२०७४ सालमा म १४ वर्षको थिएँ। म कक्षा आठमा पढ्दै थिएँ। उमेर र व्यवहार दुवैले बच्चै थिएँ।
म प्रायः विद्यालयमा सधैं उपस्थित हुन्थेँ। घरबाट नजिक भएर होला बिरामी पर्दा पनि विद्यालय जान मन लाग्थ्यो।
सायद पुस माघको समय थियो होला, विद्यालयमा वार्षिक उत्सवको तयारी चलिरहेको थियो। कार्यक्रम सञ्चालन गर्न मलाई र मेरो एक जना केटी साथीलाई जिम्मा दिइएको थियो।
हामी कार्यक्रम आउनु ४-५ दिनदेखि नै तयारीमा थियौँ।
कार्यक्रमका लागि अभ्यास गरिरहेको ठाउँमा ६ कक्षामा पढ्ने बहिनी आइन्। मलाई उनको नामसमेत थाहा थिएन।
हामी भएको ठाउँमा आएर मलाई हेर्दै भनिन्,‘प्रवेश बिष्ट’ भनेको तपाईं हो?
‘हो, हो म नै हो। तर किन?’ मैले जवाफ फर्काएँ।
‘त्यहाँ प्रिन्सिपल सरले तपाईंलाई बोलाउनु भएको छ।’ यति भन्दै उनी त्यहाँबाट गइन्।
उनले नृत्य गर्छु भनेपछि प्रिन्सिपल सरले व्यवस्थापन मिलाइदिन अनुरोध गर्न बोलाउन भएको रहेछ।
उनीहरूलाई विद्यालयको प्रोजेक्टर भएको रूममा नृत्य अभ्यास गर्न व्यवस्था मिलाइदिएँ। अभ्यास गर्ने कोठा हाम्रो कक्षा छेउमै थियो। कार्यक्रमको दिन पनि नजिकिँदै थियो। कार्यक्रमको सबै तयारी भइसकेको थियो।
यतिबेलासम्म हाम्रो परिचय पनि भइसकेको थियो।
कार्यक्रमको अघिल्लो दिन मलाई फेसबुकमा एउटा रिक्वेस्ट आयो। नाम अर्कै भएकाले मैले वास्तै गरिनँ। एकछिन पछि म्यासेज आयो।
हेलो, नमस्कार
म जुलियाना (परिवर्तित नाम) हो क्या!
म्यासेज हेरेपछि मैले रिक्वेस्ट एसेप्ट गरेँ। म काम विशेषले उर्लाबारी पुगेको थिएँ। आफू बाहिर भएकाले कारण उनलाई बेलुका मात्र बोल्ने भ्याउने बताएँ।
साँझ घर पुगेर मोबाइल खोल्दा म्यासेज आइरहेको थियो।
‘घर पुग्नु भयो त?’ भनेर सोधेकी रहिछिन्।
‘पुगेँ’ भनेर जवाफ दिएँ। खाना खाने बेलासम्म कुरा चल्दै गयो।
खाना खाएर आएपछि मोबाइल हेरेँ, उनको म्यासेज आएको रहेछ।
उनले लेखेकी रहिछ, ‘अप्ठ्यारो मान्नु हुन्न भने एउटा कुरा सोधौँ?’
‘सोध न, किन अप्ठ्यारो मान्नु र?’
‘तपाईंको लभ परेको छ कि छैन?’ उनले सोधिन्।
‘छैन, किन र?’ मैले उल्टै प्रश्न तेर्साएँ।
उनले हाहा रियाक्टसहित ‘मेरो पनि परेको छैन’ भन्दै लभ चिन्ह्र भएको स्टिकर पठाइन्।
म पनि के कम भन्दै लभ स्टिकर नै पठाइदिएँ।
त्यसपछि के भयो कुन्नी उनले धेरै बेरसम्म म्यासेज पठाइनन्।
करिब आधा घण्टापछि म्यासेज आयो, ‘आई लभ यू।’
के भन्ने, के भन्ने दोधारमा पुगेँ। एकछिनपछि ‘आई लभ यू टु’ लेखेर फर्काइदिएँ। त्यसपछि अनेकथरी कुरा भए। केहीबेरको कुरापश्चात दुवै सुत्यौँ।
बच्चै बेलामा मेरो मन र मस्तिष्कमा ‘लभ’ शब्दले ठाउँ ओगट्यो, त्यो पनि ख्याल ख्यालैमा।
चलचित्रमा मात्र लभ परेको देखेर हुर्केको अब आफ्नै जीवनमा अनुभव बटुल्न पाइने भो भनेर, मख्ख परेको थिएँ।
लभ परेपछि दुई अक्षरले बनेको ‘प्रेम’ शब्दका बारेमा हजारौं कुरा जान्ने अवसर मिलेकोजस्तो लाग्यो।
पहिलो दिनमै भएको गफले हामीलाई नजिक गरायो, पहिल्यैदेखि चिनजान भएझैँ।
प्राय: कुराको सुरूआत उसैले गर्थी। कारण ऊ मभन्दा बढी बोल्थी।
बेलाबखत उनले फेसबुकमा तस्बिर अपलोड गरेका बेला म पनि बोलाउँथें। तस्बिरको मुनि हतार हतार लभ स्टिकर ठेल्थेँ।
हाम्रो निरन्तर च्याटमा कुरा हुन्थ्यो। कुरा गर्दै जाँदा हाम्रो सोचाइ पनि धेरै हदसम्म मिलेको हो कि भन्ने अनुभूति भएको थियो। मिल्नु भनेको आत्मिक हुनु पनि हो। हामी आत्मिक भयौँ। ऊ भई कि भइन? मैले सोधिनँ। मैले भने आत्मिक महसुस गरेको थिएँ।
फेसबुकको म्यासेजबाट सुरू भएको हाम्रो कुराकानी फोनसम्म आइपुगेको थियो। दिन प्रतिदिन गफहरू बाक्लिँदै थिए।
एउटै स्कुल पढ्ने भएकाले हाम्रो दिनदिनै भेट हुन्थ्यो। सधैं भेट भएता पनि हामी काम पर्दा मात्र बोल्थ्यौं। त्यसरी नै दुई वर्ष बितिसकेछ, पत्तै पाइएनँ। हेर्दाहेर्दै एसइईको परीक्षा पनि सकियो।
एसइई सकिएपछि म स्कुलबाट बाहिरिएँ। त्यसपछि उनले त्यहाँ नपढ्ने निधो गरिन्। मैले नजाऊ भनेर अनेक प्रयास गरेँ। तर उनी जाने नै भइन्, मैले सकिनँ। तीन-चार दिनसम्म त कुरा नमानेका कारण उनीसँग कुरा पनि गरिनँ।
केही दिनपछि म काठमाडौँ गएँ। काठमाडौँ आएको केही समयसम्म उनीसँग कुरा गर्ने समय पनि मिलेन। व्यस्तताका कारण कुरा गर्न नपाएपछि हाम्रो सम्बन्ध पनि मत्थर हुँदै गइरहेको थियो।
यसैमा हाम्रो सम्बन्ध पनि बिग्रियो। मैले पनि वास्ता गर्नै छोडेँ। उनले धेरै प्रयास गरेकी थिइन तर मैले मानिनँ। केही समयमा काठमाडौंबाट घर फर्किएँ।
मेरो प्रेमको बारेमा मेरा सहपाठी साथीहरू सबै जानकार थिए। हामीबीच मनमुटाव भएको पनि उनीहरूले चाल पाइसकेका रहेछन्। उनीहरूले पनि मलाई सम्झाउन धेरै कोशिस गरे। तर म मान्न तयार भइनँ।
हामी छुट्टिएको पनि वर्षदिन बितिसकेको थियो। मैले वास्ता गर्न छोडिसकेको थिएँ। म १२ कक्षामा पढ्दै थिएँ। पढाइसँगै रेडियो सुनाखरीमा पनि काम गर्थें।
एकदिन रेडिओमा मोबाइल चलाउँदै बसिरहेको थिएँ। एक्कासि उनको म्यासेज आयो। त्यसबेला उनी विराटनगरमा पढ्थिन्।
केही दिनसम्म राम्रै बोलचाल भयो तर फेरि लभ सुरू होला जस्तो छाँटकाँट आयो, मैले वास्तै गरिनँ। त्यसपछि हाम्रो बोलीचाली नै ठप्प भयो।
करिब डेढ वर्ष हामी सम्पर्कविहीन भयौँ। उनी यतै पढ्न थालेको कुरा अरूबाट थाहा पाएको थिएँ। एकदिन हाम्रो अकस्मात भेट भयो, तर कुरा भएन।
त्यसको १०-१५ दिनपछि हाम्रो भेट भयो। त्यतिबेला भने करिब आधा घण्टा गफियौँ। लामो समयपछिको भेट र गफले दुवैलाई भावुक बनायो।
त्यो भेट साथीहरूले जुराइदिएका थिए। मनमनै भेट गराइदिने साथीहरूलाई धन्यवाद दिएँ।
मेरै कारणले हाम्रो बिछोड भएको थियो। त्यही कारणले पनि होला भेटमा खुलेर बोल्न आँट आएन। त्यो भेटमा मैले उनमा पहिलेभन्दा धेरै फरक पाएँ।
त्यो भेटमा मैलै गल्ती स्वीकार पनि गरेँ। तर उनले अब आफू प्रेमको चक्करमा नपर्ने बताइन्। मैले पुनः सम्झाउन खोजेँ तर सकिनँ।
हामी रातको समयमा भेटेका थियौँ। त्यसैले त्यहाँबाट छिट्टै निस्कियौँ। घर आएर उनलाई फेसबुकमा खोजेँ। तर कतै भेटिएन। अन्त्यमा त उनी मेरै फेसबुकको ब्लक लिस्टमा रछिन्, अनब्लक गरेर रिक्वेस्ट पठाएँ।
त्यसपछि फेरि अलिअलि कुरा हुन थाल्यो। विस्तारै विस्तारै हाम्रो सम्बन्ध सुध्रिएझैं लाग्थ्यो। मलाई जे कुराको डर थियो, एकदिन त्यही भयो। अहिले ऊ अर्कै केटासँग रिलेसनमा रहिछ। उसको म्यासेज पढेँ, भावुक भएँ। भित्र चित्त पनि दुख्यो। आँखाको डिलबाट दुई थोपा आँसु पनि झरिहाल्यो। हतार हतार टाइप गरेँ र धन्यवाद दिएँ।
अहिले आफैंले पठाएका पुराना म्यासेजका चाङ हेर्छु। आफैं अचम्म पर्छु। लेखेरै म्यासेजको सगरमाथा बनाएको रहेछु।
आजभोलि उनलाई म्यासेज पठाउन छाडेको छु। आजभोलि केही काम परिहाल्दा पनि उनैले म्यासेज गर्छिन् र सोध्छिन्।
अझै पनि आश मरेको छैन। बेला बेलामा उनको याद आइरहन्छ। घरीघरी त भावुक नै हुन्छु। उनको अर्कै प्रेमी छ, थाहा छ। तर घरीघरी उनको प्रेमी छ भन्दा सपना हो कि जस्तो नि लाग्छ। मनमा अनेक कुरा खेल्छ।
अब मैले लभ नगर्ने निधो गरेको छु। हो साँच्नै नगर्ने। किन गर्नु र? अलग हुनकै लागि?
तपाईंलाई कहिल्यै छोड्दिन भनेर झूटो कसम पनि खान पनि सक्दिनँ।
कुनै समय तेत्तीसकोटी देवताको कसम खाएर अब म लभ गर्दिनँ भन्ने मान्छे समेत परिवर्तन भई साँचो माया जोगाउन नसक्दा आफैंदेखि घृणा लागेको छ। त्यसकारण अब मैले लभ नगर्ने निधो गरें!