शनिबार सबैजना घरमा नै हुने दिन। ५ वर्षको मेरो छोराले शुक्रबारको दिन नै भनेको थियो कि 'पापा, यो शनिबार हामी बाहिर घुम्न र खेल्न जानु पर्छ है।' मैले पनि सहमतिमा टाउको हल्लाएको थिएँ।
शनिबार आयो, अब छोरालाई घुमाउन र खेलाउन लाने कहाँ? गहिरो प्रश्न मनमा खेल्न थाल्यो। सायद काठमाडौंमा बस्ने हरेक परिवारको पीडा हो यो। काठमाडौंको अव्यवस्थित सहरीकरणको कारणले गर्दा काठमाडौंमा खुला ठाउँको अभाव छ। शनिबार आएपछि बडो चिन्ता हुन्छ।
तैपनि काठमाडौंमा बग्ने खोलाको किनारामा साना बगैँचा बनाएर हिँड्न मिल्ने बनाइएको छ र केटाकेटी खेल्नको लागि सानो खेल्ने सामाग्री सहितको बगैँचा र युवा र वृद्धको लागि सानो व्यायमशाला पनि बनेका छन्।
शनिबार यसो मनमनै सोचेँ, कहाँ जाने त भन्दा लौ तिनै खोलाको किनारामा घुम्न जाने निधो गरियो। कोटेश्वर बस्नेहरूको लागि नजिक भनेको तीनकुनेबाट सुविधानगर जाने बागमती खोला कोरिडोरमा बनेको केटाकेटी खेल्न मिल्ने सामाग्रीसहित रहेको सानो बगैँचा। त्यहाँ हामीजस्ता युवालाई टहल्नको लागि बाटोको ट्रेल पनि छ। लौ त्यतै जाने निधो गरियो। दिउँसो मध्यघाममा त्यहाँ जान गाह्रो हुने भएकाले साँझ ३ बजे तिर जाने सहमति बन्यो।
सहमतिअनुसार बाबुछोरा हिँडियो गन्तव्य तिर। बागमती नदीको कोरिडरमा हिँड्दाहिँड्दै छोराले सोध्यो, 'पापा, नदीको पानी कालो हुन्छ हो?'
म अवाक् भए। के जवाफ दिने भन्ने नै थाहा भएन। मैले विस्तारै भनेँ, 'बाबु यो नदीमा ढल मिसाइएको छ नि त, त्यही भएर यो नदीमा कालो लेदो आएको हो नि त। पानी कालो हुँदैन के बाबु। बागमती विस्तारै सफा हुँदैछ बाबु, पछि सफा पानी बग्छ यो नदीमा।'
म सम्झाउने कोसिस गर्दैछु मेरो सानो ५ वर्षे छोरालाई। बुझेझैं गरी बाबुले मुन्टो हल्लायो र भन्यो, 'छ्या बाबा! कस्तो गनायो, घर जाउँ।'
बाटोभरि म सोच्दै आएँ, धार्मिक दृष्टिकोणले महत्वपूर्ण बागमतीको यो गति कसले बनायो र किन बन्यो? हरेक साल बागमती सफाइ योजना हुने गर्छन्, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरू यसको सफाइ गर्ने गर्छन् तर पनि यसको अवस्था झन्-झन् बत्तर हुँदै गइरहेको छ। हामीहरूलाई हाम्रो हजुरबुबा पुस्ताले सफा र कञ्चन बागमती हस्तान्तरण गरेर जानु भएको हो तर बागमतीको यो दुर्दशाको पूर्ण भागिदार हामी हौं। हाम्रै कारणले यस्तो पवित्र बागमती आज यो अवस्थामा पुगेको छ।
यदि बागमती बोल्थिन् भने चिच्याउँदै भन्थिन् होला, 'हे विज्ञान युगका सर्वश्रेष्ठ प्राणी हो, अब बस् गर, बन्द गर यो ढल मिसाउन अनि तिम्रो घरको फोहर मरो शरीरमा बगाउन। मलाई सास लिन गाह्रो भैसक्यो। यो फोहरको डङ्गुर र ढलको पानी बोकेर अब म बग्न सक्दिनँ। तिमी पो आफ्नो नाक मुख छोपेर हिँड्छौ, म कसरी यो फोहोर र यसको गन्धबाट छुटकारा पाउँ? मलाई बचाऊ। दक्षिण कोरियाको छङ्गेछन खोला र लण्डनको थेम्स नदी सफा हुन सक्छ भने म किन हुन सक्दिनँ?'
वास्तवमै हामी अहिलेका पुस्ता मंगल ग्रहमा कसरी पुग्न सकिन्छ? त्यहाँ वस्ती बसाउन सकिन्छ कि सकिदैँन होला भनेर बडो विज्ञानको खोज गर्छौं, कुरा गर्छौं तर बागमतीलाई कसरी सफा बनाउन सकिन्छ? कसरी पहिलेझैं सफा र कञ्चन पानी बगाउन सकिन्छ भनेर कहीँकतै बहस र चर्चा हुने गरेको देखिँदैन।
हरेक साल शिवरात्री र छठमा बागमतीमा कञ्चन पानी बगाउने वाचा गरिन्छ तर कुन सालको शिवरात्री र छठमा बागमतीमा कञ्चन पानी बग्छ कहिल्यै भनिन्न र कहिले पनि बागमतीमा सफा र कञ्चन पानी बगेको देखेको छैन मैले।
म छोराको हात समातेर सोच्दै हिँडिरहेको थिएँ, फेरि बाबुले सोध्यो, 'साँच्ची पापा, हजुरले अघि बागमती सफा हुँदैछ भन्नु भएको होइन? कहिले हुन्छ त बागमती सफा?'
म अनुत्तरित थिएँ, वास्तवमै कहिले हुन्छ त बागमती सफा?
के केही थान सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले गरेर मात्र बागमतीको सफाइ होला त? साँच्चै भन्ने हो भने हुँदैन। जबसम्म बागमतीमा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन हुँदैन तबसम्म बागमतीमा पानी कालो हैन, कञ्चन बग्छ, सफा निलो बग्छ भनेर हामीहरूले हाम्रो आउने पुस्तालाई बुझाउन सक्दैनौं।
बागमती साँच्चै सफा गर्ने हो भने पहिले हामीले हामीलाई बदल्नुपर्छ। हाम्रो घरको ढल र घरमा निस्किएको फोहोर बागमतीमा बगाउन बन्द गर्नुपर्छ। अनि मात्र हामी हाम्रो आउने पुस्तालाई हाम्रा बाजे पुस्ताले हामीलाई हस्तान्तरण गरेको जस्तै कञ्चन र सफा बागमती हस्तान्तरण गर्न सक्छौं। नत्र भने आउने पुस्ताले हामीलाई धिक्कार्ने छन्।