'योपालि चाहिँ छोरा नै हुन्छ है, धेरै भाकल पो राखेका छौं त।' म गर्भमा छँदा यस्तै आशमा हुनुहुन्थ्यो आमाबुवा। यो कुरा पछि थाहा पाउँदा पनि मलाई कुनै चित्त दुखाइको विषय लागेन। समाजमा छोरी जन्मनेका परिवारको खिसिटीउरी गरेको मैले हुर्कंदै गर्ने क्रममा देख्दै आएको हुनाले पनि मलाई बुझ्न केही गाह्रो भएन।
त्यो बेला छोरा हुनु गर्वकै कुरा थियो प्रत्येक दम्पतीका लागि। नभन्दै तेस्रो छोरीको रुपमा म जन्में। आमाको न्यानो कोखमा मैले च्याँ-च्याँ गरेर रुँदा आमाको मातृत्व अनि बुवाको माया उथलपुथल भयो। त्यहाँ कुनै छोरा अनि छोरीको कुरै थिएन। यो संसारमा एउटा जीवन पाएर तिर्ने नसक्ने ऋण मेरो थाप्लोमा थियो।
बिहान रेडियो नेपालमा शंखको धुन भजनबाट हरेक दिनको सुरुआत हुन्थ्यो। आमा गृहिणी, घरको लत्ताकपडा, गाँसबासको जिम्मा एक्लो थाप्लोमा हुन्थ्यो बुवाको। त्यसैले दिनभर उहाँलाई घरमा कमै पाउथ्यौं। बिहान चाँडै हिँड्नु अनि रात अबेर आउनु सामान्य जस्तो थियो।
बिहान चियासँग जुली बिस्कुट त कहिले थिन आरारोट बिस्कुट बाढिचुँडी खाँदा, दिनभर धुलोमैलो गरेर खेल्दा होस वा छिमेकको घरमा अट्टसमट्टस गरेर टिभीमा हेरेको महाभारत रामायणको त्यो आनन्द बिरलै छ। जीवनको यथार्थ सुख त आफ्नो परिवारसँग बिताएका तिनै सुखदुःखका क्षणहरु नै हुन, जसको कुनै मोल छैन।
गुँडमा बचेरा जसरी माउको उपस्थित हुनसाथ खानको लागि व्यग्र हुन्छ, आखिर हाम्रो व्यग्रता पनि त त्यस्तै हुन्थ्यो। अझ मान्छेको बच्चाको कुरा बेग्लै हुन्छ, घरी यो चाहियो घरी त्यो चाहियो। एउटा बच्चा बिरामी भएर निको हुन नपाउँदै अर्को बिरामी हुने। बिरामी हुँदा माया अझ धेरै पाइने हुँदा उस्तै डिमान्ड फुरिन्थ्यो।
'सात समुन्दर पार से, गुडियोके बजारसे… अच्छी सि गुडिया लाना
गुडिया चाहे नलाना, पापा जल्दी आजाना।'
यो गीतजस्तै मैले बेहुलीवाला पुतलीको लागि धेरै दिन रोएर ढिपी गरिरहेँ। 'पापा जल्दी आजाना' चाहिँ भनिनँ तर खाना नखाई होस वा रोएको आवाज छिमेकीका घरको भित्ता नपुगेन्जेल होस्, ढिपी गरिरहेँ। त्यो बेला मलाई लाग्दो होला, जाबो एउटा पुतलीको लागि कति मेहनत गर्नु परेको!
नभन्दै एउटा सुन्दर बेहुलीवाला पुतली आइपुग्छ। मेरो खुसीको कुनै सिमाना रहेन, बुवाले मेरो इच्छा जो पूरा गरिदिनु भयो। बुवाको कोटका ती ठूला गोजी, मानौं त्यो गोजीका हकदार मै मात्र हुँ लाग्थ्यो।
कहिले पैसा भेटाउथेँ त कहिले ल्वाङ-सुकमेल अनि कहिले चुरोट। चुरोट खानु गलत हो भन्ने सानैदेखि थाहा भएर होला, 'बुवाले यो चुरोट खानु हुने, मैले नहुने? बुवाले खानु भयो भने म नि खान्छु' भन्दै घुर्की लाउँदै फाल्न खोज्थें। हातबाट चुरोट खोस्दै ठूलो हाँसोमा बुवा पनि भन्न पछि पर्नु हुन्नथ्यो, 'यो केटी त कति बदमास!'
दशैंमा एक जोर नयाँ लुगा लाउनु खुसीको बयान गरी के साध्य, दक्षिणामा धेरथोर पैसा पाउँदा अनि आमाले पकाएको मिष्ठान भोजन। आखिर यी सब चिजको चाँजोपाँजो मिलाउन हरेक आमाबुवालाई कति हम्मे हम्मे पर्दो हो। आखिर ती आमाबुवा पनि बच्चै थिए कुनैबेला, कति इच्छा थिए होलान्। कति नभनिएका संघर्षका कथा थिए होला। मानसिक समस्याबाट कति झेल्नु पर्यो होला। सायद यस धर्तीका कति आमाबुवाका, मृत्युपर्यन्त समेत पनि मलमपट्टी हुनै सकेन। त्यसको लेखाजोखा समय छँदै भए प्रत्येक सन्तानलाई कुनै पछुतो रहन्न थियो।
खासमा नेवार परिवारमा जन्मदिनमा केक काटेर मनाइने चलन प्रायः कम छ। मलाई ८ वर्षको जन्मदिनमा केक काटेर भव्यसँग जन्मदिन मनाउन रहर पलायो। यो इच्छा कति सजिलै पूरा भयो। अनगिन्ती उपहारबाट म साँच्चै पुलकित भएकी थिएँ। तर समय सँगसँगै यस्ता इच्छा विलीन पनि भए। परिस्थिति बुझ्दै गएँ, कुनै चिज नभएमा नभएर पनि चल्दो रहेछ भन्ने सम्म पुगेँ।
एकदिन नाकबाट अत्याधिक रक्तश्रावका कारण बुवालाई अस्पताल भर्ना गर्नुपर्यो। नाकको पनि प्लास्टर गरिँदो रहेछ! म अचम्म परेँ। केएमसी अस्पतालमा म बुवालाई हेर्ने आउने आफन्तको लागि बाटो देखाइदिने मान्छे बनिदिन्थेँ। नाकको सेतो सिमेन्टको जस्तो प्लास्टरमा बुवालाई देख्दा साँच्चै भन्नुपर्दा 'मेरा नाम जोकर' को राज कपूरझैं जोकरजस्तै देखेँ। त्यो देख्दा खितीखिती हुँदै म यति ठूलोसँग हाँस्न पुगेँ कि बिरामी हेर्ने आउने आफन्तलाई समेत मुखभित्र हाँसो दबाउन हम्मे-हम्मे पर्यो। बुवा मेरो ताल देखेर जिल्ल पर्नुभयो। सन्तानका कतिपय उट्पट्याङ हर्कतलाई आमा बुवाले कति सहन गर्नु पर्ने है!
एसएलसीको रिजल्ट जति व्यग्र मलाई थियो, त्यो व्यग्र आमाबुवालाई पनि उत्तिकै थियो। प्रथम श्रेणीमा राम्रो अंक ल्याएर पास भएकी थिएँ। म भने आमालाई फेल भएँ भनेर झुक्काएँ। ममाथि के बित्यो होला भनि भावविह्वल भई आँसु लुकाउन थाल्नु भयो। बुवा उता मलाई चित्त दुख्ला कि भनी आमालाई केही कुरा नभन्न लगाउनु भयो।
माहोल गम्भीर देख्दा मैले धेरैबेर रोक्न सकिनँ र साँचो बताएँ। त्यसपछि मलाई कति बदमास भनेर आमा भक्कानो छोडेर रून थाल्नुभयो। त्यो हर्षको आँसु थियो। बुवा मौन हुनुहुन्थ्यो।
१०/२० वर्ष अगाडिका जीवनका अनगिन्ती तितामीठा घटनाले जीवनलाई प्रत्येक पल परिपक्वता बनाउँदै लगिरहेछ। हामीले कतिको मन दुखायौं, कति पछाडि छुटे, कति गलत निर्णय लियौं होला। म सोच्दै सशंकित हुन्छु।
आफ्नो बालापनको याद गर्दै अब तिनै अभिवावकको बालापनसँग नजिकिनु छ। उहाँहरूमा भएका आत्मग्लानी कथालाई शान्त बनाउनु छ। खुसीका पलहरुको वर्णन गर्नु छ।
नाबालिग उमेर कटेसँगै हरेक छोराछोरी यदि आफ्नो सानोतिनो खर्चको लागि आफै जिम्मेवारी बने आमा बुवालाई कति सजिलो हुन्थ्यो! विदेशमा १४-१५ उमेर बच्चाले काम गरेको देखेर अझै प्रस्ट भएँ कि सानै उमेरमा स्वावलम्बीको पाठ सिक्नलाई आफू कुनै धनी र गरिबको पृष्ठभूमि भनेर छुट्याइराख्नै पर्दैन।