विषेशगरी सन् १९९७ हुँदै २०१२ को बीचमा जन्म भएका मानिसलाई सामान्य भाषामा 'जेन- जी' भन्ने चलन छ। हो, म यही 'जेन- जी'को एउटा प्रतिनिधि पात्र बोल्दै छु।
हामीमध्ये धेरैको बाबाआमा 'जेनेरेसन- एक्स' अन्तर्गत पर्नुहुन्छ होला। त्यसैले पनि यो दुइटा जेनेरेसनबीच असमझदारीको ठूलो खाडल बनेको छ। उमेरको धेरै अन्तर भएका कारण हाम्रो विचार र व्यवहार फरक पर्न सक्छन् तर आशय र लक्ष्य अन्त्यमा उस्तै हुन जान्छ।
हामी प्रविधिसँगै जन्मियौँ, हाम्रो शरीर र मस्तिष्कको विकाससँगै संसारभर प्रविधि पनि दिनानुदिन विकसित हुँदै गयो। अहिले आएर जीवनको अभिन्न अंग बनेको छ इन्टरनेट अनि हामी त्यही इन्टरनेट युगका मानिस जो इन्टरनेट र विद्युतीय उपकरण बिना विरलै कुनै कार्य गर्ने बनेका छौँ। हामी चाहेर प्रविधिप्रति आश्रित भएका हैनौँ, समयको मागअनुरुप चल्दै गर्दा यो अवस्था सिर्जना भएको छ।
तर यसो भन्दैमा हजुरहरू डराइहाल्नु चाहिँ पर्दैन किनकि यसको उपयोग र दुरुपयोग दुवैबारे हामी स्वयं पनि जानकार छौँ। होला, राम्राभन्दा नराम्रा घटना बढी सुन्नमा आउँछन् तर यी नै इन्टरनेट सामग्रीको प्रयोगले कसैले कल्पना समेत नगरेको कार्य सानै उमेरमा गरिरहेका पनि त छौँ।
समय र अवस्थाअनुसार हजुरहरूको निगरानी पनि जरुरी छ, मानिसमा सकारात्मकभन्दा अगाडि नकारात्मक कुराहरू आउने भएकाले समय-समयमा हजुरले सोधखोज गरिदिनु भयो भने यही उमेरमा धेरै जनालाई बिग्रनबाट पनि जोगाउन सकिन्छ। हामीले कहाँ के गर्दै छौँ, योबारे चासो राखिदिनु भयो भने पनि धेरै समस्या जन्मिन नै पाउँदैन।
इन्टरनेटकै माध्यमबाट हाम्रा भौतिक रूपमा भेट हुनेभन्दा धेरै अनलाइन साथी बनेका हुन्छन्। देशभित्र मात्र नभई देश बाहिरका मानिससँग पनि जोडिएका हुन्छौं। सुरुमा सबै कुरा हामीलाई थाहा नहुन सक्छ। त्यसैले के सही, के गलत कसरी छुट्याउने सिकाइदिनु होला किनकि तपाईंहरूले त देश दुनियाँ धेरै बुझ्नु भएको छ।
खालि मोबाइल, ल्याप्टपमै झुन्डिन्छ भनेर हामीमाथि मात्रै औंला नउठाइदिनु न। सानो हुँदा भुलाउँदै खाना खुवाउने निहुँ र अलिकति भए पनि समय जोगाउने आशमा हामीलाई नबुझ्ने हुँदैदेखि उपकरणको लत बसाल्नुमा कता-कता गल्ती हजुरहरूको पनि त छ होला नि है! इन्टरनेटको सदुपयोगतर्फ आकर्षित गरिदिनुहोस् तर केही मिनेट नै जोगाउनका लागि चाहिँ कलिला हातमा स्मार्टफोन नथम्याइदिनु होस्।
हाम्रो अस्वभाविक व्यवहारबाट चिन्तित हुनुहुन्छ होला तर एकपटक शान्त भई आफैलाई नियालिदिनु होस्। हामी बिल्कुल ऐनामा देखिने तपाईंको आकृतिजस्तो बन्दै छौँ। देखेको कुरा टिप्न र व्यवहारमा उतार्न हामीलाई समय लाग्दैन। हजुरहरूको बोलाइ, लवाइ, खवाइदेखि लिएर धेरै कुरा हामीले पहिले सिको गर्छौं।
बाँकी बाहिरी दुनियाँमा घुलमिल भएपछि सिक्दै जानु त फरक कुरा हो, पहिलो विद्यालय त हाम्रा लागि घर नै हैन र? असामाजिक भयो, अरुसँग कुरा गर्नै जान्दैन नभन्नुस्। हामीले नजानेको हैन, नचाहेको चाहिँ हो। नत्र ठूलालाई मान र सानालाई माया गर्नपर्छ भन्ने हामीले पनि बुझेका छौं। हामी चाहन्नौं कि कसैले हामीलाई प्रत्येक पाइलामा मूल्यांकन र तुलना गरोस्।
हाम्रो केही मात्रामा अनावश्यक बोसो बढेको हामीलाई पनि थाहा छ, तुलनात्मक रुपमा अरूको भन्दा छोटो कद भएको पनि थाहा छ, सबै पौष्टिक आहार खाँदाखाँदै पनि शरीर भरिलो नदेखिएको पनि थाहा छ। आफ्नो छालाको रंग पनि थाहा छ र आफ्नो आवरणबारे पनि थाहा छ। तर यी र यस्ता धेरै अनावश्यक कुरामा हामीमाथि टिप्पणी गरेर र हामीलाई कुनै सरोकार नै नभएका अरुसँग तुलना नगरिदिनू र नगर्न भनिदिनू।
यी सब कुरामा यो जेनेरेसन अल्झिनै चाहन्न, को, के, कस्तो छ भन्ने कुरालाई छलफलको विषय नबनाई जो जे-जस्तो छ, त्यही अवस्थामा हामी स्वीकार गर्छौं।
हामी प्रायःजसो झर्किरहेकै पाउनुहुन्छ होला, त्यस्तो अवस्थामा हजुरहरू पनि हामीमाथि नखनिनू। त्यसको कारण बुझ्न, शान्त तरिकाले प्रस्तुत हुनुहोला। हामी सकेसम्म झैंझगडा र ठूलो स्वरबाट टाढा बस्न रुचाउँछौँ। हामीसँग के घटिरहेको छ, यो कुरा राम्ररी सोधिदिनु होला। हाम्रो जीवनमा तपाईंहरूको फरक-फरक भूमिका हुने गर्छ। कहिले हामी तपाईंलाई साथीको रूपमा प्रस्तुत भइदिए हुन्थ्यो भन्ने लाग्छ भने कहिले बाबाआमा नै बनेर हाम्राअगाडि आए हुन्थ्यो भन्ने हुन्छ।
घर परिवारमा धेरै डरको वातावरण सिर्जना नगरिदिनू, डर र त्रासबीच साथी सोचेर हामी केही कुरा साट्न सक्दैनौं। हामी तपाईंहरूसँग जतिसक्दो नजिकिने र खुलस्त रूपमा आफ्ना कुरा राख्न सक्ने किसिमको माहोल तयार पारिदिनू। हामीभित्र माया उजागर गर्नका लागि पनि यति गरिदिनू होला। हामी कुनै कुराको सीमा नाघ्दै छौँ भने हामीलाई खबरदारी गर्नू।
यो जेनेरेसनको विश्व नै त्यही एउटा मोबाइल वा ल्याप्टपभित्र अटाएको छ। जान अनजान सिक्दै जाँदा उसले धेरै कुरा जानिसकेको छ। यिनीहरूलाई केही आउँदैन चाहिँ नभनिदिनू। सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान समेत लिँदै छौँ, बस् आफ्नो तर्फबाट आफूले सकेको कुरा सिकाइदिनू। डिजिटल दुनियाँमा तपाईंहरूको दिनचर्यामा समेत धेरै कुराको आवश्यकता पर्छ, हामीले जानेको तपाईंहरूलाई राम्ररी सिकाउन सक्छौँ।
तपाईंहरू गुरु भए पनि आफूले त्यति कुरा सिकाउन, बुझाउन पाउँदा हामी पनि हुरुक्क हुन्छौं। हाम्रो पढाइ र शैक्षिक कार्यक्रमका परीक्षाको मूल्यांकनलाई आधार बनाएर हाम्रो भविष्य तय नगरिदिनू। प्रोफेशन र प्यासन दुई कुरा फरक भए पनि हामीसँगै लान सक्छौँ। प्यासन हुँदैमा सोही प्रोफेशनमा आवद्ध हुनपर्छ भन्ने छैन अनि प्रोफेशन फरक छ भन्दैमा प्यासन छोड्नु हुँदैन।
यो जेनेरेसनले चिकित्सक बन्न पढ्ने ठूला-ठूला किताबको छेउमा कुनै स्टिकी नोटमा मिठा-मिठा कविता रचना गरी टाँसेका हुन्छौं, घण्टौं प्रोग्रमिङ र कोडिङमा बिताएर खाली समयमा आकर्षक पेन्टिङ पनि तयार पार्न सक्छौं। यो देखिरहँदा फेरि पनि वास्तविकता नबुझी अरूलाई टिप्पणी नगर्न भनिदिनू किनकि तपाईं अभिभावक हो, बच्चालाई ऊ पछाडि आफैले बुझ्नु भएको छ। यो विषयबाट तेस्रो समूहलाई टाढै राखिदिनू किनकि प्रोफेसन र प्यासन यो जेनेरेसनले सन्तुलन गर्न जानेको छ।
'जेन- जी' जतिसुकै प्रविधि र उपकरणको प्रयोग गर्दै हुर्किए पनि ऊ मानव नै हो, ऊ मेसिन मानव अर्थात् रोबोट बनिसकेको छैन। यो जेनेरेसनभित्र पनि भावना छ, कहिले खुसी हुने त कहिले दुखी हुनेजस्ता कार्य यो जेनेरेसनसँग पनि हुन्छन्। कम्प्युटरको संसार भनेर हामीलाई सबै कुरा सहज छ जस्तो नगरिदिनू। तनाव र दबाब यो जेनेरेसनलाई पनि उत्तिकै छ।
०.२५ को प्रतिस्पर्धा हुने यो समयमा हर समय आफूलाई कसरी बलियो बनाउने भनेर लाग्दालाग्दै धेरै पटक हाम्रो पनि आत्मबल गिरेको हुन्छ, मेहनत गर्दागर्दै आफूले चाहेको कुरा गर्न नसक्दा र असफल हुँदा सबैभन्दा पहिले हजुरहरूसँगै बसेर रुन सक्छौ तर रुँदै छन् भनेर कमजोर भन्न हतार चाहिँ नगर्दिनू। सानो-सानो कुराले धेरै असर पारिरहेको हुन्छ, तपाईंहरू उनीहरूलाई हौसला दिनू।
बिरामी हुनु भनेको केबल शारीरिक रूपमा मात्र अस्वस्थ हुनु हो भन्ने सोच्नुहुन्छ भने त्यो भ्रम आजै हटाइदिनु होस् । डिप्रेसन र एन्जाइटी अहिलेको समयमा धेरै सामान्य शब्द बनिसके, धेरैभन्दा धेरै जना यसबाट ग्रसित हुँदै छन्। यसको समाधान घरबाट नै सुरु गर्नतर्फ लाग्नुहोस्। तपाईंहरू जति नै बेफुर्सदी भए पनि बेलुका ३० मिनट हाम्रा लागि निकालिदिनू, दिनभरि के भयो झिँझो नहुने गरी सुनाउनु र हामीले भनेको कुराहरू पनि सुनिदिनू।
हो, हामीहरूले सबै कुरा बुझ्न नसकौँला तर कति कुरा त हजुरहरूले नभने पनि बुझ्न सक्ने भएका छौँ। जति नै आधुनिक युगमा चले पनि परिवारको अनि विशेष गरी अभिभावकको महत्त्व हामीले पनि बुझेका छौं।
जुन समयमा हामी बोल्न सक्दैन थियौँ, त्यतिबेला त हाम्रो प्रत्येक पटकको फरक-फरक रुवाइले के भन्न खोजेको हो भनेर बुझ्ने तपाईंहरूले अब हामीले यसरी खुलेर आफ्नो विचारहरू राख्दा पक्कै बुझ्नुहुनेछ भन्ने आशा छ।