बिहान अलि हतारमै थिए। मेरो मन झन् धेरै हतारिँदै थियो। पल्लो कोठामा मेरी उनी बाबुलाई स्कुल पठाउने तयारीमा थिइन्। उनी आफैं पनि काममा जाने हतारोमा थिइन्।
प्रत्येक दस सेकेण्डको फरकमा मैले मोबाइलको स्क्रिन थिच्दै उनको अर्थात् पानवालीको म्यासेज आयो कि नाइँ भन्दै चेक गर्दै थिएँ। मनमा एक किसिमको कौतुहलता बढ्दै थियो।
म हतारको नाटक गर्दै किचेन छिरें, आफैं खाना पस्किएँ। अनि दुई गाँस मात्र निलेर पसलतिर निस्किएँ।
पसल नपुग्दै मोबाइलमा म्यासेन्जरको घन्टी बज्यो। मैले जिपिएस लगाएको मोबाइलमा पुलुक्क हेरें, म्यासेज उनै पानवालीको थियो।
'नबु!' उनले मात्र यत्ति लेखेकी थिइन्, त्यो पनि नेपालीमै।
मन कटक्क भयो, फिलिङ लभमा परेजस्तै फिल भयो फेरि एक पटक!
जीवनमा दुई पटक लभ पर्यो मेरो। एउटा पानवालीसँग अनि अर्को जापानवालीसँग। यी दुईमा फरक 'जा' को मात्र थियो। नत्र दुबै पानवाली।
यो नबु सम्बोधन मेरा लागि अति प्रिय छ। जीवनको पहिलो प्रेममा पाएको प्रेमिल सम्बोधन थियो मेरो लागि यो नबु।
नाम नबराज भएता पनि पानवालीले मलाई नबु भन्थिन्। आज वर्षौंपछि नबु भनेर कसैले बोलाउँदा म उहीँ बीस वर्षे जवानीमा फर्किएँ।
पसल अगाडि गाडी पार्क गरें। ड्यासबोर्डमा चप्केको मोबाइललाई तानेर म्यासेन्जर खोलें अनि नबुको रिप्लाई नदिई डाइरेक्ट कल गरें।
लगातारको घन्टी सकिँदा पनि फोन उठेन। मलाई हल्का रिस उठ्यो।
पसल पुगेर आधा घण्टामा दैनिक काम सकें, आएर फेरि मोबाइल हेरें। दुइटा म्यासेज थियो।
'सबैजना सँगै छौं नबु! आऊ एकछिन च्याट गरौं' उनको पहिलो म्यासेज थियो अनि दोस्रोमा 'कता हरायौ बेबी?'
अघि नबु, अहिले बेबी! म त खुसीले मर्छु कि क्या हो जस्तै भयो! आफैंले आफैंलाई थाम्नै सकिनँ।
स्वयम्भूमा सल्लाको बोटमुन्तिर उनको काखमा पल्टेर बच्चाजस्तै लडीबुडी गर्दै उनलाई सताएको सम्झिएँ।
विश्वज्योति हलको एउटा कुनामा बसेर सलमान खानको ‘रामजाने’ फिल्म हेर्दै बेबी पारा देखाएको दिन पनि झल्झल्ती सम्झिएँ।
साँच्चै म उनको अघि बेबीजस्तै थिएँ। त्यसैले त कहिलेकाहीँ उनले मेरो नाक बटार्दै भन्थिन्, ‘मेरो बच्चा! मेरो बेबी।’
सायद उनले माया गर्दै नाक बटार्देकै कारणले होला, मेरो नाक पनि अलि लामै छ।
साथीहरू आज पनि मेरो फोटोमा कमेन्ट गर्दा ‘नाके!’ लेख्छन् तर मलाई आपत्ति लाग्दैन, खुसी नै लाग्छ।
बेबी शब्दको कल्पना गर्दै पुराना दिनमा पुग्दा मैले उनको म्यासेजको रिप्लाई दिनै बिर्सेछु।
हतारिँदै लेखे, ‘मलाई भुलेकी छैन्यौ?’
‘कैयन् पल्ट त आफैंलाई भुलें तर तिम्लाई भुल्न सकिनँ नबु! तिमीले चै मलाई सजिलै भुल्यौ है?’ उनले पीडा पोखिन्।
मैले प्रसंग फेर्दै सोधें, ‘फेसबुकमा सरको, नानीबाबुको फोटो राखेकी छैन्यौ त?’
उनले लामै हाँसोको इमोजी पठाउँदै प्रश्न गरिन्, ‘को सर? मेरो बाको?’
मैले पनि हाँस्दै लेखें, ‘तिम्रो पतिदेवको ...!’
उनले लेख्न सुरू गरिन्, ‘मैले बिहे गरिनँ नबु!’
‘सयौं आए मलाई हेर्न, सबैलाई मेरो आफ्नै रोजाइको मान्छे छ भन्दै फर्काइदिए।’ उनले यति लेखेर लास्टमा रोएको इमोजी पठाइन्।
मसँग कुनै शब्द थिएन।
मात्र सोधें, ‘कल गरम्?’
उनले ‘हस्’ लेखिन्। मैले भ्वाइस कलको बटन थिचें।
‘हेल्लो!’ उस्तै सुरिलो स्वरमा उनी बोलिन्।
म बोल्न सकिनँ, आँखा रसाएँ। उनले फेरि भनिन्, ‘सञ्चै छौ नबु?’
मसँग उनलाई बोलाउने कुनै नाता थिएन, ऊ बेला पानवाली भन्थें। अब त्यसो भन्दा रिसाउने हो कि भन्ने डर थियो मलाई। दिदी बहिनी भन्ने नाता त्यो एक वर्षको प्रेमले खोसिसकेको थिएँ।
उनले जस्तै बेबी भन्नको लागि जापानवालीको मायाले रोक्दै थियो मलाई।
‘म तिमीलाई के भनेर सम्बोधन गरूँम?’, उनीसँगको मेरो पहिलो शब्द यही निस्कियो।
‘तिमीले पानवाली भन्दा अथाह माया भेटाउँथें, सक्छौ भने त्यही भन। होइन भने मिसभन्दा पनि अब पीर मान्दिनँ।’ उनले सिरियस हुँदै कुरा राखिन्।
मैले एक पटक जिस्कँदै मिस भनेको थिएँ, त्यो बेला उनले रिसाउँदै भनेकी थिइन्, ‘मिसेस अधिकारी हुँ, अब म मिस होइन मिष्टर अधिकारी।’
‘ ...अनि किन बिहे नगरेको त?’, मैले कुरा खोतल्न खोजें।
‘तिम्रो पर्खाइ थियो आजसम्म। फेसबुकमा समेत नभेटिने नाम राखेका रहेछौ,’ उनले मप्रतिको प्रेम देखाउँदै गइन्।
‘हिजो तिमीलाई फेसबुकमा भेटें, हेर्दै गएँ। बिहे मात्र होइन बाबा बनिसकेका रहेछौ।’ उनको बोली मधुर हुँदै गयो।
एकपटक हिक्का छाडेर रूँदै भनिन्, ‘तिम्रो वैवाहिक जीवनमा दख्खल दिने मन त होइन नबु, तर किन बदलियौ जान्न मन लागेर बोलाएकी।’
मसँग अनेक मनका पीडा थिए, बताउन बाँकी नै थियो, तर पहिला उनलाई रूनबाट रोक्नु थियो। मैले सम्झाउँदै भनें ‘डिस्टर्ब भएको छैन लाटी, म पनि तिम्रा लागि खुब तडपिएँ। आज भेटियौ, खुसीको सीमा छैन’
‘भयो अब यो सब मलाई नसुनाऊ, तिम्री उनी धेरै राम्री छिन्। हेर्दा ठ्याक्कै जापानीजस्तै’ उनले मेरी श्रीमतीको बयान गर्न थालिन्।
मैले मेरी उनी जापानी नै भएको बताउन चाहिनँ , बरू कुरा मोड्दै भनें, ‘जापान आएपछि तिमीलाई सम्पर्क गर्ने कति कोसिस गरें, तिमी हरायौ। पछि थाहा पाएँ, तिमीहरू मैतीदेवी छाडेर गएछौ।’
उनले मैतीदेवी छाड्नुको कारण बताउँदै भनिन्, ‘तिमी जापान हिँडेकै वर्ष बा बित्नुभयो। अनि हामी पसल बेचेर अनामनगरतिर सर्यौं।’
मैले बीचमै रोकेर भनें, ‘हे भगवान! भुसाल अंकल बित्नुभयो?’
उनले अतीत बताउन थालिन्, ‘बा बित्नुभयो, पसल बेचियो। भाइ पढाउने र आमालाई पाल्ने जिम्मेवारीले थिच्दै गयो, तिम्रो मायाले गल्दै गए। अनि बिहे गर्ने आँटै आएन नबु।’
यो पटक म रोएँ, हिक्का छाडेर रोएँ।
उनले सम्झाउँदै भनिन्, ‘रून्चे केटा! छोरा मान्छे भएर पनि रून्छन?’
म सम्हालिँदै गएँ, नजिकैको रूमालले भिजेका आँखा पुछें अनि सोधें, ‘के गर्छौ आजभोलि?’
‘म कलेज पढाउँछु, तीन वटा कलेजमा छ पिरियड लिन्छु’ उनले आफ्नो दैनिकी बताइन्।
मैले सोधें ‘अनि भाइ?’
‘भाइ अमेरिका छ, गएको चार वर्ष भयो। मास्टर्स गर्न गएको’ उनले भाइको बारेमा पनि बताइन्।
‘अब बिहे नगर्ने तिम्ले?’ मैले फेरि प्रश्न उनीमाथि नै केन्द्रित गरें।
‘जीवनमा जसलाई प्रेम गरें, उसलाई पाउन सकिनँ। अब अर्कोप्रति मन जान्नँ नबु’ उनले हल्का साहित्य मिसाउँदै उत्तर दिइन्। म चुप भएँ।
‘मैले तिमीलाई म्यासेज गर्दा कुनै अप्ठ्यारो पर्छ भने भन ल, म तिमीबिना पनि बाँच्न सक्ने भैसकेको छु’ उनले कठोर मन प्रस्तुत गरिन्।
‘डाइरेक्ट कल नगर्नु, म्यासेज गर्दा फरक पर्दैन’ मैले आफ्नो अवस्था सुनाएँ। अनि सोधें ‘अनि तिमीलाई?’
उनले हाँस्दै भनिन्, ‘तिम्रै नाममा बाँचेको मान्छे हुँ, तिमीलाई मेरो नजिक आउनबाट रोक्ने मान्छे मेरो जीवनमा ल्याएकै छैन नबु।’
म नतमस्तक भएँ। पसलमा फाट्टफुट्ट कष्टमरको लाइन बढ्न थाल्यो। उता उनको छेउमा पनि आमाको आवाज सुनिन थालेपछि मैले भनें ‘अहिले राखुम् , एकछिनमा फेरि बोल्ने ल?’
उनले छोटो उत्तर दिइन्, ‘हस!’
म उनलाई बिर्सन सक्ने अवस्थामा हिजो पनि थिइनँ, आज पनि छैन अब।
फेरि प्रेम फक्राउँदै लगौं भने समाजले थुक्ला, प्रेमलाई यहीबाट अन्त्य गरौं भने मनले मान्दैन। म के गरौं ?
यो पनि:
मेरी हुन नसकेकी उनी
दिपक घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।