारुणयन्त्रका अग्नी-नियन्त्रक, नेपाल रेडक्रस र अन्य स्वयंसेवीबाट भइराखेको छ। गृह मन्त्रालय तथा यस मातहतमा निकायको समन्वयमा विपदमा खोज तथा उद्धार पालिकाहरू, अग्रपंक्तिमा हुने सुरक्षाकर्मी र अन्यले गरिराखेका छन्।
नेपाली सेनाले आपतकालीन प्रतिकार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइराखेको छ। खोज उद्धार सामग्री, उपकरण र जनशक्ति अन्तर्राष्ट्रिय स्तरको बनाइराखेको छ। नेपाल प्रहरी सबै पालिका र समुदायसँग नजिक काम गर्ने भएकोले विपदको अवस्थामा पालिका, वडा कार्यालयसँगै पहिलो प्रतिकर्ताको भूमिका निर्वाह गर्दछ।
सशस्त्र प्रहरी बलले देशमा परेको सङ्कट, प्राकृतिक प्रकोप, सडक दुर्घटनामा उद्धार कार्य गर्दै आइराखेको छ। वारुणयन्त्र र अग्नि नियन्त्रण टोलीको विपद प्रतिकार्यमा प्रमुख रहन्छ। तर प्राय: नगरपालिकाहरूले वारुणयन्त्रको व्यवस्थापन गरेका छन्। देशमा वारुणयन्त्र संचालन सम्बन्धी समयसापेक्ष नीति, योजना र कार्यक्रम नहुँदा वारुणयन्त्र कमजोर संस्थागत संरचना, तालिम, दक्षता, पुराना उपकरण र अन्तर-सरकारी समन्वयको कमीले लथालिङ्ग अवस्थामा छ।
एम्बुलेन्स सेवा- केही सीमित बाहेक प्राय:जसो यातायात सेवा स्तो छ, घटना घटेको ठाउँमा प्राथमिक उपचार त के कुनै-कुनैमा एम्बुलेन्समा अक्सिजनसम्म हुँदैन। नेपाल रेडक्रसका स्वयंसेवकहरूले समुदाय स्तरको खोज तथा उद्धार टोलीमा सामेल भई प्राथमिक उपचार सेवा प्रदान गर्दछन्।
साधन स्रोतयुक्त दक्ष एकीकृत टोलीको स्थापना
विभिन्न स्तर, दक्षता र उपादेयताको सिद्धान्तलाई आधार मान्दा श्रोत साधनको समुचित रूपमा परिचालन हुनसक्छ। जस्तो कि सामान्य खोज तथा उद्धार समूह पालिका स्तरमा, मध्यमस्तरको खोज तथा उद्धार टोली प्रदेश स्तरमा र रास्ट्रिय स्तरको टोली संघमा। खोज तथा उद्धार टोलीको संचालन, तालिम, बन्दोबस्ती र जनशक्ति परिचालनको न्यूनतम कार्यसंचालन मापदण्ड निर्धारण र व्यवस्थापन गर्न संघमा एउटा पूर्णकालीन एकाई हुँदा राम्रो हुन्छ।
खोज तथा उद्धारकर्मीहरूको व्यवसायीकरण दक्षताको प्रस्थान बिन्दु तालिमलाई लिने हो भने नेपालका सिकाइ, भोगाइ र आवश्यकताको आधारमा तालिम कार्यक्रमलाई परिमार्जन गर्दै लग्नु पर्दछ। विश्वविद्यालयलगायत अन्य निकायहरूसँगको सहकार्यमा मौजुदा तालिमको प्रमाणीकरण, तालिम पाठ्यक्रम र शिक्षण एकरुपता ल्याउन ठोस कदम चाल्नु पर्छ। साथै देशभर छरिएर रहेका तालिम प्राप्त जनशक्तिको रेकर्ड राखी आवश्यक पर्दा अन्य ठाउँमा पनि प्ररिचालन हुने व्यवस्था मिलाउन आवश्यक छ।
प्रविधिको विकाससँगै विपदमा प्रयोग हुने उपकरण प्रविधिमा फड्को मारेको छ। नयाँ उपकरण र साधनले खोज तथा उद्धारकर्मी तथा उद्धार प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने देखिन्छ।
अन्तर्राष्ट्रिय स्तरको खोज तथा उद्धारमा सहभागिता
अन्तर्राष्ट्रिय खोज तथा उद्धार सल्लाहकार समूहको मापदण्ड र राष्ट्रिय कार्ययोजना र नीतिले निर्दिष्ट गरे बमोजिम व्यवसायिक रूपमा सक्षम खोज तथा उद्धार टोलीको प्रमाणीकरण प्रकृयामा जाँदा समग्र विपद व्यवस्थापन कार्य अझ प्रभावकारी हुन सक्छ। नेपालजस्तो विपद जोखिम देशमा विशिष्टिकृत खोज तथा उद्धार टोली हुन अति नै जरूरी छ।
अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्रिय परिवेशअनुरुप खोज तथा उद्धारकर्मीहरूको क्षमता अभिवृद्धि गर्दा राष्ट्रलाई आपत विपदमा ठूलो सहारा र भरोसा हुने नै छ। २०७२ सालको भूकम्पको अनुभवपश्चात सबैजसो सुरक्षा निकायहरू मुख्यतः नेपाली सेनाले विशिष्टिकृत उपकरणहरू खरिद गरी खोज तथा उद्धार जनशक्तिलाई व्यवसायिक बनाउन उन्मुख भएको देखिन्छ।
बदलिएको शासन व्यवस्थाअनुसार पालिका, प्रदेश र संघस्तरीय खोज तथा उद्धार टोलीहरूको अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्रिय परिवेशअनुसार क्षमता विकास गर्न विभिन्न मन्त्रालय र अन्य सरोकारवालाहरूसँग सहकार्य गरी एकीकृत खोज तथा उद्धार प्रणालीको स्थापना गर्नु आजको टड्कारो आवश्यकता हो।
राष्ट्रिय खोज तथा उद्धार कार्यको लागि नीतिगत र व्यवहारमा गर्नुपर्ने प्रयत्नहरू
राष्ट्रिय खोज उद्धार राष्ट्रिय रणनीतिक कार्ययोजना २०७१ ले परिकल्पना गरे मुताविक ठूला विपदको सामना गर्न एकिकृत खोज तथा उद्धार टोलीको गठन र क्षमता विकास गर्ने अब विलम्ब गर्नु हुँदैन। त्यसैगरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन- २०७४ ले खोज तथा उद्धारको लागि सुरक्षा निकायहरू, वारुणयन्त्र तथा अन्य सेवा प्रदायक निकायहरूको परिचालनको व्यवस्था गरे मुताविक यी निकाय र संरचनाको आधुनिकीकरणमा जोड दिनुपर्छ।
त्यसैगरी खोज तथा उद्धार समूह र फ्लाइङ स्क्वाड सम्बन्धी अवधारणालाई व्यवहारमा उतार्नु पर्छ। हाल पालिका, प्रदेश र संघ सरकारहरूले एकअर्कासँगको समन्वय बिना खोज तथा उद्धार उपकरणहरू खरिद गरिराखेको सुनिन्छ। यसले तत्कालको केही जोहो त गर्छ तर राष्ट्रिय खोज उद्धारमा मापदण्ड र गुणस्तर कायम राख्न चुनौती थप्छ। त्यसैले तिनै तहका सरकारहरूले विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै एकिकृत र समन्वयात्मक ढंगले खोज तथा उद्धार प्रणालीको विकासमा जोड दिनु पर्दछ।
(लेखक मानवीय सहायताकर्मी हुन्। उनीसँग संयुक्त राष्ट्र संघमा मानवीय सहायता समन्वयमा १५ वर्षभन्दा बढी समय काम गरेको अनुभव छ।)