एजोला एक पानीमा तैरिने सानो जलीय वनस्पति हो जुन मुख्यतः हरियो मलको रूपमा प्रयोग गर्न सकिन्छ। यसको वनस्पतिक जात एजोला पिनाटा रहेको छ। एजोला पानीमा पाइने सानो हरियो झ्याउ (फर्न) हो। यो वनस्पति जमेको पानीमा तैरिएर फैलिन्छ।
नेपालको तराईदेखि मध्यपहाडसम्म पानी जमिरहेको जमिन, नहर नदीनाला मुख्यतः धान खेतहरूमा यो वनस्पति देख्न सकिन्छ। पानीमा हुने मखमल, जल उनिउँ, हाँसको झार तथा रातो एजोलाजस्ता नामले प्रचलित छ। यो उष्ण, समशितोष्ण तथा उपषोण क्षेत्रमा पाइन्छ।
विश्व खाद्य संस्थाका अनुसार एजोला पिनाटा र एजोला फिलोकुलोइड्स नेपालका पोखरी तथा दलदले क्षेत्रमा बढी मात्रामा पाइन्छ। दुई वटा भाग हुने पातहरू पालैपालो रहेका हुन्छन्। जमिन पट्टिको भाग बाक्लो हुन्छ, यसमा क्याभिटी पाइन्छ जसभित्र साइनोब्याक्टेरिया पाइन्छ।
साइनोब्याक्टेरिया एजोलासँग परस्पर सहयोगी सम्बन्धमा रहेका हुन्छन्। रोपाइदेखि बाला लाग्दासम्म दुई पटक एजोलाको प्रयोग गर्नाले करिब ४०% उत्पादनमा वृद्धि हुने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक विष्णुहरि अधिकारीले आफ्नो जर्नलमा प्रकाशित गरेका छन्। कोशेबालीभन्दा तीन गुणा बढी नाइट्रोजन फिक्सेसन गर्ने तथ्य दि एजोला फाउन्डेसनले प्रकाशित गरेको छ।
कोशेबालीले ४०० केजी नाइट्रोजन/हेक्टर प्रतिवर्ष उपलब्ध गराउँछ भने एजोलाले करिब ११०० केजी/हेक्टर प्रतिवर्ष उपलब्ध गराउँछ। यसरी हेर्दा एजोलाको उचित विकास गर्न जरुरी छ। एजोला सजिलै उत्पादन गर्न सकिने भएकाले किसानहरूले पनि सहजै उपयोग गर्न सक्दछन्। उचित जानकारी र अनुसन्धानको कमिले नेपालमा त्यति एजोलाको प्रयोग जो गरेको देखिँदैन।
नेपालको अधिकांश ठाउँमा धान खेतमा एजोला फैलिएको देखेमा कृषकहरूले धानलाई असर पार्ने झार मानी गोडेर बाहिर फ्याक्ने गरेको पाइन्छ। तसर्थ एजोलाको विस्तार, उपयोगीता, महत्त्वको बारेमा कृषक स्तरमा जानकारी जरुरी छ। विशेषतः एजोला अर्गानिक खेतीमा प्रयोग गरी बाली अत्याधिक मात्रामा उत्पादन गर्न सकिन्छ।
एजोलाको प्रसारण र विस्तार वनस्पतिक विधिबाट गरिन्छ। यसको प्रसारण गर्नुपरेमा राम्रोसँग फैलिएको ठाउँबाट एजोला जम्मा गरेर चाहेको ठाउँमा लगेर पानीमा छोड्न सकिन्छ। यसरी खेतमा एजोला छोड्दा ३-६ सेमी गहिरो पानी जमाई १ मेट्रिक टन/हेक्टर (५० केजी/रोपनी) का दरले एजोला राख्नु उपयुक्त हुन्छ। एजोलालाई छिटो फैलाउन फस्फोरसयुक्त मल आवश्यक पर्दछ।
एजोला उत्पादन विधि
माटोको झार हटाउने र माटोलाई सम्म पार्ने। इँटा आयतन आकारमा मिलाएर राख्ने। र सिल्फौलिन प्लास्टिक सिटमाथि विक्षाउने। १०-२५ केजी चालिएको माटो सिल्फौलिन प्लास्टिकमा राख्ने। २ केजी गाईको गोबर र ४० ग्राम सुपर फस्फेट १० लिटर पानीमा मिसाएर मसला सिल्फौलिन प्लास्टिक सिटमाथि राख्ने र १० सेमी जति पानी थप्ने। अब माटो र पानी हल्का घोलेपछि ०.५-१ केजी एजोलाको कल्चर पानीमा हाल्ने र एजोलामाथि अनिवार्य पानी छर्ने। एक महिनापछि एजोला बाक्लो भएर चारैतिर फैलिन्छ र बढ्छ।
हरेक पाँच दिनमा २० ग्राम सुपर पस्फेट र १ केजी गाईको गोबर हाल्नाले ५०० ग्राम दैनिक वृद्धि गर्न सकिन्छ। प्रत्येक हप्तामा आइरन, कपर र सल्फर हाल्नाले पनि एजोलाको मिनिरल मात्र बढाउन सकिन्छ। हरेक ५ केजी माटो हरेक एक महिनामा हाल्नाले पनि सूक्ष्म पोडक तत्वको कमि हुनबाट जोगाउँछ।
३० दिनमा पानी फेर्नाले पनि अधिक नाइट्रोजन हानी पुग्ने गरी बन्न पाउँदैन। हरेक ६ महिनामा नयाँ एजोला कल्चरको नयाँ ब्याडमा राख्नुपर्छ। १०-१५ दिनपछि हरेक दिन ५००-६०० ग्राम एजोलालाई टिप्न सकिन्छ।
एजोला कल्चरको लागि नार्कअन्तर्गत माटो विज्ञान महाशाखामा सम्पर्क गर्न सकिन्छ।
धान खेतीमा एजोलाको प्रयोग
धान खेतीमा नाइट्रोजन एकदमै महत्वपूर्ण हुन्छ। हरियो नाइट्रोजनको स्रोतको रुपमा एजोलालाई प्रयोग गर्न सकिन्छ। एजोला कुहिएपछि एमोनिया निस्किन्छ र जैविक मलको रुपमा धानलाई उपलब्ध हुन्छ। एजोलालाई धानखेतीमा अन्नबाली गर्दा वा एकल खेती गर्दा धानको दोब्बर उत्पादनमा वृद्धि हुन्छ। एजोला एकल खेती गर्दा ५-७ दिनअघि नै खेतमा भिजाउनुपर्छ। यसो गर्दा कुहिने प्रक्रिया छिटो हुन्छ।
एकल जातीय एजोलालाई धान रोपाइ गर्नभन्दा ३-४ हप्ताअगाडि रोप्नु पर्दछ। अनि खेत तयार गर्ने बेलामा एजोलालाई खेतको माटोसँग मिसाउनुपर्छ। धानसँगै रोप्दा भने ५०० देखि ६०० केजी प्रतिहेक्टर इनोकुलम रोपाइ गरेपश्चात खेतमा हाल्नु पर्छ। यसरी ३-४ हप्तामा एजोलाको म्याट तयार हुन्छ र गोडमेल गर्ने बेलामा माटोमा मिसाउन सकिन्छ।
यसरी २-३ पटक एजोलाको खेती गर्नाले आवश्यक मात्रामा नाइट्रोजनको माग पूरा हुन्छ। फस्फोरस हाल्दा एमोनियाको विकास राम्रोसँग हुन्छ भने थोरै मोलिब्डेनम हाल्दा बिरुवालाई चाहिने नाइट्रोजनजो मात्रा बढ्न जान्छ। एजोलालाई चैते धान, बर्खे धान दुवैमा प्रयोग गर्न सकिन्छ।
धान पाक्ने बेलामा कम प्रकाशका कारण एजोला मर्न थाल्छ र धानको बाला लाग्ने समयमा एनपिके उपलब्ध हुन्छ। एजोला झारबाट पनि धानलाई बचाउँछ। एजोलाले गर्दा पिएच बढ्न दिँदैन र यस कारणले गर्दा एमोनिया उडेर जान पाउँदैन।
उपयोगिता
एजोला विषेशगरी धानमा हरियो मलको रूपमा प्रयोग गरिन्छ। यसलाई कम्पोष्ट मल बनाउन सकिन्छ। पशुपंक्षीलाई आहारको रूपमा प्रयोग पनि गर्न सकिन्छ जस्तैः कुखुरा, माछा आदि।
विशेषता
- यसले वायुमण्डलीय नाइट्रोजन स्थिरीकरण गर्दछ।
- औषतमा यसमा ४-५% नाइट्रोजन पाइन्छ।
- उपयुक्त वातावरण (१८-२८ डिग्री सेल्सियस पानीको तापक्रम) मा एजोला छिटो फैलिन्छ। (२-३ दिनमा दोब्बर) र माटोमा मिलाएपछि (२-३ दिनमा) कुहिएर मलको रूपमा परिणत हुन्छ।
- झारपातको नियन्त्रण हुन्छ।
- रासायनिक मलको कटौती गर्न सकिन्छ।
(लेखक कृषिको विद्यार्थी हुन्।)