साँल्दिदी,
पातलो सल प्लास्टिकको आरीमा चोबल्दै गर्दा सुनेँ, तँ बिरामी छेस्। ज्वरो आएको छ। सोचेँ, ज्वरै त हो केही दिनमा ठिक भैहाल्छ। त्यही सल तारमा सुकाउँदै गर्दा फेरि सुनेँ, तेरो ज्वरो अरु बेलाको जस्तो हैन। हेल्थपोस्टको दबाइले ठिक नभएर तँलाई सहरको सुविधासम्पन्न अस्पतालमा ल्याउने तयारी हुँदैछ। फेरि सोचेँ, गाउँमा राम्रा डाक्टर छैनन्। राम्रो औषधि छैन। अब सहरको अस्पताल आएपछि तँलाई ठिक हुन्छ।
भर्खर भिजाएको तोरी सुकाउँदै गर्दा फेरि सुनेँ, तँ घोपामा छेस्। बेस्मारी ज्वरो आएको छ। मलाई पनि सोधिराखेकी छस्। छिमेकी दिदीलाई पानी परे तोरी उठाइदिनु भनेर म हिँडें। म पुग्दा तँ बेडमा लडिरहेकी थिइस्। ज्वरो हनहनी थियो। मरीतरी मलाई चिनिस्। तर कहिले आइस् भनेर सोधिनस्। कसैले 'यो को हो?' भन्दा मेरो नाम भन्थिस्। अर्कैलाई देखाएर सोध्दा पनि मेरै नाम भन्थिस्।
साँच्चै तेरो ज्वरो अरु बेलाको जस्तो थिएन। छाती भुलुकभुलुक उम्मेला जसरी थर्किएको थियो। गाला राता थिए। तेरो अनुहारमा घाम थिएन। घामभन्दा बढी ताप थियो। तँ पानी खुवाउँदा एकै सासमा निलुँलाझैँ गर्थिस्। औषधि खुवाउँदा पनि त्यसै गर्थिस्। होसमा खान्थिस् कि बेहोसमा। तेरो खुवाई अरु बेलाभन्दा बेग्लै थियो।
एकपटक दसैँमा मजेत्रोको कुम्लो टाउकोमा भिरेर तँ माइत आइस्। कुम्लो कोठामा फ्याक्त फालेर भान्सामा आएर आफ्नै लयमा भनिस्, 'मलाई खरो भो पानी खुवाओ न हाव।'
'मरिछे तिर्खाले!' मैले हतार-हतार तँलाई पानी दिएँ।
फेरि भनिस्, 'दूध हालेको च्या पका त मञ्जे।'
'एकछिन थकाई मार्। भोकले मरिछे,' मैले तँलाई चियासँग सेल दिएँ। तैँले मर्याक-मर्याक पारिस्। एक तमासले हेरिबसेँ। कति धेरै भोकाकी रैछेस्।
'अझै खान्छेस्?'
'भो! तेरोजस्तो सुगम भा पो। दुर्गमबाट आएसी यस्तै होनी,' तँ हाँसिस् हिटिटिटी।
'अहिले खरो भाको छैन?'
तँ फेरि हाँसिस्। भनिस्, 'नजिस्का त धेर। अघि त मरिजान्छु जस्तो भाको थ्यो।'
आज तँलाई खरो भाको छ कि छैन? मैले सोधिनँ। त्यत्रो उकालो चढेर आएकीभन्दा बढी तँ आज गाडी चढेर आउँदा थाकेकी थिइस्। हेर्दै बुझिन्थ्यो, जति पानी खुवाए पनि तेरो तिर्खा मेटिन्न। जति बेला खरो भो, त्यतिबेला भनिनस्। जतिबेला पानी चाहिएको थियो त्यतिबेला मागिनस्। तँ हाँस्न सक्ने अवस्थामा थिइनस्। तँ रुन पनि सकिरहेकी थिइनस्।
घर फर्किएँ। साँझ बत्ती बालेँ। तँलाई ठिक होस् भनेँ। फोन गरेँ। सुनेँ, डाक्टरले तँलाई आइसियू सहितको अस्पतालमा लानु भनेका छन्। त्यहाँ आइसियू छैन। तेरो अवस्था देखेर अस्पतालकै कसैले भन्यो रे, 'माथिबाट पावर लगायो भने एकैछिनमा आइसियू दिन्छन्।'
मैले झट्टै छोरालाई फोन लगाएँ। मेरो पावर उही हो। उसको पावर लागेन। तँलाई त्यहाँबाट निकालियो। अर्को अस्पताल लगियो। यो पूरा वायुमण्डलको हावाले तँलाई पुगिरहेको थिएन। एउटा ठूलो अक्सिजनको भाँडो तेरो छेउमा राखेर मेरै घरअघिबाट तँ अर्को अस्पताल पुगिस्। फर्केर मैले फेरि बलिररहेको दियोलाई ढोगेँ- तँलाई ठिक होस्।
भोलिपल्ट तँलाई हेर्न अर्को अस्पताल गएँ। नाक, मुख हात कतै बाँकी नराखी सबैतिर पाइपले छेडेर तेरो उपचार भइरहेको थियो। वायुमण्डलको हावामा हिजोको सिलिण्डरले पनि नपुगेर तँलाई भेण्टिलेटरमा राखिएको थियो। एकटक हेरिबसेँ, हिजोसम्म जो देखे पनि मेरो नाम लिने आज जतिबेर तेरो अघि ठिङ्ग उभिए पनि तैँले मेरो नाम लिइनस्। यो को हो भनेर पनि कसैले सोधेन।
धेरै बेरपछि तैँले देब्रे खुट्टो चलाइस्। त्यही हेरेर म बाहिर निस्किएँ। लाग्न त लागेको थियो नि, तँलाई हेरिबसुँ। तँ जुरुक्क त्यहाँबाट उठ् र सँगै घर लिएर आउँ। आज सँगै दिदीबहिनी एउटै खाटमा सुतौं। टारी र रातमाटेका गफ गरौँ। फर्किनुअघि फेरि एकपटक ढोकाबाट तेरो अनुहार हेरेर म एक्लै फर्केँ।
भोलिपल्ट सुनेँ, तँ हिजोभन्दा धेरै ठिक छेस्। खुट्टा मात्रै होइन, हात पनि फाल्छेस्। आँखा खोलुँ खोलुँ गर्छेस्। बोलुँबोलुँ गर्छेस्। गएर बोलिहालुँ जस्तो भयो। सुनेँ, डाक्टरले यही अवस्था रहे भोलि अरु बिरामीसँगै तँलाई पनि बाहिर निकाल्छन्। सबैलाई हेर्न दिन्छन्। साँझ बत्ती बाल्दै गर्दा फेरि पुकारेँ- तँसँग भोलि अस्पतालमा मज्जाले गफ गर्न पाउँ। तँ बिरामी हुँदा तैँले थाहा नपाएका कुरा तैँलाई सुनाएर दिल खोलेर हासौँ। केही दिन मेरै घरमा ल्याएर तँलाई मन लागेको खानेकुरा बनाएर ख्वाउन पाउँ।
अस्ती राम्ररी नसुकेको तोरी सुकाउँदै गर्दा सुनेँ, तँलाई अब अस्पतालबाट निकालिँदै छ।
हिजो जसरी चमत्कार देखाएर तँ बोलुँलाझैँ गरेकी थिइस्, आज उसैगरी चमत्कार गरेर अब त जाँदै छेस्। तैँले मेरो नाम सायद अब कहिल्यै लिन्नस्। मलाई कतिबेला तँसँग भेट्नुजस्तो भो। उही दिदीलाई तोरी हेरिदिनु भनेर म अस्पताल दौडिएँ।
म पुग्दा तँलाई निकाल्ने तयारी हुँदै थियो। मलाई अस्तीदेखि लगाएको तेरो लुगा फेरिदिन मन लाग्यो। कपाल कोरिदिन मन लाग्यो। तैँले केही थाहा नपाए पनि मैले त पत्ता पाइरहेकी थिएँ नि! मैले तेरो कपाल कोरिदिएँ। लुगा फेरिदिएँ। एक हातले पाखुरा उचालेर चोलाको बाउलो लगाउँदै गर्दा 'दिदी' भनेँ। तैँले सुनिनस्। कपालमा चिम्टी कस्दै गर्दा 'दिदी' भनेँ, तँ बोलिनस्।
तेरो टाउको मेरो छातीमा राख्दा मात्रै अडिन्थ्यो। तेरो हात अरुले समाउँदा मात्रै ठडिन्थ्यो। मेरो छातीले तेरो छातीको आवाज अलिअलि सुनेझैँ गर्यो। त्यही आवाज तँ भएको प्रमाण हो। तँ रहेको आशा हो। एकैछिनमा तँलाई एम्बुलेन्सममा चढाइयो। तँ चकमन्न रातमा सन्नाटा छर्दै घर लागिस्। सार्वजनिक बस चढेर म घर लागेँ। तेरो मेरो बाटो अलग थियो।
सुनेँ, तँ छैनस्। एम्बुलेन्समा जसरी लमतन्न पल्टिएकी थिइस्, उसैगरी तँ गइस् हामीलाई छोडेर। छतमा चढेँ। तेरो घरतिर हेरेँ। अहँ! तेरो घर देखिएन। तल आएँ, तेरो फोटो हेरेँ, उसैगरी हाँसिरहेकी छेस्।
फेरि छतमा गएँ। आज तोरी सुकाउनु छैन। लुगा धुनु छैन। कसैलाई तेरोबारे सोध्नु छैन।
दुई बज्यो। सम्झेँ, तँ जलिसकिस्। मैले फेरिदिएका लुगा, कोरिदिएको कपाल अब तँसँग छैन। तँलाई लिएर हिँडेका मानिस् पनि तँसँग छैनन्। तँ एक्लै कता गैस् गैस्। हिजोसम्म चलाउँदै गरेका तेरा हात आज कसरी जले होलान्!
बुढीखोला तिर हेरेँ, धुवाँ आइरहेझैँ लाग्यो। तँ जल्दै गरेको नदेखे पनि अरु जलेको देखेको छु। सम्झेँ, तेरो त्यो उज्यालो शरीरमा कसले, कसरी आगो लगाउन सक्यो होला!
आज तँ छैनस्। तेरो शरीर छैन। बाँचुन्जेल तैँले घामपानी भनिनस्। लेक-बेसी भनिनस्। घर-गोठ भनिनस्। हिउँद-बर्खा भनिनस्। कहिल्यै तेरो अनुहारमा निराशा देखिएन। लाग्छ, तँ उसैगरी हाँस्, हिटिटिटी। उसै गरी खरो भो भन्। म पानी दिउँला। तँ भिरैभिर, तीरैतीर दर्गुदै भए नि यतै त हुन्थिस्।
तँ हाँस्। तँ बोल्। तँ रो बरु। रुदैँ नै छेस् भन्ने सुने पनि म हाँस्छु। दुखैमा छेस् रे भन्ने सुने नि म खुसी हुन्छु। पहिले तेरो आँखामा आँसु देख्न नपरोस् जस्तो लाग्थ्यो। अहिले आँखैमा आँसु लिएर भए नि तँ अगाडि भए कस्तो हुन्थ्यो जस्तो लाग्छ।
यो सिङ्गो संसारमा अब तेरो-मेरो भेट सम्भव छैन। तेरो-मेरो लोक अलग छ। तेरो-मेरो भोग अलग छ। तँ बोल् न हाव साँल्दिदी। उसैगरी हाँस् न हिटिटिटी।
उहीँ,
मञ्जुदेवी गौतम
तेरी काहिँली बहिनी।
(लेखक मञ्जुदेवी गौतमका छोरा हुन्।)