सेतोपाटीमा प्रकाशित मेरो लेख उनलाई साह्रै मन परेको रहेछ।
आफ्नो जीवनसँग मेल खाएकाले होला उक्त लेख पढेर उनी साह्रै प्रभावित भएकी रहिछिन्।
‘पूर्वप्रेमिकाको फ्रेन्ड रिक्वेस्ट’ शीर्षकको लेख पढेर उनले मलाई फेसबुकमा रिक्वेस्ट पठाइन्।
मैले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरें।
केही मिनेटमै उनले मेरो फोटोमा कमेन्ट गरिन् ‘लुकिङ ह्याण्ड्सम’। मैले ‘थ्यांक यु’ भनेर रिप्लाई गरें।
केहीछिनमै मेसेज आउँछ, ‘हाई’।
मैले ‘हेलो’ भनें।
‘हजुर कानुनको क्षेत्रमा काम गर्नुहुँदो रहेछ, म पनि न्यायको खोजीमा हिँडेको मान्छे, केही सरसल्लाह पाइन्छ कि भनेर साथी बन्न खोजेकी हुँ।’ भन्दै नमस्ते इमोजी सहितको मेसेज पठाइन्।
‘ओके, स्योर! तपाईंलाई आवश्यक परेको कानूनी सल्लाह र परामर्श म दिन सक्छु’ मैले प्रतिक्रिया जनाएँ।
‘म अहिले कठिन जिन्दगी जिउँदैछु दुःख कष्टको आहालमा डुबिरहेकी छु। मेरो जीवनमा थुप्रै समस्या छन्। यो सकसपूर्ण जीवनबाट म उन्मुक्ति पाउन चाहन्छु। मेरा पीडा व्यथा थुप्रै छन्। मैले हजुरबाट अलि धेरै सल्लाह सुझाव र परामर्शको अपेक्षा राखेकी छु,’ उनले दोहोर्याइन्।
‘मैले यसलाई पेशागत र मानवीय धर्मको रूपमा बुझेको छु। म मेरो पेशागत मर्यादा र कर्तव्यबाट बिमुख हुन चाहन्नँ। मैले सक्ने जति सहयोग गर्नेछु,' मैले आशा दिलाएँ।
त्यो दिन उहाँसँग धेरै कुरा भएन। उनले थोरै मेरो पारिवारिक पृष्ठभूमि र पेशा व्यवसायको बारेमा सोधपुछ गरेकी थिइन्।
‘मेरो अफिस जाने टाइम भयो, ल बाई’ भनेर म अफिस गएँ।
साँझ अफिसबाट कोठा आएर सदाझैं बेडमा पल्टिएर मोबाइल हेर्दै थिएँ।
न्यूजफिड हेर्दै गर्दा अलि धेरै नोटिफिकेसन आएको देखें।
यति धेरै नोटिफिकेसन आएको देख्दा कौतुहलता बढेकाले होला मेरा औंलाहरू तुरून्तै नोटिफिकेसनतर्फ लम्किए। दर्जनभन्दा बढी फोटोमा लाइक र थुप्रै फोटोमा कमेन्ट गरेको देखें।
‘ए, त्यसो भए भर्खर अघि बिहान कुरा भएकी साथीले मेरो पूरै प्रोफाइल हेरेर भ्याइसकिछिन्’ मैले अनुमान लगाएँ।
नभन्दै एकछिनमा मेसेज आयो।
‘अफिसबाट आउनु भयो हजुर?’
‘हजुर,आएँ ! ’ मैले रिप्लाई गरेँ।
‘अनि के गर्दै हुनुहुन्छ?’, उनले प्रतिप्रश्न गरिन्।
‘म आराम गरिरहेको छु, अनि तपाईं के गर्दै अहिले?,’ मैले नि प्रश्न गरेँ।
‘बस् हजुरलाई नै मिस गरिरहेकी छु’ तुरून्तै रिप्लाई गरिहालिन्।
म केही बोलिनँ, एकछिन मौन भएर बसेँ। हिजोमात्रै साथी बनेकी उनले कसरी मलाई मिस गरिरहिछिन्? म सोचमग्न थिएँ।
‘होइन कता बिजी हो नि डियर?’ यतिकैमा फेरि मेसेज आउँछ।
म झनै झस्किन्छु। चिन्नु न जान्नु हिजो मात्रै साथी बनेको मान्छे म कसरी उसको डियर हुन सक्छु? मैले केही रिप्लाई गरिनँ।
अनेकन जिज्ञासा र प्रश्नहरु मनभित्र द्वन्द्व गरिरहेका थिए।
एकछिनको मौनतापछि मेरा औंलाहरूले पनि रिप्लाई दिने चेष्टा गर्यो।
‘होइन, म न्युज पढ्दैछु म्याम’ जवाफ फर्काएँ।
एकछिनपछि उनले अलि लामै मेसेज लेखेर पठाइन्।
‘म प्रेममा पटक पटक धोका खाँदै आएकी मान्छे हुँ। मैले जसलाई माया गरें उसबाट माया पाउन सकिनँ। मेरो वैवाहिक जीवन पनि सुखमय रूपमा अगाडि बढेन।
मैले आफ्नो श्रीमानबाट समेत माया पाउन सकिनँ। श्रीमानको टर्चर र यातना सहन गर्न नसकेर अहिले म अदालतको शरणमा न्यायको लागि गुहारीरहेकी छु।
हजुर पनि कानूनको क्षेत्रमा काम गर्ने भएर मैले साथी बन्न खोजेको हुँ। हजुरको सबै प्रोफाइल हेर्दा हजुर विवाहित हो भन्ने पनि थाहा छ। त्यसैले म हजुरको जीवनमा कुनै हस्तक्षेप गर्न चाहन्नँ। मात्र एउटा असल साथीको चाहना राखेकी छु! कृपया अन्यथा नसोच्नुहोला।’
यति पढ्दा मैले केही थोरै आशय बुझे पनि त्योभन्दा धेरै जिज्ञासा र कौतुहलता बढिरहेको थियो।
म आफैं विवाहित भएकोले म उहाँको मायाको अभाव पूर्ति गर्न त सक्दिनँ थिएँ। तर उहाँको जीवनमा घटेका घट्नाक्रम र पीडा व्यथामा थोरै भए पनि मलम लाउन सक्थें।
‘त्यसो भए अहिले अदालतमा तपाईंको मुद्दा चलिरहेको छ, हो ?’ मैले जिज्ञासा राखेँ।
‘हो, मेरो कहानी धेरै जटिल र लामो छ। मलाई कानूनी सल्लाह पनि चाहिएको छ। कृपया यदि मिल्छ भने, म हजुरलाई कल गर्न सक्छु ?, ’ उनले अनुमति मागिन्।
‘हस, हुन्छ।’ मैले अनुमति दिएँ।
तुरून्तै मेसेन्जर कल आयो।
उनी सबै बेलिविस्तार सुनाउन थालिन्।
‘विवाह भएको केही समयसम्म हाम्रो सम्बन्ध राम्रै चलिरहेको थियो। अहिले हाम्रो एउटा ४ वर्षको छोरो समेत छ। तर उनको बाहिर अर्कै गर्लफ्रेन्ड रहेछ। मलाई अलि अलि शंका त पहिल्यै थियो। कहिले राति घरमा आउने। बिदाको दिन पनि प्रायः घरमा नबस्ने। कल आउँदा पनि बाहिर गएर कुरा गर्ने। तथापि मलाई उहाँप्रति विश्वास थियो।
तर एकदिन म आफैंले उहाँको मोबाइलमा अर्कै केटीसँग अंगालोमा बेरिएको फोटो देखेँ। त्यतिमात्रै होइन। अन्तरंग सम्बन्ध बनाएका अश्लिल तस्वीरहरू समेत देखेँ। म छाँगाबाट खसेजस्तै भएँ। उहाँप्रतिको मेरा सारा विश्वास र भरोसा क्षणभरमै हरायो। मैले सहन सकिनँ। हाम्रो विवाद सुरू भयो। पटक पटक झगडा हुन थाल्यो।
तर उनले एक पटक माफी दिन अनुरोध गरे। मेरो हातबाट अन्जानमा गल्ती भैहाल्यो। म कसरी यो अवस्थामा पुगें। म स्वयंलाई थाहा छैन। अबदेखि मेरो हातबाट यस्तो हुँदैन। धेरै अनुनय विनय गरेपछि, सानो बच्चाको समेत भविष्य हेरी मैले एकपटक माफी दिएँ।
केही महिना त ठिकै चलिरहेको थियो। पुनः श्रीमानको अर्कै केटीसँगको सम्बन्ध बारेमा मैले थाहा पाएँ। यसपटक मैले उहाँलाई केही भनिनँ। किनकि उहाँको बानी अब सुध्रिने जस्तो थिएन। मैले अब जति जे गरे पनि समस्याको समाधान हुने देखेको थिइनँ। मैले उहिल्यै डिभोर्स गरिहाल्थें। तर सानो बच्चाको भविष्य बिग्रिने डरले म चुप लागेर बसेकी थिएँ।
अब मैले जति जे गरे पनि उनको बानी सुध्रनेवाला थिएन। उनीबाट मैले पाउने माया पनि पाएको थिइनँ। कुनै दिन न त राम्ररी बोल्थे, न त कुनै सामिप्यता र आत्मियता थियो।
उनी छुट्टै कोठामा सुतेको एक वर्षभन्दा बढी भैसकेको थियो। म पनि एउटी नारी हुँ। मलाई पनि माया चाहिन्छ, साथ र भरोसा चाहिन्छ, जुन मैले पाउन सकेकी थिइनँ।
यसरी दिनहरू बित्दै जाँदा मेरो जीवनमा पनि एउटा परपुरूषको प्रवेश भयो। श्रीमतीसँग डिभोर्स गरेका ती पुरूषसँग फेसबुकबाटै हाम्रो कुराकानी बाक्लिन थाल्यो। गहिरो कुराकानी हुँदै जाँदा हाम्रो भेट पनि भयो। भेटमात्रै होइन, हामीहरूबीच अन्तरअंग सम्बन्ध पनि भयो। तर म कति विचलित थिइनँ। श्रीमान परस्त्रीसँग रमाउँदै हिँडेकाले मैले पनि परपुरूषसँग रमाउनुमा मलाई कुनै लज्जाबोध र पश्चाताप थिएन। तर बिडम्बना मेरो श्रीमानले पनि हाम्रो अन्तरअंग सम्बन्धका बारेमा थाहा पाए।
उनी रिसले आगो भए। कुटपिट समेत गर्न थाले। मैले रूँदै भने तपाईंले दुनियाँ केटीसँग रमाइलो गर्दै हिँड्ने? मलाई माया चाहिँदैन? साथ चाहिँदैन? यो सब तपाईंकै कारणले हो।
यसरी हाम्रो सम्बन्धमा दिनानुदिनु झगडा र विवादमात्रै बढ्न थाल्यो। अब हामी सँगै बस्न सक्ने अवस्थामा थिएनौं।
मैले अदालतमा डिभोर्ससँगै अंश मुद्दा दायर गरेँ। अहिले हाम्रो मुद्दा अदालतमा चलिरहेको छ। म अहिले माइती घरमै बस्दै आएकी छु।’
यति भन्दै उनले लामो सास फेरिन्। म नि:शब्द भएँ। सामाजिक सञ्जालले निम्त्याएको विकृति, पारिवारिक विचलन, समाजका समकालीन घटनाक्रम र पीडा व्यथासँग सम्बन्धित मुद्दा मामिलाका बारेमा म उहिल्यैदेखि सुपरिचित थिएँ।
दश वर्षजति अदालतमा काम गर्दा मैले यस्तै खालका थुप्रै कुरा बुझेको थिएँ। अदालतमा दायर हुने डिभोर्स मुद्दाका पछाडि यी पनि कारण थिए।
‘अनि तपाईंको पछिल्लो पुरूषसँगको सम्बन्ध अहिले कस्तो छ?’ मैले सोधेँ?
उनी अलि निराश हुँदै जवाफ दिन थालिन् ‘उसले पनि मलाई साथ दिएन। केही समय मायाको नाटक गरेर मलाई धोका दियो। अहिले विदेश गएको छ। म सहाराविहीन भएकी छु। मलाई मेरोभन्दा पनि मेरो सानो बालकको चिन्ताले रातदिन पिरोल्ने गर्छ।अब मैले न्याय पाउँछु कि पाउँदिनँ? मेरो मुद्दा कसरी अगाडि बढ्छ ? उनले जिज्ञासा राखिन्।
बाँकी अर्को भागमा…!
(लेखक नेपाल सरकारका कानून अधिकृत हुन्।)