हरेक पटक परीक्षा आउँदा मलाई एउटै कुराले निकै पिरोल्छ, यस पटकको परीक्षामा लेखन सहयोगी कसरी खोज्ने? खोजेको लेखन सहयोगीले आफूले भनेअनुसार लेख्न सक्छन् कि सक्दैनन्? यदी कुनै कारणवश उसले सबै परीक्षामा लेख्न भ्याएन भने के गर्ने? परीक्षा केन्द्रले अतिरिक्त समय दिन्छ कि दिँदैन?
यस्तै किसिमका तनावहरूले परीक्षाको तयारीमा खर्चनु पर्ने मेहनत लेखन सहयोगी खोज्न र आधिकारिकता प्रमाणीकरण गर्नमै बित्छ। म मात्र हैन, मजस्ता सयौं दृष्टि सम्बन्धी अपाङ्गता भएका तथा हातमा समस्या भएका कारण यस्ता समस्या र तनावहरू सबैजसो परीक्षाको समयमा सामना गर्नुपर्ने हुन्छ।
एक त विभिन्न आर्थिक तथा अन्य समस्याको बाबजूत काठमाडौँमा जसोतसो अध्ययनलाई अगाडि बढाइरहेको हुन्छ, त्यसमाथि सीमित अध्ययन सामाग्री, अनेकन भौतिक अवरोधहरू तथा सरोकारवाला निकाय तथा व्यक्तिहरूको अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने नकारात्मक दृष्टिकोणले उच्च शिक्षा खासगरी स्नातक तथा स्नातकोत्तर तहमा समावेशी शिक्षाको महसुस गर्न सकिएको छैन।
पर्याप्त साङ्केतिक भाषाको अनुसन्धान र विकास नहुँदा बहिरा व्यक्तिहरू चाहेर पनि आफूले चाहेअनुसारको विषयमा उच्च शिक्षा प्राप्त गर्नबाट वञ्चित छन्। स्वाध्ययन गरेर अध्ययनलाई अगाडि बढाउन चाहे पनि त्यसमा उनीहरूले थुप्रै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। भौतिक संरचना पहुँचयुक्त नहुँदा ह्विलचियर प्रयोग गर्ने व्यक्तिहरू कलेजसम्म पुग्नबाटै वञ्चित हुनुपर्ने अवस्था छ।
तुलनात्मक रूपमा दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई कलेजसम्म गएर अध्ययन गर्न कुनै किसिमको बाधा नभए तापनि निकै सीमित अध्ययन सामाग्रीहरूमा आफ्नो अध्ययनलाई सीमित गराउन बाध्य छन्। खर्चिलो हुने हुनाले ती पुस्तकहरू ब्रेलमा छापिने कुनै सम्भावना छैन। विद्यमान कानुनी प्रावधानको कारण त्यस्ता पुस्तकहरूको (खासगरी नेपाली पुस्तक तथा नेपाली लेखकहरूका अङ्ग्रेजीमा प्रकाशित) ई-कपी प्राप्त गरेर अध्ययन गर्ने अवस्था छैन।
अङ्ग्रेजीमा लेखिएका सामाग्रीहरू इन्टरनेटमा केही हदसम्म उपलब्ध हुने भए तापनि कतिपय त्यस्ता सामाग्रीहरू सजिलैसँग पढ्न मिल्ने ढाँचामा तयार गरिएको हुँदैन। केही संस्थाहरूले केही नेपाली पुस्तकहरूलाई अडिओमा उत्पादन गरेर वितरण गरिरहेको भए तापनि उच्च शिक्षाको लागि त्यो पर्याप्त हुँदैन।
त्रिभुवन विश्व विद्यालयभित्र आफ्नै विशाल पुस्तकालय रहेको छ तर उक्त पुस्तकालयले दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई अध्ययनमा पहुँच पुर्याउनकै लागि भनेर कुनै पहलहरू गरेको देखिँदैन। नेपालका कुनै पनि पुस्तकालयहरूले दृष्टिविहीनहरूका लागि भनेर दृष्टिविहीनमैत्री पुस्तकालयहरू विकासमा अग्रसरता लिएको पनि देखिन्न।
सबैभन्दा जटिल अवस्था परीक्षाकै समयमा हुने गर्दछ। आफू पढिरहेको भन्दा एक तह तलको अर्थात् स्नातकोत्तर तहमा रहँदा स्नातक तह र स्नातक तहमा हुँदा +२ नियमित रूपमा अध्ययन गरिरहेको विद्यार्थीलाई लेखन सहयोगीको रूपमा राख्नुपर्ने हुन्छ। आफ्नो लागि लेखन सहयोगी स्वयम् आफैले व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसअनुसारको सञ्जाल नहुँदा परीक्षाको अन्तिम समयसम्म पनि लेखन सहयोगी भेटाउन निकै गाह्रो हुन्छ।
कतिपय अवस्थामा लेखन सहयोगी नभएकै कारण कतिले आफ्नो अन्तिम परीक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छ। लेखन सहयोगी भेटिए तापनि शुद्ध, स्पष्ट र छिटो लेख्न सक्ने सहयोगी पाउन निकै कठिन हुन्छ जसले गर्दा धेरैजसो अवस्थामा आफ्नो मेहनत अनुसारको नतिजा ल्याउन गाह्रो हुने गर्दछ। परीक्षाको समयमा लेखन सहयोगीलाई प्रश्न सुनाउन लगाउँदा, उत्तर भन्दै लेख्न लगाउँदा, प्रश्न नबुझ्दा या बिर्सिँदा दोहोर्याएर पढ्न लगाउँदा धेरै समय खर्च हुने गर्दछ जसले गर्दा अतिरिक्त समयको आवश्यकता पर्दछ तर सबै परीक्षा केन्द्रहरूले तोकिए बमोजिमको अधिकतम एक घन्टाको अतिरिक्त समय उपलब्ध गराउँदैन।
त्यसमाथि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको समय-समयमा फेरिरहने निर्णयहरू जस्तै- परीक्षा नियन्त्रण कार्यालय गएर लेखन सहयोगी प्रमाणित गराउनु पर्ने, लेखन सहयोगी राख्दा अतिरिक्त समय उपलब्ध नगराइने जस्ता गैरसम्वेदनशील निर्णयहरूले लेखन सहयोगी राखेर परीक्षा दिन विवश विद्यार्थीहरूले अतिरिक्त तनाव र झन्झटको सामना गरिरहेका छन्।
यो कुरा पनि सत्य हो कि केही लेखन सहयोगी राखेर परीक्षा दिने व्यक्तिहरूले नियम विपरीतका अमर्यादित कृयाकलापहरू गरिरहेका छन् तर केही व्यक्तिले त्यस्ता अमर्यादित कृयाकलापहरू गरे भन्दैमा सबैलाई उस्तै नजरले हेर्न हुँदैन।
केही समयअघि परीक्षा दिने क्रममा मेरो लेखन सहयोगीको आफ्नै परीक्षा परेकोले एउटा परीक्षामा सहभागी हुन नसक्ने कुरा जानकारी गराएपछि अकस्मात लेखन सहयोगी परिवर्तनको लागि निवेदन लिएर डिन कार्यालय पुगेँ तर त्यहाँको पदाधिकारीहरूले मलाई विषयगत् दख्खल भएका व्यक्तिलाई लेखन सहयोगी राखेर धेरै नम्बर ल्याउन खोजेको होला आदि जस्ता विभिन्न कुराहरू गरेर मेरो आत्मसम्मानमा चोट पुर्याउने कुराहरू बारम्बार दोहोर्याइरहे।
त्यो घटनाले मलाई 'आफू दृष्टिविहीन भएकोमा हीनताबोध त गरायो नै, दृष्टिविहीनहरूप्रति उनीहरूको दृष्टिकोण कस्तो रहेछ भन्ने तस्बिर पनि देखाइदियो।
अहिले मजस्ता लगभग सबैजसो दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू प्रविधिमा पोख्त भइसकेका छन्। कम्प्युटरमा लेखेर पनि सजिलैसँग परीक्षा दिन सकिने रहेछ भन्ने साहस मजस्ता केही दृष्टिविहीन साथीहरूले केही आन्तरिक परीक्षाहरू ल्यापटपमा नै लेखेर दिएर प्रमाणित गरिसकेका छौँ तर हाम्रो वर्तमान सिस्टमले यस्ता कुराहरू चिन्दैन, न त जिम्मेवार निकायहरूलाई बदलिँदो परिवेशसँगै सबै किसिमका विद्यार्थीहरूलाई शिक्षामा पहुँच पुर्याउन प्रविधि र अन्य पक्षमा सुधार गर्दै लैजानुपर्छ भन्ने चेत विकास भएको छ।
कुनै पनि सिमान्तकृत समुदायलाई सशक्तीकरण गर्ने र मूल प्रवाहीकरणमा ल्याउने हो भने शिक्षा र रोजगार प्रमुख सर्त हो। अझ धेरैजसो अवस्थामा रोजगारको आधार शिक्षा हुने गर्दछ तर विडम्बना हाम्रो देशमा उच्च शिक्षा प्रदान गर्ने कलेज तथा विश्वविद्यालयहरूले न त आजसम्म समावेशी शिक्षाको प्रवर्द्धन गर्नको लागि कुनै ठोस कदम नै चालेका छन् न त अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने उनीहरूको साँघुरो सोच नै बदलिएको छ।
बरू उल्टै केही गलत अभ्यासहरूलाई देखाउँदै विभेदकारी नीतिहरू अङ्गालिरहेको छ। जब व्यक्ति गुणस्तरीय शिक्षा पाउनबाटै वञ्चित हुन्छ भने उसले कसरी आफूलाई प्रतिस्पर्धी बनाउन सक्छ अनि अन्य व्यक्तिहरू सँगसँगै प्रतिस्पर्धा गर्न सक्षम हुन्छ?