प्राचीनकालमा आफ्नो सन्देश आदान-प्रदान गर्न हाम्रा पूर्खाहरू परेवालाई प्रयोग गर्थे भन्ने कुरा त हामीले सानै बेलादेखि पढ्दै आइरहेको हो। त्यो समयमा मानिसहरूको आवश्यकता पनि साना-साना हुन्थे।
अब समय बदलिसकेको छ र मानिसहरूको चाहना र आवश्यकता पनि समयअनुसार बद्लिँदै गइरहेको छ। गाँस, बास, कपास मात्र मानिसको आधारभूत आवश्यकता रहेन। परिवर्तनशील समयसँगै मानिस प्रविधिमा पनि उत्तिकै अभ्यस्त हुँदै गइरहेको छ। हरेक दिन नयाँ-नयाँ सुविधायुक्त फोनहरू बजारमा आइरहेका छन्।
अहिलेको अत्याधुनिक स्वरुपमा आइपुग्दासम्म स्मार्टफोनले निकै लामो यात्रा तय गरेको छ। मोबाइल युगको सुरुदेखि अहिलेसम्म यस्ता कैयन डिभाइसहरू आए जसले मोबाइल उद्योगको दिशा नै बदले।
विकसित देशहरूमा मोबाइल फोन प्रयोगको इतिहास धेरै पुरानो भए पनि नेपालमा यसको इतिहास खासै लामो छैन। प्रायः अमेरिका, भारतजस्ता देशहरूमा फोन आइसकेपछि मात्र नेपालमा त्यो मोडल भित्रिने गरेको छ।
समयको परिवर्तनसँगै मोबाइल फोनले मानिसको जीवनमा महत्वपूर्ण स्थान ओगट्न सफल भैसकेको छ। सञ्चार सारथीको रूपमा भित्रिएको मोबाइल फोन अहिले केवल संचारको लागि मात्र प्रयोग गरिँदैन। प्रविधिको विकाससँगै मोबाइलको प्रयोग पनि बहुआयामिक हुँदैछ।
सेलुलर नेटवर्कबाट गरिने संचार अब सामाजिक सन्जालबाट अधिकतम हुन थालेको छ। सामाजिक संजालको आगमनसँगै मानिसहरूलाई इन्टरनेट सपोर्ट गर्ने फोनको आवश्यकता पर्यो। अब हरेक फोनमा 'फोर-जी' अथवा 'फाइभ-जी' सपोर्ट गर्ने सिस्टम हुनु अत्यावश्यकजस्तै भइसक्यो।
संचार र त्यसको लागि इन्टरनेटको प्रयोग अनि यी दुवैको लागि मोबाइल फोन मानिसको आधारभूत आवश्यकता भइसके। यो बाहेक उच्च गुणस्तरको क्यामरा र पावरफुल प्रोसेसर भएको फोन अहिलेको अधिकतम युवा पुस्ताको पहिलो रोजाइ हो।
अझ विश्वव्यापी कोरोना कहरले त झन् मोबाइललाई मानिसको घनिष्ठ मित्रको रुपमा नजिक ल्याएको छ। फुर्सदको समय व्यतीत गर्न होस वा काम खोज्न, अथवा काम गर्न मानिसहरू मोबाइल नै प्रयोग गर्छन्।
नेपाल टेलिकमले २०५६ सालदेखि सर्वसाधारणलाई पोस्टपेड सिमकार्ड वितरण गर्न थालेपछि मात्र विस्तारै मोबाइलमा सर्वसाधारण नेपालीको पहुँच बढ्दै गएको हो। २०६२ पछि एनसेल (तत्कालीन मेरो मोबाइल)ले टेलिकमसँग प्रतिस्पर्धा गर्दै मोबाइल सेवा सुरु गर्यो। त्यसपछि मोबाइलमा सर्वसाधारणको पहँच अझै सहज हुँदै गयो। अहिलेसम्म नेपालमा सिम वितरणको हिसाबले मोबाइल सेवाका ग्राहक चार करोड १५ लाख पुगेका छन्।
मोबाइल सेवा वितरण मात्रै नभएर यसको बजार पनि उल्लेख्य रूपमै बढिरहेको छ। बजारमा नयाँ मोबाइल आउनेबित्तिकै परिवर्तन गरिहाल्ने परिपाटीदेखि आवश्यकताअनुसार सेट फेर्ने प्रचलन पनि उत्तिकै बढेको देखिन्छ। पछिल्लो समय नयाँ प्रविधि र मोबाइलमा युवा वर्गको रुचि अलि बढी हुने गरेको छ। युवा वर्ग कमाउने र सोहीअनुसार खर्च गर्ने भएकाले उनीहरूलाई बजारमा आएका नयाँ-नयाँ स्मार्टफोन सेवा तथा सुविधाले लोभ्याउने गरेको छ।
अहिले १० हजारदेखि एक लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल युवा पुस्ताको रोजाइमा परेको देखिन्छ। तर यसमध्ये चल्तीका सेट भने १० देखि ५० हजार रुपैयाँसम्म हुने गरेका छन्। अहिले बजारमा बिक्रीको हिसाबले पनि ब्रान्ड बनाएका, बढी उत्पादन गर्ने र समय-समयमा नयाँ भर्सन ल्याइरहने कम्पनी अग्रणी सूचीमा आउने गरेका छन्। बिक्रीका हिसाबले एमआई, सामसङ, भिभो, ओप्पो, रियल मि, वान प्लस आदि ब्रान्डका सेटहरू अगाडि छन्।
पछिल्लो समय कारोबारअनुसार वार्षिक २०% सम्म मोबाइल बजार बढेको देखिन्छ। समग्र बजारको आकार भने २५ अर्ब रुपैयाँ पुगिसकेको अनुमान छ। मोबाइलमा सबैभन्दा ठूलो बजार स्मार्टफोनको भए पनि परिणामको हिसाबले भने बार फोनकै हिस्सा ठूलो छ। चलाउन सजिलो, सस्तो, स्मार्टफोन किन्न पैसाको अभाव लगायत कारणले पनि बारफोनको बिक्री राम्रो भएको हो। बजारमा बिक्री हुने यस्ता बारफोनमा धेरै प्रकार भए पनि प्रयोगकर्ताको रुचीका हिसाबले भने नौ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म यस्ता फोन प्रयोगमा आइरहेका छन्।
युवाले नयाँ प्रविधि र भर्सनलाई दिएको महत्वकै कारण पनि स्मार्टफोनको बजार बढेको हो। हाल युवा पुस्ता राम्रो प्रोसेसर भएको, बढी समय ब्याट्री टिक्ने, क्यामराको क्वालिटी बढी भएको, र्याम/रोम बढी भएको र स्क्रीन ठूलो भएको मोबाइलतर्फ आकर्षित छन्।
बजारमा आएका मोबाइल कम्पनीमध्ये जसले जसले उच्च गुणस्तरको सेवा र उत्पादन दिन्छन् तिनै कम्पनीलाई युवाले रोज्ने गरेको पाइएको छ। त्यस्तै आफ्टर सेल्स सर्भिस, चित्त बुझ्दो मूल्य र नयाँ प्रविधि दिने ब्रान्डहरूप्रति उपभोक्ताहरू स्वभाविक रुपले नै आकर्षित हुन्छन्।
अहिले बजारमा एमआई मोबाइलको बजार निकै राम्रोसँग बढेको देखिएको छ। उपभोक्ताको ब्रान्डप्रति सचेतना र गुणस्तरलाई हेर्ने भएकाले वानप्लस, आइफोनका पनि उत्तिकै प्रयोगकर्ता आउने गरेका छन्। बजारमा पाइने स्मार्टफोनमा पछिल्लो समय सबै कम्पनीले गर्ने प्रतिस्पर्धा भनेकै मूल्य, गुणस्तर र आफ्टर सेल्स सर्भिसमा देखिएको छ। जुन कम्पनीले बढी सेवा सुविधा भएको सेट ल्याउँछ र किफायति मूल्य दिन्छ उसैलाई ग्राहकले बढी प्राथमिकता दिने भएकोले एमआइ मोबाइलको माग अत्यधिक भएको जानकारहरूको बुझाइ छ।
मोबाइलको इतिहास
विश्वमा मोबाइल फोनको सुरुआत अमेरिकाबाट भएको हो। मोबाइल फोनका पिता मार्टिन कुपर हुन्। सन् १९०८ केन्टकीमा पहिलो बिनातारको टेलिफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको थियो। पहिलो मोबाइल मोटोरोलाले सन् १९७३ मा उत्पादन गरेको थियो। सुरुका मोबाइल फोनलाई जिरो जेनेरेसन भनिन्थ्यो। सन् १९८३ मा मोटोरोलाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको थियो।
सन् १९८५ मा बेलायतमा पहिलो पटक मोबाइलमा कुराकानी भएको थियो। सन् १९८७ बेलायतमा मोबाइल फोन बिक्री सुरु भएको थियो। सन् १९८३ मा पहिलो पटक मोबाइलमा भ्वाइस मेलको सुविधा थपिएको थियो। विश्वमा पहिलो पटक मोटोरोलाले सन् १९९२ मा ह्यान्ड सेट फोन उत्पादन गरेको थियो। सन् १९९३ मा आइबीएमले ‘साइमन’ पहिलो स्मार्टफोन थियो। क्यामरायुक्त फोन फ्रान्समा १९९७ मा ल्याइएको हो। मोबाइल फोनमा इन्टरनेटको सुरुआतस्वरूप वान जी १९८०, टूजी १९९३, थ्रीजी २००१, फोर जी २०१२ मा सुरु भएको हो।
नेपालमा मोबाइल फोन
नेपालमा २०५६ वैशाखदेखि नेपाल टेलिकमले जीएसएम मोबाइल सेवाको सुरुआत गरेको हो। अहिलेको लोकप्रिय र सबैभन्दा बढी प्रयोगकर्ता रहेका जीएसएम प्रविधिको प्रिपेड मोबाइल २०६१ भदौदेखि सुरु भएको हो। निजी तहमा जीएसएम मोबाइल सेवाको अनुमति सुरुआत तत्कालीन स्पाइस प्रालिलाई २०६१ भदौ १६ मा दिइएको हो। यसले २०६२ साउनबाट सेवा सुरु गर्यो।
मोबाइल फोनमा २०६२ जेठ आगमन कल निःशुल्क गरिएको थियो। २०६२ बाटै नेपालमा स्पाइस हालको एनसेलले फोन वितरणको स्वीकृति पायो।
सुरुआती दिनहरूमा ९ अंकको हुने मोबाइल नम्बर २०६१ देखि भने १० अंकको हुन थालेको हो। २०६५ देखि देशैभर मोबाइल सेवा पुगेको थियो। अहिले ७७ जिल्लामै मोबाइलको कभरेज पुगिसकेको छ। मोबाइलमा इन्टरनेटलाई महत्त्व दिँदै नेपाल टेलिकमले २०६६ फागुनमा थ्री-जी प्रविधि सेवाबाट सुरु गर्यो। २०७३ पुस १७ देखि सुरु गरेको फोरजी सेवा अहिले देशैभर पुगिसकेकेको छ।
द्रुत गतिको मोबाइल डाटाको प्रयोग गरेर उपभोक्ताले अझै छिटो र छरितो सेवा पाउन थालेका छन्। अहिले मोबाइल पर्स अथवा वालेटको रूपमा पनि प्रयोग हुन थालेको छ। मोबाइलबाट नगदरहित कारोबार गर्न र सूचना प्रविधिको अधिकतम सेवा तथा सुविधा प्रयोगमा थप प्रभावकारी हुँदै गएको छ।
(लेखक स्मार्टफोन ब्रान्ड शाओमी नेपालको लागि मार्केटिङ म्यानेजरको रुपमा कार्यरत छन्।)