अमेरिका, हरेक नेपालीको सपनाको देश। मेरो पनि सानैदेखिको सपनाको देश। फेसबुकमा साथी र आफन्तहरूले फोटो हालेको देख्दा अमेरिकाप्रति अझ मोह बढ्दै जाने।
कस्तो होला अमेरिका? यो जुनीमा जान पाइएला कि नपाइएला? के म अमेरिका जान सक्छु? के म पनि त्यहाँ गएर आफन्तहरूले आइफोनले खिचेजस्तै फोटो खिचेर फेसबुकमा पोस्ट गर्न सक्छु?
करिब २० वर्षको उमेरतिर मनमा आइरहने तर्कनाहरू हुन्। सायद मजस्तै २० वर्ष कटेर आउने युवाहरूको सपना पनि हुनसक्छ, मेरो मात्र नभनौँ। यो उमेर भनेको भविष्य बनाउने, पढाइलाई निरन्तरता दिदैँ आफ्नो करियर सुरु गर्ने, सँगै नयाँ-नयाँ ठाउँ घुम्ने, साथीभाइ बनाउने, रमाइलो गर्ने, नयाँ-नयाँ फेशन अनुसारको लवाइ-खवाइ गर्ने।
कमाउने र रमाउने उमेर एउटै हुँदै जाँदो रहेछ। र यो कमाउने र रमाउने उमेरको तालमेल मिलाउन नसक्ने हो भने तनाव पनि ज्यादा हुने रहेछ। यो उमेर पार गर्दै आएपछि फर्केर आफ्नो जीवनलाई हेर्दै गर्दा यस्तो पनि उमेर थियो है भन्ने खालको आभास हुने रहेछ अहिले आएर।
खासमा 'अब नेपालमा बसेर केही हुँदैन, विदेश नै हो जाने त' भन्ने साथीहरूको संगतले पनि होला विदेश जानुपर्छ भन्ने भूत सावर भएको थियो। विदेश पनि अरु हैन अमेरिका नै, त्योबाहेक अरु त पाए नि जान्नँ भन्या जस्तो लाग्ने। अब अमेरिका त जाने तर कसरी? अंग्रेजी भाषासँग सानै उमेरमा झगडा परेको। पढ्ने भिसामा जाउँ अंग्रेजी राम्रो छैन, विजनेस भिसा जाउँ त्यसबारेमा पनि त्यति जानकारी थिएन।
कलेजबाट घर फर्कंदै गर्दा बाटोमा एउटा साइनबोर्ड देखेँ- 'अमेरिका जाने चिठ्ठा यहाँ भरिन्छ'। ओहो! अमेरिका जान त अर्को पनि त विकल्प रैछ। मैले यो विषयमा पहिला पनि सुनेको त थिएँ तर डिभी भरेको थिइनँ। कलेजबाट सरासर त्यही बोर्ड भएको कन्सल्टेन्सी तिर लागेँ। १०० रुपैयाँ तिरेर अमेरिका जान पाइन्छ भने किन नभर्ने त?
लगभग सबै तयारी सकियो, अब भिसा लाग्न मात्र बाँकी छ भन्याजस्तै साथीहरूलाई म त अमेरिका जाने तयारी गर्दैछु भनेर गफ दिन थालिसकेको थिएँ। उमेर २० को भर्खरको उरन्ठेउलो केटो त म। के गर्नु, भर्ने बित्तिकै परिहाल्लाजस्तो। बडो आशामा बसेँ। रिजल्ट आउन पनि ६ महिनाभन्दा बढी लाग्ने रहेछ। कहिले रिजल्ट आउँलाझैँ भैरहेको थियो। करिब दसैँताका होला मैले भरेको तर परिहाल्छ कि भन्ने आशा गर्दागर्दै वैशाख महिनातिर रिजल्ट आउने भन्ने सुनेँ।
साथीहरूलाई अमेरिका जानै लागेको जस्तो गरी गफ दिएको मैले रिजल्टमा 'यू ह्याज नट बिन सेलेक्टेड' देखेर निराश भएँ। अर्थात्, म यो वर्ष अमेरिका जानको लागि योग्य भइनँ। म यो वर्ष अमेरिका जान नपाउने भएँ। तर म हार मान्ने वालामा थिइनँ। के फरक पर्छ र यो वर्ष सेलेक्ट नगरेर? म फेरी अमेरिका जाने चिठ्ठा भर्नेछु, र अर्को वर्ष अवश्य अमेरिका जानेछु।
उमेरले वर्षैपिच्छे वसन्त पार गर्दै गयो तर अमेरिका जाने रहर १०० बाट ९९ पनि भएको थिएन। हरेक वर्ष डिभी भर्दै गएँ। पढाइ र जागिरलाई सँगसँगै लगे। सँगै पढेका साथीहरू अमेरिका पुगेर समुन्द्रको छेउमा बसेर आइफोनले सेल्फी खिचेको देख्दा मनमा डाहा र छटपटी हुन्थ्यो। म पनि कहिले अमेरिका जान पाउने होला? यस्ता विचारले मनमा सधैँ पिरोलिरहन्थ्यो।
मनमा आएका आवेग र चाहनाहरू हरेक समयमा फेसबुकमा पोस्ट गर्थें, कमेन्टमा साथी र आफन्तहरू समेत कमेन्टमा आएर पुकार गर्थे- 'हे भगवान! मलाई नपरे पनि मेरो साथी सुशिललाई डिभी परोस्।'
कसैले हौसला दिन्थे त कसैले हाँसोको रुपमा लिन्थे र जिस्क्याउँथे- 'कहिले जाने हो अमेरिका सुशिल?' म जवाफविहीन हुन्थेँ। हरेक वर्ष डिभीको आवेदन खुल्थ्यो र हरेक वर्षको नतिजाले मेरो विगतमा झैँ एउटै नतिजा दिन्थ्यो- 'यू ह्याज नट बिन सेलेक्टेड।'
कुनै दिन त त्यो भगवानको कानले मेरो पुकार सुनिदेला भन्ने आशै आशमा करिब १० वर्षसम्म निरन्तर रुपमा डिभीको आवेदन भरिरहेको छु। आशा छ कुनै दिन त मेरो पुकार पनि भगवानले सुनिदेलान्।