केही समय अघिको कुरा हो। म सधैंझैँ नाइट डयुटी सकेर कोठामा आएको थिएँ। जब फ्रेस भइवरी खाना खाएर बेडमा पल्टिएँ। खाना खानेबित्तिकै सुत्न सकिँदैन। एकैछिन घर गएँ म्यासेन्जर कलबाट अनि युट्युबतिर दौडिएँ। अब आँखाले पनि सुत भन्यो। शरीर पनि आलश्य भयो।
अघिल्लो दिन पनि राम्ररी निदाउन सकेको थिइनँ। नाइट ड्युटी गर्नेको पीडा यही छ कि घाम लागेर झलमल्ल उज्यालो भइरहँदा कोठाभित्र भने पर्दाले सबै ढाकेर जबरजस्ती निदाउनुपर्छ। त्यो पनि एउटै सानो आवाज नै काफी हुन्छ त्यो दिनको सबै निद्रा बिगार्न।
त्यतिकैमा मोबाइलमा लाइभको नोटिफिकेसन आयो। ए आइरहन्छ नोटिफिकेसन भनेर वाइफाई अफ गर्न लाग्दैथिएँ, एउटै कम्पनीमा काम गर्ने साथी जो अघिल्लो दिन मात्रै बिरामी भएर अस्पताल भर्ना भएको थियो उसैलाई देख्छु।
के रहेछ त? अपरेसन सफल भयो भनेर लाइभ आएको होला भन्ठानेर यस्सो खोलेको त एक्कासी सुन्छु, 'सयौँ सपना बोकेर परदेश आको मारिदियो अस्पतालले, अब केही बेरमा मर्दैछु। मेरो सबै काटेर किड्नी झिक्देको छ, सबैतिर चिर्देको छ।'
ए भगवान, म चकित भएँ! मेरो होस हवास उड्यो। अघिल्लो दिनदेखिको अनिदो दिमाग, म त फनफनी घुम्न थालेँ। म आफै ढल्दैछु कि झैँ लाग्यो। मैले त्यो शब्दहरू सुनिरहन सकिनँ तर नसुनी धरै भएन किनकि अरू सबै काममै व्यस्त थिए। टाउको बेजोडले चटचट गर्न थाल्यो नशा चुँडिएलाझैं गरी। आँखा चिम्लेर एकछिन सुन्न सक्ने बनाएँ।
निद्राले लाटो भैसकेको टाउको एक्कासी आइसको पोखरीमा डुबाइदिएझैं भयो। मुटुमा समस्या आई अप्रेसनको लागि भर्ना भएको साथी एउटै कम्पनीको फरक डिपार्टमा काम गर्थ्यो। इमान्दार भएर भन्नुपर्दा मैले आफूलाई सम्हालेर लाइभ भित्रै गएर हेर्न सकिनँ। फेसबुक वाल बाहिरबाटै हेरेँ। लाइभ भित्रै गएर हेरेँ भने केही गर्नै भ्याउँदिनँ कि, आत्मग्लानी पो हुन्छ कि सोच्नेसम्म पुगेँ।
लाइभमा बोलेको कुरा लाइभभित्रै नछिरी पनि सुन्न सक्छु भनेर सुनिरहेँ। तर मेरो दिमागले काम गर्न सकेन, के गरौँ के नगरौँ भैरह्यो।
कम्पनीको डिपार्ट प्रमुखलाई फोन गरेँ, त्यतिले मन मानेन म्यानेजरलाई फोन गरेर अस्पतालमा तुरुन्त बुझ्न भनें। दिमाग यसरी शून्य भएछ कि अस्पताल नजिकै रहेको हिमालयन डाँफे रेस्टुरेन्टका सञ्चालक मनोज गौतम दाइलाई पनि बिर्सिएछु। पछि मात्र सम्झेर सहयोग माग्न सकेँ। त्यसपछि साढे १२ बजेसम्म अरु साथीहरूको खाना खाने समय हुँदासम्म कुरिरहेँ।
पछि सबैसँग बुझ्दै जाँदा पत्ता लाग्यो कि उपचाररत बिरामी आत्तिएकोले लाइभमा आएर त्यस्तो अनेक भनेको रहेछ। आफूले त यो कुरा पत्ता लगाएँ तर अब उसैलाई चाहिँ यो कुरा कसरी बुझाउने त भन्ने भयो। यतिन्जेलसम्म पनि उसलाई नआत्तिन निरन्तर म्यासेज गरिरहेथेँ। सबै थाहा पाइसकेपश्चात पनि सम्झाइरहेँ। फोन गरेँ तर कल उठाएन साथीले। आत्तिएको भएर मात्र त्यस्तो लागेको हो, नआत्तिनु धैर्य गर्नु भनेर सम्झाउँदा मैले बुझिसकेँ त भन्छन् तर आत्तिन चाहिँ कम भएन।
अप्रेसन गरेको आलो घाउमा हातले चलाएर मरेँ-मरेँ भनिरहँदा नर्सहरू पनि आत्तिँदै यस्तै गरिरहे हात बाँधेर उपचार गर्न बाध्य हुन्छौंसम्म भन्दै थिए। हामी हस्पिटल गएर भेट्न असम्भव थियो किनकि कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन्छ भनेर बिरामीबाहेक अरुलाई भित्र जान निषेध छ। त्यसैले मनोज दाइलाई भनेर एनआरएनए कोरियाका अध्यक्ष यज्ञ सुवेदीलगायत यहाँको स्थानीय कोरियन प्रतिनिधि समेत अस्पताल गएर बुझ्ने वातावरण बनेपछि बल्ल अलिक ढुक्क भएँ।
यतिञ्जेलसम्ममा साथीको लाइभ सबैतिर भाइरल नै भइसकेको थियो। हुने नै भयो। कमाउन घर छोडेर कोरिया पुगेको छोरो लाइभमा आएर मर्दैछु भनेको सुन्दा घरपरिवार आफन्तमा कतिसम्म बित्यो, कति असर गर्यो आफै अनुमान गर्नुस्।
कम्पनीकै अर्को डिपार्टमा काम गर्ने उक्त साथी जसको नेपाल घर दोलखा हो। विगत केही वर्षदेखि दिवा सिफ्टमा मात्रै काम गरिरहेको ऊ दुई महिना भयो रात्रिको समयमा ड्युटी गर्दै आइरहेको थियो। अघिल्लो महिना लगातार तीन हप्ता रात्रिको मात्र ड्युटी गरेको थियो। त्यसको अर्को हप्तामा बुधबार एक्कासी कार्यस्थलमै बेहोस भयो। अनि ११९ मा फोन गरेर एम्बुलेन्स बोलाएर अस्पताल लगियो।
परीक्षण गर्दा थाहा हुन्छ कि कोरोना पोजिटिभ। कोरोना संक्रमण भई भित्रभित्रै असर गरेपश्चात त्यस्तो भएको भन्ने कुरा बाहिरियो। केही दिन उपचार हुन्छ अनि होस्टलमै एक हप्ता आराम गरेपछि पुनः काममा फर्किए। तर जब काम सुरु भयो उसैगरी उसलाई देब्रे छातीमा चस्किन थाल्यो र अब फेरि काम गर्न सक्दैन भन्ने लागेसी अस्पतालमा सबै चेक गर्दा पत्ता लाग्यो कि मुटुमा समस्या रहेछ जसलाई आट्रियल सेप्टल डिफेक्ट (एएसडी) भनिन्छ।
डक्टरको सल्लाहअनुसार छिट्टै अपरेसन गर्नुपर्ने भएकोले सबैसँग सरसल्लाहपश्चात कोरियामा नभएर घरपरिवार नि सँगै हुन्छन्, नेपालमै गएर गर्ने भनेर शुक्रबार तय भयो र आउँदो मंगलबारको फ्लाइटमा उड्ने कुरा भइरहँदा शनिबार एक्लै रुममा रहँदा पुनः बेहोस भइसकेपछि अस्पताल भर्ना भई शल्यक्रिया भयो।
मुटुमा एएसडीको सफल शल्यक्रियापश्चात जब ऊ होसमा आयो तब कमजोर मानसिक अवस्था, सही ज्ञानको कमि र कमजोर आत्मविश्वासको परिणाम फेसबुकमा लाइभमा आई म मर्दैछु भनेर सबैलाई आफ्नो छटपटी सुनायो। आखिर सबै उपचार सही भएको कुरा अस्पतालमै गएर बुझ्दा पत्ता लाग्यो तब कोरियामै रहेका नेपाली डक्टरसँग समेत बिरामीलाई कुरा गर्न लगाइयो र आश्वस्त पारियो कि उसको उपचार राम्रैसँग चलिरहेको र किड्नी झिकेको नभई शल्यक्रिया गर्दा पिसाब निकाल्नलाई प्वाल पारेको मात्रै र अत्याधुनिक प्रविधिअनुसार नै उपचार राम्ररी भइरहेको जानकारी गराइयो। अब भने बल्ल शान्त हुन्छ र फेसबुक स्टाटससहित साथीले सबैसँग माफी माग्यो।
तीन हप्ताको अस्पताल बसाइपछि डिस्चार्ज भई तीन हप्ता कोठामै आराम गरेपछि उक्त साथी यतिबेला दुई महिनाको बिरामी बिदामा नेपाल गएको छ। हिजो मात्रै बुझ्दा उसलाई धेरै हदसम्म निको भइसकेको छ। समग्र यो घटना कुनै नौलो नै त होइन, उपचार नै हुन नसक्ने रोग लागेको पनि होइन। तर आवश्यक ज्ञान र आत्मविश्वासको कमि, कमजोर मानसिक अवस्थाको उपज सबैजना आत्तिनेसम्मको अवस्था आयो।
माथिको घटना त एउटा प्रतिनिधि उदाहरण मात्रै हो। परदेशमा सामान्यदेखि गम्भीर खाले रोग लागेर छट्पटाइरहेकाको सङ्ख्या कम छैन। धन कमाउने र आफ्नो परिवारलाई सुख दिने मिठो सपना बोकेर लाखौँ युवा शक्ति विदेश पलायन हुने घटना नेपाली समाजको लागि नौलो होइन। परदेश पस्ने हजारौं दाजुभाइहरू कति त काम गर्दागर्दै परदेशमै अस्ताएका पनि छन्। कति शारीरिक र मानसिक अपांग बनेका छन।
पक्कै पनि सजिलो छैन परदेशको काम। यो सब जान्दाजान्दै पनि भोलि गर्नुपर्ने काम, नयाँ मान्छे नयाँ परिवेश, जोखमपूर्ण श्रमकै लागि पनि आफन्त, जीवनसाथीलाई घरदेशमै छोडेर बिछोडलाई समेत पार गरेर नदेखेको जस्तोसुकै कामको लागि परदेश होमिनु, खाडीको ५० डिग्रीको धुपमा पसिना बगाउन तयार हुनु जंगलमा बाघले आफ्नो आहाराका लागि आफूभन्दा ठूला बलियाको शिकारको लागि गर्ने युद्धभन्दा कम छैन।
जगंलमै पनि शिकार गर्दागर्दै कतिपय अवस्थामा शिकार गर्ने बाघ नै पनि घाइते हुन्छन् तर पनि आफ्नो प्रयास छोड्दैन। अनि स्यालहरूको विशाल समूहको बीचमा पुग्दा बाघले आफू बाघ हुँ भन्ने नै बिर्सियो भने ऊ पनि स्यालहरूको ठूलो जमातसँग झस्किन सक्छ, डराउन सक्छ। यसरी सारा कुरा जितेर दुःखको पहाडसँग मुकाबिला गरिरहेका योद्धाहरू सामान्य कुरामा विवेक पुर्याउन नसक्दा र साना-साना अप्ठ्यारासँग आत्तिँदा भने बाघ बनेर आएको स्यालले पनि तर्साउन खोजेझैं आभास हुन्छ।
जापानमा दुःख गर्ने विजय भाइ होस् या अरबमा पसिना बगाउने ठूल्दाइ ,अस्ट्रेलियामा दिनरात नभनि काम गर्ने दिपक वा जर्मनीमा बस्ने दिव्या। कोरियामा दुःख गर्ने सागर होस या पोर्चुगलको गाउँ-गाउँमा संघर्ष गरिरहेका किस्ने, वसन्ते सबै-सबैले कतिले त पढाइसँगै कष्टपूर्ण काममा आफूलाई अभ्यस्त पार्न संघर्ष गरिरहेका छन्।
माथिको घटनाले पनि धेरै कुरा सिकाएको छ। मेरो झन्डै ५ वर्षको कोरिया बसाइले सिकाएको अनुभवलाई केही बुँदामा समेट्ने कोसिस गरेको छु।
१) वैदेशिक रोजगारीमा जानुअघि विदेशमा गर्नुपर्ने काम सङ्घर्षबारे त सबैको चासो रहन्छ तर कामबाहेक पनि आइपर्न सक्ने संघर्ष र अनपेक्षित घटना, अवस्थाको बारेमा पनि नेपालबाटै राम्रोसँग बुझेर आउनुपर्छ।
२) उपचारको विधि प्रक्रियाबारे पहिले नै राम्रोसँग बुझौँ, विदेशको भाषा बुझिएन भने दोभाषेको सहयोग लिऔँ। त्यो पनि सम्भव भएन भने गुगल ट्रान्सलेटबाट भए पनि न्यूनतम प्रक्रियाबारे पहिल्यै जानकारी लिऔँ जसले गर्दा पछि अनविज्ञ हुनु नपरोस्।
३) साथी समूहमा कसैलाई केही समस्या भइरहेको भए सहयोग गरौँ। जसले मलाई केही भएको छैन भनिरहेको हुन्छ उसैलाई पनि विशेष निगरानी राख्ने गरौँ।
४) समय-समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्ने गरौँ। सानो दुखाइ त हो नि भनेर सहेर नबसौँ।
५) देशअनुसार उपचार विधि पनि फरक हुनसक्छ। त्यसैले युट्युब वा अन्य सामाजिक सञ्जालहरूमा प्राप्त जानकारीमा मात्र भर नपरौँ। उपचार गर्ने चिकित्सकलाई विश्वास गरौँ। उपचार प्रक्रियामा सहयोग गरौँ।
६) कामबाहेको खाली समयमा एउटै कोठामा मोबाइलमा मात्र झुण्डिएर नबसौँ। बरु त्यसरी समय बर्बाद गर्नुको साटो जुन देशमा बस्नुहुन्छ त्यही देशको भाषा सिक्नुहोस् जसले गर्दा धेरै कुरामा सहज हुन्छ।
७) विदेशमा काम गर्दा शरीर त मेसिनसँगै लाग्दा मेसिनजस्तै व्यस्त हुन्छ तर मानसिक अवस्था भने कमजोर भएको हुनसक्छ। शारीरिकसँगै आफ्नो मानसिक स्वास्थ्यको पनि सधैं ख्याल गर्ने गरौँ।
८) बिदाको दिनमा समेत एउटै कोठाभित्र मात्र लामो समय बसिरहँदा शरीर आलश्य हुन्छ, मनमा उत्साह कम हुन्छ। त्यसैले बिदाको सही सदुपयोग गर्दै घुम्न निस्कौं या त आफ्नो मन खुसी हुने सृजनात्मक काममा रमाऔँ।
९) घरदेशमा बस्नेले परदेश जानेसँग लाख-लाखको आशा मात्र नराखौँ। छुट्टीमा घर आउन पनि दबाब नै दिऔँ। नेपाल आउनेजाने गर्दा खर्च त हुन्छ नै तर त्योभन्दा बढी फ्रेस भइन्छ, नयाँ उत्साह र पुनर्ताजगीसहित काम गर्न सकिन्छ। मानसिक स्वास्थ्य पनि राम्रो रहन्छ।
१०) कतिपय साथिभाइहरू परदेशमा पनि झैंझगडा, फूर्ति, अहंकार बैमनस्यता आदिले आफूआफैमा लडेर पनि बस्ने गरेको पनि पाइन्छ। जे-जति शक्ति देखाउनुछ देखाउनै पर्ने भए पनि नेपाल फर्किएपछि नै देखाउँदा हुन्छ तर कम्तीमा विदेश बसुन्जेल भने पनि अरुलाई असर नपर्ने गरी शान्त, अनुशासित भएर बसौँ।
११) विदेश आउने कतिपयको पिर बिसाउने कुरा भनेको मदिरा हुँदो रहेछ, कि त वेश्यालय हुँदो रहेछ। नभए तास, जुवा क्यासिनो पनि। यसरी क्षणिक रमाइलोको लागि आफूलाई ठूलो असर पर्न सक्ने कुरामा भुल्नुभन्दा आफ्नो दीर्घकालको खुसी, दिगो आनन्दको बाटो, तरिकाहरू खोजेर कि त कुनै न कुनै रचनात्मक तथा सृजनात्मक काममा समय बिताउने गरौँ।
१२) कतिपयले नेपालमा अप्ठ्यारो छ भनेर व्यक्तिगत आवश्यकता समेत भुलेर इमर्जेन्सी पर्दाको लागि समेत पैसा नराखी सबै पठाउने गरेको पनि देखेको छु। केही पैसा जोहो गरेर आफूसँगै राख्ने गरे इमर्जेन्सी पर्दा समस्या पर्दैन।
१३) आफू बाँचे मात्र सबथोक पाइन्छ। आफैलाई भुलेर अरु कुरालाई पहिलो प्राथमिकतामा नराखौँ।
१४) विदेशमा रहेका आफ्ना आफन्त, छोराछोरी, प्रेमी, श्रीमानसँग पैसाको मात्र आश नगरौँ। उसले परदेशमा गर्ने काम, स्वास्थ्य अवस्था, चाहना आदिबारे सधैं चासो राख्ने गरौँ।
१५) एक जवान पुरुषले आफ्ना सबै दुःखहरू आमाबाबुसँग राख्दैनन्। नेपालमा हुने प्रेमिका, श्रीमतीले आफ्नो मान्छेको हमेसा साथ दिऔँ। विदेशमा रहेर काम गर्दा तिमीलाई सर्वश्व मान्नेको दुःख, पसिना मेहनत सबै बुझ्दिने प्रयास गरौँ।
१६) र अन्त्यमा सम्पूर्ण परदेशमा रगत पसिना बगाइरहनु भएका दाजुभाइ वैदेशिक रोगगारीलाई पनि एउटा मिसनको रुपमा लिऔँ। मिसन सफल नहुन्जेल आत्मबल बलियो बनाऔँ। अरू कुरालाई दोस्रो तेस्रो प्राथमिकतामा राखी आफूलाई बचाऔँ। अनि मात्र अरूलाई बचाउन सकिन्छ।