समाजमा हिँड्दा, परिवारमा बस्दा, विद्यालय तथा क्याम्पसमा जाँदा, अभिभावक तथा शिक्षकसँग संवाद गर्दा, प्रशासन तथा सामाजिक व्यक्तिहरूसँग चर्चा गर्दा सबैमा वर्तमान समयको युवाशक्ति र बालबालिकाको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको र दुखेसो पोख्ने गरेको पाइन्छ।
अधिकांशको गुनासो र चिन्ता भनेको वर्तमान बालबालिकामा देखिएको संस्कारको अभाव, मानवीय संवेदनामा कमी, अनुशासन, नैतिकताको कमी, उदासिनता, दुर्व्यसनी, प्रविधिको दुरुपयोग आदि कारणलाई लिएर भइरहेको देखिन्छ। असल बालबालिका, असल विद्यार्थी र समाजमा असल युवा तथा नागरिक तयार हुन् भन्ने चिन्ता र चासो सबैमा व्याप्त छ।
सबैले राम्रोको अपेक्षा गर्नु र राम्रोको कामना गर्नु स्वाभाविक नै हो तर के राम्रोको अपेक्षा गर्दैमा र कामना गर्दैमा हामीले सोचेको जस्तो भइरहेको छ वा हुन सक्छ त? अथवा राम्रो बनाउनमा मेरो भूमिका के छ? हामीले विचार गरिरहेका छौँ त? यसमा विचार गर्नुपर्ने आवश्यकता छ।
हामीले भन्दै र सुन्दै आइरहेको विषय हो- सबैभन्दा पहिलो पाठशाला परिवार हो। तर आजको हाम्रो परिवार संरचना, परिवारको वातावरण र बालबालिकालाई परिवारले सिकाउनु पर्ने आधारभूत कुरा सिकाउन अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकामा हामी कति सफल छौँ? यस बारेमा सबैले मूल्यांकन गर्नु आवश्यक छ।
बालबालिकाको भविष्य बनाउने नाममा आर्थिक उपार्जनलाई मात्र जीवनको लक्ष्य बनाउँदै गर्दा, बुवाआमा दुवै आर्थिक उपार्जनका लागि रातदिन मेहनत गर्दैगर्दा परिवारमा बालबालिकालाई दिनु पर्ने उचित समय, वातावरण, संस्कार र व्यवहारिक ज्ञान दिन सकेका छौँ कि छैनौँ? हामीले सोचौँ त!
स्वतन्त्रताको नाममा, आधुनिकताको नाममा संयुक्त परिवार (जहाँ दुई/तीन पुस्ताको जमघट तथा बसोबास हुने गर्दथ्यो) बाट अगल रहेर दुई/तीन जनाको परिवार डेरा वा अलग्गै निवास गर्दैगर्दा बालबालिका परिवारबाट, अग्रजबाट सिकाइ हुने कुल, परम्परा, पुर्खा, इतिहास, परिवारको महत्व, आफन्तजन, संस्कृति तथा संस्कारको सिकाइबाट अलग भइरहेका छन् भन्ने कुरालाई हामीले ध्यान दिन सकेका छौँ कि छैनौँ? चिन्तन गरौँ।
समाजमा हुने गतिविधि, चाड, पर्व, मेला, महोत्सव, उत्सव, सामाजिक जमघट, सज्जनहरूको संगत तथा सत्संग, परम्परा आदिबाट बालबालिकामा सामाजिक सोच, जिम्मेवारी, सामाजिक संवेदना, सेवाभाव आदिको विकासका लागि हामीले प्रयास गरिरहेका छौँ कि छैनौँ? विचार गरौँ। महंगा-महंगा विद्यालयमा हजारौँ शुल्क तिरेर बिहान उठेदेखि साँझसम्म पढाइका लागि बालबालिकालाई दबाब बनाइरहँदा र उसको लब्धांकपत्र हेरेर सफलताको मूल्यांकन गर्दै गर्दा अनुशासन, नैतिकता, चरित्र निर्माण, व्यवहारिकता, कर्तव्यबोध आदिको सिकाइ उसमा हुन सक्यो कि सकेन? हामीले सोचिरहेका छौँ?
बालबालिकालाई बौद्धिक विकासका लागि दबाब बनाइरहँदा उसको शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासको सन्तुलनका लागि हामीले ध्यान दिइरहेका छौँ कि छैनौँ? कस्तो खाना खुवाउने, कस्ता साहित्य पढ्ने? कस्ता गीतसंगीत सुन्ने, कस्ता दृश्य हेर्ने, कस्ता व्यक्तिहरूको संगत गर्ने भन्ने बारेमा बालकालिकालाई सानैदेखि प्रेरणा र वातावरण परिवारमा दिइरहेका छौँ कि छैनौँ? बालबालिकाहरूको माग पूरा गर्दैगर्दा उनीहरूले के मागरिरहेका छन् भन्दा पनि के दिनु आवश्यक छ भन्ने कुराको विचार गर्दै सोही कुरा हामीले दिन सकेका छौँ कि छैनौँ?
अंग्रेजी बोल्नु नै राम्रो र सभ्य व्यक्तिको परिचय हो भनेर जन्मेदेखि नै बालबालिकालाई हाम्रा शब्द, भाषा, नाता सम्बन्ध आदि नसिकाउँदा बालबालिका आफ्नो भाषा, साहित्य, संस्कृति र परम्पराबाट टाढा भागिरहेका छन् भन्ने कुराको विचार गरेका छौँ कि छैनौँ? पाश्चात्य समाज, पाश्चात्य संस्कृति र जीवनपद्धतिमा बालबालिकालाई हुर्काउँदै गर्दा, हाम्रो समाज व्यवस्था, हाम्रो हैसियत के हो र हाम्रो इतिहास, परम्परा, संस्कृति तथा जीवनमूल्य के हो भनेर सिकाउन सकिरहेका छौँ कि छैनौँ? विचार गरौँ।
जब हामी बालबालिकालाई विद्यालय पठाउँछौँ विद्यालय तथा शिक्षक के हामी बालबालिकाको भविष्यप्रति चिन्तित छौँ? शिक्षा सेवाको क्षेत्र बन्नुपर्ने अवस्थामा बढ्दो व्यापारीकरणको कारण बालबालिकाको समग्र सिकाइका लागि हामी प्रयासरत छौँ वा मात्र अन्तिम परीक्षामा राम्रो नतिजा ल्याउनका लागि आवश्यक प्रयासमा। विद्यार्थी अन्तिम परीक्षामा उत्तीर्ण हुँदै गर्दा के उसलाई आफ्नो व्यवहारिक जीवनका अनेकौँ परीक्षामा सफल हुन सक्ने सीप र गुण हामीले सिकाउन सक्यौँ कि सकेनौँ? के हामीले चिन्तन गरेका छौँ?
शिक्षाको उद्देश्य अन्तर्निहित क्षमतालाई चिन्नु र प्रस्फुटन गर्नु हो भनेर पढाउँदै गर्दा बालबालिकाको अन्तर्निहित क्षमता चिन्न र प्रस्फुटन गर्नका लागि आवश्यक रचनात्मक वातावरण विद्यालय परिसरमा हामीले निर्माण गरिरहेका छौँ वा छैनौँ? विद्यालयमा विद्यार्थीलाई दलगत, जातिगत, भाषागत, क्षेत्रगत आदि सोचबाट माथि उठाउँदै सामूहिकता, सेवाभाव, सहयोगी भावना, सामाजिक सद्भाव, सामाजिक जिम्मेवारी, स्वास्थ्य चेतना, नागरिक चेतना आदिको विकासका लागि हामी शिक्षकले प्रयास गरिरहेका छौँ कि छैनौँ?
विद्यार्थी राष्ट्रको शक्ति हो। त्यसैले विद्यार्थीले दलगत राजनीतिको प्रभावबाट माथि उठेर समाज तथा राष्ट्रको बारेमा सोच्नु आवश्यक छ भन्ने कुरालाई आत्मसात गर्दै विद्यालय परिसरलाई दलीय राजनीतिको प्रभाव तथा दबाबबाट अलग राख्नका लागि हामीले प्रयास गरिरहेका छौँ कि छैनौँ? हामी असल र प्रेरणादायी शिक्षक बन्न सकेका छौँ कि छैनौँ? शिक्षकप्रति नतमस्तक भएर नमस्कार गर्न सक्ने हाम्रो आचरण र व्यवहार हामीले प्रस्तुत गरेका छौँ कि छैनौँ?
प्रत्येक बालबालिकामा देशको भविष्य सम्हाल्ने आदर्श शिक्षक, आदर्श कर्मचारी, प्रहरी, पत्रकार, व्यावसायी, नेता आदि देख्दै सोही अनुसारको संस्कार र चिन्तन दिन सकेका छौँ कि छैनौँ? विचार गरौँ। हामीले पठाउने पाठ्यक्रम, हाम्रो अध्यापन शैली, विद्यालय तथा क्याम्पसमा हुने रचनात्मक तथा शैक्षिक गतिविधिले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व क्षमताको विकासको साथमा सामाजिक गुणको पनि विकास हुन सकिरहेको छ कि छैन, हामीले सोचेका छौँ?
विद्यालयमा अंग्रेजीमय वातावरण बनाउने होडमा विद्यार्थीलाई अंग्रेजी शब्द र भाषा सिकाउँदै गर्दा र विद्यालयमा विद्यार्थीले नेपाली बोल्दै गर्दा उसलाई जरिवाना तिराउँदै गर्दा बालबालिकाले आफ्नो भाषा, संस्कृति र सभ्यताप्रति कस्तो धारणा बनाइरहेको होला हामीले विचार गरेका छौँ?
हामीले एकपटक विचार गरौँ के हामीले कल्पना गरेको परिवार व्यवस्था यही हो त? आजका बालबालिकालाई परिवार के हो भनेर सोध्यो भने जहाँबाट हाम्रो आवश्यकता पूरा हुन्छ त्यो परिवार हो भन्ने सोचको विकास भइरहेको छ। जहाँबाट हामी स्नेह प्राप्त गर्दछौँ जहाँ भावनात्मक सम्बन्ध हुन्छ, जहाँका सदस्य एकअर्काका परिपूरकका रूपमा रहेका हुन्छन् जहाँबाट प्रेरणा, मार्गनिर्देश तथा संस्कार प्राप्त गर्दछौँ त्यो परिवार हो भन्ने उसलाई थाहा छैन। यस्तो अवस्था सिर्जना गर्नमा को दोषी?
जब ऊ विद्यालय जान्छ, उसले पढेर अन्तिम परीक्षामा राम्रो अंक ल्याउनु नै विद्यालय जानुको उद्देश्य हो भन्ने बुझेको छ। उसले विद्यालय मेरो सर्वाङ्गीण विकासका लागि आवश्यक शिक्षा, सीप तथा व्यवहारिकताको सिकाइको केन्द्र हो भन्ने कुरा बुझेको हुँदैन। जहाँबाट म सामूहिकताको गुण सिक्छु, सामाजिक सोचको विकास ममा हुन्छ, ममा अनुशासन, चरित्र निर्माण आदिको गुणको विकासका लागि पनि विद्यालय हो भन्ने कुरा उसले बुझेको छैन, यसमा दोष कसको?
जब समाजमा रमाउन थाल्दछ उसमा मानवीय चरित्र, सामाजिक गुण, स्वयंसेवी भाव अर्काको भलो चाहने सोचको विकासका लागि सामाजिक स्तरबाट प्रयास भइरहेको छ वा छैन?
जब हामी यस्ता अनेको विषयमा चिन्तन गर्दछौँ। तब हामी अभिभावक वा शिक्षक वर्गले बालबालिकालाई कुन रूपमा के सिकाइ रहेका छौँ? कस्तो शिक्षा, कस्तो संस्कार र वातावरण दिइरहेका छौँ र कस्तो बालबालिकाको कल्पना गरिरहेका छौँ यसको बारेमा चिन्तन गर्दै त्यसको सुधारका लागि सम्पूर्ण अभिभावक एवं शिक्षक वर्गले प्रयास गर्नु आवश्यक छ।
बढ्दो आधुनिकताको प्रभाव, प्रविधिको प्रयोग स्वतन्त्रताको खोजी अभिभावकत्वको अभाव, सही समयमा दिनु पर्ने संस्कार र आदिको अभावलाई पूर्ण गर्न सबैले प्रयास गर्नु आवश्यक छ। आमाको काखबाट नै बालबालिकाले पाउनु पर्ने वातावरण, संस्कार र चिन्तन तथा परिवारबाट बाहिर निस्केर विद्यालय तथा समाजमा घुलमिल हुँदै जाँदा हामीले दिने शिक्षा र संस्कार तथा विचारको आधारमा बालबालिकाहरू तयार हुने गर्दछन्।
त्यसैले बालबालिकालाई दोष दिएर गाली गरेर हामीले हाम्रा कमजोरी र हाम्रो जिम्मेवारीलाई नकार्न कदापि सक्दैनौँ। यदि बालबालिकाको भविष्यको साथमा यो राष्ट्रको भविष्यको बारेमा पनि हामीले चिन्ता गर्दैछौँ भने वर्तमान समयमा बालबालिकालाई के सिकाउने के नसिकाउने, कस्तो वातावरण दिने, कस्तो संस्कार दिने? यी सबै कुरामा प्रत्येक अभिभावक गम्भीर बन्नु र आफ्नो जिम्मेवारी पूरा गर्नमा सक्रिय हुनु आवश्यक छ।
विद्यालयमा भर्ना गरेर पैसा तिरेर मात्र हाम्रो जिम्मेवारी पूर्ण हुन सक्दैन। आज परिवारमा विस्तारै भावनाशून्य वातावरण बन्दैछ किन? किनकि परिवारमा त्यस प्रकारको वातावरण निर्माण गर्न हामीले सकिरहेका छैनौँ।
निजी विद्यालयहरू व्यावसायिक सोचका कारण र सामुदायिक विद्यालयहरू दलीय राजनीतिको प्रभावका कारण आफ्नो जिम्मेवारी र मूल भूमिकाबाट अलग भइरहेका छन्। तसर्थ हामीले आ-आफ्नो भूमिकालाई प्राथमिकतामा राख्दै वर्तमान विद्यार्थीशक्तिमा सकारात्मक सोच, व्यवहारिक ज्ञान र चरित्र निर्माणका लागि विशेष प्रयास गर्नु आवश्यक छ।
(लेखक प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सह संगठन सचिव हुन्।)