केही समयअघि म घर छेउको डिपार्टमेन्टल स्टोरमा गएकी थिएँ। मलाई चाहिएका केही सामानहरू किनेर झोलामा हाली घर फर्किएँ।
घर आएर झोलाबाट एक-एक सामान निकाल्दै टेबुलमा राखेँ। दुईटा काजुको प्याकेट थिए। केही असामान्यजस्तो लागेर उठाएर हेरेँ, झट्ट हेर्दा केही देखिँदैन थियो। तर प्याकेटभित्र केही चलमलाएको जस्तो देखियो। नियालेर हेर्दा किरा रहेछ, काजुकै रंगको सेता किरा।
मलाई विश्वासै भएन। अर्को प्याकेट पनि हेरेँ त्यसमा पनि त्यस्तै किरा रहेछन्। म तुरुन्तै स्टोरमा गएर काउन्टरका कर्मचारीलाई भनेँ। उनीहरूले बेवास्ता गर्न खोजे। यो त सामान्य नै हो जस्तो गरे।
मैले जिद्दी गरेपछि यो त हाम्रो स्टोरबाट लगेकै होइन भन्न थाले। मैले प्याकेट ओल्टाइपल्टाई हेरेँ, त्यसमा हातैले मूल्य लेखिएको सानो स्टिकर बाहेक केही पनि टाँसेको रहेनछ।
मैले जाबो दुई/चार सय रुपैयाँको लागि बेइमानी गर्छौ भने ठिकै छ भनेपछि 'हामीसँग यस्तै छ, नलिने भए नलिनुस् त' भनेर पैसा फिर्ता गरे।
चल्तिको स्टोरको यस्तो बेथिति र कर्मचारीको व्यवहारबाट म खिन्न भएँ।
हुन त हाम्रा वरिपरि थुप्रै बेथिति छन्। तर बेथिति छन् भन्दैमा कति सहेर बस्ने? कहिलेसम्म नबोल्ने? फेरि गुनसो गरौं कोसँग ?
सहरका चम्किला स्टोर्समा मात्र होइन, गाउँघरतिर पनि तैयारी खाना पसिसकेको छ। पहिले पहिलेजस्तो गाउँको उत्पादन भनेर आँखा चिम्लेर खान सकिने अवस्था अहिले छैन। हाम्रो घरपरिवार सबै दुषित खानाको उच्च जोखिममा छ।
विषादीयुक्त तरकारी, रसायनयुक्त खानेकुरा नभएको पसल भेटाउन सकिँदैन। जैविक खानेकुरा मुस्किलले फेला पर्छ। त्यो पनि सबैको पहुँचमा हुँदैन।
प्याकिङ गरेका जङ्क फुड, पेय पदार्थ, कृत्रिम रंग, स्वाद र बासना भरिएका खानेकुरा बजारमा छ्यापछ्याप्ती पाइन्छ। यिनीहरू हाम्रो स्वास्थ्यका लागि असाध्यै हानिकारक छन् भन्ने ज्ञान थोरैलाई मात्र छ।
उत्पादन मिति र म्याद समाप्त हुने मिति उल्लेख नगरी, वास्ता नगरी ग्राहकलाई झुक्याएर बिक्री वितरण गर्ने प्रवृत्ति झन् चर्को छ। यस्ता खानेकुराहरूले हाम्रो स्वास्थ्यमा कस्तो असर पार्ला?
हो, हामी सबैको बाध्यता छ यस्ता सामानहरू उपभोग गर्ने तर म्याद नै सकिएका सामानहरू बेचेर नागरिकको स्वास्थ्यसँग खेलवाड त गर्न भएन नि!
विकसित देशमा भएको भए यस्तो गैरकानुनी काममा बन्देज लगाइन्थ्यो होला। त्यस्ता अपराधीलाई कानुनअनुसार दण्ड दिइन्थ्यो होला। काजुको प्याकेटमा देखिएको किरालाई देखाएर कानुनी उपचार लिन सकिन्थ्यो होला।
तर हाम्रो देशमा त्यस्तो व्यवस्था छैन। विगतमा पनि थुप्रै पटक खानेकुरा, लुगाकपडा, घरायसी उपकरण किन्दा ठगिएका घटना झलझली दोहोरिन थाले। उपभोक्ता अधिकार भन्ने कुरालाई एकादेशको कथा बनाइएकोमा मेरो मन झन् कुँडियो।
ठूला डिपार्टमेन्टल स्टोर्समा त यस्ता कुरालाई बेवास्ता गरिन्छ भने स-साना किराना पसलमा कस्तो छ अवस्था? कसले हेर्छ यो सबै? कसको जिम्मेवारी हो?
नेपाललाई कृषिप्रधान देश हो भनिन्छ तर यहाँको उत्पादनले नपुगेर विदेशबाट आयात गर्छौं। हामी आयातित महंगा तर अस्वस्थकर वस्तु किन्न बाध्य छौं। नागरिकको स्वास्थ्यलाई ख्याल गरी यस्ता अस्वस्थकर वस्तुको बिक्री वितरणलाई रोक्नु पर्दछ।
यसलाई बेलैमा रोक्न सकिएन भने नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्नेछ।
नाङ्गो आँखाले देखिने कुराहरूबाट त हामीलाई जोगिन हम्मेहम्मे पर्छ भने हरियो देखिएको तरकारी, पाकेका र पहेँला फलफूल भित्रको विषादीको अनुगमन कसले गर्ने? दूध पिउनयोग्य हो कि होइन कसले भनिदिने? मिसावटयुक्त वस्तुहरू कसले पत्ता लगाउने? जारको पानी तोकिएको गुणस्तर भित्रै पर्छ कि पर्दैन कसरी थाहा पाउने।
नवजात शिशुदेखि उमेर ढल्किएका वृद्धवृद्धालाई बजारको वस्तु उपभोग नगरी सुखै छैन। उनीहरूको संवेदनशील स्वास्थ्य अवस्थाको रक्षा कसले गर्ने?
उपभोक्ता हितका लागि नियम कानुन बनेका छन् भन्ने सुनिन्छ, प्रहरी प्रशासन पनि छ। अझ बजार अनुगमन गर्ने छुट्टै अड्डा होला। खोई त जनताले त्यसको अनुभूति गर्न पाएको? सरकार त निदाएर बसेको छ। हामीलाई उसको भर छैन। हामी नागरिक आफैले चाहिँ के गर्न सक्छौं होला?
यस्ता कुरामा कसैलाई सहयोग गर्न सक्दैनौं भने कसैलाई झुक्याउने, छल्ने नगर्ने पो हो कि? काजु बेच्ने तपाईंले मलाई झुक्याउन खोज्नु भयो, भोलि तपाईंलाई दूध बेच्नेले झुक्याउला। यसरी हामीले एकअर्कालाई दुःख नदिने हो कि?