बिहान करिब ६ बज्न बज्न लागेको थियो। रेडियो खोलें। स्थानीय रेडियोको वेभ मिलाएँ। रेडियोमा एक विधुरका लागि सुशील र इमानदार ‘सारथी’को माग थियो।
सुन्ने बित्तिकै नमजा लाग्यो। परिवारमा कोही रैनछन् कि?, कि भएर पनि एक्लेै खानुपर्ने बाध्यता परेछ!
एउटै मन पनि दुईतिर विभक्त भो। एउटै कुरा। कहिले ठिक मान्दिने त, कहिले तर्क वितर्कले काटिदिने। ‘यो मनमा पनि राजै भो।’
तरकारी केलाउने काम सँगसँगै पानी पिउदै थिएँ। पिउँदै गरेको पानीको गिलास भुइँमै राखें। तरकारी भने केलाइ नै रहेें।
रेडियो पनि बजिरहेकै थियो। रेडियोतिर ध्यान थिएन मेरो। रेडियो बजिरह्यो, फगत फतफताइरह्यो।
ताजा खबर सुन्न मन पराउने म, खबरप्रति चासो गएन। मनभित्र अनेकन कुराहरू तछाडमछाड गरिरहे।
मनमनै सोच्न थालें।
एक सुशील र इमानदार 'सारथी' खोज्ने... ‘ती विधुर को होलान्? उनका परिवारमा को को होलान्? उनको अवस्था कस्तो छ? पत्नीलाई के भो? वा, भएर मरेर गइन्?
एउटै विज्ञापन सुनेका आधारमा बनेका म भित्रका अनुत्तरित प्रश्नहरू। कौतुहलता बढ्यो। यिनै कौतुहलताबीच म घोत्लिरहें। हात चलिरहेका थिए। मेरो काम जारी नै रह्यो।
केही महिनाअघि एक विधुरलाई बाटोमा भेटेकी थिएँ। बजारबाट आफ्ना लागि खानेकुरा किनेर फर्कंदै गर्दा।
भारतीय सेनामा रहँदादेखि काजु, किसमिस, बदाम र ओखर खाने बानी अहिलेसम्मै परेछ।
टटन्टलापुर घाम। गर्मिलो समय। रूखको छहारी पारेर बसिरहेको बेला म पनि सोही बाटो पार गर्दै अघि बढ्न के थालेकी थिएँ।
‘ए ...नानी’ को आवाजले म टक्क रोकिएँ।
मेरो बुवाको जतिको उमेर थियो उहाँको। यताउता हिँडडुलका क्रममा कहिलेकाहीँ भेट हुने उहाँसँग भने अहिलेसम्म दोहोरो कुराकानी भने भएको थिएन।
रूखको छहारी पारेर बस्नु भएका उहाँलाई मैले सञ्चो विसञ्चो सोध्न थालें। बुवाको उमेरका जस्तो देखिने उहाँसँगै केही सञ्चो बिसञ्चो र पारिवारिक कुरा भए।
‘मनको बह, कस्लाई कहुँ’ भने झैं सुरूका कुराकानीमा निकै खुसी देखिनुभएका उहाँले छोरा, बुहारी, नाति, नातिनाका बारेमा रमेर कुरा गर्नुभयो। उत्साहित बन्दै उनीहरूका प्रशंसा र बखान गर्नुभो।
हामीबीच जति संवाद लम्बिँदै गए पछिपछि भने निराशा र पारिवारिक उल्झनका भाव झल्किन थाले।
कुराकानीमै उहाँका मनभित्रका पीडा र पारिवारिक जीवनको भोगाइ महसुस गर्न खासै समय लागेन।
उहाँका कुरा सुन्दा लाग्यो एकल पुरूषको जीवन पनि सहज रहेनछ। दुखदायी र पीडादायी पनि। घर, सम्पत्ति, छोरा, छोरी, नाति, नातिना सबथोक भएर पनि उहाँमा सन्तोष देखिएन।
उहाँले एउटा गह्रुंगो भारी बिसाउँ भन्नुभयो।
मैले भन्नु न भनें, ‘बुहारीले ममाथि दुर्व्यवहारको आरोप लगाइछन्। त्यो कुरा छोराले मलाई सुनायो। एउटै परिवारमा सँगै बसेर, यस्तो भएपछि कसरी जिउने वातावरण बन्ला र?’ उहाँले प्रश्न गर्नुभयो।
म अनुत्तरित भएँ। चुपचाप बसिरहें। सुनिरहें।
उहाँले भन्नुभयो, ‘यौन दुर्व्यवहार जस्ता आरोप लागेपछि अब छुट्टै बस्ने निधो गरें। एकल महिला सँगै मिलेर नयाँ घरजम गर्ने इच्छा छ। छोरी सरह माया दिएँ। बुहारीको दर्जामा राखिनँ उनलाई। घर व्यवहार सुम्पें। आज म अर्गेल्याईं बनें’ उहाँका गुनासासहित पीडाभाव पोखिए।
पटक पटक आँखाको डिलडिलसम्म आँसुका ढिका आउँथे।
फेरि त्यसलाई उहाँले आँखामै भिजाउनुहुन्थ्यो। बलजफ्ती नियन्त्रणमा लिई आँखाभित्रै अड्याउनुभयो।
आँखाको डिलडिलमा आएका आँसुका ढिका खस्नै दिनु भएन। भरिएर पोखिन खोज्ने आँसुलाई उहाँले निकै सम्हाल्दै फेरि आँखाभित्रै राखेको मैले त्यसलाई निहालिरहें।
महिला मात्र होइनन्। यहाँ पुरूषहरू पनि पीडामा हुँदा रहेछन्। पुरूषलाई पनि आरोप लाग्दो रहेछ। पुरूषको पनि आँसु बग्दो रहेछ। मन कमलो हुँदोरहेछ। पुरूष पनि रूँदा रहेछन्। पुरूष भन्ने बित्तिकै हाम्रो मानसपटलमा भरिने पुरूषवादी चिन्तन त्यस्तो रहेनछ। हामीलाई सिकाइएको पुरूष भनेका महिलाका तुलनामा कठोर हुन्छन्। फटाहा हुन्। जाली हुन्। जे पनि गर्छन्। तर, त्यस्तो होइन रहेछ।
सम्पत्ति भएर पनि केही हुने रैनछ। भारतीय सेनाका हवल्दारबाट निवृत्त उहाँ। उमेरले झण्डै सत्तरी पुगेका। मासिक ५० हजारभन्दा बढी पेन्सन नै। पैत्तृक सम्पत्ति पनि राम्रै छ। हेर्दा हट्टाकट्टा। लवाई, खुवाई र बोलाइमा पनि उत्तिकै फूर्तिला।
‘पत्नी साथमा छँदा यही परिवारले दिने माया, ममता र सम्मान हिजोआज घटेको छ,’ उहाँ भन्दै हुनुहुन्थ्यो। उहाँको श्रीमतीको पाठेघरको क्यान्सरका कारण मृत्यु भएको रहेछ।
‘खाना, खाजा, आराम र सरसफाइमा समेत कम चासो र बेवास्ता हुँदै गएको छ मेरो। दिन त जेनतेन कट्छ, यताउति डुलेरै। तर, साँझ, बिहान र रात कटाउनै मुश्किल पर्छ’, लामो सुस्केरासहित उहाँले भन्नुभयो, ‘मैले भनेको भनेर फेरि नभन्नु नि, फेरि घरमा बास पनि नपाइएला भन्ने डर।’
सञ्चो बिसञ्चो मात्र सोध्न मन लागेर कुरा गरेकी थिएँ। कुराकानीकै क्रममा उहाँका पीडा र ब्यथा उर्लंदो खहरेझैं पोखिए।
उहाँ भन्दै हुनुहुन्थ्यो। म सुन्दै थिएँ। उहाँका पीडालाई कम बनाउन मैले भनेका केही शब्दहरूले उहाँलाई निकै ढाडस पुगेछ क्या हो। उहाँ त आफ्नो जीवन कहानी नै सुनाउन थाल्नु भो।
***
सानो उमेरमा एकल बनेकी महिलाले आफ्नै घर सम्हालेर बसेका हुन्छन्। हाम्रा समाजमा अझ पनि बालबिधवा छन्।
उनीहरूलाई पतिसँगको सम्बन्ध पनि थाहै छैन। तर, पनि उनीहरूले घर सम्हालेरै बसेको भेटिन्छन्।
एकल पुरूषलाई भने त्यो सहजता हुँदोरहेनछ। किनमेल, खाना, सफासुग्धर लगायतका घरभित्रका नियमित काम गर्न समेत असहज।
पत्नीको पूर्ण रेखदेख र संरक्षण पाएर होला आफ्नै नियमित काम गर्न पनि कठिन बनेको।
महिलाहरू त बरू आफ्ना पीरब्यथा रोएर वा सुनाएरै भए पनि व्यक्त गर्छन्। तर, पुरूषमा भने त्यो शक्ति हुँदैन। यो महिलाले प्राप्त गर्ने यो प्राकृतिक शक्ति हो। महिलाहरू समस्या पर्दा खुलेर रूने र मन शान्त बनाएर फेरि भुल्ने। पुरूषले चाहेर पनि यो गर्नै नसक्ने हुँदा रहेछन्।
हुन त, हाम्रो समाज पत्नी मरेर दु:खमा बसेदेखि नै केटी खोज्ने चलन छ। कसले खाना पकाएर खान दिन्छ?, कस्ले लुगा धोइदिन्छ? कस्ले घरसफा गरिदिन्छ? भन्दै पत्नीवियोगको १३ दिनपछि नै बिहेकै लेखाजोखा गरिन्छ।
तर सबै विधुरले बिहे गरेका हुँदैनन्। धेरै विधुरले एक्लै जीवन बिताउन सक्दैनन्।
कमाउँदै गरेको पति मरेर गएको पीडासँगै लालाबाला, परिवार, इष्टमित्रलाई सम्हाल्दै गृहस्थी चलाएका हुन्छन्। परिवार भत्कन दिँदैनन्। सम्हालेका हुन्छन्। केही अपवादबाहेक।
तर, पुरूषमा भने यस्तो भेटिँदैन। जब, पत्नीको साथ छुट्छ। उनीहरू एक्लो महसुस गर्छन्। ‘थाक्रो बिनाको लहरे बाली जस्तो’ शायद, हरेक कुरा पत्नीकै आड र भरोसा पाएरै होला। विरलै पुरूष होलान् पत्नी मरेपछि बिहे नगरी बस्ने। अधिकांश विधुरले भने बिहे गरेकै हुन्छन्।
२०६८ सालको राष्ट्रिय जनगणनामा एकल महिलाको पनि तथ्यांक समावेश गरियो। कुल विवाहितमध्ये ६ दशमलव ७ प्रतिशत विधवा रहेछन। कुल विवाहित पुरूषमध्ये २ दशमलव ७ प्रतिशत विधुर रहेछन्।
तर, रेडियोमा माग गरे बमोजिमको विधुरले एक इमान्दार र सुशील ‘सारथी’ भने पाउलान् कि नपाउलान्!