मलाई असाध्यै मन नपर्ने केही केटा मानिसहरूको बानी हो- आफ्नो घरमा श्रीमती हुँदाहुँदै वा छोराछोरी ठूला भइसक्दा पनि केटी घुमाउने, जिस्क्याउने वा मिल्यो भने उनीहरूसँग रातै बिताउने!
हुन त, अविवाहित नै भए पनि अरूको इच्छाविपरीत जिस्काउनु वा छुन खोज्नुलाई हिंसाकै रूप मानिन्छ। तसर्थ पनि, यस्तो स्वभावका मानिसहरू पटक्कै मन नपर्ने। उनीहरू त्यस्ता हुन् भन्ने थाहा भयो भने टाढैबाट भाग्न मन लाग्ने।
कहिलेकाहीँ संयोगवश साथीहरूसँग कुरा भयो भने पनि उग्र भएर तिनीहरूका विरूद्ध बोल्न मन लाग्ने। अझ त्यस्तो जिस्क्याउनेहरू वा केटी मानिसलाई राख्न खोज्नेहरूमा नाम चलेका प्रतिष्ठित व्यक्तिहरू हुन्छन् भन्दा झनै घृणा जागेर आउने।
एकदिन संयोग भनौं वा विषयवस्तुको गहिराइमा गएर जाने मौका पाएको भनौं, तीनकुनेको क्याफेमा बसेर अफिसका साथीसहित एक जना नाम चलेका प्रतिष्ठित व्यक्ति पनि हामीसँगै बसेर कफी खाँदै थिए।
त्यही क्रममा एक जना अधबैंसे पुरूष र एउटी युवती त्यस क्याफेमा आए। हामी बसिरहेका ठाउँभन्दा २ वटा कुर्सी अघि उनीहरू थिए। केटी मान्छे उक्त अधबैंसेतिर अनि अधबैंसे हामीतिर फर्केर बसेको थियो। एकछिनमै उक्त अधबैंसेले उसलाई आफ्नो साइडमा बोलायो अनि ऊ युवतीको काँधमा टाउको राखेर कपाल मुसार्न थाल्यो।
हामी एकअर्कालाई हेर्दै हाँस्न थाल्यौं, सायद केहीले असहज महसुस पनि गरे।
एक जना साथीले मेरो कानैनिर आएर भनी- हेर्दा बाउछोरी जस्तो छन्, के चटक गरेका होलान् छ्या!
मलाई पनि त्यत्ति ठीक लागेन।
अनि हाम्रो साउती, खासखुस सुन्न थालेपछि ती प्रतिष्ठित व्यक्तिले सानो स्वरमा भने- केही परिबन्द पनि होला सबै कुरालाई नेगेटिभ लिनुहुन्न।
उनले त्यसोभन्दा मलाई मनमनै यो मान्छे पनि यसै गर्छ होला, ठीक रैनछ भन्ने लाग्यो। तर केही भनिनँ। अरू केही साथीले पनि त्यही सोचेका थिए होलान्।
त्यसपछि, ती व्यक्तिलाई हामीले गलत बुझ्यौं भन्ने लागेछ कुन्नि उनले एउटा कथा सुनाए।
राजनीतिमा लागेर खुब चर्चित भएका एक जना नेताको। जसलाई मानिसले राम्रो र शालीन नेताको उपमा दिन्थे। म पनि तपाईंहरूले जस्तै तरिकाले सोच्थें म केटा मान्छे भए पनि त्यसरी छोरी चेलीलाई उनीहरूको इच्छाविपरीत जिस्क्याउने, घरमा श्रीमती हुँदाहुँदै अनेक केटी घुमाएर बस्नेलाई नराम्रो नै मान्थेँ। तर, ती व्यक्तिका कुराले म कताकता कन्भिस भएँ।
पटक पटक मन्त्री भइसकेका ती नेताले एकदिन यस्तै भेटमा सुनाए। उनले टन्न रक्सी खाएका थिए। ती व्यक्तिको प्रेम विवाह भएको थियो। त्यत्तिबेला बहुतै दुखद समय खान,लाउन समेत नपुग्ने अवस्था। ती नेता एउटा पसलमा काम गर्थे उनकी श्रीमती एउटा सरकारी अफिसमा चिया पकाउने। उनीहरूलाई दु:ख थियो, तर बहुतै मिलेका थिए।
काठमाडौंको असनमा उनीहरूको डेरा थियो, सानो, अँध्यारो र भर्याङ मुनिबाट जाने हुँदा निहुरिएर छिर्नुपर्ने। विस्तारै ती नेता राजनीतिमा अघि बढ्दै गए। मानिसहरू चिन्न थाले, अलिकति चर्चामा पनि आउन थाले। अनि उनले अरूको पसल छाडेँ। ठमेलमै एउटा होटल सुरूआत गरे। श्रीमती पनि त्यही काम गर्न थालिन्। विस्तारै होटल चल्न थाल्यो। उनीहरूको हैसियतमा केही वर्षमै सुधार आयो। ती व्यक्ति पार्टीमा थप परिचत बन्दै गए।
उनले अनि आफ्नो पिआर बढाउन बानेश्वरमा एउटा अफिस राखे। अनि त्यसमा २ जना मानिस पनि राखे। त्यही बीचमा उनीहरूका २ बच्चा पनि भए। होटललाई थप आधुनिक बनाए, व्यवस्थित बनाए। तर उनको श्रीमतीमा भने एकाएक परिवर्तन आउन थाल्यो। उनले पिआर अफिसमा राखेको एक जना महिला कर्मचारीमाथि अनेक आशंका गर्न थालिन्।
एकदिन त काम गर्दाकै सिलसिलामा गएर ती नेताकी श्रीमतीले धम्की दिइन्- यसलाई निकाल्ने कि म जाऊँ?
श्रीमतीले अति गरेपछि ती नेताले राम्रो काम गरिरहेकी कर्मचारीलाई निकाले। त्यसपछि उनले ती निकालिएकी युवतीसँग क्षमा मागे। तर, नेताजीकी श्रीमतीको शंका गर्ने प्रवृत्ति भने रोकिएको थिएन।
एकदिन उनी एउटा विदेशी सहितको मिटिङमा कुनै क्याफेमा बसेका थिए। ती विदेशी जापानिज थिए, र उनको अनुवादक भने भर्खरकी युवती थिइन्। तर, हस्याङ्गफस्याङ्ग गर्दै उनकी श्रीमती त्यहाँ आइन्। मिटिङमा पसेर ठूलाठूला आँखा पारिन् र उनीहरूकै अगाडि कराइन्। खाली भर्खरकै तरूनी पछि लगाएर हिँड्ने होइन, अनि म के मन पर्थ्यो!
एकछिन त सबै जना ट्वाँ परेर मुखामुख गर्न थाले। अनि ती नेताजी उठेर श्रीमतीलाई फकाइफुल्याइँ घर पठाए।
त्यहाँ केही पारिवारिक समस्यामा कारण श्रीमती रिसाएको भन्दै छलफलतिर लागे। अनि, त्यो दिनबाट कहिले पनि भट्टी नछिरेका उनी एउटा साथी लिएर भट्टी छिरे। उनले यति धेरै पिए। उनको होस नै रहेन। उनी साथीको मद्दतले त्यहीँ रहेको होटलमा सुते र भोलिपल्ट मात्रै घर पुगे। घरमा पुग्दा उनकी श्रीमती अझै ठुस्केर बसेकी रहिछिन्।
उनले खाटमा बसेकी श्रीमतीलाई ठूलो स्वरमा प्रश्न गरे- कति बेइज्जत गर्छेस् मेरो? कम्तीमा मेरो हैसियत र जिम्मेवारी त बुझ्दे। जीवनमै ठूलो अपमानित महसुस गरें मैले। विदेशीको अगाडि मेरो शिर लाजले झुक्यो। अब, अर्को पटक म कसरी मुख देखाउने? के भएको तिमी? सुख बढी भएको हो तिमीलाई? घरमा काम केही छैन, काम गर्ने मान्छे छन् अनि अनावश्यक सोचेर हिँड्ने? तिमी नबने पनि मलाई बन्नु छ, देश र समाजका लागि केही गर्नुछ।
काम गर्ने सिलसिलामा केटाकेटी बुढाबूढी जो पनि हुनसक्छन् यति जाबो कुरालाई लिएर त्यति ठूलो मान्छेको अगाडि गएर पब्लिकमै मेरो बेइज्जत गर्ने तिम्रो सोचलाई धिक्कार छ!
यति भनिसक्दा उनको श्रीमती अझ चर्को स्वरमा चिच्याइन्- मलाई तिम्रो करियरको मतलब छैन, तिमी राजनीति गर/नगर नेता बन/नबन मलाई के ? सबै नेता भनेका चोर नै त हुन्। दुनियाँ केटीहरूसँग मस्किन पाएपछि मलाई घरमा आएर थर्काउनु के नौलो भयो र? उनको कुराले ती नेताजी झनै अवाक् भए।
छिट्टै मन्त्री बन्न लागेका उनलाई श्रीमतीको कदमले अप्ठ्यारो बनाउने हो कि भन्ने लाग्यो।
'तिमी घरमै बस, घरको काम सम्हाल, होटल सम्हाल सकिगयो नि दुनियाँ केटीहरू हुने ठाउँमा किन काम गर्नु?' श्रीमतीले सम्झिने स्थिति नदेखेपछि ती नेताजी अर्को कोठातिर लागे।
जीवनमै पहिलोपटक उनी बेस्सरी चिच्याएर रोए।
उनलाई बहुतै बेइज्जत भएको अनुभव भयो। अनि उनी दिनभरि नै होटलमा बसेर रक्सी खाए। उनलाई श्रीमतीले आफ्नो सबै दायित्व बुझ्दियोस्, घरमा आउने व्यक्तिहरूलाई राम्रो व्यवहार गरिदियोस्, कामबाट फर्किएपछि अनेक गनगन नभई दिनभरका सहज अप्ठ्यारो सोधिदियोस् भन्ने नलागेको होइन, तर हरेक दिन श्रीमती आगो भएर बसेकी हुन्थिन् मन लागे खान पकाउने, मन नलागे खाना नपकाउने र कतिपय बेलामा त उनी भोकै सुत्थेँ त कहिलेकाहीँ होटलबाट मगाएर खान्थे।
होटलमा खाना खाएको दिन श्रीमतीले भन्थिन्, मैले पकाएको खाना त के मीठो लाग्थ्यो, को कोसँग मस्किँदै खाने बानी लागेको हो। उनले बेलुका घर पस्दा मीठो बोलीमा खान दिएको वर्षौ भइसकेको थियो, दिनभरि अनेक मानिसको समस्या सुनेर लखतरान भएर फर्किएका नेताजीलाई श्रीमतीको व्यवहारले घर जाने मन लाग्न छोडिसकेको थियो।
उनी रक्सी बढी पिउने र आफूलाई बुझिदिने, काममा सहयोग दिने हौसला दिने कोही व्यक्तिको खोजीमा थिए। त्यसपछि उनले एक जना केटी मान्छेलाई साथमै राख्न थाले। जसलाई उनी हरेक पीडा सेयर गर्थें। त्यसपछि उनी घर जान छोडे। लगभग घर छिन्नभिन्नकै अवस्थामा पुग्यो। उनको र श्रीमतीको राम्रोसँग कुरा हुन छाडेकै वर्षौ भएको थियो। ती नेताले रूँदै होटलमा सेयर गरे, के गरौँ त म? श्रीमतीले केही गर्दा बुझिनन्, कति सम्झाएँ मेरो कार्यक्षेत्रमा के-के हुन्छ सब भने।
तर, उनी सुध्रिनन्, मलाई थप अविश्वास गर्ने कोही महिलाको फोन आउने बित्तिकै को भनेर सोध्ने, कतिपयलाई किन फोन गरेको भनेर थर्काउने र कतिपयलाई ब्लक गर्दिने अनेक गरिन्। विश्वास दिलाउन अनेक प्रयास गरेँ तर लागेन अनि म अरू केटी मान्छे र रक्सीको साथ लिन बाध्य भए। मेरो पनि मन हो नि कहिलेकाहीँ दिग्दार लाग्छ, कहिले धेरै तनाव, टेन्सन हुन्छ अनि घरमा शान्ति खोज्न आइपुग्दा श्रीमतीले कुरा नबुझेपछि अरू मान्छेको सहारा लिन बाध्य भएँ।
कहिल्यै रक्सी नखाने मान्छे जड्याँहा भए, छोरा-छोरीबीचमा पनि सम्बन्ध राम्रो देखाउन सकिन। यत्तिसम्म कि म अझै माथि पुग्थेँ होला उनकै शंकाको कारण मेरो धेरै कुरा रोकिए।
अहिले पनि हामी देख्नलाई एकै ठाउँमा छौं तर भावनाले हामी एक ठाउँमा छैनौं। एउटै कोठामा हुन्छौं तर हामी नजिक भएको अनुभूति गर्दैनौं। सुखदु:ख सेयर नगरेको वर्षौं भयो, अब बानी पर्यो, हामी अहिले जर्बजस्ती जोडिएका जस्तामात्रै छौं जर्बजस्ती सम्बन्ध निभाएका छौं, एकअर्काप्रतिको माया र सम्मान खासै छैन। बाहिर लोकलाजको लागि मात्रै मौन छौं। के गर्ने मानिसलाई सबै थोकले पुगे पनि भावना राम्रो भएन भने घर नर्क बन्ने रहेछ।
म उनले शंका गरिन् घरमै बस् भन्नि भन्दैमा मेरो करियरलाई दाउ लगाउन सक्दिनँ। हेरौं कतिसम्म पुग्छ, पटक/पटक गाँसेको हाम्रो सम्बन्ध। उनले जस्ताको तस्तै हामीलाई सबै कथा सुनाए।
अनि हामी पनि कन्भिन्स भयौं।
'त्यो त हो सम्बन्ध भनेको विश्वासमा टिक्नुपर्छ एकअर्कालाई बढी शंका आशंका र कचकच गर्न थालियो भने सम्बन्ध झनै बिग्रिन्छ' म नजिकै बस्ने साथीले भनिन्।
मलाई पनि कताकता यो कुराले मन छोयो। चाहिनेभन्दा बढी शंका गर्यो भने हरेक राम्रा सम्बन्ध पनि विस्तारै विच्छेदमा परिणत हुन्छन्।
श्रीमान् होस् वा श्रीमती दुवैले एकअर्काको काममा सम्मान र समर्थन नगर्ने हो भने सफल हुन धेरै गाह्रो पर्ने रहेछ भन्नेमा सबै कन्भिन्स भए।
सम्बन्ध भनेको विश्वासमा टिक्ने रहेछ, विश्वासको जग हल्लियो भने विस्तारै सबै सकिने रहेछ।
लाग्यो, भावनाविहीन सम्बन्धहरूमा न कुनै आकर्षण हुन्छ, न कुनै अस्तित्व यी भनेको रङ उडेको कपडाजस्तै हुने रहेछन् फिका फिका!