यो वर्ष छोरोले के किनिदिउँ भनेर सोधेन। प्रायः बुवाको मुख हेर्ने दिन उसले के किन्दिम् भनेर सोध्ने गर्थ्यो। प्रायः उत्तर हुन्थ्यो- किताब। तर यो वर्ष सोधेन। यसको खासै मतलब त भएन तर पनि मनको कुनामा किन सोधेन होला? भन्ने प्रश्न अडेर बसेको थियो।
बुवाको मुख हेर्ने दिन घरमै थिएँ। सिमसिम पानी परेको थियो। शीतल हावा झ्यालबाट सुर्रसुर्र भित्र छिरेको थियो। कफीको सुर्की लाउँदै टेबलअगाडि पल्टिबसेको मेरी ओ हागनको 'म्याडनेस मेड मि' को पहेलो कभरमा घोत्लिरहेको थिएँ।
अचानक डोरबेल बज्यो। ढोका खोलेँ। अमेजनबाट एउटा पार्सल आएको रहेछ। अचम्म लाग्यो। मैले केही मगाएको थिइनँ। खोलेर हेरेँ, एउटा किताब रहेछ। यसले अमेजन जंगल मासिँदै गएको र वातावरणमा घातक असर परेको कुरा स्मृतिमा ल्याइदियो। कुनैबेला पढेको एउटा वाक्य सम्झिएँ- अमेजन जंगलको विनाशले पेरिसमा सास फेर्न गाह्रो हुँदैछ।
किताबको मिठो बासनाले मोहित बनायो। कोलिन टज लिखित 'द ट्रि: ए न्याचुरल हिस्ट्री अफ ह्वाट दे आर, हाउ दे लिभ, एण्ड ह्वाई दे म्याटर' (रूख: रूखहरू के हुन्, तिनीहरू कसरी बाँच्छन्, किन महत्व राख्छनको प्राकृतिक इतिहास) भन्ने किताब रहेछ।
झट्ट सम्झिएँ सिमलको रुखले बनेको हो यो किताब। मन अमिलो भयो। सोचेँ आफूले गर्न नसक्ने कुरामा मन अमिलो बनाउनुको कुनै तुक छैन।
रुखको वैज्ञानिक पाटो सरसर्ती पढेँ, इतिहास अध्धयन गरेँ तर यसको दार्शनिक पाटोमा ध्यानस्त रहेँ। अर्थात् फ्रान्सिस बेकनका शब्दमा वैज्ञानिक पाटो चाखेँ, इतिहास निलेँ र दर्शनलाई चपाएर पचाएँ। उनी लेख्छन्- अलास्का रातो सेडार (देवदार) ३५०० वर्षसम्म बाँच्न सक्छ। विशाल सेक्वियास ३००० वर्षभन्दा बढी रहन सक्छ र कम्तीमा एउटा ब्रिस्टलकोन पाइन (सल्ला) लगभग ५००० वर्ष पुरानो भएको अनुमान गरिएको छ।
उनी थप्छन्- रुख बिरुवा मानव सभ्यता, इतिहास, युद्ध, माहामारी सारा कुराका साक्षी हुन्।
सिद्धार्थ गौतमले पिपलको रुखमुनि बसेर बुद्धत्व प्राप्त गरे। न्यूटनले स्याउको रुखबाट पृथ्वीको गुरुत्वाकर्षणको रहस्य चिरे, हुन त स्टीफन हकिङले उनको विश्व प्रसिद्ध पुस्तक 'ए ब्रिफ हिस्ट्री अफ टाइम'मा यसलाई अप्रमाणिक भनेर लेखेका छन्। मिथ नै सही, रुखबिरुवाले दिएको उत्प्रेरणा मेरो लागि आनन्दको दार्शनिक विषय बन्यो।
जति-जति पुस्तक पढ्दै गएँ, उतिउति मेरो गाउँको सिमलघारी, घैलाघारी, राप्ति नदी, यसको पारिपट्टि रहेको चितवन राष्ट्रिय निकुञ्ज, कसरामा भएको जंगबहादुर राणाले शिकार खेल्न आउँदा बनाएको घर र यही रहेको पञ्चायतकालीन् राजदरबार आँखाअगाडि झलझली आए। तन टोरन्टोमा किताब पढेर बसेको थियो भने मन चितवनको जगतपुर नामक गाउँमा पुगेको थियो। नारायणी नगरपालिका- १० हुँदै भरतपुर महानगरपालिका- २३ हुन पुगेको मेरो गाउँको सुन्दर काया महानगरपालिकाको कथित विकासले शिथिल बन्दैछ।
कालो पत्रले ठेकेदार, नेता र निर्माण कार्यमा संलग्नहरूको चोला उज्यालो पारेको होला तर मेरो गाउँको गाथा उसरी नै थपक्क बसेको छ, जसरी मैले छाडेर आएको थिएँ। फेरि सोचेँ, आफूले गर्न नसक्ने कुरामा मन अमिलो बनाउनुको रत्तिभर तुक छैन।
हृदयमा अमिट छाप छोडेका दुई वटा भीमकाय सिमलका रुखको स्मृतिले आँखाबाट तर्र आँसु खसे। म विस्तारै हिजोको फ्ल्यास ब्याकमा पुगेँ।
एक वर्षअगाडि गाउँ जाँदा भीमकाय सिमल घारी निख्रिसकेको थियो। इतिहासका यी साक्षीहरू निमिट्यान्न बनाइएका थिए। सयौं वर्षको इतिहास बोकेका भीमकाय दुई वटा सिमलका रुख, बाटो बनाउने निँहुमा पचाइएको जानकारी पाएँ। विसं २०३६ सालमा बहुदल-निर्दलको जनमत संग्रहका बेला तराईको जंगल सखाप पारिएको तथ्यले मुटुलाई चिमट्यो।
जंगबहादुर राणा र उनका विदेशी दलबल शिकार खेल्न आउँदा सायद यी सिमलका रुखले उनलाई स्वागत गरेका थिए होलान् र उनको क्रुरता सम्झाए होलान्। मान्छेको भाषा त सुन्न नचाहने उनले रुखबिरुवाको भाषा त बुझ्न सकेनन् होला। जंगबहादुर शिकार खेल्न आउँदा एकैदिनमा बनाइएको भनिने घरभित्र राजसी शैली निहारेका यी सिमलका रुख त्यहाँ थिएनन्।
पञ्चायती व्यवस्थाको सिंगो साक्षी बसेका यी रुखहरूले राजा वीरेन्द्रको आरोह-अवरोह देखेका थिए। राष्ट्रिय निकुञ्ज, कसरामा राजा वीरेन्द्रको वर्षेनी सवारी हुने गर्थ्यो। उनको सवारीको बेला हामीलाई स्कुलबाट उनको जयजयकार गर्न सिमलको रुखमुनि लगिन्थ्यो। मलाई अहिले पनि याद छ- राजा वीरेन्द्र, चिरायु रहनुस्, रानी ऐश्वर्य जिन्दावाद! जस्ता नाराहरू घन्काइन्थ्यो। सरहरूले चर्कोचर्को स्वरमा चिच्चाउन लगाउँथे ताकि राप्तीपारि मस्ती गरिबसेका राजारानीले उनीहरूको जयजयकार सुन्न सकुन्।
समय सधैं मान्छेको वशको विषय हुँदो रहेनछ। बदलिरहने यसको स्वभावमा आफूलाई समाहित गर्न नसक्नेहरू डाइनोसरको नियतिमा पुग्दारहेछन्। विसं २०४६ सालको आन्दोलनसंगै त्यही सिमलको रुखमुनि जम्मा भएर हामी चिच्चाउन थाल्यौः वीरे चोर, देश छोडस पम्फादेवीलाई फाँसी दे।
समय, मान्छे र परिवेश कुनै पनि बेला बदलिन सक्छ भन्ने कुरा गणतन्त्रका राजाहरूले बिर्सेजस्तो छ! इतिहास क्रुर छ र यसका डरलाग्दा दुस्चक्रमा कोही पनि सजिलै फस्न सक्छ भन्ने हेक्का नराखे गणतन्त्रका राजा मुर्दावाद भन्ने दिन नआउला भन्न सकिँदैन। इतिहास क्रुर छ, समय बलवान छ र यिनले पञ्चायत, प्रजातन्त्र वा गणतन्त्र भेदभाव राख्दैनन्। र रुखहरू उपनिषद्मा उल्लेखित एक चराजस्तै साक्षी भावमा यावत् कुरा टुलुटुलु हेरी बस्छन्।
सिमलका रुख राष्ट्रका इतिहास मात्र थिएनन्। यिनले जगतपुरको सामाजिक र मेरो व्यक्तिगत इतिहास पनि बोकेका थिए। विसं २०५७ सालमा ठूलो बाढी आएर जनधनको ठूलो क्षति भएको थियो। हुकुम्बासी पल्टेर सुकुम्बासीलाई हेप्ने हामीहरू राहतको लाइनमा सँगै बसेका थियौँ। समयले सुकुम्बासी र हुकुम्बासीलाई बराबरी दर्जा दिएको थियो। त्यही समय कसैको लागि 'किलर' भएको थियो र कसैको लागि 'हिलर'। 'हिलर' यो मानेमा कि प्रजातन्त्रले दिन नसकेको समानता बाढीले दियो भनेर गाइगुइँ चलेको थियो।
मान्छेका दबिएका पीडा र कुण्ठा कहिले र कसरी प्रस्फुटन हुन्छन् भन्ने थाहा नहुँदो रहेछ। राज्यले गर्ने विभेदको जरा समाजको प्रत्येक अवयवसँग जोडिएका हुँदा रहेछन्। यी तमाम कुराको साक्षी बसेका सिमलका रुख अहिले त्यहाँ छैनन्। गणतन्त्रको विकासले बाटो बनाउने नाउँमा काटेछ। बाटो थोरै घुमाएर सिमल जोगाउन सकिन्थ्यो तर नेताको दिमाग कमिसनको नाममा धेरै नै घुमेछ।
सिमल नजोगाएर नै बाढी आएको र यसले उर्बरभूमि कटानी गरेको हामीले कहिले बुझ्ने हो? सायद बुझेर पनि आफ्नो फाइदाको लागि मान्छे बुझ पचाउँछ। जब मैले पढेँ कि सिमलमा सल्फर अक्साइड (एसओ) अवशोषण क्षमता भएको हुन्छ र यसलाई प्रदुषित सहरी क्षेत्रहरूमा सडकको किनारामा वृक्षारोपण गर्न सिफारिस गरिन्छ, तब मलाई रिंगटा लागेर आयो।
गुच्चा खेल्ने बाल्यकाल, तास तथा खोप्पी खेल्ने युवाकाल र प्रेममय किशोरकाल मैले तिनै सिमलका रुखमुनि गुजारेँ। दुई वटा भिमकाय सिमलका रुखमुनि मान्छेहरू गाईवस्तु जंगलमा छोडेर छहारी बस्थे, सुस्ताउँथे र आफ्नो जीवनलाई बडो तनमयका साथ खोजि हेर्थें। एकपटक तास खेल्दाखेल्दै गाईवस्तु हेर्न बिर्सिएछ। गोरुले घरको बाटो तताएछन् र बाटोमा पर्ने खेतमा छिमेकीको बाली खाइदिएछन्।
बेलुका म आमाको हातबाट गोरु चुटाइमा परेँ। भोलिपल्ट आमाको पिटाइको झोक गोरुहरूमाथि पोखेर रिस शान्त पारेँ। अहिले लाग्छ मान्छे आफै गोरु हो, काम आफैले बिगार्छ र रिस कमजोर प्राणी, मान्छे र निरिह प्रकृतिमाथि पोख्छ। यी तमाम कुराको साक्षी बसेका सिमलका रुख अहिले त्यहाँ छैनन्। आमा गुमाएझैँ नियास्रो लाग्छ मलाई।
ती सिमलका रुख मुनिको किशोरकाल प्रेमले मलाई अहिले पनि आनन्द दिइ नै रहन्छ। ऊ चुल्ठोमा रातो रिबन बाटेर मुस्कुराउँदै आउँथी। उसको रातो रिबन मलाई सिमलका राता फूलझैँ लाग्थे। त्यो निखर रातो सिमलको फूल जसरी सेतो भुवामा परिणत हुँदै हुरीले उडायलान्छ, त्यसरी नै त्यो रातो रिबन अरु कसैले मबाट लग्यो।
सिमलको भुवाको सिरानीमा सँगै टाउको अड्याएर पिरतीका कुरा गर्ने सपना तुहिएको थियो। अर्थात् हाम्रो प्रेमको फूल हतास झरेको थियो। अहिले आएर थाहा पाएँ कि सिमलका झरेका फूलहरूले मृग, भालु र दुम्सीलाई आकर्षित गर्छन्। हाम्रो झरेको प्रेमको फूलले कसलाई आकर्षित गर्यो भन्ने मैले खोजीको विषय बनाइनँ। यसका फूलहरू होली पर्वको लागि प्राकृतिक रंगहरू बनाउन प्रयोग गरिन्छ तर यसको फूललाई हामीले हाम्रो जीवनको रंग बनाउन सकेनौं।
तर पछि बुझे कि अस्तित्वको विराटतामा झरेको फूलको पनि आफ्नै गुरुत्व हुने रहेछ। समय मान्छेको वशको विषय होइन। मान्छेभन्दा पहिले र पछिसम्म रहने समयको कुरा हामी मान्छेले गरेर त्यही रहस्यमयी समयको मधुरो कित्तालाई किन फजुल खर्च गर्नु, गराउनु?
त्यतिबेला 'आइ लभ यू' को जमाना थिएन। गाईवस्तु हेर्न आउने उसको र मेरो प्रेम आँखाको सहज स्वीकृति थियो। यो गरिएको प्रेम थिएन, सिमलको रुखमुनि दिनदिनै बिताउँदै जाँदा सिमलजस्तै प्राकृतिक रुपमा टुँसाएको, हुर्किएको र फक्रिएको थियो। शरीरी मौसमले ल्याएको स्वाभाविक प्रेम थियो। एकदिन उसले मलाई 'चुम्बन' गरेकी थिई, त्यही सिमलको रुखमुनि। पछि घर हिँड्ने बेला 'लिपिस्टिक लागेको छ, मोरा' भनेर सिमलको पात टिपेर पुछिदिएकी थिई।
लिपिस्टिकको दाग मेटाउने उसका औंला सिमलका कोशाजस्तै कोमल थिए। उसलाई चुम्बन फिर्ता गर्न नसकेर मैले नामर्दी प्रस्तुत गरेँ, गरिनँ भन्ने मेरो चासो रहेन तर मोरीले बनाएर ल्याएको सिमलको कोशाको अचार र फूलको तरकारी अहिले पनि ओठमा दलिएको छ र आँत भित्रको जिब्रोमा अड्की बसेको छ। त्यस बखतको स्वर्गीय आनन्दको स्रोत पनि तिनै सिमलका फूल थिए, फल थिए। त्यसकै छायामा पल्लवीत मायाको प्राथामिककालीन कपासमा कामवासनाका प्रमिथसयिन आगोका झिल्काहरू सल्केका क्षण थिए।
ऊ मलाइ 'मोरा' भन्थी र म उसलाई 'मोरी'। यो मोरामोरीको अर्गानिक प्रेम अहिले सम्झँदा पनि काउकुती लागेर आउँछ। मोरीको आकस्मिक चुम्बनले मेरो निरस दिनचर्या तोड्यो। त्यसले मलाई घातक उदासीनताबाट बाहिर निकालेजस्तो भयो। म जीवित भएको अनुभूति दियो। जीवनमा सम्पूर्ण अस्तित्वसँग पहिलोपटक बाँच्न थालेको महसुस भयो। त्यो वर्तमानको सचेतताको सूचक बनेर आयो।
अहिले म आफैलाई प्रश्न सोध्ने गर्छु- के त्यो कामवासना थियो? के त्यो खराब थियो? के त्यो जवानीको जोश थियो? वा प्रेमको स्वाभाविक प्रष्फुटन? समाजले जवानीको जोश देख्छ तर प्रेमीहरूले स्वाभाविक प्रष्फुटन। प्रेमलाई हेर्ने यो दृष्टिकोण पुस्तौंपुस्ता चलिनै रहनेछ। तर म ती चुम्बनका चुम्बकीय पललाई गणित वा तर्कको तराजुमा राख्न सक्ने छैन। ती हुनुमै पूर्ण थिएँ, घट्नुमै चीरआनन्दीत थिएँ।
समय मान्छेको वशको विषय होइन। जुन समयले हामीलाई जोड्यो, त्यही समयले हामीलाई छुट्टायो। महिलाले सानै उमेरमा चाँडो विवाह गर्नैपर्ने समाज र घरको झेल हाम्रो प्रेमले थेग्न सकेन। त्यसमाथि जातको कुरा जब्बर रहेको थियो। हामीले प्रेम दोषी समाजको वेदीमा आफ्नो निर्बन्ध प्रेमलाई बलिदान गर्ने रहर गरेनौँ।
हामीलाई रोमियो र जुलिएट बनेर वियोगान्त प्रेमको उदाहरणीय जोडी बन्न पटक्कै मन थिएन। अन्ततः हामी राधा र कृष्ण भएर आफ्नो जीवनको भोग गर्दै आफ्नो प्रेमलाई अजर अम्मर राख्ने प्रण गर्यौं। मोरामोरीको अहिले पनि निर्बन्ध गफ हुन्छ। मोरी आफ्नै परिवारको दायित्व सम्हालेकी छ र मोरो आफ्नो परिवारको नाउँ चलाई नै रहेको छु। प्रेम अनवरत सरिताझैँ बगिरहेको छ।
सुन्दैछु, देख्दैछु हिजोको नूनतकालीन् 'चुम्बन' आजभोलि मामुली 'किस' भएको छ। समाज प्रगतिशील भएछ क्यार! जबर्जस्त गरिएका किसले आफ्नै जीवन सधैं 'मिस' हुन्छ। क्रान्तिकारी किसले जीवनमा उथलपुथल ल्याउँछ र यसलाई विषादमय बनाएर जान्छ। मलाई क्रान्तिकारी सम्बन्धले जन्माएको किसभन्दा विद्रोहले जन्माएको चुम्बन मनपर्छ। मेरा लागि क्रान्ति देखासिखीमा गरिने कुरा हो भने विद्रोह आफै भित्रबाट निस्कने कुरा हो। विद्रोहले मान्छेलाई भित्रैबाट रूपान्तरण गर्छ। क्रान्तिले सारा जंगल डडाउँदछ।
सुयोगबिरको चुम्बनले सकम्बरीको ज्यानै निल्यो। बुझ्न पर्ने के भएको छ भने कसैको चुम्बनलाई प्रतिकार नगरी आफ्नो ज्यान अकालमा फाल्ने सकम्बरी अहिलेको समाजमा छैनन्, हुनु पनि हुँदैन। जीवनको अस्तित्वलाई सपाटरुपमा देखाएको शिरीषको फूल मेरो मन पर्ने उपन्यास हो। पारिजातले सकम्बरीलाई क्रान्तिकारी नारीको रुपमा प्रस्तुत गर्दै सुयोगबिरको प्रतिकारमा उभ्याउन पनि सक्थिन् होला तर उनले समाजको वास्तविक तस्बिरलाई नाङ्गो रुपमा प्रस्तुत गरिदिइन् र प्रगतिशील साहित्यको जामा लगाएर हिँड्नेहरूको लागि यो कागजी फूल मात्र बन्न पुग्यो।
नेपालका धेरैजसो कथित प्रगतिशीलहरूसँग नाङ्गो सत्य पचाउने साहस छैन जस्तो लाग्छ। जब कुनै कुरा बाहिरन्छ, तब यिनीहरू निम्नस्तरीय गालीगलौजमा उत्री हाल्छन् तर कुनै पनि कुरा टुंगोमा पुर्याउँदैनन्। यिनीहरू कहिले जुट्छन्, कहिले मिल्छन्, कहिले छुट्छन्, कहिले गालीगलौजमा उत्रिन्छन्। कहिले फेरि प्रतिक्रियावादीले हामीलाई छुट्टाउने प्रयास गरेका थिए तर सकेनन् भन्दै फेरि फरिया मिलानमा लाग्छन्। यी कथ्य प्रगतिशीलहरू खासमा पुरातन जडवादी किराहरू हुन्, बरु गोब्रेकिरालाई प्रगतिशिल मान्न सकिएला, प्रकृतिको विराटतामा सिसीफसले सिकाउन सक्यो यसलाई तर यी लालबहादुरहरू चेत्न सक्ने छैनन्।
पुँजीवादीको कुरा गर्न किन आवश्यक छैन भने यिनीहरूले आफ्ना यौन हिंसाका कुराहरू पैसामा किन्छन् या शक्तिको बुटले किल्चिदिन्छन्। चुम्बन र किसले आफ्नै कथाहरू बोकेर हिँडी नै राख्छन् तर यिनको नियन्त्रण आवश्यक छ र मान्छेहरू प्रत्येक पाइलामा सजक हुनैपर्छ।
यो पनि बुझ्न आवश्यक छ कि मान्छेको कामवासनाको निर्धारण रुखबिरुवाबाट प्राप्त खानेकुराले गर्छ। मान्छे जस्तो खान्छ, विचार पनि त्यस्तै बन्दै जान्छ। अहिलेको मान्छे खाना मात्र खाँदैन, अरुको विचार पनि खान्छ। कस्तो र कसरी खाना र विचार खाइन्छ, त्यसरी नै जीवनका तमाम आवेगात्मक वृत्ति बन्दै जान्छन्।
आजकल सोच्ने गर्छु, प्रेम तनको कुरा हो या मनको? यो लोभ हो या निःस्वार्थ भावना? सायद यो सम्बन्धको आयतन र सघनतामा भर पर्छ। तर ओशो भन्छन्- प्रेम (लभ) संस्कृत शब्द लोभबाट आएको हो। संस्कृतमा यसको मूल अर्थ नै लोभ हो। प्रेम वास्तवमा मान्छेले आफूभित्र लुकाएको लोभ बाहेक केही होइन। यो लुकेको लोभ हो। हो जस्तो लाग्छ किनकि आधुनिक प्रेममा लोभ बढ्दो छ र डिवोर्सको गति पनि चुलिँदो छ।
केटाकेटीमा सिमलको छहारीमा गुच्चा खेल्दै गर्दा हामी कुरा गर्थ्यौं कि सिमलका रुखबाट सलाई बन्छ। आजभोलि सोच्छु दिनभरि मेलामा कर्म गरेर लखतरान मेरी आमाले सलाईको काँटी च्यार्र पारेर अँगेनामा हामीलाई खाना बनाउँथिन्। दाउरा पनि त्यही सिमलको हुन्थ्यो। जंगल खुलेको बेला सुकेर लडेका दाउराहरू पैसा तिरेर ल्याइन्थ्यो।
त्यो सामुदायिक वन समाजको लागि आम्दानीको स्रोत पनि थियो। 'थियो'मा यावत कुरा लेख्दा मन कटक्क खान्छ तर यथार्थलाई चिम्लिन सकिँदो रहेनछ। एक प्रकारले ती सिमलका रुख हाम्रा गाँस, बास र कपासका स्रोत थिए र छन् पनि तर विस्तारै यी सकिँदै छ, मान्छे यिनलाई सकाएर धनी बन्न खोज्दै छन्। सकिएका दिन धनीले आफ्नो लास पैसाको बिटोले जलाउन सक्दैन।
सिमलका रुख मेरो प्रेममय शीतलताको प्रमाण मात्र थिएन। यो क्रान्ति भनिने रक्तपातपूर्ण युद्धको साक्षी पनि थियो। सिमलका राता फूल मेरा लागि प्रियसीको रातो रिबनको मिठास मात्र थिएन, यो निहत्था जनतामाथि गरिएको बर्बर दमनको अत्यास पनि थियो।
सिमलको भुवासरि मेरी प्रियसी मात्र अलप भएकी थिइन, हजारौं युवा विदेश पलाएन भएका थिए। आजसम्म पनि प्रियसीसँगको अन्तरंग गफले हामी रातो सिमलमा फूलमा फर्कन सक्छौं तर गरिब किशोरहरू खाडीको तातो रापमा पिल्सिएका छन्, धेरैजसो रातो बाकसमा फर्किन्छन्।
म स्तब्ध त त्यतिखेर भएँ जब मैले थाहा पाएँ कि सिमलको काठ सेतो, नरम र हल्का हुने भएकोले कफिनको (लास राख्ने बाकस) लागि प्रयोग गरिन्छ। सिमलको रुखमुनि हुर्किएका उनीहरूको सपना सिमलको रातो बाकस भएर फर्कने रहेछन्। सिमलका राता फूलका अर्थ मान्छेपिच्छे फरक हुँदो रैछ। 'रातो राम्रो र गुलियो मिठो' भन्ने उखान सबैको हितमा छैन जसरी नेताका उखान जनताका हितमा छैन।
केटाकेटीदेखि जोडिएको सिमलको एउटा स्मृति सधैं मेरो मानसपटलमा आई नै रहन्छ। हामी सानैमा सामुदायिक वनमा सिमलको रुखमुनि राखिएका केही माटाका भाडा र केही मूर्तिजस्ता देखिने ढुंगाहरूलाई पूजा गर्न जान्थ्यौं। त्यसलाई विक्रमबाबाको थान भनिन्थ्यो। केही स्थानीय र धेरै थारुहरूका आस्थाको प्रतिक थियो त्यो। पछि बुढापाका थारुबाट थाहा पाएँ कि उनी कुनै समयका सिद्धपुरुष थिए। प्रकृति प्रेमी बाबा। यसबाट मलाई के लाग्छ भने उनले सिमलको रुख मुन्तिर सिद्धि पाए।
यो मलाई हो जस्तो लाग्यो, किनकि मैले जानेँ कि वैदिक कालदेखि नै विभिन्न समुदायले जस्तै राजस्थान, मणिपुर, छत्तीसगढमा सिमल्लाई देवताको रुखको रूपमा मानिन्छ र आज पनि धेरै जनजातिहरूले यसको पूजा, सम्मान, र संरक्षण गर्छन्।
पूर्वीय दर्शनमा रुखबिरुवाको महत्व सिद्धि र बुद्धत्वसँग जोडिएको छ। आयुर्वेदिक विज्ञानको विकास रुखबिरुवाबाट आउने जडिबुटीसँगै विकास भएको हो। तर अहिले पश्चिमा विकास शैलीले हाम्रा रुखबिरुवा सकिँदैछन्। हाम्रा स्थानीय उपचार पद्धति पनि मासिँदै छन्। चेत आउने छाँट कतै देखिँदैन।
अहिले विक्रम बाबाको थान राप्तिपारि सालको रुखमुनि सरेको छ। मान्छेको प्राकृतिक विनाशले उनलाई लखेट्यो। तर पनि माग्न जान्ने तर दिन नजान्ने मान्छेले उनलाई राप्ति तरेर पनि माग्न छाडेको छैन। अहिले वर्षेनी चैते दशैँको बेला लाखौं मान्छेको भिड लाग्छ यहाँ। भगवान मानिने विक्रम बाबाबाट लोभ, मोह र अहंकारलाई भष्म गरेर भगवान बन्ने प्रयास गर्दैन मान्छे। सुन्ने गरेको छु आजकल थानको वरपरका जंगल कवि भूपिले भनेजस्तो आडम र इभको बर्जित फल खान बढी प्रयोग गरिन्छ।
दुःख लाग्छ कि विगत बोकेको र आगत लेख्ने सिमलका रुख अब त्यहाँ छैनन्।
४-५ दिनमा किताब पढिसकेपछि छोरालाई सोधेँ- 'सधैं कुन किताब किनिदिउँ भनेर सोध्थिस् तर अहिले नसोधी यो किताब मगाइ दिइछस्!'
उसले भन्यो, 'घर अगाडिको ठूलो आँपको रुख तपाईंले काटेको होइन?'
'हो।'
'के बिगारेको थियो त्यसले?'
बोलिनँ।
'आप खान दिन्थ्यो र दशैँमा म पिङ खेल्न पाउथेँ।
फेरि बोलिनँ।
कमाउन आएको श्रीमान फोकटमा वातावरणको चिन्ता गरी लेखिबस्छ भन्ने श्रीमतीको भावले भन्दै थियो, म्याडनेसले सबैलाई बनाउँछ भन्ने छैन।