आज मलाई हतारो छ, कक्षा कोठामा छिट्टो पुग्ने हतारो। अरु दिन यत्तिको हतारो हुँदैन थियो मलाई। मेरो दैनिक नित्यकर्मको सकस पनि छँदैछ, शौच, मर्निङवाक, स्नान, पूजा अनि मन्दिर प्रवेश।
यी नित्यकर्म त सदाझैं आफ्नै समयमै भ्याउने नै हो तर पनि हतारो छ, केबल कक्षा कोठामा पुग्ने हतारो। मनको हतारो बढेको बढ्यै छ। कोठाबाट निस्कन मनको हतारो थामी नसक्नुछ। तर समय आफ्नै गतिमा छ, सदाझैं सौम्य।
सहर- धरान, प्राङ्गण- वीपीकेआईएचएस (पूरानो घोपा क्याम्प), क्षेत्र- नयाँ होस्टलहरूका क्षेत्र। होस्टल नम्बर ५, कोठा नम्बर ८२ बाट कक्षाकोठा तिर निस्कने मेरो समय हुन लागेको छ। घडीमा ८ बज्न अब केबल ३० मिनट बाँकी छ। यही समय हो म सदै कक्षाकोठा पुग्न आफ्नो कोठाबाट निस्कन्छु। बीचमा मन्दिर छ, म आज पनि मन्दिरमा पुग्छु। बाटोमै पिजी क्यान्टिन छ, सदाझैं आफ्नो जिब्रो समेतले स्वाद पहिचान गर्न छोडिसकेको पुरी र आलुको तरकारी खान्छु। जिब्रोभन्दा पेट प्यारो छ, त्यसैले।
पुरी तरकारी, जिब्रोले मेसो नपाई पेटसम्म पुगिसक्छ। तर पनि भन्न बिर्सिन्न 'पवन अंकल, मिठो थियो है नास्ता।' मेरो यही शब्दले सायद उनको मुस्कान फुर्ने गर्दथ्यो। तर जे होस् ५ वर्ष खाना-नास्ता खुवाउने उहाँप्रति म आभार छु। फेरि पनि हतार गर्छु किनकि कक्षा कोठामा पुग्न हतारो छ। अझ कक्षाकोठामा पुग्न मात्र हैन, अघिल्लो बेन्चमा बस्न हतारो छ मलाई। हुन त म पछाडि नै बस्न मन पराउँछु, साथीहरूले ब्याक बेन्चर्सकै पगडी भिडाइदिएका छन् मलाई।
यत्तिको हतारोको एउटै कारण थियो, एमबिबिएस ब्याच २००७, फेसबुक ग्रुप- एमबिबिएस २००७ ग्रुप सीमा आएको एउटा म्यासेज- 'भोलि शुक्रबार रौनियार सरले ठिक ८ बजे नै एक्स-रे सम्बन्धी क्लास लिनुहुन्छ।'
समयमै म कक्षा कोठा पुग्छु, आजको कक्षा कोठा अरु दिनभन्दा फरक छ। कोठा नै फरक, माहोल नै फरक। अघिल्लो बेन्चमा म बस्ने स्थिति छैन। अरु साथीहरूले भरिएको छ। आज पनि आफ्नो त्यही पगडीअनुसारको बसाइ ब्यक बेन्च। लगभग अन्तिम सिट नै, भाँचिन लागेको बाँकी मध्येको दोश्रो कुर्सी। हतार मलाई मात्र रहेनछ अरुलाई पनि रहेछ, मबाहेक अरु २३ जनालाई पनि झन् बढी हतार रहेछ, कक्षा कोठा आउनलाई, अगाडि बस्नलाई। मनमा मलाई कता-कता सकस भइरहेको छ, अगाडि बस्न पाए हुन्थ्यो तर कुनै कुर्सी खाली छैन।
एउटा मन्छे, जसको प्रतीक्षा सबैले व्यग्रताका साथ गरिरहेका छन्। दुब्लो तर मनको मजबुत, अग्लो तर नम्र, उच्च शैक्षिक योग्यता, अनुभव र ज्ञान तर पनि शालीन। प्राध्यापक राजकुमार रौनियार, विभागीय प्रमुख, विधा रेडियो डायग्नोसिस एण्ड इमेजिङ यानिकी रेडियोलोजी। यी नै खास व्यक्तिको प्रतीक्षा थियो सबैलाई। पहिचान जे होस्, हाम्रो लागि उनी एक असल शिक्षक, आफ्नो ज्ञान सहजरुपमा तर कुशल तरिकाले तल्लो पुस्तामा हस्तान्तरण गर्ने अब्बल क्षमताका धनी, हामी सबैको 'रौनियार सर'।
करिब ८ बजेर ५ मिनेट भएको छ। कक्षा कोठामा आज पढाई हुने एक्स-रेका बारमो चर्चा छ। ग्रुपको सीआर (ग्रुप प्रतिनीधि) नवीन र म यसो बाहिर निस्कन्छौं। एउटा फोन गर्छौं, कक्षाको स्मरण गराउँछौं- 'सर, आज हजुरले लिने कक्षाका लागि हामी इमरर्जेन्सी माथिको कक्षाकोठामा सबैजना आएर बसेका छौं।'
सरको प्रतिउत्तर मात्र एक वाक्य, 'केबल १० मिनट प्रतीक्षा गर, म आइहाल्छु।'
अहिले ८ बजेर २५ मिनट भएको छ, एउट हातमा एक्स-रेको फिल्म भएको फाइलसहित कक्षाकोठामा प्रवेश गर्नुहुन्छ रौनियार सर। सर कक्षामा आएपछि आज सबै आफ्नो स्थानमा उठ्छन् अनि अभिवादन टक्राउँछन्। एक्स-रेको थाक बाहिर निकालेर सुरु हुन्छ कक्षा। उहाँको पढाउने शैली फरक छ, नितान्त फरक, स्पष्ट बुझिन्छ किनकि उनले विश्लेशण गर्ने शैली नै फरक छ।
अधिकांश शब्दहरू मेरो मानसपटलमा अझै ताजा नै छ। सरले पढाएको सबैलाई स्मरण नै रहन्छ प्रायः। उनले पढाएको तरिकाले होला सबैले उनको सम्बन्धित एक्स-रे फिल्मको विश्लेशण सुनिराखौं जस्तो लाग्छ, फेरि भनिदिए हुन्थ्यो जस्तो लाग्छ सबलाई। म अगाडि आउन पाए हुन्थ्यो भन्ने सकस केही बेरमा मात्र पूरा भयो। म सबैभन्दा लास्ट कुर्सीमा भएकोले होला सरले अगाडि कुर्सी ल्याएर बस भन्नुभयो।
म अगाडि गएँ, अब भने मेरो सकस कम भएको छ। सरले अब मुटु सम्बन्धी रोगका एक्स-रे फिल्म सिकाउने पालो आएको छ। उहाँले त्यसमा घण्टौं विश्लेशन गर्ने क्षमता राख्नुहुन्छ। विद्यार्थीलाई सम्झाउने कला छ, एउटा फरक कला जुन सबै शिक्षकमा हुन्न। केही सीमित शिक्षकमा मात्र हुन्छ।
सरले लगातर पढाएको ३ घण्टा भइसकेको रहेछ, ११ बजेर ३० मिनेट। एकछिन ब्रेक गरौं भन्नुभयो तर क्लास अझै सकिएको छैन। आधा एक्स-रे बाँकी नै छ सिकाउन। १० मिनेको ब्रेक सकिएछ। फेरि उत्तिकै जोश र जाँगरका साथ उहाँ पढाउनु हुन्छ। उहाँको बोली सुन्न कुनै अल्छी छैन। यत्तिकैमा 'मुटुको रोग सम्बन्धी यो अन्तिम फिल्म है' भनेपछि सरको तिनै विश्लेशण फेरि सुनौं-सुनौंजस्तो लागेर होला पछाडिबाट एकजना साथीले 'वान्स मोर' भन्छन्।
सर मौन हुनुभयो। करिब ५ घण्टा भइसकेको छ पढाएको। १ बजेर २० मिनेटमा सबैतिर ब्रेक भएको छ तर हाम्रो क्लास जारी छ। हतार छैन, अझै केही सिकौं भन्ने जाँगर छँदै छ सबै साथीमा।
साथीको वान्स मोर भन्ने शब्द सुनेपछि, सर शान्त हुनुहुन्छ अनि टोलाएर भन्नुहुन्छ, 'वान्स मोर त गानामा भन्छन् हैन र?'
तिनै ज्ञानका धनी, अब्बल अनि विद्यार्थीमाझ लोकप्रिय रौनियार सर हामीमाझ रहनु भएन। केही दिनअघि मात्र उहाँको निधन भएको छ। मधुमेह र उच्चरक्त चापका कारण झन्-झन् सिकिस्त भई उपचार गराई रहनु भएका उहाँको कलकत्ताको एक अस्पतालमा निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ। एक असल र अब्बल शिक्षक देशले गुमाएकाले हाम्रो मन स्तब्ध त। उहाँले पढाएको मुटु सम्झेर मेरो मुटु पनि बिझेको छ।
कक्षामा वान्स मोरको हुटहुटी सबै शिक्षकका लागि हुँदैन, सीमित शिक्षकका लागि हुन्छ। किनकि यो गाना गाउने स्टेज हैन। अरुको उपचारको लागि ज्ञान हस्तान्तरण गर्ने एउटा पवित्र स्थान हो, गुरु-शिष्यको सम्बन्ध कायम राख्ने चोखो स्थान। वान्स मोरको हुटहुटी, रौनियार सरका लागि थियो किनकि उहाँको सिकाउने शैली फरक थियो। मेरो बुझाइमा एउटा कला, फरक कला जसका लागि उहाँ सदैव जीवित रहनु हुनेछ।
हजारौं विद्यार्थीको मनमा बसिराख्नु हुनेछ उहाँ। उहाँले पढाएका हरेक एक्स-रेमा देखिएका मुटुहरूमा। हाम्रा अब्बल गुरु रौनियार सर अब हामी माझ त हुनुहुन्न तर उहाँले सिकाएका पाठबाट हजारौं बिरामीको सफल उपचार गर्न सक्षम भएको हुनेछौं। तिनै ज्ञान अरुमा हस्तान्तरण गर्ने ज्ञान समेत पाएका छौं। देशले उहाँजस्तै क्षमतावान, अब्बल शिक्षक सदैव खोज्ने छ। उहाँप्रति हामी सबै विद्यार्थी सदैव कृतज्ञ रहने छौँ।
अन्तमा, अलबिदा रौनियार सर। तपाईंको 'वान्स मोर त गानामा भन्छन् हैन र?' भन्ने शब्द मेरो कानमा सदैव गुञ्जयमान रहिरहने छ।