पेसागत हिसाबले म एक कलेजमा अध्यापन गराउँछु। एक शुक्रबार हाम्रा विद्यार्थीहरूले आफ्नो भविष्यको रेखाचित्र कसरी चित्रण गरेका छन् र भविष्यको सपना कसरी बुनेका रहेछन् भनेर प्रत्येक जनालाई पालैपालो उठाएर सोधेँ।
एकजनाको उत्तर गम्भीर र नौलो लागेर म अडिएँ। उत्तर थियो, 'सर मलाई नेपालमै केही गरौं जस्तो लागेको थियो। यही माटोमा सेवा गरौं लागेको थियो तर बिहान बेलुका नै 'छोरा तैँले +२ सकेपछि विदेश जानुपर्छ भनेर यही मात्र कुरा हुन्छ। मैले उहाँहरूको इच्छाको लागि विदेश जानुपर्ने छ। मलाई नेपालमा नै आफ्नो परिचय र समाजमा नै केही गर्नुछ तर यो सपना मेरो पुग्ला जस्तो छैन। म अभिभावकको लागि भए पनि विदेश जानु छ।'
हिजोआज समाजमा यी र यस्ता खालका पारिवारिक दबाबले पनि समाजका कर्णधार युवाहरू विक्षिप्त बनेका छन्। विदेशलाई नै स्वर्ग ठानी देशमा भविष्य उज्वल हुन्छ भनेर सपना देखाउने अभिभावकहरू नै हिजोआज बाधक बन्दै गएका छन्। यस्ता निर्णयप्रति आफ्नै सकारात्मक र नकारात्मक सोच र अभिव्यक्तिका उपज हुन सक्छन्। कमसेकम, तपाईं हाम्रा नानीहरूलाई सङ्घर्ष जीवन कस्तो छ? एक रुपैयाँको मूल्य कमाउन कति पापड बेल्नुपर्छ, त्यो चाहिँ स्वेदेशमा सिकाउनु जरुरी छ कि नाई?
सिधैँ विदेशको नाममा खाल्डोमा हालिदिने? उठान गर्न खोजिएको बाध्यताले पलायन हुनुभन्दा पनि समाजको गलत रुढीवादी, मेरो छोराछोरी त फलानो देशमा छ भनेर लगाउने फुइको गलत धारणाको विकास मौलाउँदै गएको प्रति खबरदारी हो। के विदेश पैसाको रुपैयाँ फल्ने सहर होर जहाँ तपाईं हाम्रा छोराछोरी कहिले आइदिन्छन् र टिपुन भनेर फुलिरहेको छ? के तपाईंले सामाजिक सञ्जालमा देखेका समुन्द्र किनारमा खिचिएका सेल्फी मात्रको देश हो र विदेश?
एक अध्ययनले देखाएको छ, सयौं युवाहरू विदेशका ताता गल्लीहरूमा रोजगारी, भोक तथा पारिवारिक दबाबले विक्षिप्त भएर डिप्रेसनको शिकार बन्नुपरेको छ। उच्च शिक्षाको नाममा विदेशमा धकेलेर रातदिन काम गर्न लगाउन किन हाम्रो समाजका अभिभावक लागिपर्नु भएको छ? साँच्चै, उच्च शिक्षाको लागि नै पठाउने निधो गर्नुभएको हो भने पूरा समय पढ, खर्चको व्यवस्था नेपालबाट हुनेछ अनि उत्कृष्ट डिग्री लिएर आऊ, तिम्रो पूरा समय केवल पढाइको लागि मात्र होस् चाहिँ तपाईं हामी अभिभावकले किन भन्न नसकेको?
कलेजमा अध्ययनको समय केवल कानुनी रुपमा आवश्यक क्रेडिट समयदेखि हाम्रो एक दिन पनि बढी पाइएको चाहिँ खासै सुनिँदैन पनि। त्यहाँ पढ्नको लागि होइन, विद्यार्थी भिसाको कारण कलेज जाने गरिन्छ। यसको मुख्य कारण के तपाईं हामी अभिभावक हो कि होइन? आत्मनिर्भरको नाममा घरबाट चोक एक्लै निस्कन सक्दैन भन्ने छोराछोरी थाहा हुँदाहुँदै पछि विदेशमा कति बिजोग सहनुपर्ने र खप्नुपर्ने हुनसक्छ भन्ने हेक्का हामी अभिभावकले चाहिँ किन नराखेको?
फेरि विदेश नै जानु हुँदैन भन्ने पक्षमा नि मेरो विचार होइन। विदेश नै पठाउने भए केही सीप सिकाएर पठाए भोलि आत्मनिर्भर बन्न सहयोग मिल्छ कि भन्ने सोचको विकास हामीमा किन जागृति हुन नसकेको? त्यसैगरी धेरै विद्यार्थीहरू विदेशमा अनुकूल हुन नसकेर गाह्रो महसुस भएको दुखेसो पोख्दा त्यत्रो लगानी छ, अहिले किन फर्कने भनेर बस्न बाध्य बनाइन्छ। जसबाट अप्रिय घटनाहरू सुन्ने गरिन्छ। त्यस्तो खबरदारी उठान गर्न खोजिएको मात्र हो।
नेपालीहरू जाने धेरै देशहरू मध्ये अस्ट्रेलिया पनि हो। हाल अस्ट्रेलियाले पनि डिप्लोमा कोर्समा जाने युवाहरूको भिसा रिजेक्ट गरेको सुन्छु, स्वागतयोग्य निर्णय लाग्छ। एसइई वा +२ सकेपछि भन्दा स्नातक सकेर स्नातकोत्तर वा पिएचडीको कोर्सहरूमा उच्च दक्षता हासिल नै गर्न पठाइयो भने पनि ती युवाहरू परिपक्व र एक लेभलको क्षमता विकास गरिसक्थे र त्यहाँ जीवन जीउन सजिलो हुने थियो कि? अनि पछि नेपालमै आएर नयाँ टेक्नोलोजी, नयाँ सोचबाट समाजमा उद्यमशीलता विकास गरी समृद्धि देशको कल्पनामा कोशेढुंगा सावित हुने थियो कि?
फलानोको छोराछोरी विदेशमा छन्, मेरो चाहिँ किन नेपालमा बस्ने भन्ने व्यक्तिगत हटको सोच हिजोआज मौलाउँदै गएको छ। यो संस्कृतिको अन्त्य भई स्वदेशमा नै उद्यमशीलता विकास गरी समृद्धि नेपालको परिकल्पना निमार्ण होस्।