कृषि शिक्षा हासिल गर्ने हेतुले कक्षा १२ पछि म कृषिकै तयारी गर्न त्यही अनुसारको तयारीमा जुटेँ। २०७६ फागुनमा म भर्ना पनि भएँ। म कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको कृषि संकायको ८ औँ ब्याच हुँ। यसरी भर्ना भई पढ्न थालेको साढे २ वर्ष भयो।
नियमअनुसार अहिले ५ औं सेमेस्टरको परीक्षा दिएर छैठौंमा हुनुपर्ने हो। ४ वर्षको कोर्स पूरा हुन अब एक वर्ष ७ महिना बाँकी रहँदा अहिलेको प्रवृत्ति हेर्दा त्यति समयमा पूरा हुनेछ जस्तो लाग्दैन। ३ वर्षमा आधा सत्रान्त पनि सकिने हो या होइन पत्तो छैन।
सधैँझैं हामीले सुनेको नै हो एएफयू, यहाँ ४ वर्षको सम्पन्न हुन ४ भन्दा बढी लाग्छ, अहिले भोग्न परिरहेको छ। होला बीचमा कोरोनाले असर गरेर रोकियो तर माहोल शान्त हुँदा समेत अवस्था झन् दयनीय छ।
२०७६ फागुनबाट सुरु भएको हाम्रो पढाइ पहिलो सत्रान्तको परीक्षा दिनका लागि एक वर्ष एक महिना कुर्नुपर्यो। २०७७ फागुन २९ मा पहिलो सेमेस्टरको परीक्षा दिन जाँदा झन्डै ६ महिना गुमाइसकेका थियौँ। देश अनि विदेशभर कोरोनाले मच्चाएको वितण्डाका कारण त्यतिबेला यो हुनु सामान्य नै थियो। किनकि त्यतिबेला जुनसुकै तहमा पढ्नेले पनि यो अनुभव गरेका नै थिए।
लकडाउन ताका अनलाइन क्लास भएको पनि हो अनि नेपालभर अन्य विश्वविद्यालयले अनलाइन परीक्षा लिएको पनि हो। प्राविधिक विषय भएकाले अरु विषयजस्तो सजिलो पनि हुने थिएन एएफयूले अनलाइन परीक्षा लिनका लागि। यही भन्दै माहोल साम्य हुने बेलासम्म कुर्नु अनि परीक्षाको तयारी गर्नुबाहेक अन्य विकल्प थिएन।
मात्र १३ दिनको परीक्षा तयारी दिन दिई परीक्षाको तालिका प्रकाशित भयो। एक वर्षपछि दिएको परीक्षापश्चात दोस्रो सेमेस्टरको पढाइ सुरु हुनुअगाडि नै कोरोनाको दोस्रो लहरका कारण पढाइ फेरि अस्तव्यस्त भयो। अघिल्लो लहरजस्तो यसमा त्यतिका समय लागेन साम्य हुनका लागि। र पनि परीक्षा यो सत्रान्तको समयअनुरूप नै भयो।
६ महिनामा सत्रान्त सुरु भई अन्त्य पनि हुनुपर्ने हो, बीचमा कोरोनाका कारण केही समस्या भयो। दोस्रो सत्रान्तको परीक्षा २०७८ मंसिर २४ बाट सुरु भई पुस १२ मा सकिएको थियो। यो त भयो थ्योरी परीक्षा मात्र, प्राक्टिकल परीक्षाको तालिका प्रकाशित भएता पनि शिक्षकको फुर्सदअनुरूप चल्थ्यो र सकिन नै एक/डेढ महिना लाग्थ्यो।
यसरी दोस्रो सत्रान्तको परीक्षा दिन अगावै अघिल्लो सत्रान्तको परीक्षाफल प्रकाशित हुनुपर्ने थियो तर त्यति बेलासम्म बीचमा दुई वटा लकडाउन गुज्रिसके पनि हामीले कुन-कुन विषयको कपी नै चेक भएको छैन भन्ने कुरा सुनेका थियौँ।
तेस्रो सत्रान्तको पढाइ पनि सुरु भयो र यही २०७९ साल असार १९ मा तेस्रो सत्रान्तको परीक्षा हुने हल्ला थियो। यहाँसम्म आइपुग्दा पहिलो सत्रान्तको परीक्षाफल समेत हामीले प्राप्त गरेका थिएनौं। दोस्रोको पनि परीक्षाफल हामीले हात पार्नु पर्ने ठाउँमा पहिलाको नै थिएन। अझ आउने कुनै चालामाला समेत थिएन।
जेठ २९ अनि ३० गतेको विश्वविद्यालयमा केही सामान्य विरोधका बाबजुद ३० गते साँझमा नतिजा प्रकाशित भयो तर एक आंगिक अनि एक सम्बन्धन प्राप्त कलेजको नतिजा नै रोकियो। कारण खुलाइएको त थिएन तर पनि बुझ्दा प्राक्टिकल परीक्षाको अंक प्राप्त भएको थिएन रे जबकी दुवै कलेजमा प्राक्टिकल परीक्षा सम्पन्न भएको थुप्रै समय भएको थियो।
यसरी तेस्रो सत्रान्तको नजिकमा पहिलोको परीक्षाफल प्राप्त हुँदा सायद बिग्रर्नेहरू पनि आखिर नतिजा त आयो भन्ने कुराले राहत महसुस गरे होलान्। यसरी २०७६ फागुनबाट पहिलो सत्रान्तको पढाइ सुरू भएर आधिकारिक रूपले पहिलो सत्रान्तको सम्पन्न हुन दुई वर्ष तीन महिना लाग्यो।
असार २३ गते साउन ८ बाट हुने भनेर परीक्षा तालिका प्रकाशित भयो। यो दिनमा रामपुरका सेन्ट्रल क्याम्पसका विद्यार्थी तीन दिने दामन-गोदावरी भ्रमणमा गएको पहिलो दिन थियो। मात्र १५ दिनको परीक्षा तयारी बिदा हुँदा २ दिन अझै टूरको बाँकी थियो। आएपश्चात २+१ क्रेडिट आवरको एक विषयको ३० लेक्चर मध्य १५ लेक्चर बाँकी नै थियो पढ्नका लागि। १५ लेक्चर भनेको १५ घण्टाको पढ्न नै बाँकी थियो।
यो बिचमा परीक्षा सार्ने कदम विद्यार्थी मिलेर गरे। यसरी मुख्य कलेजमै कोर्स नसकिई तालिका प्रकाशित भयो तर अन्य आंगिक अनि सम्बन्धन प्राप्त कलेजमा कोर्स सकिसकेको थियो। अझ कुनै-कुनैमा तालिका प्रकाशित हुने बेला बिदा भएको नै झन्डै एक महिना हुन लागिसकेको थियो। परीक्षा सर्ने/नसर्ने कुनै आधिकारिक सूचना आएको थिएन। त्यही पनि मुख्य कलेजमा अन्य प्रोफेसरले परीक्षा सर्छ भन्ने सूचना दिएका थिए।
८ गते सुरु हुने परीक्षा साउन १ गते लाग्दा समेत परीक्षा सरेको हो या होइन भन्ने कुरोको कुनै सुइँको थिएन जबकी त्यो सर्ने डढेँलो लागेको एक हप्ता भइसकेको थियो। कुनै एउटा कुराको आधिकारिक सूचना निकाल्दिन नै एक हप्ता लाग्छ भने सोच्नुहोस् पहिलो सेमेस्टरको रिजल्ट आउन किन त्यत्तिका समय लाग्यो।
साउन १ गते साँझमा मुखमा नै आएको परीक्षा सरेको सूचना आयो तर कहिलेसम्म हो, के हो आज साउन ९ गतेसम्म आइपुग्दा केही पत्तो छैन। मुख्य कलेजमै चलेको हल्लालाई मान्य हो भने दसैंअगाडि परीक्षा हुने हो या होइन भन्ने कुराको समेत यकिन निधो छैन। दसैंअगाडि तेस्रो सत्रान्तको परीक्षा भए चैत्रसम्म तेस्रो वर्ष सकिँदा ४ वटा मात्र सत्रान्तको परीक्षा सम्पन्न होला।
यसरी एएफ्यू भर्ना भएपश्चात कहिले ६ महिने कोर्स सकिन निश्चित समयभन्दा नि बढी लम्बिने, कहिले एउटा सत्रान्तको परीक्षा हुन नै एक वर्ष लाग्ने, कहिले दिएको परीक्षाको एक वर्ष हुँदा समेत परीक्षाफल नआउने, कहिले मुखमा नै आएको परीक्षा अनिश्चित कालका लागि सरिदिने प्रवृत्तिले बेलाबेला मानसिक तनाव हुँदै आएको छ। आफू सँगसँगैका साथीहरू जो अन्य विश्वविद्यालय भर्ना भए कोही ५, कोही ६, कोही ७ सत्रान्तमा पुगिसकेका छन्।
अहिले हामी जिन्दगीको त्यस्तो अवस्थामा आएका छौं जहाँ घाँटीमा अड्किएको हाडलाई निल्नु न ओकल्नुजस्तो भएको छ। चटक्कै छाडी अन्य पढ्ने अवस्था पनि छैन, अब मात्र ८ वटा सेमेस्टर कहिले सकिन्छ भनेर त्यति बेलासम्म कुर्नु बाहेक अन्य कुनै विकल्प छैन।
भन्नु होला झन् नजिक नै आएको परीक्षा सर्दा झन् तयारी समय थपिएको छ, तर साँच्चै सोच्नु त के यो ठिक थियो? के हजुरलाई मन लाग्छ यस्तो अवस्थामा गुज्रेको बेला पढ्नलाई? साँच्चै यदि भविष्यप्रति सचेत भए चाहिँ सक्नुहुँदैन। हाम्रो ब्याचमात्र होइन, यस्तो अवस्थामा भएको हामीभन्दा अघिलो एक ब्याचको हालत पनि उस्तै छ।
पढ्न थालेको साढे ३ वर्ष हुनलाग्दा समेत उनीहरू हाल पाँचौंको परीक्षा कुरिरहेका छन्। विश्वविद्यालयभित्र बेलाबखत केही आन्तरिक कलह भएको पनि सुनिन्छ। त्यो कतिको साँचो हो या होइन त थाहा भएन तर ती सबै कामले आखिरमा असर पर्ने विद्यार्थी स्वयंको भविष्य हो।
४ वर्ष कोर्स (८ सत्रान्त) को यदि साढे २ वर्ष लाग्दा समेत तेस्रो सत्रान्तको परीक्षा भएको छैन, दोस्रोको परीक्षाफल आएको छैन अझ पहिलोमा नै परीक्षा बिग्रेकोको पुनः परीक्षा भएको छैन भने आफै विचार गर्नुहोस् भित्रको व्यवस्थापन कस्तो होला? सायद अहिले विश्वविद्यालय इतिहास कै चुस्त व्यवस्थापनबाट गुज्रेको छ।
म विद्यार्थी भएर यत्तिको नाम चलेको अझ भनुँ भने विश्वविद्यालय व्यवस्थापनप्रति प्रश्न गर्ने कुरा ठिक हो या होइन थाहा छैन तर यदि हुँदैन थियो भने क्षमा याचना माग्दछु। अनि मात्र के अनुरोध गर्न चाहन्छु भने विद्यार्थीको भविष्यप्रति पूरै विश्वविद्यालय आखिर कहिले सचेत अनि चिन्ता गर्ने? ४ वर्षे कोर्सलाई निश्चित समयमा नै सक्ने तयारी कहिलेबाट सुरु गर्ने?
एकपटक सम्पूर्ण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीसँग बुझ्नुहोस्, उनीहरू कतिको खुसी छन् आफ्नो विश्वविद्यालयप्रति? सायद त्यसमा आधाभन्दा थोरै पाइनेछन् होला। निश्चित समयभन्दा बढी पहिलेका लागि पनि लाग्ने नै गरेको हो तर जुन गतिमा अहिले ७ औँ अनि ८ औँ ब्याचको पढाइ र परीक्षा चलेको छ, यसले निकै ढिलो हुने संकेत देखाएको छ र आगामी दिनमा यी नै कारणले विद्यार्थीहरू यो संकायमा भर्ना भई पढ्न इच्छुक नहोलान् भन्न सकिँदैन।