मलाई एकान्त प्रिय लाग्छ। केही खास दिनहरू बाहेकका अन्य दिनहरूमा म आफ्नै कोठाभित्र कैद रहन्छु। दिनभरि एउटा कोठामा थुनिएर बस्दा कस्तो पट्यार नलागेको भन्नेहरू धेरै हुनुन्छ। तर मलाई मेरो कोठाभित्र खुला आकाशमा पखेटा फिँजाएर उडे जत्तिकै स्वतन्त्रताको आभास हुन्छ।
टेबलमा चिटिक्क मिलाएर आफूलाई मन परेका एक/दुई थान किताब राखेकी छु। तिनै किताबहरू ओल्टाउनु, पल्टाउनु अनि सुम्सुम्याउनु मेरो दैनिकी हो। कलेजको झोला त बाध्यताले मात्र खुल्छ, त्यो पनि कहिलेकाहीँ। अन्य किताबहरूसँगको लगाव भने मैले कहिल्यै पनि घटाउन सकिनँ। यी किताबहरूसँग मेरा खास सम्झनाहरू जोडिएका छन्।
बारम्बार तिनै पुराना पानाहरू पल्टाइरहदाँ मैले धेरै पटक सुखका अनि दुःखका पलहरू भोगेकी छु। एउटै भोगाइ बारम्बार भोग्नुले मिठो नोस्टालजिया दिन्छ, चाहे त्यो भोगाइ तितो नै किन नहोस्। मलाई किताबका पात्रहरू जीवन्त लाग्न थालिसकेका छन्। मैले यिनै पात्रहरूसँग बाँच्न सिकिसकेकी छु।
शब्दहरू मलाई औधी मन पर्छन्। तर लेख्न चाहिँ त्यति सजिलो छैन मेरा लागि। शब्दहरू बुन्न असाध्यै गाह्रो। कहिलेकाहीँ त धेरै लामो समयसम्मै सम्बन्ध विच्छेद भैदिन्छ कलम र कापीको। तर लेख्ने हुटहुटी भने कहिल्यै मरेन। म एक ढिट पाठक हुँ र एक ढिट लेखक पनि। यतिसम्म ढिट कि पढ्दापढ्दै, लेख्दालेख्दै अर्को कोठामा बसेर कैयौँ घन्टासम्म एक्लै ढुनुमुनु गरिरहने मेरी आमासँग बोल्ने पनि फुर्सद हुँदैन मेरो।
टेबल र कुर्सीमा बसेर छोरी काम गरिरहेकी छे भने आमा पनि ढोकासम्म मात्र आइपुग्नु हुन्छ, विस्तारै चिहाउनुहुन्छ अनि सुस्तरी ढोका ढप्काएर फेरि आफ्नै कामतिर लाग्नुहुन्छ। कहिलेकाहीँ आमालाई चाहे जति समय दिन नपाएकोमा गिल्टी फिल नहुने हैन। तर एक्लै समय बिताउनु मेरा लागि गिल्टी प्लेजर बनिसक्यो।
मेरो यो स्वभावलाई आमाले राम्रोसँग बुझ्नुभएको छ। त्यसैले होला उहाँले चाहेर होस् या नचाहेर मेरो बानीप्रति कहिल्यै कुनै किसिमको गुनासो राख्नु भएन। आमाका लागि म केबल आमाकी छोरी मात्र भए पनि म समाजका लागि एउटी घुसघुसे केटी हुँ। प्रायः एक्लै समय बिताउने भएर होला, म अलि कम बोल्छु। मेरा लागि कम बोल्नु भनेको चाहिँदो बोल्नु भएता पनि अरुका लागि भने म एकलकाँटे र मेरो व्यवहार घोइरे हुनु हो।
आमा-बुवा घरमा हुनुहुन्न र घरमा कोही मान्छे टुप्लुक्कै आइपुग्ने हो भने मलाई फसाद परिहाल्छ। गफगाफको मेसो मिलाउन म ठ्याम्मै जान्दिनँ। लेख्न बस्दा त शब्दहरू अक्सर आफ्नो बाटो समातेर दौडिरहन्छन। तर कसैसँग कुराकानी गर्नुपर्यो भने मेरो मुख दही जमाएर बसे सरह टालिन्छ। स्टेजमाथि उक्लिएर बोल्नु मेरो मन पर्ने कुरामध्ये एकमा पर्छ। तर दोहोरो कुराकानी गर्न भने मैले कहिल्यै जानिनँ।
घर, व्यवहार, बालबच्चा, उनीहरूको पढाइ, सोध्नलाई त कत्ति कुरा हुन्छन्। मेरो मुखबाट फुत्किने केही हैन। आएका पाहुनाहरूलाई 'चिया पिएर जानुहोस् न' भन्ने समेत होस हुँदैन कहिलेकाहीँ । त्यसपछि त घुसघुसे केटीबाट म सोमत नभएकी केटीसम्म पुग्छु।
मेरो इन्ट्रोभर्ट नेचरले मलाई घुसघुसेको संज्ञा दिएको छ। सायद यो ट्याग मेरो गलामा कुनै विवाहित नारीको मङ्गलसुत्रजस्तै सधैंभरि झुन्डिरहनेछ। मनका कुरा जस्ताको त्यस्तै सुनाउन मिल्ने साथी भेट्दा भने अलि फुरुङ्ग पर्छु। मलाई सङ्गीत धेरै मनपर्छ। त्यसैले गीत मनपर्ने मानिससँग मेरो लय मिलिहाल्छ। मलाई पुस्तक औधि मनपर्छ। त्यसैले कसैले पुस्तकको चर्चा गर्छ भने ऊसँग मेरो कथा मिलिहाल्छ।
जीवनमा मैले धेरै कुराको बोझ बोकेर हिँडेकी छैन। सबैलाई रिझाउने भारी उचाल्न त संसारकै सबैभन्दा बलवान व्यक्तिले पनि नसक्ला। त्यसैले मैले त्यो पाटो नै रोजिनँ। परिवार र केही घनिष्ठ साथिहरूबीच मेरो दुनियाँ घुम्छ। यसो भन्दैमा म कहिल्यै पनि सम्बन्धहरूको अनादर गर्दिनँ।
मेरो कम बोल्ने बानीले मलाई र मेरो परिवारलाई भन्दा बढी त अरुलाई पोल्छ। 'छोरी मान्छे भएपछि त सर्वगुण सम्पन्न हुनुपर्छ नि। मिजासिली, हँसिली र मिठो बोलिवचन भएकी। छोरी मान्छेलाई घुसघुसे भएको अलि सुहाउन्न। मान्छेहरूले प्रश्न उठाउने बाटो पाउँछन्।'
मलाई 'छोरी मान्छे भएर' भन्ने वाक्यबाट सुरु भएका लवजहरू पटक्कै मन पर्दैनन। उसोभए अब हामीले बोल्ने, हाँस्नेजस्ता प्राकृतिक गुणहरूमा समेत लैङ्गिक विभेद लगेर जोडिदियौँ।
छोरी मान्छे भएरै पनि म फेरि नसुहाउने नै काम गरिदिन्छु। हतपत्त भान्सामा म छिर्दिनँ। कहिले कम्मरभन्दा लामो कपाल कानको लोति समेत देखिने गरी ठुट्याइदिन्छु। पारिवारिक जमघटहरूमा उपरखुट्टी लाएर बसिदिन्छु। पकाउनमा सघाउ-पघाउ गर्नु साटो बुवाहरूको राजनीतिक गफ सुनेर बसिदिन्छु, कम बोले पनि कुनै कुरा चित्त बुझ्यो भने म खित्का छोडेर हाँसिदिन्छु।
सुहाउने र नसुहाउने त हेर्नेहरूको दृष्टिकोणमा भर पर्ने कुरा हो। कसैले सुरुमा गुलाफको फूल देख्ला त कसैले काँडा।
जे होस, कम बोल्दैमा कोही घुसघुसे हुँदैनन्। कोही मानिसहरू अन्तर्मुखी होलान् त कोही बहिर्मुखी। समयसँगै मानिसका व्यवहारहरूले पनि बाटो मोड्छन्। कहिले, कुनबेला कस्तो व्यवहार देखाउने र कुन लुकाउने भन्ने कसैको हातमा हुँदैन। आज फरासिलो मान्छे भोलि कम बोल्न सक्छ। आज तपाईंले घुसघुसे भनेर जसको नामकरण गरिदिनुभयो, ऊ भोलि गएर तपाईं आफैलाई पट्यार लाग्ने गरी कुरा गर्ने भएर निस्किएला।
यो त केवल एउटा स्वभाव हो र स्वभावले मात्र कसैको चरित्र व्याख्या गर्न कदापि सक्दैन।