सपना सबैको हुन्छ, बस् कसैको साकार हुन्छ त कसैको हुँदैन। समय सान्दर्भिक सपनाहरू पनि बदलिँदै जान्छन्। पहिला परिवारले भनेअनुसार र आफ्नो पढाइअनुसार के पढ्ने भनेर योजना बनाइथ्यो। बदलिँदो समयसँगै अहिले धेरैले आफ्नो भविष्यको योजना आफै बनाउँछन्।
केटीहरू प्रायः पढाइ राम्रो छ भने नर्स कि त डाक्टर पढाउने होडबाजी अहिले पनि प्रचलित छ। ९-१० वर्ष अगाडिको कुरा, मेरो परिवारको पनि छोरीलाई नर्स पढाउने इच्छा थियो। सोही अनुरुप मैले नर्सिङमा स्नातक अध्ययन गरेँ। अध्ययनको क्रममा भविष्यमा के गर्ने भन्दा पनि कहिले स्नातक सकाउने ध्यान भयो।
स्नातकको तेस्रो/चौथो वर्ष पुगिसक्दा ५०% साथीहरूको अस्ट्रेलिया जाने प्लान भैसकेको थियो। बाँकी देशमै बसेर केही गर्नुपर्छ भन्ने पक्षमा थिए। त्यसमा म पनि पर्थें।
स्नातक सकाउने बित्तिकै आधा साथी अस्ट्रेलिया लागे, बाँकी नेपालमै काम गर्न थाल्यौं। अस्पतालहरूको तलब त्यही त हो नि, बचत गर्नको कुरा छोडिदिउँ खान र बस्न पुर्याउन नि गाह्रो पर्छ उपत्यका बाहिर घर हुनेलाई। त्यसो त पढ्नको लागि ४ वर्ष र १५-२० लाख पैसा लाग्छ। बाध्यताले बाँकी भएको ९०% साथीहरू फेरि अमेरिका जाने प्रोसेस गरेर त्यता गए। हाम्रो ब्याचबाट बाँकी हामी २/३ जना छौँ नेपालमा।
नर्सको पेसा संवेदनशील भएको कारण नेपालमा मात्र होइन, विदेशमा पनि काम गर्न उस्तै कठिन छ। हरेक कुरा सहेर बस्न सक्नुपर्छ। बिरामीलाई आफ्नो बच्चा जसरी स्याहार गर्नुपर्छ, सहनशील नभएको व्यक्तिलाई यो पेसामा अलिक गाह्रो पर्छ। हुन त यी कुराहरू विद्यार्थी जीवनमा सबै सिकाएको भए पनि व्यवहारमा लागु गर्ने काम थप कठिन हो।
पेसा नर्सको भए नि आफू एउटा मान्छे न हो, कहिलेकाहीँ आफूले आफ्नो तर्फबाट सय प्रतिशत दिएर काम गर्दा पनि भनेजस्तो तलब नहुँदा, कामको प्रेसर ज्यादा हुँदा र हप्तामा एकदिन पनि बिदा नमिल्दा कता-कता झनक्क रिस भने उठिहाल्छ। कहिलेकाहीँ मान्छेलाई जति सहनशील भए पनि परिस्थितिले छुच्चो बनाउँछ।
बिरामीलाई संक्रमण नहोस् भनेर र आराम गर्ने समय मिलोस् भनेर धेरै कुरुवाहरूलाई अस्पतालमा बिरामीसँग भेटिरहन दिइँदैन। बिरामीको कुरुवाहरूलाई यो कुरा बुझाउँदा पनि भेट्न आएको आइ गर्दा नआउनु भन्यो भने 'फलानो अस्पतालको नर्स छुच्ची' भनेर भनिरहेको सुनिन्छ। मान्छेको स्वभाव प्रायःजसो यथार्थ बुझ्नुभन्दा पनि आधा सुनेर त्यसको आधा पनि राम्रोसँग नबुझी हल्ला फिजौने खालको हुन्छ।
पाइला पाइलामा तिमी नर्स भएर नि किन बाहिर नगएको भन्ने सुनिन्छ। के नर्सिङ पढ्नेबित्तिकै बाहिर जानै पर्ने हो र? नेपालमा नर्सहरूको पढाइ अनुसारको तलब र जागिर नभएकै हो त?
हरेक पेसामा आफ्नो किसिमको दुःखसुख हुन्छ। कुनै पनि काम सजिलो छैन पक्कै तर दिनरात नभनी खटेर सेवा गर्दा पनि बिरामी, अस्पताल र समाजले खुलेर कदर नगर्दा मनमा काहीँ न काहीँ चिसो हुने रहेछ। फलानीले नर्स पढिछे, रातभरि नसुती काम गर्नुपर्छ न तलब राम्रो हुन्छ भनेर नाक खुम्चाउनेहरू प्रशस्त हुन्छन्। विडम्बना त्यही नाक खुम्चौनेहरू आफ्नो विदेशमा भएको छोरालाई बिहे चाहिँ नर्ससँग गर्न खोज्छन्।
खैर! स्वार्थले नै चलेको छ संसार। नर्सहरूलाई आफ्नो पीडा छ, जति पढे नि नर्सिङ केयरमा नर्सहरूको अधिकारलाई सीमित गर्याछन् माथिल्लो वर्गका समुदायले। नेपालमा त यस्तो छ, बाहिर के होला भन्ने सोचले मलाई कहिले बाहिर जान मन लागेन।
पाइला पाइलामा किन बाहिर नगएको भन्ने प्रश्न जति आए पनि, म आफ्नै देशमा संघर्ष गरेर बस्छु भन्ने सोच मनमा भए पनि साथीहरू सबै बाहिर गएको देख्दा र नेपालको अवस्था हेर्दा आफू बाहिर नगएर गल्ती पो गरेँ कि भन्ने कुराले मनमा सताइरहन्छ। आफ्नै देशमा बसेर केही गर्ने वातावरण कहिले सिर्जना होला त? के नेपालीहरू अरु देशको दास बन्नको लागि मात्र जन्म्या हुन् त?
जुन देशमा जन्म्यो त्यही देशमा गरिखाने वातावरण बनाउन जनताको मात्र हैन ठूलासाना सबै नेताहरूको पनि जिम्मेवारी हो। जनतालाई झुक्काएर विदेशी केही हुनेवाला छैन। जीवन कसैको सजिलो छैन। एकअर्कलाई होच्याएर होइन, हौसला दिएर अगाडि बढ्दा केही हदसम्म सजिलो हुन्छ।
बहिर गएको साथीहरूको कमाइ भने राम्रो छ। नेपालमा पठाउँदा धेरै हुन्छ तर त्यही बस्ने हो भने उस्तै हो। कमाएको पैसा गाडी, घर र मोबाइलजस्तो सामानहरूको ऋण तिर्दा तिर्दै उमेर बित्ने। त्यसमाथि आफ्नो देशमा जस्तो खुलेर चित्त नबुजेको कुरा भन्न नपाइने, परिवार आफन्त भनेको सामाजिक संजालमा मात्र भेट हुने।
संसारको जुन ठाउँमा बसे पनि सुखै सुख कतै छैन र दुखैदुःख पनि कहीँ छैन। सुख दुःख जहाँ पनि आउँछ र जसलाई पनि पर्छ। फरक समयको मात्र हुन्छ।