फ्रेन्ड रिक्वेस्ट आयो। यस्सो हेरेँ, म्युचुअल कोही थिएनन्। एसेप्ट गर्न मन लागेन। एक पटक प्रोफाइल चेक गरेँ। लेखक, फोटोग्राफर, संगीतकार यस्तै के थियो। राम्रै ठानेर एसेप्ट गरेँ। मलाई फ्रेन्ड रिक्वेस्ट एसेप्टपछि बोलिहालेको चाहिँ मनै नपर्ने तर पनि कसैले धन्यवाद स्वरूप बोल्न खोज्नुलाई अन्यथा लिन्न पनि।
यदि कसैले 'हाई' गर्यो भने सिधैं 'बाई' गर्न मन लाग्ने। हाई नजिकका साथीभाइ अर्थात् अत्यन्तै नजिकका हितैषीलाई मात्र सम्बोधन गरिन्छ। यतिसम्म हेक्का नभएकालाई राख्न पनि उचित ठान्दिनँ म। यो मेरो मानवीय गुण हो या अवगुण, यसलाई छुट्याउने काम पाठकसामु छोडेँ।
फ्रेन्ड रिक्वेस्ट एसेप्ट भएको पर्सिपल्ट, 'हेलो गीता' आयो।
मैले मेरो नामलाई सम्बोधन गरेको देखेर अन्यथा सोचिनँ पनि किनकि नामलाई सम्बोधन गर्नेहरूको सोच त्यति कमजोर पनि हुँदैन। रिप्लाई नदिई एक पटक फेरि प्रोफाइल सरसर्ती हेरेँ।
अनि जवाफ दिएँ- 'हजुर मसँग फेसबुकमा कसरी जोडिनु भयो होला?'
जवाफ आयो- 'सही बोलुँ?'
मैले 'हस्' भनेर सहमति जनाएँ। त्यस पछिको रिप्लाई थियो, 'अन्यथा नलिनु होला है! मैले प्रोफाइल पिक्चर राम्रो देखेर।'
एकछिन त मेरो रिस झनक्कै उठ्यो। होस् यसलाई त नबोलेरै अनफ्रेन्ड गरिहाल्छु सोचेँ। फेरि सोचेँ, हामीजस्ता सचेत वर्गले पनि यस्ता कुरा सह्यौं भने अरूको हालत के होला? अहँ! हामी नारी जातिकै अपमान हुनेछ, बरू राम्रो मनले तह लगाएरै छोड्छु।
खै! यो मनले के सोच्यो, त्यो म्यासेज छोरीलाई देखाएछु। छोरीले यस्सो हेरी अनि 'ठिकै हो मम्मी, यो मान्छे सही त बोलेको छ। राम्रो मान्छेलाई राम्रो भन्यो। सही बोल्ने मानिस गलत हुँदैनन्।' यस्सो खिस्स हाँस्दै बोली।
हुन पनि कहिलेकाहीँ आफूभन्दा सानाले दिएका कतिपय कुराहरू मननयोग्य हुन्छन्। मैले स्वीकारेँ पनि उसको कुरालाई। किनकि ऊ निकै सोचेर बोल्छे।
त्यसपछिको मेरो जवाफ थियो, 'म राम्रो छु या छैन भन्दा पनि म असल हृदय भएकी नारी हुँ। मसँग राम्रो मनले जोडिनु भएको हो भने ठिकै छ, होइन भने म अनफ्रेन्ड गर्नेछु है सर।'
उनले आफूलाई राम्रो देखाउन खुबै कसरत गरे। एक-एक गर्दै स्क्रीनशट पठाए प्रोफाइल भित्रका।
'मैले हजुरको प्रोफाइल राम्रैसँग चेक गरेरै एसेप्ट गरेको छु सर। मेरो प्रोफाइलमा धैरै साथी पनि छैनन्, चिनेजानेकोलाई मात्र राख्ने गरेको छु,' मैले भनेँ।
कहिलेकाहीँ मलाई अचम्मै लाग्छ। यो सुन्दरता भन्ने चिजमाथि पनि! सुन्दरता भन्ने कुरो मनन गर्ने हो। हर कोहीमा हुन्छ सुन्दरता। हामीले हेर्ने दृष्टिकोण मात्र फरक हो। सुन्दरता त उसको गुण हो। आनिबानी हो। उसको सभ्यता हो। उसको संस्कार हो। समग्रमा भन्नुपर्दा सुन्दरता हर कोहीमा रहेको भित्री गुण हो।
म्युचुअल फ्रेन्ड पनि छन्, चिनेकै मान्छे हुनुपर्छ भनेर एसेप्ट गर्यो। एसेप्ट गर्न नपाउँदै, 'के छ खबर?' पठाउँछन्। मैले फेसबुक खोलेदेखि आजसम्म मनै नपरेको शब्द यही हो। तपाईंलाई कस्तो लाग्छ? अन्जान मानिससँग बोल्ने शिष्टता यही हो? चिनजानको हो भने नमस्कार भन्छ। प्रोफाइल चेक गर्छ। लाइक गर्छ। कमेन्ट गर्छ। यस्तै त हो फेसबुकमा जोडिनुको अर्थ होइन र? त्यस्ता अशिष्टलाई नबोलेरै अनफ्रेन्ड गरिदिन्छु।
फेसबुकमा जोडिएका साथीहरू मध्ये कतिपय चाहिँ नगेटिभ कमेन्टकै लागि जन्मिएका जस्ता हुन्छन्। कता कति कमेन्ट आउँछ, त्यो पनि नेगेटिभ मात्र। विचार राख्नु राम्रो हो तर सिधैं नेगेटिभ कमेन्टतर्फ मन जानेहरूलाई चिनेसम्म हटाइदिने गरेँ हिजोआज। निरूत्साहित गर्नेहरूलाई आफ्नो प्रोफाइलमा स्थान नदिएकै राम्रो।
कतिपय साथीहरू जोडिनुको रहस्य फेसबुकका गतिविधि नियाल्नु मात्र हुन्छ। जन्मदिनको शुभकामनासम्म दिन गाह्रो मान्नेहरू किन होला हामीसँग जोडिनै पर्ने?
एकथरी साथीहरू स्टाटस कपी (चोरी) गर्न जोडिएका हुँदा रहेछन्। अहिले बुझ्दैछु विस्तारै। अनुशरण गर्नु राम्रो हो तर हुबहु नक्कल गर्दा चाहिँ रिसै उठ्ने! कतिलाई अनफ्रेन्ड गर्नु साध्यै नहुने। कतिपय त आफ्नै पर्ने हुन्छन्, सहनै पर्ने।
एकजना बहिनी पर्ने छिन् मेरोमा, राम्रो कमेन्ट आयो भने मख्ख पर्छु। म पनि त मान्छेको जात न परेँ मख्ख परिहाल्ने! भरे त प्रोफाइल पिक्चर चेन्ज गरिहाल्छिन्। अहिले बुझ्दैछु मान्छेको बाठोपन देखेर। त्यो त पैँचोको लागि रहेछ। जुन बेला मेरोमा कमेन्ट आउँछ त्यसै दिन उनकोमा नयाँ कन्टेन्ट आइहाल्छ। उनको चलाखीलाई मैले पनि फलो गर्ने गरेको छु।
रियाक्ट गर्ने तरिका, कमेन्ट गर्ने तरिकाबाटै कस्को-कस्तो स्वभाव छुट्टिहाल्ने। कसको कस्तो मनोविज्ञान बुझिने। शिष्टता, सभ्यता, समवेदनशीलता, स्वार्थ, चाकडीबाज सबै कुरा छर्लङ्गै देखिने यो मुहार पुस्तिकामा कञ्चन पानी भित्रका माछाजस्तै।
कतिपय साथीहरू हार्दिक शुभकामना पोस्ट गर्ने ठेक्कै लिएका जस्ता। ठूलो मान्छेको जन्मदिन आउनु पर्छ कुरै नगरौं। अनि कमेन्ट पनि फरर। जन्मदिन त ठिकै छ, फेसबुकले पनि छुट्याइदिन्छ तिथिमिति तर एनिभर्सरीको डेट पनि कसरी सम्झेका! चाकडीको पनि हद हुन्छ नि। होइन र?
हिजो मात्र हाम्रो गाउँले भाइको कलिलो उमेरमा ब्लड क्यान्सरबाट निधन भयो। मुस्किलले आठ/दश वटा कमेन्ट देखेँ मेरो पोस्टमा। समवेदनामा त यति ठूलो भिन्नता छ भने बाँकी दुनियाँका के कुरा? यस्तै यस्तै।