झट्ट शीर्षक मात्र पढ्दा तपाईंहरूलाई अनौठो लाग्न सक्छ। पढ्दै गर्दा मनमनै सोच्दै गर्नु पनि हुन्छ होला, कत्रो घमन्ड हो लेखकलाई? कस्तो असुहाउँदो प्रस्ताव! श्रीमती शब्द मन नपराउनेले किन विवाह नै गर्नुपर्यो र?
त्यस्ताले त जीवनभर अविवाहित नै बसे भइहाल्यो नि, किन नखरा पार्नु धेरै? यस्तै यस्तै त सोच्नुहुँदो हो नि! यसरी मेरो सतही विश्लेषण गर्नुअघि श्रीमती नातासँग सम्बन्धित मैले भोगेका केही प्रसंगहरू अघि सार्न चाहन्छु। त्यसपछि तपाईंका प्रतिक्रियाहरूको पर्खाइमा बस्छु र त्यसप्रति पनि मेरो वस्तुगत धारणा व्यक्त गर्नेछु।
प्रसंग १: म र मेरा श्रीमानलगायत तीन जना परीक्षार्थीहरू लोक सेवा आयोगले लिने परीक्षाको प्रतिष्पर्धी थियौं। मौखिक परीक्षाका लागि बोलाइएका हामी तीन जनाले दुई स्थानका लागि प्रतिष्पर्धा गर्नुपर्ने थियो। परीक्षाफल प्रकाशन हुनुअघि नै अनेकौं प्रश्नहरू र चर्चा सुन्न थालियो। एउटै घरका दुई जना! एक जनामात्र छानिए भइहाल्यो नि!
श्रीमान र श्रीमतीमध्ये कसको नाम निस्किने हो बरू? श्रीमतीभन्दा त श्रीमानकै नाम निस्किए राम्रो! मेरै शुभचिन्तक भनाउँदाहरूले समेत यसरी भन्न थाले। कथंदाचित तिम्रो नाम निस्किएर श्रीमानको नाम ननिस्किएमा घरमा किचलो होला। तिम्रो पदीय मर्यादामा श्रीमान बस्नुपर्दा अवश्य हीनताबोध हुन्छ नै। अहिलेसम्मको नमूनामूलक वैवाहिक सम्बन्ध धरापमा पर्न सक्छ। बरू त महिलाहरू श्रीमान भन्दा तल्लो तहमा नै भएको राम्रो हुन्छ। अधिकांशको चाहना रहेछ — मेरा श्रीमान् छानिऊन्।
हाम्रो परम्परागत संस्कार पनि यही हो। जागिरका सवालमा म श्रीमती भएकै नाताले स्वाभाविक रूपमा अयोग्य ठहरिन्छु। तर अधिकांशको इच्छाविपरीत हामी दुवै समान भएकोले म र मेरा श्रीमान भने दुवैको नाम निस्कियोस्।
यदि ननिस्किए बरू मेरै नाम निस्कियोस् भन्ने कामना गर्दथ्यौं। घर व्यवहार मिलाउने जिम्मा हाम्रै हातमा छ, काखमा छोराछोरी भए पनि हामीलाई केही फरक पर्नेवाला थिएन। नभन्दै परीक्षाफल प्रकाशन भयो। श्रीमानको नाम निस्कियो, म भने वैकल्पिक उम्मेदवार बनें। मनमा नमज्जा लाग्यो किनकि म पनि सक्षम प्रतिष्पर्धी नै त थिएँ। तै पनि दुईमध्ये एक त छानियौं भन्दै चित्त बुझाएँ। जताततैबाट सान्त्वना स्वरूप फोनको घन्टी बज्नथाल्यो। जे भयो राम्रै भयो, घर सम्हालिने भयो। सुमधुर सम्बन्ध दीगो रूपमा कायम हुने भयो भन्दै ढाडस मार्न थालें। म अचम्मित भएँ।
प्रसंग २: नोकरीको सिलसिलामा म र मेरा श्रीमान एउटै अस्पतालमा कार्यरत छौं। श्रीमान मेरा कार्यालय प्रमुख पनि हुन्। म पनि अस्पतालकी वरिष्ठ र अनुभवी चिकित्सकमा पर्छु। जागिरको हिसाबले १७ वर्ष बिरामीको सेवामा बिताएकी छु।
अस्पतालमा राम्रो टिमवर्क छ। देशकै उत्कृष्ट केन्द्रीय अस्पताल बनाउनको लागि हामी सबैको निरन्तर प्रयास जारी छ। गुणस्तरीय सेवा, सहज र सुलभ रूपमा प्रवाह गर्न हामी तत्पर छौं। म कार्यरत शाखा अस्पतालको आयआर्जन गर्ने शाखाहरूमध्ये अग्र स्थानमा पर्छ।
एकातिर अस्पतालले योगदानको आधारमा निश्चित मापदण्डअनुसार आम्दानीको केही प्रतिशत सबै चिकित्सक र कर्मचारीहरूलाई प्रोत्साहन भत्ता स्वरूप उपलब्ध गराउँछ। यसले गर्दा ती शाखाहरूमा कार्यरत कर्मचारीहरूलाई थप उत्साह र कार्यप्रति स्वस्थ प्रतिष्पर्धा उत्पन्न गराएको छ। तर अर्कोतर्फ परिवर्तन नै नचाहने, यथास्थितिवाद मन पराउने, जागिर गर्ने तर आफ्नो कर्तव्य नसम्झने सक्रिय सानो विरोधी टिम पनि त्यहीँ भित्रै छ।
कामभन्दा पनि कुरा गर्ने र उजुरी बाजुरीमा गर्न मानिकै सक्रिय सानो टिमलाई पनि भ्याइनभ्याइ देखिन्छ। दुई–दुई महिना बिराएर अनावश्यक जालसाजी दुःख दिन मनगढन्ते उजुरी खडा गरेर प्रायःकहिले अख्तियार त कहिले सतर्कता केन्द्रमा त कहिले सर्वोच्चमा उजुरी हालिरहन्छन्। हिसाब गर्दा एकवर्षमा थुप्रै उजुरीहरू परे।
ती उजुरीहरूमा मसँगै कार्यरत अन्य साथीभाइको नाम त्यतिधेरै गाँसिएको देखिँदैन। मेरो पदीय मर्यादा, हैसियत र कामकाज केही नखुलाई केवल कार्यालय प्रमुख फलानोकी श्रीमतीले आफ्नो स्वार्थका लागि बिरामी ओसारपसार गरी। प्रमुखले पनि श्रीमतीको लागि गाडी सुविधा, भत्ता दिए। श्रीमान र श्रीमतीले अस्पतालबाट अकुत सम्पत्ति कमाए। दुवै मिलेर गर्नुसम्म भ्रष्टाचार गरे यस्तै यस्तै लान्छना लगाउनमै रमाएको छ सानो टिम।
भित्री कुरा नबुझी सतही सोच्नेले त हो न हो श्रीमान भनाउँदोले पदीय मर्यादाको दुरूपयोग नै गरेका रहेछन्, श्रीमतीलाई नातावाद, कृपावादका आधारमा सित्तैमा जागिर खुवाए, भत्ता दिलाए भन्ने पनि सोच्न सक्छन्। जसरी उजुरी हालिरहन्छन् त्यसरी नै बुझ्लान् वास्तविकता नबुझ्नेहरूले। उजुरीमा मेरो नाम, दर्जा केही हुँदैन। हुन्छ त केवल कार्यालय प्रमुखकी श्रीमती भन्ने शब्दको प्रयोग। यो मेरा लागि अत्यन्त घृणाको विषय बनेको छ।
प्रसंग ३: वर्तमान सन्दर्भकै कुरा हो। मन्त्रिमण्डल फेरबदल सँगसँगै त्यो सानो 'सुलसुले' टिमको मन्त्रीसँगको व्यक्तिगत पहुँचका आधारमा सुलसुलाउन थाल्यो। सानो टिमभित्रका कर्मचारीहरू अब कार्यालय प्रमुखलाई हाम्रो हैसियत देखाउने छौं भन्दै पत्रपत्रिकामा झूटा समाचारहरू प्रकाशन गर्नमा तल्लीन भए।
नेपालमा नाम चलेको एउटा अनलाइन पत्रिकाले पनि घटनाको सत्यतथ्य नबुझी र गहिराइमा नै नपुगी उजुरीकर्ताको पहुँचको आधारमा एक पक्षीय ढङ्गले स्वाद मानीमानी कृत्रिम कुरा सुनेर समाचार बनायो। आफ्नो समाचार बिकाउने हिसाबमा आँखा चिम्लिएर समाचार प्रकाशन गर्यो। ठूलाठूला भँगेरे टाउके शीर्षकमा।
झट्ट समाचारको शीर्षक पढ्दा लाग्न सक्छ श्रीमती कस्ती खराब रैछे। श्रीमतीकै कारण पो गडबडी भएर कार्यालय बिग्रेको रहेछ भन्ने पारिएको देखिन्छ। प्रकाशित घटनाले मलाई सोच्न बाध्य बनाउँछन् कि पहुँच छाम्ने 'झोले' पत्रकारहरूले किन कुरा नबुझेका होलान्। झूटको खेती सधैं पाक्दैन भनेर?
म जस्ता कैयौं श्रीमतीहरू छन् जो आफ्नो पदीय मर्यादा, जिम्मेवारी र भूमिकाप्रति निकै सजग देखिन्छन्। आफ्ना श्रीमानको परिचयभन्दा पनि उनीहरू आफ्नो कार्यसम्पादनका क्षेत्रमा आफ्नै क्षमता र दक्षताबाट चिनिन चाहन्छन्। बुझेर पनि बुझ पचाउनेलाई यसबारे कसरी बुझाऊँ म?
प्रसंग ४: मेरी सहपाठी नम्रताका (परिवर्तित नाम) श्रीमान नेपाल सरकारको उच्च ओहोदाका कर्मचारी थिए। परम्परागत प्रभावमा नम्रता आफूभन्दा पनि श्रीमानकै रवाफमा रमाउन चाहन्थिन्। प्राय:कार्यालय ढिलो आउने, बिनाजानकारी बिदामा बस्ने, काममा ठगी गर्ने, अर्काको चियोचर्चोमा समय खर्चिने उनको बानीले सबैलाई हैरान पारेको थियो।
उनको नराम्रो बानीले सेवाग्राहीमा समेत प्रत्यक्ष असर पर्न थालेपछि हैरान भएर एक दिन कार्यालय प्रमुखले उनलाई व्यक्तिको पदीय मर्यादा, हैसियत र जिम्मेवारी सम्झाउन थाले। उनी त रिसले झन् आगो जस्तो भइन्। उनी प्रमुखको कार्यकक्षमै आफ्ना श्रीमानको धाकधक्कु लगाउँदै कार्यालय प्रमुखमाथि खनिइन्।
‘तपाईंले के सम्झिएको छ मलाई? काम गर्ने भए म चाहेको ठाउँमा सरूवा हुन्थें। खासै काम गर्नुपर्दैन भनेर पो म यहाँ आएकी हुँ। मेरा श्रीमानले यो कुरा थाहा पाउनु भयो भने तपाईं र कार्यालयको के हालत हुन्छ? अब तपाईंलाई अन्यत्रै पठाइदिनु पर्ने हो? म तपाईंको कारिन्दामात्र हैन, फलानो....को श्रीमती पनि हुँ। गहिरिएर सोच्नुहोस्!’
नम्रताका कुरा सुनेर म र मजस्तै अन्य महिला सहपाठीलाई साह्रै नरमाइलो लाग्यो। किनभने उनले आफ्नै श्रीमानको बेइज्जत गरिन् भनेर। उनका श्रीमान तिनै उच्च ओहोदाका सर हुन् जो कर्ममा विश्वास राख्दछन्। उनी त कामका आधारमा कसैलाई पनि लैङ्गिक हिंसा गर्नुहुँदैन भनी मजस्ता संघर्षशील महिलाहरूका प्रेरणाका स्रोत बन्न चाहन्छन्।
म नम्रताका धम्कीपूर्ण कुरा सुनेर पदीय मर्यादामा समेत परम्परागत श्रीमतीको हैसियत खोज्नेहरूसँग मुरमुरिएँ। जसले नम्रता जस्ता श्रीमतीहरूको दिमाग कोतरिदिएका छन्।
मेरो दिमागमा पदीय मर्यादामा श्रीमती जोडेर खिल्ली उडाउने गरेका अरू प्रसङ्गहरू पनि अटेसमटेस भएर बसेका छन्। गतवर्ष कार्यालयबाट उत्कृष्ट र लामो समयदेखि निरन्तर रूपमा कार्यालयको सेवाप्रति कटिवद्ध कर्मचारी छान्ने क्रममा मेरो नाम आउनासाथ स्वयं कार्यालय प्रमुखलगायत सबैले अहो! हुँदैन!
सबैले फेरि प्रमुखकै श्रीमतीले पुरस्कार पाइन् भन्दै चर्चा गर्छन्, कुरा काट्छन् भन्दै मेरो कार्यदक्षतामा समेत विचार नगरी प्रतिष्पर्धामा उत्रिनु अघि नै मेरो नाम श्रीमती नै भएका कारण हटाएको प्रसङ्ग रहेको छ।
समय सन्दर्भले यस्ता थुप्रै घटनाहरू बाहिर निकाल्ने नै छ। अझ अरू चाहिँ नथपिऊन् भन्ने मेरो इच्छा हो।
अन्त्यमा, कृपया मानवता र समानताको पक्षमा उभिन चाहनेहरूले पदीय मर्यादामा श्रीमती नजोड्नुहोला!