स्नातक सकिएपछि पढाइ सकिन्छ अनि आनन्द हुन्छ जस्तो लाग्थ्यो। अन्तिम वर्षमा होइन प्रथम वर्ष, दोस्रो वर्षमा। प्रथम वर्षमा बिदा आयो कि चित्रकार बन्नु पर्ने भएर होला, कहिले सकिएला जस्तो लाग्थ्यो। विस्तारै अन्तिम सेमेस्टरसम्म पुग्दा छिटो नसकिए हुन्थ्यो जस्तो पनि लाग्थ्यो।
सुरु भएपछि अन्त नहुने के नै छ र? इञ्जिनियरिङ पनि सकियो। चार वर्षमा सकिनु पर्ने कति वर्षमा सकियो फरक कुरा। तर सकियो। जुन उत्सुकताका साथ सुरु भएको थियो, सायद त्यही उत्सुकताका साथ सकिएन।
अहिलेसम्म केही हदसम्म निश्चित भएको जिन्दगीमा केही कदमपछि अनिश्चितता देखेर होला कहिले सकिएकोमा खुसी पनि लाग्थ्यो, कहिले अब के त भनेर प्रश्न चिन्ह। सुत्नुअगाडि चाहिने नचाहिने कुरा सोच्ने मनले जिन्दगीबारे सोच्न सुरु गरिसकेको थियो। कसैले रमाइलो जिन्दगी सकियो अब त भन्दै थिए। रमाइलो नरमाइलो समयले बताउला, म चाहिँ बल्ल जिन्दगी सुरु भएको अनुभव गर्दै थिएँ।
सुरु त भयो जिन्दगी तर कस्तो सुस्त सुरुआत! जिन्दगीको सुरुआत मात्र सुस्त थियो। दिनहरूको गति तेज थियो। पास हुन मात्र पर्यो, जागिर त भोलि पाइहालिन्छ नि जस्तो लाग्थ्यो। दुई दिन, चार दिन, हप्ता दिन हुँदै महिना दिन त कति छिटो सकियो। यो त्यही एक महिना हो जुन सेमेस्टरको बोर्डको बेला कति लामो लाग्ने गर्थ्यो।
विद्यार्थी रहुन्जेल निकै राम्रो जागिरको अपेक्षा राखेको मैले, दुई महिना खाली बस्न परेपछि मेरा सबै चाहनाहरू बदलिए। पैसा धेरै चाहिएन, जागिर पनि जस्तो भए नि हुन्छ भन्ने अवस्थामा म पुगिसकेको थिएँ। पढ्दासम्म घरबाट नियमित खर्च आउँदा केही जस्तो लाग्दैन थियो। अब हीनताबोध हुन थालिसकेको थियो। किन त?
किनभने गाउँघरमा बा-आमा दंग छन् छोरो इञ्जिनियर भयो भनेर। यता छोरो के भयो, जिन्दगीमा के भइराखेको छ, उसैलाई थाहा छैन। जेनतेन क्याम्पसमा राजनीति गर्दा, फुटबल खेल्दा, सँगै शिवरात्री मनाउँदा, चिनेका सिनियरहरूमार्फत जागिर पाइयो। जागिर पनि कस्तो भने काठमाडौंमा बिहान-साँझ दुई छाक खाना र नास्ता खाँदा हिसाब गर्नपर्ने। ठिकै छ, पहिला एउटा पाइला टेकिहालौँ, अर्को पाइला पनि टेकिहालिन्छ नि भनेर पाएको जागिर भगवानको प्रसाद जसरी ग्रहण गरियो।
उतिबेला विद्यार्थी राजनीति गर्दा केही वाहियात मुद्दाभन्दा प्लेसमेन्टका मुद्दा बोकेको भए सायद अहिले दुई/तीन महिना खाली बस्न पर्दैन थियो होला। सायद आफ्नो रुचिको क्षेत्रमा जागिर पाउनका लागि दुई/चार महिना अन्यत्र विचलित हुन पर्दैन थियो होला।
जागिर मात्रै खाने सपना कम इञ्जिनियरहरूको हुन्छ। आजभोलि धेरैजसो इञ्जिनियरहरूको उद्देश्य कि त लोक सेवा लड्ने हुन्छ कि त छात्रवृत्तिमा विदेश गएर उच्च शिक्षा हासिल गर्ने। उद्देश्य दुईमध्ये जुन भए पनि काठमाडौंको पुतलीसडकमा केही महिना बरालिनै पर्नेजस्तो चलन आएको छ।
देश अनुसारको भेष भनेजस्तो म पनि कुनै एक कक्षा लिन थालेँ। बिस हजारले पहिलो हप्ता कक्षामा निकै चनाखो बनाएको थियो। त्यसपछि उस्तै। कहिले पानी परेको त कहिले रातिको फुटबलको बहाना बनाएर क्लास पनि खासै गइएन। बिस हजारको माया नभएको पनि होइन। क्लासमा गएर सुत्नभन्दा काठमाडौंका जाडोमा आफ्नै सिरकभित्र ठिक।
बिई पढ्दै गर्दा कहिलेकाहीँ केही गाह्रो अवस्था आइपर्दा साथीले भन्ने गर्थ्यो, 'जिन्दगी भनेको मायाजाल हो। अगाडि हेर्दा कुनै पनि कुरा जति भयानक देखिन्छ, हिँड्दै जाँदा, गर्दै जाँदा, त्यस्तो हुँदैन र काम भइसकेपछि फर्केर हेर्दा रमाइलो लाग्छ।'
जीवनमा अब अगाडि के त भन्ने प्रश्नको जवाफ पनि यहीभित्र छ जस्तो लाग्छ। अहिले डरलाग्दो देखिएको भविष्य पनि, केही वर्षपछि फर्किएर हेर्दा पक्कै रमाइलो हुनेछ। सानैदेखि देखेका कति सपनाहरू पूरा भए होलान्। कति अधुरा होलान्। अब इञ्जिनियर भइसकेपछिका सपना नयाँ होलान्। अझ गाह्रा होलान्। अझ रंगिन होलान्। सपना आ-आफ्ना हुन्छन्। आ-आफ्ना सपनाहरूका बीचमा प्रत्येक इञ्जिनियरको एउटा साझा सपना भनेको विकास र समृद्धि पक्कै हुन्छ जस्तो लाग्छ।
हाइड्रो-पावर होस् वा वातावरण वा अटोमोबाइल वा आइटी वा अरु थुप्रै क्षेत्रहरू जहाँ इञ्जिनियर र इञ्जिनियरिङको ठूलो भूमिका र जिम्मेवारी हुन्छ। अहिलेका हामीजस्तै कलिला इञ्जिनियरहरू नै पछि देशको मुहार फेर्नेमा फ्रन्टलाइनमा रहेर योगदान गरिरहेका हुन्छन्। सपना देख्न पर्छ, सपनाले नै मान्छेलाई जीवित राख्छ भनेझैँ, सायद यी नै सपनाहरूले पनि हाम्रो देश र जनतालाई जीवित राख्छ।
(लेखक सिभिल इञ्जिनियर हुन्।)