बोल्न पनि नपाइने, इशारा गर्न पनि नपाइने! हाँस्न पनि नपाइने, आँखामा आँखा जुधाउन पनि नपाइने। पूर्णरूपमा आर्य मौनको पालना गर्नुपर्ने, त्यो पनि एक दिन हैन, दुई दिन हैन, १० दिनसम्म!
विपश्यना ध्यान गर्न जाँदाको व्यक्तिगत अनुभूति साँट्न यो लेख लेखिएको हो।
वि.सं. २०७१ साल भदौमा पहिलोपटक म विपश्यना ध्यान गर्न गएकी थिएँ। पहिलो अनुभव अनि पहिलो अनुभूति। त्यो समयमा पनि मलाई विपश्यना मन नपरेको हैन तर अहिले दोस्रो पटकको अनुभूति पहिलोपटकको भन्दा बिल्कुलै फरक रहन गयो।
भनिन्छ नि, सधैं एउटै बाटोमा हिँडे पनि हरेक पाइलाहरूले फरक-फरक छापहरू। छोड्छन् नै। विपश्यना ध्यान पनि मेरा लागि यस्तै भयो।
लामो समयदेखि योजना बनाइरहेकी थिएँ। तर समयले साथ दिएको थिएन। यो कोलाहलपूर्ण अनि हुलमुल व्यस्त जीवनशैलीले अत्तालिरहेकी थिएँ। हदै भयो, सबै काम कुरो छाडेर विपश्यनाको फारम भरें।
असार मसान्त अर्थात् जुलाई १४ तारिखका लागि समय जुर्यो। व्यस्त जीवनलाई व्यवस्थापन गर्दै यत्तिका मानिस विपश्यना ध्यान शिविरमा सहभागी हुने रहेछन्। त्यसैले पालो कुर्नुपर्ने रहेछ। सुरूमा त मानिसहरू फुर्सदिला हुन् कि जस्तो लाग्यो। तर आफैं त्यो लाममा मिस्सिएपछि भने मजस्तै समय मिलाएका होलान् भन्ने ठानें।
बूढानीलकण्ठमा अवस्थित धर्मश्रृङ्ग केन्द्रमा पुग्दा साढे १ बजिसकेको थियो। साधक साधिकाहरू मोबाइल, पैसा, एटिएमलगायत अन्य महत्वपूर्ण सामग्री लकरमा बुझाउने तरखर गरे। मैले पनि परिवारका सदस्यलाई फोन गरें र मोबाइल फोन अफ गरेर काउन्टरको जिम्मामा छाडिदिएँ।
सञ्चारको सबभन्दा महत्वपूर्ण माध्यम मोबाइल फोन। त्यही साथमा नभएपछि संसारसँग अलग भइहालियो। छिनछिनमा मोबाइल छामिरहनुपर्ने, बिना काम खिटिखिटी चलाइरहनुपर्ने त्यो मोबाइल फोन भन्ने भाँडो आफूबाट अलग राख्नु कम हिम्मतिलो काम हैन।
म उसै पनि प्रकृतिप्रेमी। शिवपुरी राष्ट्रिय निकुञ्जसँगै टाँसिएर बसेको विपश्यना ध्यान साधना केन्द्र उर्फ धर्मश्रृङ्गले आकर्षित नगर्ने कुरै भएन।
शिवपुरी निकुञ्जभित्र हाइकिङ गर्दा मेरा आँखा सधैं धर्मश्रृङ्गलाई अनौठो गरी घुरेर जान्थे। त्यहीँ मेरो जीवनका १३ दिन बिताउँदै थिएँ। मख्ख नपर्ने कुरै भएन।
त्यहाँ पुगेको दिनलाई शून्य दिन भनिन्छ। बेलुकी ६ बजे खाना गहुँको दलिया र चनाको झोल थियो।
खानापछि एक घण्टा साधकहरूलाई त्यहाँ रहँदा बस्दाका नियमहरू सुनाइन्छ। नयाँ साधकलाई पञ्चशील पालना गर्न लगाइन्छ भने पुराना साधकहरूलाई तीनशील अष्टशीलबारे सिकाइन्छ। त्यहाँको नियम पालना गर्न नसक्ने हो भने सुरू नहुँदै छाडेर जान समेत भनिन्छ।
महिला संख्या ७५ जना र पुरूष संख्या ७५। रातिको सात बजे सबै धम्म हलमा आ-आफ्नो आसनमा बस्नुपर्ने हुन्छ। त्यसै बेला आनापनको कार्यक्रम सुरू हुन्छ। विपश्यनाको तीन चरण मध्येको आनापान पहिलो चरण हो।
सामूहिक बन्दना गर्दै आनापान सुरू हुन्छ। यसमा नाकबाट स्वास तान्दै छोड्दै स्वाभाविक स्वासद्वारा त्यो स्वास माथिल्लो ओठको जुङ्गा आउने भागमा नाकद्वारको त्रिकोणमा श्वासप्रश्वासको प्रतिक्रियालाई ध्यान दिने विधि हो। यसले ध्यान अन्त भड्किन दिँदैन। भड्किए फेरि लामो स्वास तानेर यो पक्रिया सुरूदेखि थाल्नुपर्छ। जसले गर्दा मन एकाग्रता हुन थाल्दछ।
पहिलो दिवस।
बिहान ४ बजे ठूलो घण्टीको आवाज आउँछ, ट्वाँग्ग ट्वाँग्ग। चिसो वातावरणमा न्यानो र मिठो निन्द्राले च्यापेको बेला उठ्न गारै लाग्ने तै पनि उठ्नै पर्याे। उठ्न थोरै ढिला भयो कि स्वयंसेवामा खटिएका धम्म सेविकाहरू ढोका ढकढक वा बिछ्यौना हल्लाउन आइहाल्छन्।
फ्रेस हुन जाँदा अन्य साधिकाहरूसँग जम्काभेट हुन्छ। बोल्न बानी लागेको मानिस, गुड मर्निङ भन्न खोजिहाल्छ। तर कण्ठमा आएको आवाज रोकेर मुन्टो बटारेर हिँड्नुपर्छ।
पहिलोपटक ८ वर्षअघि आउँदाको नीतिनियम सबै उस्तै थियो। तर त्यहाँको वातावरण भने केही परिवर्तन भएछ। चार तलामाथि एक हलमा नौ जना साधिका बसेका थियौं पहिले। अस्पतालका बेड जस्ता ओछ्यान थिए। अहिले त पूरै परिवर्तन भएछ। एट्याच बाथरूम भएको कोठामा एक्लै।
समयमै उठे पनि धम्म हलमा जान जहिल्यै हतार। म पुग्दा आधा साधिकाले आशनग्रहण गरिसकेका थिए।
धम्म सेविकाले मेरो आसनतर्फ इसारा गरिन्। मूल ढोकाबाट पस्दापस्दैको पहिलो अर्थात् इ९ मेरो सिट थियो। घुँडामा समस्या भएकाले म पछाडि थिएँ।
हिजो राति नै गुरू सत्यनारायण गोयन्काज्यूबाट दिवस १ मा गर्ने ध्यान आनपानको विधि ध्यान जारी नै रह्यो। गुरूज्यूको भारी आवाजको मन्त्र उच्चारणसहितको भवतु सब्ब मंगलको प्रतीक्षा सुरू भयो। त्यो समय पनि आयो, साधक साधिकाहरू साधु साधु साधु भन्दै बसेको ठाउँबाट खुट्टा पसार्न थाले। कोही हतारिँदै भोजनालयतिर दगुरे। म पनि त्यही हुलमा मिस्सिएँ बिहानको जलपान गर्न।
जलपानपछि केही समय आरामका लागि छुट्याइन्छ। जसमा नुहाउने, लुगा धुने काम हुन्छ। कोही भने हरिया घाँसहरूमा खाली खुट्टाले हिँड्छन्।
आठ बजेबाट फेरि धम्म हलमा सामूहिक ध्यान हुन्छ। एक एक घण्टामा घण्टीको सूचनाद्वारा ५ मिनेटको पानी पिउने र पिसाब गर्ने सानो समय पाइन्छ। बाँकी समय आफैंलाई ध्यानकाे लागि दिन पाइन्छ।
आफूले आफैंसँग पनि गफ गर्न पाइँदैन। तर जिद्दी मन, जबर्जस्ती एक अर्कासँग गफिन थालिहाल्छ। मनलाई लगाम लगाउनु जत्तिको कठिन काम केही हैन रहेछ।
कहिले देश त कहिले विदेश। वर्षौंदेखि भुलेका अनुहारदेखि यहाँबाट गएपछि के गर्ने भन्नेसम्मका योजना।
फिल्मका खित्का छुटाउने दृष्यदेखि आफन्त वियोगसम्मका घटना। जति यी कुरालाई हटाउन खोज्यो, मन झनै मच्चीमच्ची यी कुराहरू सुनाइरहन्छ, देखाइरहन्छ। पुराना कुराहरू बल्झाइरहन्छ।
हजारौं लाखौं पटक भड्केको मन र चित्तलाई घोक्रेठ्याक लाउदै ठाउँमा ल्याइरहन पर्ने। अत्ति भएपछि झ्याउ पनि लाग्ने। कतिखेर घण्टी बज्ला भन्नेतिर ध्यान गइरहने।
ध्यानमा बस्दा मेरो मात्रै हैन, सायद प्रायः साधकको ध्यान गुरूको भवतु सब्ब मंगल भन्नेतिर गइरहन्छ होला। यो आवाजसँग छुट्टै लगाव हुन्छ। मन खुसी हुन्छ। किनभने यो आवाजको अन्तसँगै खाना खाने समय आउँछ, विश्राम गर्ने समय आउँछ।
बिहान ११ बजे खानाको लागि घण्टी लाग्छ। खानामा मधुरो नुन, चिल्लो अमिलो पिरो मसला रहितको उसिनेको जस्तै खाना दिइन्छ। पुराना साधक साधिकाहरूलाई १२ बजेपछि भोजन दिँदैनन्। बिहानको खानापछि एकैचोटि बिहानको जलपान हो। बेलुकी ५ बजे कागती पानी भने दिन्छन्। नयाँ साधक साधिकाहरूले भने ५ बजे अलिकति भूजा, दूध वा चिया र एक दुई टुक्रा फल खान पाउँछन्।
६ बजेदेखि ७ बजेसम्म फेरि साधना ७ बजेदेखि ८ः४५ सम्म गुरू गोयन्का ज्यूको भिडिओमार्फत् प्रवचन।
८ः४५ देखि ९ बजेसम्म साधना। यदि केही जिज्ञासा, प्रश्न छन् भने दिउँसोको १२ र १ बजेको समयभित्र र ९ बजेको रात्रिकालीन विश्राम समयमा धम्म हलमा आ-आफ्ना आचार्यसित सानो स्वरमा मनका उठेका जिज्ञासा सोध्न पाइन्छ। छैन भने आ-आफ्नो विश्राम गृहतिर लाग्ने र आनन्दले सुत्ने।
बाँकी दिनको तालिका पनि यही हो।
शून्यगारमा पहिलो पटक पुग्दा हल्का मनमनै अत्यास लाग्यो। बाहिरी आवरणमा त्यो सुनजस्तै पहेंलो टल्किने गुम्बाभित्रको सा-सानो खोपीहरूलाई शून्यगार भनिने रहेछ। त्यहाँभित्र पुगेपछि मनले भन्यो ‘अबुई कसरी यस्तो अनाकन्टारमा बसेर ध्यान गर्ने।’
एकछिन नियाल्छु, भित्र त निस्पट्ट अँध्यारो पो छ। भित्ताको माथिल्लो भागमा एउटा सानो हावा छिर्ने पाइपको प्वालमात्रै रहेछ। ६ फिट लम्बाइ र ३ फिट चौडाइको थियो त्यो गुफा। अझ फलामे ढोका पनि लाउनु पर्ने।
आँखाले केही देखेन। धम्म सेविकाले मधुरो बत्तीको स्विच अन गरिन्। एक आसन देखें, मन केही धन्य भयो। पलेंटी कसेर बसें बत्ती अफ भयो।
शून्यगारमा ध्यान राम्रोसित लागेको अनुभूति भयो। एक घण्टापछि लागेको त्यो ट्ङि घण्टी, यति कर्णप्रिय थियो कि कुरै छाडौं। त्यस्तो सास फेर्न गाह्रो हुने कुनाबाट बाहिरी खुला संसारमा निस्कने आवाज थियो त्यो। १ घण्टापछि शून्यगारबाट बाहिर निस्कन पाउँदा मन चङ्गा भयो।
माथि गुम्बाको शून्यगारबाट निस्कँदा पानी परेर टलटल घाम लागेको थियो। सफा भएर खुलेको मौसम अनि आकाश मुनिको त्यो सुन्दर काठमाडौं। आखिर म स्वर्ग मै त छु।
चौथो दिवसको दिन अचम्मै भयो।
दिउँसोबाट दोस्रो चरणको विपश्यना साधना विधि सुरू हुनुभन्दा पूर्व विपश्यनाको लागि बन्दना गोयन्का गुरूले बोलेपछि साधक साधिकाहरूबाट पनि सोही बन्दना गरिन्छ। त्यस बन्दनाको क्रममा म भनभावुक हुन पुगेछु। पत्तै भएन अश्रु धारा बग्न थालेछन्।
रोक्नको लागि कति प्रयास गरे सकिनँ। झन् झन् हिक्का छुट्न थाल्यो। अविरल अश्रुधाराले मेरा घाँटी र छातीका भागहरू भिजेछन्। निकै गाह्रो भयो। मेरो कारणले अरूको ध्यान भङ्ग नहोस् भन्ने चेत थियो त्यसैले चिम्लिएको आँखा खोलें। बल्ल आफूलाई सम्हाल्न सकें।
बेलाबेलामा सबैको मन अतालिनु स्वाभाविक हुन्छ नै। तर मेरो मन पहिलोपटकको विपश्यना भन्दा यसपालि निकै स्थिर र दृढ भएको बोध भयो।
मैले यस्ता अरू पनि ध्यान विधिहरू सिकेकी थिएँ। यो कुरा फारम भर्दा नै उल्लेख पनि गरिएको थियो। सह आचार्य गुरू आमाले मलाई बेलाबेलामा बोलाएर कतै मिश्रित गरेको त छैनौ? भनेर सोध्ने र सचेत गराउने गरिहरनुभएको थियो।
शिविरको १० औं दिवस। बिहानको ९ बजेपछि मंगल मैत्री प्रार्थनाबाट सबैको कल्याण होस् भन्ने कामना गरिन्छ। अनि १० बज्छ।
दशौं दिन बजेको बिहानको दश बजेपछि मानिस बोल्न पाउँदा कतिधेरै खुसी हुन्छ भन्ने कुरा अनुभव गर्न पाइन्छ।
धम्म हलको प्राङ्गणमा आर्य मौन भंग भएको घोषणासँग हाँसोका फोहोरा छुट्छन्। दिनदिनै देखेको तर नबोलेका मानिसहरू बोल्ने बाहना खोज्दै मुस्कुराउँछन्। एकैछिनमा समूह बन्न थाल्छ। केही दिन सँगै देखेका मानिसहरू वर्षौंदेखिका परिचित जस्ता लाग्न थाल्छन्।
साधनाको क्रममा मेरो छेउमा रहने दुई महिलाहरू आर्यमौन भंग गरिरहन्थे। उनीहरूको गुनगुनाहटले मलाई ध्यानमा बाधा पुगिरहन्थ्यो। झ्याउ लाग्थ्यो, झर्को लाग्थ्यो। तर खै किन, बोली फुटेको दिन ती दुई महिलाहरूप्रति निकै करूणाभाव पलायो। मैत्रीपूर्ण भावले नमस्कार पनि गरें। आफैं देखेर आफैंलाई अचम्म लाग्यो, सायद विपश्यनाकाे करामत हाेला।
१० औं दिन आज साधना गर्नेहरूले सकेको दान दिने परम्परा छ। त्यही साधक साधिकाहरूले दिएको दान दक्षिणाबाट अर्काे आउने साधकहरूका लागि भोजन खर्च चल्ने रहेछ। त्यहाँ कुनै मूल्य तोकिँदैन आफ्नो स्व– इच्छाले सकेको सबैले दान दिइयो।
अनि दिनभरि मंगल मैत्रीपूर्ण साधना चलिरह्यो। भोलिपल्ट पनि ४ः३० बजेको बिहानै एक घण्टाको साधनापछि घरमा कसरी कति पटकसम्म साधना गर्ने भन्नेबारे गुरू सत्यनारायण गोयन्काको १ घण्टा प्रवचन हुन्छ।
६ः३०बजे शिविर सकिएको घोषणाले सबै घर जान हतारिन्छन्। खाजा खाएर सबै, शिविर मैत्रीपूर्ण भावबाट ओतप्रोत भएर बिदा हुन्छन्।
१३ दिनदेखि विछोडिएको मोबाइल फोन हात लाग्छ। क कस्को फोन आइसक्यो होला, के भइसक्यो होला। हतारमा मोबाइलको स्वीच अन गरिन्छ। देशमा के कस्ता घटना घटे होलान्, कतै देशको राजनीति नै कायापलट पो भो कि! अनेकन जिज्ञासासँगै आफन्त भेट्ने हुटहुटी चल्छ। एकान्तवासबाट फेरि उही हुलमुल, उही धुवाँ धुलो अनि उस्तै व्यस्तता। जीवन पुरानै लयमा फर्किहाल्छ।
तर कानमा भने गुन्जिरहन्छ गोयन्काज्यूको भबतु सब्ब मंगल। यत्तिकै मनबाट आवाज आउँछ, साधु साधु साधु।