विदेश आउने पटक्कै रहर जागेको थिएन कहिल्यै किनकि मैले आफू अध्ययन गर्दै गर्दाको समयदेखि नै सानोतिनो जागिर गर्ने अवसर पाइसकेको थिएँ। कमाइको गणितलाई हिसाब नगरेरै भए पनि आफ्नो उद्यम, व्यवसाय, जागिर जे गरे पनि पाउने सन्तुष्टको अनुभूत गरिसकेको थिएँ।
घर छोड्ने रात, घरको माया, टीका एकांकीका मुख्य पात्र कमान सिंहको अवस्था। अनि उनकी बुढी आमाले पुनः विदेश नफर्किन गरेको आग्रह र दर्शाइएको उदाहरण। नेपाली चलचित्र मुगलान, यी र यस्ता विषयहरूमा देखाइएको चलचित्र, विषयवस्तु र प्रतिनिधि पात्रले साँच्चै त्यो स्थान र अवस्थामा विदेश लाग्नै लाग्दा एक पटक जो कोहीलाई पनि सोच्न बाध्य बनाउँछ, विदेश नआउनलाई। तर भावनामा डुबेर प्रतिस्पर्धात्मक समयमा जो कोहीलाई पनि संघर्ष र अलिकति जोखिम नमोली जीवन व्यवस्थित गर्न कहाँ सहज छ र?
त्यसो त स्वदेशमै पनि धेरै कोसिस नगरेको हैन। योग्यता, इच्छाशक्ति र अनुभवको कमि भएर अवसर पाइएन कि भन्ने कुराको आफैप्रति कहिल्यै पश्चाताप र ग्लानी थिएन। यति कुरा चाहिँ प्रस्ट थिएँ कि हिजोआज अलिक राम्रो र पायक पर्ने ठाउँमा जागिर र अवसर पाउनको लागि उक्त स्थानमा पकड राजनीतिक पार्टीको पछि लागेर जिन्दावाद र विपक्षी पार्टीको विरुद्ध मुर्दावाद भन्नैपर्ने रहेछ।
नेतृत्व गर्ने र निर्णायक बनेकाहरूको निमित्त जर्साबलाई झैँ चाकडीबाज देखाउन पर्ने अवस्था जो छ। तर आफैलाई कुनै पनि तरहले असक्षम र कमि छु भन्ने नलागेरै हो कि आफ्नो कमजोर पक्ष थाहा नभएरै हो, भेट हुँदा देखाउने सामान्य औपचारिकता बाहेक चाकडी र बिन्ती गर्नुपर्छ भन्ने यी र यस्ता कुरा मेरा मानसपटलमा कहिल्यै परेनन्, नैतिकताले दिएन।
गोपाल योन्जनले गीतमा भनेझैं- 'घोटिएर हातपाउ, झरी जाऊनु औंला तर कोही पराएसामु यी हात जोडिन्न' स्मरण हुन्थ्यो। अनि कुनै क्षणिक फाइदाको निमित्त सर्तहरू स्वीकार गरेर अवसर र सुविधाको याचना गरिएन। अनि जाग्यो हरियो पासपोर्ट बोकेर विदेश लाग्ने रहर र बाध्यता एकैसाथ।
मजस्ता कैयौं छन् रोजाइको सिलसिलामा विदेश पलायन हुनेहरू। परदेश लाग्नै लाग्दा गाउँघर, हरियाली वनपाखा, सम्पदा र बाटाहरू जब गाडीका बेगसँगै छुट्टिन थाल्छन्, त्यसपछि सुरु हुन्छ घरदेश र परदेशका आत्मीय र भावनात्मक तितो यथार्थ बोकेको कथा व्यथा।
विदेशको बसाइ अवधिभर लगभग आधा दर्जन जतिका दिन स्वदेशमा छुट्टीको समय व्यवस्थित गरेर पुनः विदेश लाग्नु पर्दाको समयले साह्रै मर्माहत बनाएको छ। घरको संघारबाट तल आँगनमा झोला बोकेर झर्नै लाग्दा परिवारका सबै सदस्यबाट केही वर्षको लागि छुट्टिनु पर्दाको पीडा, गहभरि आँसु बोकेर परिवारका सदस्यले बिदाइ गरेका हातहरू, साँच्चै साह्रै असह्य हुँदोरहेछ त्यो क्षण परदेशीका निमित्त।
परिवार तथा आफन्त सबैको स्नेह उत्तिकै भए पनि परिवारको सबैभन्दा सानो सदस्यको सबैभन्दा धेरै याद र माया हुँदो रहेछ। गत वर्ष झण्डै ३ महिनाको छुट्टी सकेर पुनः कर्मभूमितिर आउने क्रममा थिएँ। एयरपोर्टभित्र अध्यागमनको काम सकिओरी प्लेन उड्नलाई केही मिनेट मात्रै बाँकी थियो। घरमा फोन गरेर अवगत गराउन खोजेँ।
फोन उहीँ तीन वर्षको सानो छोरोले उठाएछ। बाहिरको आवाजले अलि प्रस्ट नसुनिएको हुनाले मोबाइलको स्पिकर लाउड बनाएँ अनि भनेँ- 'बाबु! बाबा जान लागेको है विदेश, राम्रोसँग बस्नु है।' जवाफमा 'हजुर कति बजे आउने घर?' भन्दा ओहो! बोली नै स्तबध बनाइदियो त्यो प्रश्नले।
सँगै छेउमा बस्नु भएको एकजना दिदी जो इजरायलको यात्रा तय गर्नु भएको थियो, स्पष्ट सुन्नु भएछ त्यो मासुम सवाल। अनि एकछिनपछि फोनमा कुरा सकेर त्यही प्रसंगलाई लिएर 'बच्चाहरूले कति धेरै आवश्यकता बोध गर्छन् है? छोटो समयमै, विदेश भनेको कसरी बुझुन् त्यति सानो उमेरमा' भन्दै हुनुहुन्थ्यो। किनकि उहाँको पनि कहानी लगभग मेरैजस्तै रहेछ।
यी त भए घरदेशका कुरा। परदेशका कुरा पनि केही हद उस्तै छ। तर एउटा सत्य कुरा यहाँ यो छ कि सीप र योग्यता भएकाहरूले ढिलो चाँडो राम्रै अवसर पाएका हुन्छन्। नेतृत्वदायी भूमिका लिएर कार्यसम्पादन गरिरहेका हुन्छन्। जिम्मेवारी र दायित्व निभाएअनुसार सुबिधा पाएका हुन्छन्। राजनीतिक अस्थिरता, महंगी, बेरोजगारी, गरिबीले आक्रान्त भएको देश, सबैको पहुँचमा रोजगार नहुनुको अवस्था, भौगोलिक सीमा विवाद, खस्किँदो अर्थतन्त्रजस्ता विषयहरू आफ्नो देशको जीवन्त समस्या बनिरहनुले थप सोचनीय र चिन्तित तुल्याउँछ हामी परदेशीलाई।
विदेशमा लामो समय गुजारिहँदा सुरुआती दिनहरूमा केही असहज र संघर्षमयपूर्ण रहे पनि अहिले केही सहजता छ। परदेशमा रहँदा कुनै पनि व्यक्तिले काम मात्रै सिकेको हुँदैन। उक्त देशको कार्यक्षेत्रमा पर्ने प्रविधि, व्यवस्थापन, तौरतरिका, अनुशासन, समयको महत्व सबैकुरा सिक्ने र बुझ्ने अवसर पाएका हुन्छन्। प्रतिकूल अवस्थामा साथ र सहयोग कसरी गर्न सकिन्छ एकअर्कामा भन्ने कुरा राम्रोसँग परिचित छन्।
बजारमा कुनै नयाँ टेक्नोलोजीको सामाग्री देख्दा त्यसको महत्व र सहजता बुझेर सामर्थ्य अनुसारको खरिद गर्न आँतुर हुन्छन्। अन्य देशका नागरिकभन्दा तुलनात्मक रुपमा काममा धेरै कर्तब्यनिष्ठ छन्। सुरक्षाको क्षेत्रमा नेपालीहरूको संख्या उल्लेखनीय छ। ठूला उद्योग, तेल र ग्यासको प्लान्टहरूमा पनि उस्तै छ। ट्रेनर, टेक्निसियन, सेफ्टी अफिसरदेखि प्रोजेक्ट लिडरसम्म बन्ने अवसर र सुबिधा पाएका छन्।
सम्बन्धित काममा सीप र दक्षता हुनेहरूले भौतारिनु पर्ने अवस्था छैन। तर नाम सुनेरै फलानो देश पो? भन्नेहरू कतिपयले बुझेकै हुँदैनन् वास्तविकता। ठूला अनि विकसित देशहरूमा जे गरे पनि राम्रो भन्ने अनि खाडीका देशमाहरूमा गरिने काम सबै नराम्रो होलान् भनेर गरिने सहज अनुमान र हेर्ने दृष्टिकोण चाहिँ फरक नै देखिन्छ स्वदेशमा नै।
काम र देशको मुद्रालाई डलरसँग दाँजेकै कारण हो ठूला देश र विकसित देशहरूमा जस्तो काम गर्न पनि पछि नपर्ने अनि साना देशहरूमा गरिने काम चाहिँ उपयुक्त नलाग्नु। कामलाई सम्मान गर्ने परिपाटीको विकास हुने हो भने सुरक्षित र सकारात्मक तरिकाले गरिने हरेक कामले कसैको आत्मसम्मानमा चोट पुर्याउँदैन।
देशको नेतृत्व पंक्तिमा रहेकाहरूले राजनीतिक माहोलअनुसार हामी हाम्रो देशका युवाहरूलाई आफ्नै देशमा रोजगार दिलाउँछौं, यही बस्ने वातावरण मिलाउँछौं भनेर भन्न कहिल्यै थाक्दैनन्। तर विडम्बनाको कुरो भवितव्य परेर अकालमै मृत्युवरण भएकाका समेत शव झिकाउन पीडित परिवार र आफन्तहरू महिनौं दिनसम्म समबन्धित व्यक्ति र सरोकारवाला निकायसँग हात जोडेर हारगुहार गर्न परेको कारुणीक र लज्जास्पद अवस्था छ।
एउटा निश्चित समय र उत्तरार्धपछि अन्ततः एउटा परदेशीको लागि आफ्नो मातृभूमि र घरपरिवारभन्दा ठूलो चिज कुनै हुनै सक्दैन। एउटा योजना र उद्देश्य बोकेर अन्ततः कहिल्यै फर्कन नपरोस्। जे गरे पनि स्वदेशमै गर्ने हो। विदेशमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने हो भन्ने चाहाना बोकेका हुन्छन। तर कतिपय अवस्थामा त्यस्ता सीप, प्रविधि र आर्थिक अवस्थाको कारण पूर्ण हुन पाउँदैनन्।
त्यस्तो अवस्थामा देशका विभिन्न संचारका माध्यमहरूबाट कुन ठाउँमा कस्तो किसिमको जनशक्तिको आवश्यकता छ, कस्तो सीप कुन स्थानको लागि अपरिहार्य छ, सीपको सदुपयोग हुने उद्योग, व्यवसाय उत्पादित वस्तुको बजार व्यवस्थापनको बारेमा जानकारी दिन सकियो भने मात्रै पनि स्वदेशमै केही गरौं भन्नेहरूको लागि गतिलो अवसर बन्न सक्दछ।
पूर्व मिस नेपाल बिजेता सुगारिका केसीले संचालन गरेको विदेशमा रहेका युवाहरूको लागि लक्षित 'नेपाल फर्केपछि भन्ने कार्यक्रम' अति नै उपयुक्त लाग्छ। सोच र जाँगर भएकाहरूको लागि यथेष्ट मार्ग निर्देशन गरेको देखिन्छ उक्त कार्यक्रममा। कुनै पनि व्यवसाय गर्दा कसरी गर्ने? आवश्यक लगानी कति रहने? उत्पादित वस्तुको माग र बजार व्यवस्थापन कस्तो रहेको छ भन्ने बारेमा प्रष्ट तरिकाले दिइएको छ।
यस्ता कार्यक्रमले स्वदेशमै केही गर्ने चाहना हुनेहरूको लागि उत्प्रेरणा दिइएको छ। मञ्चको अगाडि उभिएर ठूलो स्वरले खोक्रा भाषण गर्नेहरूले भन्दा व्यवहार उपयोगी ज्ञान र हौसला दिने यस्ता कार्यक्रम जीवनका लागि सार्थक बन्न सक्छ्न।
अन्ततः एउटा जोश र अभिलाषा बोकेर स्थायी रुपमा स्वदेश फर्केको व्यक्ति अवसर र नैराश्यताको कारण पुनः विदेश पलायन हुने सोच कहिल्यै कसैको नबनोस्। राज्यले सीप र दक्षताका आधारमा पहिचान गरी स्थान र अवसर दिने ग्यारेन्टी गर्न सके परिस्थितिले विदेशिनु परे पनि लाखौंको संख्यामा वैदेशिक रोजगारका लागि पलायन भएकाहरू रहरले आफ्नो देश फर्कन सक्ने वातावरण बन्ने थियो। उर्जाशील समय र नवीनतम सोचका साथ नयाँ आयाम आउने थियो।