इना पाख्रिन एन्जल ई।
यो नाम पछिल्लो समय युवाहरूको मनमा बस्न सफल छ। उनका हरेक प्रस्तुतिमा सामाजिक तथा जीवन भोगाइका कथाहरू समावेश हुने गरेका छन् जसले मलगायत थुप्रै युवायुवतीहरू उनका हरेक प्रस्तुति सुन्न र हेर्न लालायित हुन्छौं।
र्याप संगीतलाई छाडा गीत हो भन्ने बुझाइ समाजको छ। त्यही सोचलाई बदल्ने उनको उदेश्य रहेको कुरा उनले एउटा अन्तरवार्तामा भनेकी छिन्। उनले एक टेलिभिजन कार्यक्रममा कुर्था-सुरुवाल लाएर नै र्याप गाएकी थिइन्। कुर्था लगाउँदा उनको पोसाकमाथि कमेन्ट गर्नेको जमात कम थिएन।
र्याप संगीत अमेरिकन तथा अफ्रिकी मुलुकबाट सुरु भएको हो। जसमा आफ्नो कठिन जीवन, कठिन समय र दैनिक देखिने तमाम समस्यालाई शब्दमार्फत व्यक्त गरिन्छ। नेपाल तथा अन्य एसियन मुलुकहरूमा पनि पछिल्लो समय यो विधा निकै चर्चामा रहेको छ। विशेषतः यो विधा युवाहरू माझ निकै लोकप्रिय बन्दै गएको छ।
छोटो समयमा धेरै शब्दहरूसँग खेल्न सकिने तथा आफ्नो विषयवस्तुलाई पूर्ण रुपमा पस्किन सक्ने भएकाले यो चर्चामा रहेको छ। हालै नेपालमा नेपहपको श्रेपेच नामक एक र्याप ब्याटल रियालिटी शो सम्पन्न भएको छ। जसमा देशभरका थुप्रै र्याप संगीतका पारखीहरूले भाग लिएका थिए। यही कार्यक्रमकी प्रतिस्पर्धीमध्ये एक चर्चित नाम र्यापर इना पाख्रीन पनि हो।
इनाले आफ्ना गीतमा धेरैजसो गम्भीर तथा सामाजिक उत्पीडन र महिलाहरूको बारेमा शब्दमार्फत आवाज उठाउने गरेकी छिन्। उनले सामाजिक चेत र सकरात्मक विचार प्रवाह सहितको प्रस्तुतिले कयौंको मन छुने गरेको छ।
बलात्कार, चेलीबेटी बेचबिखान, बेरोजगार समस्या, महिला हिंसा, पाप, धर्म, भ्रष्टाचार, सडक बालबालिकाजस्ता गम्भीर विषयवस्तुमा उनले आफ्नो र्यापमार्फत आवाज उठाउने गरेकी छिन्। त्यसैले पनि उनी मलाई असाध्यै मन पर्ने र्यापर हुन्।
इनाले समाजको चित्रलाई जस्ताको त्यस्तै आफ्ना शब्दमार्फत देखाउने प्रयास गरेकी छिन्। उनले दिने प्रस्तुतिमा गहन विषयवस्तुमा शब्दको ओज र फरक प्रस्तुति शैलीले गर्दा हामीजस्ता युवा पुस्ता उनका फ्यान भएका हौं। उनको बेग्लै किसिमको प्रस्तुतिले गर्दा उनका बारेमा लेख्न झनै उत्साहित बनाउँछ।
बलात्कारपछि हत्या भएकी निर्मलाको न्यायको खोजिमा भौतारिनु पर्दाको दुःख, न्याय दिने निकायको ढिलासुस्ती जस्ता विषय पस्कँदा उनका प्रस्तुति तथा शब्दमा पीडा र आक्रोश बढी देखिन्छ। सँगसँगै हाम्रो समाज र देशको पद्धतिलाई चेतावानि समेत दिएको देखिन्छ।
बेरोजगारी समस्याले गर्दा युवाहरू विदेश पलायन, रेमिट्यान्सले धान्नु परेको अर्थतन्त्रजस्ता विषय उनले आफ्नो शब्दमा समावेश गरी प्रस्तुति दिँदा सरकारको नियम र पद्धतिलाई नै गिज्याइरहेको छ। अर्थात् यस्ता सम्वेदनशील विषयमा आफ्नो र्यापमार्फत् सधैं धावा बोल्छिन्।
र्याप गीतलाई छाडा शब्द पोख्ने माध्यम भएको बुझाइ राख्ने हाम्रो समाजमा महिला र्यापर हुनु सानो चुनौतीको विषय पक्कै होइन। उनले आफ्नो र्यापमार्फत समाजको ऐना देखाउने प्रयास गरेकी छिन्। समाजमा घट्ने कतिपय घटना तथा मनमा बाँधिएर बसेका कुराहरू सिधा कसैसँग पोख्न तथा छलफल गर्न नसकिने हुन्छ। ती कुराहरू र्यापमार्फत व्यक्त गर्न सकिने कुरा उनले बताउँदै आएकि छिन्।
समाजमा घटेका घटनाहरूलाई उनले आफ्नो प्रस्तुतिमा कलात्मक ढंगले उर्ताने गरेकी छिन्। मानव तस्करहरूको जालमा परी बेचिएका तथा बलात्कारको शिकार भएका महिला/युवतीहरू र समाजमा उनीहरूमाथि गरिको निकृष्ट व्यवहार जसले उनीहरूको जीवन चलाउन कठिन बनाएको छ। यसमा उनीहरूको कुनै गल्ती नै छैन। बिना गल्ती सामाजिक बहिस्कार तथा अपमान सहन बाध्य छन्। यस्ता महिलाहरूको पीडा आफ्नो पीडाजस्तै गरी उनले आफ्नो प्रस्तुतिमा पोख्दा सुन्ने मानिसहरू नै छक्क पर्ने गर्दछन्। त्यसैले पनि उनी सबैको मनमा बस्न सफल भएकी छिन्।
र्याप भनेको रफ मात्र नभएर सफ्ट भएर पनि गाउन सकिन्छ भने उनी यस क्षेत्रको सभ्य र्यापरको ज्वलन्त उदाहरण हुन्। आशा छ आगामी दिनमा पनि उनका र्यापहरूमा सामाजिक विभेदहरूको विरुद्ध सशक्त प्रहार होस्। आवाज विहीनहरूको आवाज बनोस्। पीडितहरूको पीडा पोखियोसु र उनका हरेक गीतले हाम्रो मन जितोस्। अन्तमा लेडि र्यापर एन्जललाई न्यानो माया अनि शुभकामना।