म सानो छँदा सुनेको मात्र थिएँ, गाउँ-गाउँ मिलेर नेपाल देश बनेको छ। पढेको पनि त्यही नै हो। काठमाडौंमा जन्मीहुर्की गरेकाले गाउँको बारेमा बुझ्ने मौका पाएको थिइनँ र गाउँ कस्तो हुन्छ भन्नेबारे त्यति ध्यान गएन।
विगत केही महिनादेखि मैले स्वास्थ्यसँग सम्बन्धित काम गर्ने एक संस्थामा आबद्ध हुने मौका पाएको छु। यस संस्थाबाट उपत्यकाबाहिर बुटवललगायत क्षेत्रको भ्रमणमा जाँदा प्रत्यक्ष आँखाले जे देखँ, स्वास्थ्यचौकीमा आएका बिरामीहरूको स्थिति र अवस्थाबारे जे अनुभूति गरेँ, र त्यसबाट मेरो मनमा हाम्रो जनस्वास्थ्यमा सुधार गर्न सक्ने उपायहरू केही छन् कि भन्नेबारे जे भावना र विचार आए। त्यसैमा अहिले म रुमल्लिरहेको छु।
काठमाडौंलाई नै नेपाल सम्झिने मलाई कसैले नेपालको मौसम कस्तो छ भनेर सोध्दा जाडोमा चिसो हुन्छ र गर्मी त्यति धेरै नहुने ठाउँ हो भन्थेँ। तर कामको सिलसिलामा कपिलवस्तु पुग्दा वास्तविक गर्मी कस्तो हुँदो रहेछ भन्ने महसुस गर्ने मौका पाएँ। मेरो लागि अदृश्य रहेको नेपालको पाटो देख्ने अवसर पाएँ। जचाउन आउने बिरामीहरूसँग भलाकुसारी गर्ने मौका पाएँ।
हेल्थपोस्ट धेरै ठूलो होला भन्ने अपेक्षा त थिएन तर त्यति सामान्य र अभावग्रस्त होला जस्तो पनि लागेको थिएन। डाक्टरको नाममा एक अनमी हुनुहुँदो रहेछ। म त्यहाँ पुग्दा जचाउन आउनु भएको बिरामीले मलाई डाक्टर भन्ने बुझेर त्यही अनुसारले सम्बोधन गर्नुभयो।
जोसुकै नयाँ मान्छे आएर 'के छ तपाईंलाई?' भनेर सोध्दा डाक्टर नै हो कि भनेर सम्बोधन गर्ने स्थानीय व्यक्तिहरूले अति सामान्य, सरल र सोझो व्यवहारबाट म धेरै प्रभावित भएँ। अलि असहजजस्तो लागेर सँगै गएको सहकर्मीलाई सोधे, 'यहाँ डाक्टर कोही नि आउँदैन?'
उहाँले केही पर लुम्बिनी प्रादेशिक अस्पताल रहेको र समुदायिक हेल्थ पोस्टमा सामान्य 'प्रेलिमिनरी टेस्ट' गरेर अलि गम्भीर बिरामीलाई प्रादेशिक अस्पतालमा 'रिफर' गरिने बताउनु भयो।
धेरै नघुमेको र ग्रामीण परिवेश नदेखेकोले नेपालमा स्वास्थ्य शिक्षाको अवस्था कस्तो छ भनेर बुझेको थिइनँ, धेरै जान्ने कोसिस पनि कहिल्यै गरेको थिइनँ। सुनेको त थिएँ साह्रै गाह्रो छ रे भनेर तर आँखाले नदेखेर होला तुलना गर्न सक्दिनँ थिएँ। आफूलाई काठमाडौंको निजी क्लिनिकमा जाँदा केही बेर कुर्नु पर्दा नै पारा तातिन्थ्यो र कस्तो अविकसित मुलुक हाम्रो भन्ने लाग्थ्यो।
जसले जति देख्यो त्यति बुझ्ने त हो! कुवाको भ्यागुतोलाई कुवा नै संसार भनेझैं। अस्पताल धाउने सकस र अस्पतालसँग सम्बन्धित दुःखले मान्छेले आफ्नो आँखाको ज्योति, हात-खुट्टा, कान आदि गुमाएको देखेर बल्ल दुःख र असुविधालाई नजिकैबाट जान्ने थोरै भए पनि मौका पाएँ। 'इन्फर्मेसन म्यानेजमेन्ट' पढेर शिक्षा शास्त्रमा स्नातकोत्तर गरेको मान्छे म जीवनमा पहिलो पटक पब्लिक हेल्थ अथवा डाक्टरी किन पढिनछु जस्तो लाग्यो। धेरै नसके पनि महिनाको एकचोटि अथवा दुई महिनाको एकचोटि यसरी समुदायमा गएर त्यहाँको स्वास्थ्य अवस्था सुधार्न सानोभन्दा सानो भए पनि प्रयास पो गर्न सकिन्थ्यो कि!
यस्तै सोचिरहँदा डाक्टरी विषय पढ्ने विद्यार्थीहरूलाई महिनाको एकचोटि भए पनि यस्तो फिल्ड ट्रिप गराउन सके कति राम्रो हुँदो हो भन्ने लाग्यो। साथीसँग प्रश्न पनि राखेँ, नेपालमा डाक्टरको जनशक्ति यति धेरै छ, के उनीहरू यस्तो समाजमा सेवा गर्दैनन् भनेर। उहाँको उत्तरले मलाई अहिलेको मेडिकल कोर्सको संरचनामाथि प्रश्न उठाउन मन लाग्यो।
उहाँले भन्नुभयो, 'पहिले-पहिले डाक्टर पढ्न हेल्थ असिस्टेन्ट पढेर दुई वर्ष समुदायको हेल्थ पोस्टमा समुदायसँग नजिकै रहेर काम गर्नुपर्ने व्यवस्था थियो। पहिला त्रिभुवन विश्वविद्यालयमा स्नातक गर्ने पाठ्यक्रममा दुई वर्ष फिल्डमा बसेर काम गर्नेमध्ये छानेर त्यसपछिको कोर्समा पढ्न पाउने व्यवस्था थियो। नेपालका चिरपरिचित नाम डाक्टर भगवान कोइरालाले पढेको त्यस्तै समयमा हो।'
त्यतिबेला डाक्टर पढ्नेहरू धेरै जस्तोले यस्तै व्यवस्थाअन्तर्गत पढेको जानकारी पनि गराउनु भयो। अहिले किन हटाइएको होला? मलाई थाहा छैन। हटाउनेका आफ्ना तर्क होलान्। मलाई भने गाउँका मान्छेले अलिकति भए पनि स्वास्थ्य सेवा पाउँथे, त्यसबाट वञ्चित हुनुपर्यो भन्नेमा नरमाइलो लाग्यो।
काठमाडौंको क्लिनिक र सरकारी अस्पताल देखेको मैले एउटा जीवनजल खान नपाएर मान्छेको ज्यान जान्छ रे भन्ने सुन्दा एकछिन दुःख मानेजस्तो गरेर फेरि उही सहरी रमझममा मस्त हुने गर्थें। दुर्गममा पानीबाट हैजाको महामारी फैलिएको समाचार सुन्दा नेपालमा बेलाबेला यस्तो हुन्छ भन्दै घरमा भएको 'वाटर प्युरिफायर' बाट पानी भर्दै अफिस जाने गर्थेँ म। तर आफ्नो आँखाले तराईको गाउँलाई देखेर आएदेखि यो कुरा बिर्सिन सकेको छैन।
यातायातको सुविधा पुगेको र अपेक्षाकृत विकसित तराईमा त यस्तो छ भने अझ पहाडको विकट गाउँमा के हालत होला? मान्छेको दुःख बुझ्न, करुणा महसुस गर्न आँखाले देख्नु पर्छ रे। यो फेरि मैले भनेको हैन है, हार्वर्ड विश्वविद्यालयबाट व्यक्तित्व मनोविज्ञानमा पिएचडी गर्नु भएकी डाक्टर सेरी टर्कलले २०१६ मा प्रकाशित आफ्नो एक किताबमार्फत भन्नु भएको।
हुन पनि हो, वास्तवमै मजस्तो 'जे आँखाले देखें, संसार त्यतिमात्र हो' भन्ने सोच्नेलाई त्यो एक हप्ताको भ्रमणले धेरै फरक बनाएको छ। सोच्छु, अहिले डाक्टरी पढिरहेका अथवा पढाइ सिध्याउने क्रममा रहेका भविष्यका डाक्टर साहेब-साहिबाहरूलाई यस्तो सोच कुनैबेला आउला कि नआउला?
सन् २०१५ को एक अध्ययनले नेपाल सरकारले ग्रामीण क्षेत्रमा चिकित्सकलाई कायम राख्न ग्रामीण क्षेत्रमै हुर्केका र पढेकाहरूबाट सम्भावित मेडिकल विद्यार्थीहरूलाई आकर्षित गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको रहेछ। सन् २०१२ मा ह्युमन रेसोर्सेस फोर हेल्थमा प्रकाशन भएको ग्रामीण नेपालमा काम गर्नेबारे विद्यार्थीको धारणामा आधारित एक अध्ययनका अनुसार विशेष गरी विद्यार्थीहरूलाई ग्रामीण क्षेत्रमा काम गर्न र ग्रामीण जनतासँग परिचित गराउनको लागि केही समय व्यवस्थापन गर्नेगरी वर्तमान शिक्षा प्रणालीमा परिवर्तन गर्न सुझाव गरिएको रहेछ।
यसै सन्दर्भमा नेपाल इन्स्टिच्युट अफ मेडिसिन र निक सिमोन्स इन्स्टिच्युटको सहयोगात्मक अध्ययनमा प्रकाशन भएअनुसार ग्रामीण परिवेशमा हुर्किएका विद्यार्थीहरूमा पढाइ सकेपछि नेपालमै बस्ने सम्भावना उल्लेखनीय रूपमा बढी रहेको पाइएको छ। तर गाउँमा डाक्टर नभएको देख्दा यी अध्ययनको नतिजा कता पुगे, अचम्म लाग्छ।
हुन त डाक्टरी पढ्नेका आफ्ना तर्क होलान्। ८०/९० लाख खर्चेर पढेको मान्छेले गाउँमा गएर कहिले पैसा उठाउनु, समाज सेवाले मात्र पेट त भरिँदैन! महिनाको ३० हजार डलर खान छाडेर यस्तो अस्तव्यस्त देशमा ३० हजार रुपैयाँमा को बस्छ? स्वाभाविक पनि हो त्यस्तो सोच्न। तर विदेश बसे पनि विभिन्न प्रविधिमार्फत त्यहाँको स्वास्थ्य प्रणाली, नयाँ प्रविधि, र अभ्यासका बारेमा अनुभव आदानप्रदान गर्न मात्रै मन लागे पनि धेरै हुन्थ्यो।
डाक्टरी पढाइको ६०-७० जनाको ब्याचमा दुई जनाले मात्र पनि गाउँमा गएर केही समय काम गर्ने सोच बनाए कति फरक पर्थ्यो होला! तर सामान्यतया यस्तो सोच नआउने रहेछ। करुणा हरेक मानिसमा हुने अन्तर्निहित गुण हो। तर यो प्रकटरूपमा त्यत्तिकै नआउन पनि सक्ने रहेछ। त्यसका लागि अरुको दुःख प्रत्यक्ष देख्नु र जान्नु आवश्यक हुने रहेछ भन्ने मलाई लाग्यो।
ग्रामीण समुदायको स्वास्थ्य अवस्था, अस्पताल जाने आउने दुःख, आर्थिक अभाव आदि झन्झट र अज्ञानताले आफ्नो हातखुट्टा वा आँखा गुमाएको, सय रुपैयाँको औषधिले जोगिन सक्ने जीवन अनाहकमा गुमाएको आफ्नै आँखाले देख्दा हेर्दा केही फरक नपर्ला र? के हाम्रो देशको स्वास्थ्य शिक्षा प्रणालीमा आँखाले देख्ने अवसर जुटाउन सम्भव नै छैन त?
(लेखक फेयरमेड फाउन्डेसन नेपालमा कम्युनिकेसन एण्ड नलेज म्यानेजमेन्ट अफिसरका रुपमा कार्यरत छिन्।)