संसारमा सम्बन्ध फरक फरक प्रकृतिका हुन्छन्। सम्बन्धका प्रकार पनि अनेक हुन्छन्। कतिपय सम्बन्ध प्राकृतिक हुन्छन्, कतिपय परिवारिक हुन्छन्। कतिपय सम्बन्ध सामाजिक अनि कतिपय भावनात्मक पनि।
मानिसका सम्बन्धहरू हुनु या मानिसले सम्बन्ध बनाउनु ठूलो कुरा होइन। यद्यपि ती सम्बन्धहरू कसरी निर्वाह गर्नु पर्छ र निर्वाह गर्न सकिन्छ भनेर हाम्रो पूरै जिन्दगी बित्छ। यस अर्थमा हाम्रो पूरै जिन्दगी सम्बन्धका जालोहरूमा अडिएको छ। सम्बन्धका जालोहरू माकुराले बुनेका जालोभन्दा कैयौं गुणा बढी जेलिएका हुन्छन्। सम्बन्धका कथाहरू मान्छेपिच्छे फरक पनि हुन्छन्।
कहिलेकाहीँ सम्बन्धका जालोहरू केलाउँदा, सम्बन्धका कथाहरू सम्झिँदा त्यो जालोभित्रको एउटा रेसा, त्यो कथाभित्रको एउटा पात्र म आफैं पनि हुँ जस्तो लाग्छ। तर त्यसो होइन। सम्बन्धका भारीहरूको तौल फरक फरक भए पनि कथा त सबैको घरमा हुन्छ। सम्बन्धका कैयन कथाहरू नबोलेरै व्यथा पनि बनेका हुन्छन्।
त्यस्ता कैयन सम्बन्धका कथाको पात्रभित्र कहिलेकाहीँ म आफैंलाई पनि पाउने गर्छु। तर यो हरेक घरको, हरेक साधारण घरको, हरेक नेपालीको घरको कथा पनि हो र कुनै न कुनै रूपले हामी यसभित्रका पात्र हौं।
सम्बन्धका कथाहरूभित्र लुकेका भारीहरूको विषयमा लेखिरहँदा म कहिलेकाहीँ आफैंलाई उदाहरणका रूपमा सम्झिन्छु। जस्तो, म जन्मिनासाथ म पारिवारिक, सामाजिक सम्बन्धमा बाँधिन थालेँ। मेरो पहिलो सम्बन्ध मेरी आमासँग थियो। म उहाँको कोखमा बसेर जन्मिएको थिएँ। जन्मिनासाथ मैले सम्बन्ध चिनिनँ तर मेरी आमा चिनेँ।
सम्बन्धका बारेमा चिन्तन नगरेसम्म सबैले यसै गर्छन्, सम्बोधन गर्ने नाता सम्झिन्छन्। तर त्यो नातासँगै जोडिएको सम्बन्धको अन्तर्यतर्फ कसैले ध्यान दिदैनन्।
आमापछि मैले बुवा चिनेँ। परिवारमा भएका अरू सदस्य चिनेँ। उहाँहरूसँगको सम्बन्धको जालोको रेसा चिनिनँ। चिने त केबल जीवनमा ठूलो र असल मान्छे बन्नु पर्छ भन्ने आमाबुवाको सपना। बुवाआमासँगको सम्बन्धको डोरीसँग गाँसिएका सपनाहरूसँग हिँड्दै जाँदा आज म कत्रो भएँ थाहा छैन, असल भएँ कि भइनँ , थाहा छैन। तर शरीरको आकार बढ्दै गएपछि त्यही सम्बन्धभित्र बुवाआमाले भन्न छुटाएका थुप्रै कुराहरूको सम्झना आउँछ।
आमाबुवाको सपनाभित्रको ठूलोमान्छे बन्ने दौडमा मलाई घरको इज्जतको भारी बोक्नु पर्छ भन्ने ज्ञात भयो। समाजको इज्जतको भारी पानि मैले मेरै काँधमा बोक्नु पर्छ भन्ने थाहा भयो। तर परिवार र समाजको इज्जतको भारीको भार मैले कसरी धान्ने भनेर मैले त्यो बेला उहाँहरूलाई सोध्न बिर्सेछु। उहाँहरूले पनि मलाई भन्न छुटाउनु भयो होला।
आजकाल कहिलेकाहीँ मनमा लाग्छ, एकपटक फर्केर बुवाआमालाई सोधौं कि त्यो इज्जतको भारी मैले मात्र कसरी धान्ने? म जन्मिएको घरभित्रको मात्रै कुरा भए त पारिवारिक सम्बन्धले बोध गराएको इज्जतको त्यो भारी पनि म धान्न सक्थेँ कि?
तर म त छोरीको रूपमा जन्मिएकी थिएँ। मलाई परिवार र समाजले भोलि बिहे गरेर अर्काको घर जानु पर्छ भन्ने बोध गरायो। म नयाँ सम्बन्ध बनाएर जानुपर्ने त्यो अर्काको घर कहिले मेरो आफ्नो घर हुन्छ, त्यहाँ मैले कस्ता कस्ता सम्बन्धका थप भारीहरू बोक्नु पर्छ भनेर मैले परिवार र समाजलाई सोधिनँ। उहाँहरूले भन्नु भएन।
आज मनमा लाग्छ, ठूलो मान्छे बन्नु पर्ने दौडमा हिँडेकी म बिहे गरेर आएको यो अर्काको घरलाई आफ्नो घर बनाउनु पर्ने दौडमा दौडिएको दौडिएकै छु। कहिले आफ्नो बन्छ थाहा छैन।
जन्मिएको घर र बिहेपछि गएको अर्काको घरसँग जोडिएका सम्बन्धहरूको भारी त जेनतेन थेगिन्थ्यो, तर यिनै सम्बन्धहरूसँग जोडिएर आउने इज्जतका भारीहरूले कहिलेकाहीँ झन् थिलथिलो बनाइदिँदा रहेछन्। यी सम्बन्ध र इज्जतका भारी बोक्ने प्रयास गर्दागर्दै मैले आफ्ना सपनालाई उहिल्यै श्रद्धाञ्जली दिइसकेकी रहेछु।
म मात्र दुई वटा घर र समाजको सम्बन्ध र इज्जत धान्ने दौडमा कुदेको कुद्यै छु। यो दौडको गन्तव्य कहाँ छ, मलाई थाहा छैन। अनि यो भारी बिसाउने ठाउँ कहाँ हो, त्यो पनि मलाई थाहा छैन।
कहिलेकाहीँ आफ्नै श्रीमानसँगको सम्बन्ध सम्झिन्छु। हाम्रो सम्बन्ध जोडिँदा अग्निलाई साक्षी राखेर, सात फेरा घुमेर खाएको कसम, जोडेको नाता उसले सम्झिन्छ होला कि नाइँ? त्यो विवाह मण्डपले बनाइदिएको हाम्रो सम्बन्धको भारी उसले पनि बोकेको छ होला कि? या यो भारी उसले नबोके पनि हुनुपर्ने हो?
सम्बन्धका ती सबै भारी सम्झिन्छु जुन मैले यो धर्तीमा आउनासाथ पाएँ। केही रोजेर पाएँ, केही खोजेर पाएँ। केही परिवारले दियो, केही समाजले। अनि लाग्छ के यी सबै सम्बन्धका भारी मैले सजिलै बोकेकी छु? के सम्बन्धले विकास गरेको इज्जतको भार मैले थामिरहेकी छु?
यी प्रश्नको उत्तर कसले दिने? कसलाई सोध्ने? कता खोज्ने? कसरी खोज्ने? कहिलेकाहीँ बडो असमञ्जसमा पर्छु।
मेरा यी प्रश्नको जवाफ बुवाआमालाई सोधौं, उहाँहरूलाई लाग्ला- छोरी बिहे गरेर गइसकी, अब प्रश्नोत्तर उतै होलान्।
बिहे गरेर आएको घरमा लाग्ला- खान पाएको छ, बस्न पाएकै छ, बच्चाबच्ची जन्मिएकै छन्। श्रीमानको जागिर/व्यवसाय राम्रै छ।
हो, देख्दा सब ठिकठाक देखिन्छ तर मेरो मनमा प्रश्न उब्जिरहेको हुन्छ- अब यसपछि मैले बोक्नुपर्ने सम्बन्ध र इज्जतको भारी कत्रो होला? कस्तो होला? साँच्ची मलाई कसले भनिदेला मैले जीवनभर कस्ता कस्ता सम्बन्ध र कस्ता कस्ता इज्जतको भारी बोक्नुपर्ला?
आजसम्म मलाई कसैले यी भारी यसरी बोक भनेको छैन, सिकाएको छैन। मात्र म जन्मिएपछि जति व्यक्तिहरू मसँग ठोक्किन आए, सबैले सम्बन्धको नयाँ भारी दिएर गए।
कसैकी छोरी, कसैकी बहिनी, कसैकी दिदी, कसैकी श्रीमती, कसैकी बुहारी, कसैकी भाउजू, कसैकी भान्जी, कसैकी नन्द, कसैकी आमा, यस्ता कैयन नाताहरूले स्थापित गरेका फरक सम्बन्धहरू र तिनसँग जोडिने इज्जतको भारी म एउटा सामान्य मान्छेले कसरी बोकिरहेकी हुँला? अझ कतिन्जेल बोकौंला?
के यी सबै भारी एउटा मात्र व्यक्तिले बोक्न सम्भव छ? यो सब मैले कसरी बोकिरहेको छु भनेर कसैले सोचेको होला?
सोचेका हुन्थे भने आजसम्म मलाई किन कसैले सोध्दैनन्- तिमीला यी सम्बन्धका/इज्जतका भारी गह्रौं भयो कि?
मलाई यी भारी बोकिदिन किन कसैले मद्दत गर्दैन? यी कस्ता सम्बन्ध र इज्जतका भारी हुन्?
जन्मदिने बुवाआमाले कन्यादान दिएपछि भारी सर्ने, अग्नि साक्षी राखेर सात फेरा लिएको श्रीमानले सम्बन्ध विच्छेद नामको एउटा सानो कागजमा दस्तखत गरेपछि सम्बन्ध सकिने, उसले बोकेको सम्बन्धको भारी सकिने। छोराछोरीले आमाबुवालाई वृद्धाश्रममा बुझाएपछि उनीहरूको कर्तव्यको भारी सकिने।
अन्त्यमा आर्यघाटमा पुगेर जिन्दगीको भारी सकिने।
यस्ता कैयन सम्बन्धका भारीहरु छन्- पारिवारिक, सामाजिक, राजनीतिक!
यी सम्बन्धका भारी बोक्नेले आफ्नो अनुकूलतामा बोक्छन्, बिसाउनेले पनि आफ्नो अनुकूलतामा बिसाउँछन्। र त मलाई लाग्छ यी सबै सम्बन्धका, इज्जतका, कर्तव्यका भारीहरू मैले मात्र किन बोकिरहनुपर्ने? कहिलेसम्म बोकिरहनुपर्ने?
हो, अब मलाई सबैखाले सम्बन्धमा नयाँ भाष्य निर्माण गर्न मन छ। मलाई अनन्त कालसम्म जिवन्त रहने सम्बन्ध बनाउन मन छ। बरू शरीर नरहोस्, जीवन नरहोस् तर सम्बन्ध रहिरहोस्।
मलाई दानले समर्पण गर्न र कागजको दस्तखतले तोड्न नमिल्ने सम्बन्ध बनाउन मन छ। प्रविधिसँगै ग्याजेट र सञ्जालमा भएका इमोजीहरुको दुनियाँमा एकअर्काको हात समाएर हिँड्ने सम्बन्ध बनाउन मन छ। सञ्जालका च्याटबक्समा लेखिने 'एलओएल' को ठाउँमा खित्का छोडेर हाँस्न मिल्ने सम्बन्ध बनाउन मन छ।
प्रगाढ माया र भावनाको सम्बन्ध बनाउन मन छ। त्याग र समर्पणको सम्बन्ध बनाउन मन छ। भरोसा र विश्वासको सम्बन्ध बनाउन मन छ। इज्जत, समर्पण र सम्बन्धको भारी बराबरी बोक्न मिल्ने सम्बन्ध बनाउन मन छ।
आफूलाई मेट्न होइन, आफूलाई भेट्ने सम्बन्ध बनाउन मन छ। सम्बन्धको नयाँ भाष्य, नयाँ शैली, हलुका भारी बनाउन सम्भव छ कि छैन थाहा छैन। तर पनि थकानको अनुभूती नै गर्न नपाइने सम्बन्ध र इज्जतका भारीहरूमा म नयाँपन खोजिरहेछु।