उत्तरतिर लहरै मिलेका दाँतजस्तै मुसुक्क हाँसेर बसेको मनास्लु हिमालको काखमा एैतिहासिक तथा धार्मिक हिसाबले महत्वपूर्ण मानिएको गोरखा जिल्लाप्रति सदैव मेरो उत्तिकै स्नेह र श्रद्धा छ।
मेरो बुवा गोरखाको धावाबाट बिहे गरेकै वर्ष जागिरको सिलसिलामा आमालाई साथै लिएर चितवन झर्नु भएछ। धावाबाट बेनिघाट, हुग्दी, शक्तिखोर हुँदै चितवन पुग्न डेढ दिन लाग्थ्यो।
चितवनमा उतिखेर वस्तीहरू कम मात्र भेटिन्थे। त्यहाँका रैथाने भनेका थारु जाति नै थिए। गर्मी मौसम चढेपछि कालको रुपमा देखिने औलोले पनि यिनीहरूलाई हत्तपत्त छुँदैन थियो।
सूर्यास्त पछिको गोंधुली साँझको धमिलो प्रकाशमा बासस्थानको खोजी गर्दागर्दै मेरो बुवाले धन्न कटेरो फेला पार्नु भएछ। उक्लिँदा उक्लिँदै गैंडा कटेरोको भुइँ तलामै आइपुगेछ।
अपरिचित मान्छेलाई कसैले नियालेजस्तो एक क्षण नियालेर गैंडा आफ्नो बाटो लाग्यो। साँझ जंगल छिचल्दै चितवनको खैरहनीस्थित आफ्नो मुकाममा पुग्न सकेकोमा जीवनको ठूलै खड्को पार गरेको अनुभूति भएछ।
गर्मी मौसममा देखिने हैजा, औलोको कारण नै वस्तीका वस्ती सुखाप भएका रहेछन्। वस्ती विहीन त्यो टहरोमुनि कुटानी पिसानी गरिने मिलका पार्टपूर्जाहरू छरपस्ट रहेको देखिँदा चितवन उहिलेदेखि नै विकसित भएको अनुभूत गर्न सकिन्थ्यो।
औलो उन्मुलन कार्यक्रम सञ्चालन हुनुअघि विसं २०१३ सालसम्म उपरदांग गढीमा चितवनको मुकाम चल्ने गर्दथ्यो रे। मेरा मातापिताले पनि चितवनको चैनपुरलाई १७ सालतिर गन्तव्य बनाउनु भएछ।
आमा, तीन दाजु, एक दिदी र मलाई छाडेर ५२ वर्षकै उमेरमा २०२२ सालमा बुवा बित्नु भयो। जेठा दाजु २२ वर्षको हुनुहुन्थ्यो भने सबैभन्दा कान्छो सन्तानको रुपमा म दुई वर्षको थिएँ।
सधैंजसो झिलिमिली पहिरनमा सजिएकी मेरी आमा, बुवा बितेपछि संस्कारअनुसार सेतो पहिरनमा देखिनु भयो। बारम्बार आमाको न्यानो काखमा लटपटिरहने म अवोध बालक, आमाको सेतो पहिरनदेखि नै तर्सिंदै मेरी भाउजूको छायाँ बनेर उनकै काखमा मेरो शैशवकाल बिताएँ।
घरको प्रकाशको रुपमा रहनु भएका बुवा पृथ्वीको पश्चिमी गोलार्द्धबाट सूर्य अस्ताएजस्तै अस्ताएपछिको अँध्यारोले हामीलाई छोप्न सुरु गरिसकेको थियो। अँध्यारोको फाइदा उठाउँदै हिंस्रक जनावरले निर्धोमाथि जाइलागे सरी हामीमाथि पनि मानवरुपि हिंस्रकहरूले जाइलाग्न सुरु हुन गरे।
त्यतिखेर आवश्यक माल सामान बजारसम्म लैजाने र ल्याउने प्रमुख साधन भनेको गाडा गोरु नै थियो। मेरा जेठा दाजु गाडा गोरुको त झन् पारखी नै हुनुहुन्थ्यो। राम्रा बहर गोरुमा आँखा पुगिरहन्थ्यो र अदलबदल भइरहने कुरा सामान्यजस्तै थियो।
दाजुले मितसँग राम्रो खाइलाग्दो बहर ल्याउनु भएछ। त्यतिकैमा केरकार सुरु भैहाल्यो। एक दिनको कुरा थियो। कचहरीमा उपस्थित हुन झिसमिसै उज्यालोमा कडा उर्दीका साथ दूत बनेर आएको एक सन्देशवाहक, नारदझैं आँगनमा ठिंग उभिएर भटभटाउन थाल्यो।
खाएको विषभन्दा विषरुपी वाणले प्रहार गरेको वचन अझ असह्य हुँदो रहेछ।
मौखिक सफाई पेश गरेर मुखमा बुजो लगाउन सकिन्न भन्ने राम्ररी हेक्का भएकोले उनै मितबासँग आर्थिक लेनदेनको कागजात मेरी आमाले पहिल्ये नै तयार गरिसक्नु भएको रहेछ।
निकै कडिकडाउका साथ उदीर्को प्रतिउत्तर दिनु भएपछि जसरी भटट भट्टाउँदै आएको थियो उसैगरी भटभट्टाउँदै फर्कियो।
आपसी सहमतिमा भएका विषयलाई इस्युको विषय बनाउनु हामीहरूको सम्पत्ति माथिको गिद्धेदृष्टि नै थियो। आखिर त्यो कुरा कर्कलाको पातमा परेको वर्षाको पानीजस्तै ओभानो भएर हरायो। त्यसपछिका दुई वटा मुद्दा पनि खेपियो। खाएको विष पो लाग्छ, नखाएको विष कहाँबाट लाग्थ्यो र?
'दुखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी अझ दुःख दे' भन्ने अब्राहम लिंकनको वाणीलाई सम्झँदा हाम्रो त्यो स्वभाविक जितमा सायद भगवानको पनि कृपा थियो कि!
राम्ररी पढेर बुवाले जस्तै सरकारी जागिर खाओस् भन्ने मेरी आमाको सपना थियो। तत्कालीन समयमा ढिकी जाँतोको प्रचलन नै बिहान-बेलुकाको गुजराको साधन थियो। म भने पढाइदेखि दिक्क लाग्दै कहिले त तिनै ढिकी जाँतोमा किताब हालेर आमाको सपनालाई नै कच्याककुचुक पारिदिन्थें।
खोलाको छेउछाउमा चरिचराउ हुन्थ्यो। नुहाउने र बगरमा खोस्रिखास्री गरेर खेतका गह बनाई धान रोपाईं गर्दै बाली समेत भित्र्याउने बाललहड चल्थ्यो। भतिजी र म यस्तै रमाइला खेल खेल्दै व्यस्त थियौं। खोलाको सिरानतिर वर्षा भएर धमिलो पानी आउँदै गरेको समेत याद भएन। मेरा जेठा दाजु हामीलाई खोज्दै आउनु भएछ। म अलिक एकसुरे थिएँ। मेरी भतिजी पहिले नै उम्किसकिछिन्। बाघले शिकार समातेजस्तै म दाजुको फन्दामा परें।
मेरो खुट्टा समातेर उधोमुन्टो पारी बग्दै गरेको पानीमा टाउको चोपल्दै चेतावनीको शैलीमा अब उप्रान्त भतिजीसँग दौंतरी नगर्ने सर्तमा छाडी दिनुभयो। मलाई एक किसिमले कालको मुखबाट उन्मुक्ति पाएजस्तो लाग्यो।
साँझ परेपछि घर पुगें। सूर्य अस्त पछिको अँध्यारोको साम्राज्यभित्र मेरा भावना पनि उसैगरी कुण्ठित हुन पुगे। खाना खानासाथ ओछ्यानमा पल्टिएँ। उही दाजुको अर्घल्याइलाई मात्र मनभित्र खेलाउन थालेँ। मनमा एक किसिमले ईर्ष्या उत्पन्न भयो। यस्तै-यस्तै भावनामा बगिरहेको थिएँ।
आमा धन्दा सकेर मसँगैको ओछ्यानमा पल्टिनु भयो। सधैंझैं आमाको न्यानो काख पाएपछि खुसी हुने मेरो चञ्चलेपन आज भने मौन व्रत बसेजस्तो चुपचाप थिए। मेरो चञ्चले पन एकान्तबासमा चुपचाप बसेझैं सन्नाटा हुँदाको अनुभूतिले ममाथि जिज्ञासा राख्नुभयो।
अलिक समयपछि मैले आफ्नो मौन व्रत भंग गर्दे भनेँ, 'म ठूलो भएपछि मेरा ठूल्दाइ पनि बरुवाल बुढोजस्तै हुन्छ हो?'
बरुवाल भन्ने व्यक्ति प्रतिष्ठित छिमेकी थिए। उमेरले ७५ कटिसकेका ती छिमेकी अलि कुप्रो परेर हिँडेको सधैंजसो देखेको थिएँ।
आमाले भन्नुभयो, 'हो बा, तिम्रो दाइ पनि बुढो भएपछि त्यस्तै कुप्रो परेर हिँड्छ।'
मैले भनें, 'दाइ कुप्रो परेपछि म पनि दाइलाई खुट्टामा समातेर खोलामा बगाइदिन्छु।'
'धत् लाटा! दाइलाई पनि त्यसो गर्नुहुन्छ?' हाँसो मिश्रित स्वरमा मलाई कारण सोध्नुभयो।
मैले दिउँसोको घटना बेलिविस्तार लगाएँ।
म माथिको हुर्मतले एक किसिमको ईर्ष्याको ज्वालामुखी फुटेको आवेगमा भतिजीसँग कहिल्यै संगत नगर्ने र ऊ पढेको विद्यालयमा समेत नपढ्ने प्रण गरें। भोलि नै नयाँ किताब ल्याएर नयाँ स्कुलमा भर्ना गरिदिन आमालाई सुझाएँ। कसै गरे पनि पढ्ने बानी बसाल्न नसकेर चिन्तित हुनु भएकी मेरी आमाले दाजुको यो कामलाई भने मनमनै मुरी-मुरी धन्यवाद दिनु भएछ।
भोलिपल्ट पूर्वको लाली पातलिन नपाउँदै आमा र म एक घण्टाको पैदल हिँडी टाँडी बजार पुग्यौं। आमाले नयाँ किताब, कापी, कलम र झोला किनिदिनु भयो। खुसीले गद्गद् भएँ। त्यही दिन चैनपुरको हात्तीलेडस्थित प्राइमरी स्कुलमा शिशु कक्षामा भर्ना भएँ। एक वर्षसम्म पढ्दा नचिनेको बाह्रखरी १५ दिनमै किताब पढ्न सक्ने भएँ। गुरुहरूको प्यारो बन्दै गएँ।
जब मैले पढाइमा आशातीत प्रगति गर्दै तीन कक्षामा राम्रो नतिजाको साथ प्राइमरी स्कुलको पढाइ पूरा गरेँ, २०२८ सालमा हाम्रो जो भएको जायजेथा रातभरिको घना वर्षाको कारण अजिंगरले आहारा निलेजस्तै गरी कायर खोलाले सिनित्तै पारिदियो। उब्जाउमय जमिन बगरमा परिणत भयो। हाम्रो लालनपालन शिक्षा दिक्षा एक्ली आमाको काँधमा पहाडले थिचेजस्तै अत्यास लाग्दो दिन सुरु भयो। विपत्तिमाथि विपत्ति चुलिंदै गयो। दुःखले दुःख पल्काउँदो रहेछ। म र म माथिको दाजुको पढाइले त्यसै सालदेखि विश्राम लिनुपर्ने अवस्था आयो।
कहिलेकाहीँ तिनै बगरतिर आँखा सोझिँदा दसैँमा पिङ खेलेको त्यो सिमलको रुख, ढुकुरचरीले गुँड लगाएका गिंदरीका रुखहरू खोलाका पुच्छारतिर बगरको बिछ्याउनामा लमतन्न भएर मस्त निद्रामा परेको भान हुन्थ्यो। तिहारमा देउसी खेलेका घरहरू र म दौडी खेलेको आँगन, स्कुल जाने बाटो र दौंतरीहरूसँग लुकामारी खेलेका ती रमाइला दिनहरू मेरा भित्री आँखाका नानीभित्रै सीमित रहने भए।
पहाड खसेर किचिएको निसासिँदो ठाउँबाट त्यसपछिको यात्रा अनिश्चित भएर हाम्रोसामु उभिएको थियो। दुःखमा आफन्तको पहिचान हुन्छ भनेझैं विपत्तिको यस घडीमा आफन्तको सहानुभूति नै जीवनको सबैभन्दा ठूलो सहरा हुँदो रैछ। जो भएको उठ्ती पुठ्ती लिएर हामी त्यो ठाउँबाट अलिक पर आफन्तकै नजिक बसाइ सर्यौं।
३ महिनाभित्र जग्गा पास गर्ने गरी लेनदेनको कागजात बमोजिमको सम्पूर्ण रकम चुक्ता गरी तिनै आफन्तबाट थोरै जमिन पनि जोड्यौं।
नयाँ पात होउन्जेलसम्म मात्र रहेछ हाँगाबिँगाले पनि त्यसलाई अंगालेर प्रेमका साथ राख्ने। केही समयको अन्तरालपछि पात पहेंलिँदै गएर हाँगाबिँगाले छाडेजस्तै आफ्ना भनेकाहरूको दूरी पनि लम्बिँदै गयो हामीबाट।
दिन, महिना, वर्ष बिते। लालपूर्जा भने आफ्नो नाममा आउने छाँटकाँट देखिएन। ६/६ महिनामा ऋणी र आसामीबीच तम्सुक नवीकरण गरिरहने कामले आजित भयौं।
जग्गाको मूल्य पाँच वर्षमा ५ गुणा नाघिसकेको थियो। अब ऊ जग्गा पास गरेर हाम्रो नाममा स्वमित्व दिने कुरामा आनीकानी गर्न थाल्यो। परिस्थितिले कहिलेकाहीँ आफ्नै देश पनि परदेश र आफन्त पनि परदेशी बनिदिँदा रहेछन्। दुखीको सहरा नै दैव हुन्छ भन्ने त बारम्बार सुनिएकै हो। तर यस घडीमा न त भगवानले साथ दिए, न त हामीले भगवान ठानेका आफन्तहरूले नै। छन् गेडी सबै मेरा, छैनन् गेडी सबै टेढा। नियति नै बिग्रेपछि सोचेजस्तो कहाँ हुँदो रै छ र!
आखिरमा हाम्रो परिवार बसाइ सर्यो, चखेवाले साँझपख आप्नो घर सम्झेजस्तो गरी उही पहिलेको ठाउँमा।
विद्यालय जानबाट वञ्चित भएको झण्डै ४ वर्षपछि ४ कक्षादेखि नै पढ्ने अवसर पाएँ। यो देख्दा पृथ्वीको एउटा गोलार्द्धमा छायाँमा परेको जीवन क्रमश पूर्वतर्फ रंगिँदै गएको सूर्यको रक्तिम लालीले घमाइलो अनुभूति गरायो।
अंग्रेजी पढाउने सर निकै कडा हुनु हुन्थ्यो। आज पढाएको पाठ भोलि जसरी पनि अग्रपंक्तिमा उभिएर बुझाउनु पर्थ्यो। विद्यालय, बाटोघाटो, चोक जहाँ भए पनि द्धिविधा परेका कुराहरू साथीहरूसँग शेयर गर्न थालें। यसले मलाई मलजल हालेको बिरुवाजस्तै हलक्क बढ्नमा प्रेरित गर्यो।
फलामे ढोकाको रुपमा रहेको एसएलसी र सो पछिको सन्तोषजनक नतिजाले सरकारी सेवामा समेत प्रवेश पाउँदा मेरो परिश्रमको उचित कदर भएको अनुभूत गरको छु।
आज पनि मैले ती दिनहरू सम्झिन पुग्दा ती पात्र र अवस्था मनमष्तिकमा जेलिरहन्छन्।