गीत, संगीत, साहित्य तथा कला संसारभरका मानिसको साझा ऐना हो। यसकै कारण मानिसहरू आफ्ना भावना साट्ने गर्छन्।
फरक फरक ठाँउ तथा फरक फरक समय अनुसार लेखिने साहित्य अथवा गुनगुनाइने गीत संगीतको अमरत्वले मानव जीवनलाई ढाडस दिइरहेको हुन्छ।
मानिसको मन तथा मस्तिष्क उद्वेलित पार्न सक्ने सामर्थ्य हुन्छ गीत तथा संगीतमा। बब मार्लीले भनेका छन्, ‘संगीतको सबैभन्दा राम्रो पक्ष जब यसले तपाईँलाई हिर्काउँछ, तपाईँलाई कुनै पीडा महसुस हुँदैन।’
यो छोटो आलेख गीत तथा संगीतप्रतिको उच्च सम्मान हो। यस भित्र भित्रिएका विकृति र विसंगतिहरूका विरूद्ध भने यो हाकाहाकी चेतावनीसँगै आक्रोश हो। नेपालको गीत, संगीत चलचित्र क्षेत्रमा सम्भवत ६०–७० प्रतिशत विदेशबाट लगानी हुन्छ। विदेश भन्नाले अमेरिका, अष्ट्रेलिया र बेलायत मात्र नभई अन्य मुलुक पनि बुझ्न सकिन्छ।
आफ्नो मातृभूमिबाट टाढा भए पनि आफ्नो कला संस्कृतिलाई निरन्तरता दिने उत्कट चाहनाले थुप्रै कलाप्रेमी आफ्नो ब्यस्थ दैनिकी र दु:खले आर्जेको धन नेपाली गीत संगीत तथा कलामा पोख्दै आईरहेका छन्। त्यसमध्येको एउटा बबुरो म आफैं हुँ।
सपना, रहर या वाध्यताले बरालिएका म जस्तै बबुराहरू धेरै छन्। कयौं बबुराहरूको आफ्नै कथा र ब्यथाहरू हुनु स्वभाविक छ। तर यसको नाजायज फाईदा उठाउँदै केही कलाकर्मी (डाइरेक्टर, एडिटर, एरेन्जर, संगीतकार) भन्ठान्नेहरु निरन्तर बेईमानी गर्दैछन्।
पैसा प्याकेजमा मनग्य लिने तर काम विभिन्न बहानामा ढिलासुस्ती गर्दै झुलाउने। फोन गर्दा पनि नउठाउने म्यासेजको रिप्लाई नगर्ने। जवाफदेहिता नभएका तत्वले पवित्र मानिने कलाकरिता क्षेत्र हरेक दिन दुषित हुँदै गएको छ। यो क्षेत्रमा अन्य विकृतिका पाटा पनि छन् जस विरूद्ध निरन्तर लडाँई जारी राख्नुपर्छ। तर एउटा विदेशी भूमिमा संघर्ष गरिरहेका म जस्तै संगीतलाई माया गर्नेप्रति गरिएको ब्यवहारले भने मनमा ठेस लागेको छ।
आफ्नै ब्यथा जस्तो लागे पनि यो संगीत क्षेत्रको क्यान्सर बन्दैछ। समयमै यसको उपचार नगरिए यसका छिटाहरूले कयौं प्रतिभाहरूको कोपभाजन गर्नेछ। ३ हप्ता हैन, ३ महिना होइन, ३ वर्ष भन्दा बढी बिभिन्न बाहानामा काम पूरा नगर्नेहरुले के जीवन सधैं यसरी नै चल्छ भन्ठानेका हुन्? तर सत्य होइन, बिल्कुल होइन।
गलत गर्नेहरूले सजाय भोग्नैपर्छ। समयले सधै ठगिरहन र सधै वेइमान गरिरहन साथ दिँदैन। समयको अगाडि ईमानको ढोका बन्द गर्ने कोशिश नगरौं। जब ईमानको ढोका बन्द हुन्छ तब ढोका खोल्ने साँचो भेटिन मुस्किल पर्दछ। कामना गरौं बेइमानहरूको घैंटोमा घाम लागोस्।
संसारमा कुनै पनि चिज स्थायी हुँदैन। सत्कर्मको सम्मान हुन्छ कुकर्मको घृणा। बडे बडे हस्तीहरुले पनि धुलो चाट्नुपर्छ। यो मेरो मात्र समस्या नभई विदेशबाट काम गर्ने कयौं साथीहरुले भोगेको पीडा हो। केही साथीहरू हाँसोको पात्र पो भईने हो कि भनेर चुपचाप बसेको पनि देख्न सकिन्छ। जुन क्षेत्रको अन्तरवस्तुका बारेमा आफूलाई जानकारी हुन्छ त्यसका बारेमा मौनता साँध्नु पनि त अपराध नै हो। आखिर हामी आफैंले नबोले अरू कसले बोल्छ। यो रोगको उपचार गर्न कोही न कोहिले त बोल्नैपर्छ।
आफूलाई बरिष्ठ संगीतकर्मी ठान्नेले पनि धेरै बेइमानी गरेको पर्याप्त समाचा सुन्न पाईन्छ। तर थुप्रै विशेष गरी नयाँ कलाकारहरु बोल्न डराउने गरेका छन्। केही पीडितका कुराहरू सुन्दा चल्तीमा भएका संगीतकारले एउटै गीत ४–५ जना गायक गायिकालाई सुनाउने अनी पैसा सबैजनासँग बुझ्ने गरेको पाइएको छ।
अन्त्यमा एउटा गीत सबैले गाउन सम्भव पनि भएन। अनी सुरू हुन्छन् अनेक बाहना, तिक्डमबाजीका साथ ढिलासुस्ती। साथै त्यसको बदलामा हजुरलाई अर्को दमदादार गीत बनाईदिन्छु भनेर बारम्बार झुलाउने नाटक।
अब कसै कसैलाई यो बीना प्रमाण बोलिरहेको छ भन्ने पनि लाग्ला। सिसी क्यामेराको फुटेज नै हराउने देशमा। नेपालमा प्रमाण जुटाउन हम्मे हम्मे नै पर्छ। अझै पनि बोलीचाली मै विश्वास गर्ने र लेनदेनको सम्झौता गर्ने चलन छ। त्यस्ता बेइमानहरुको के फेसबुकबाट तस्बिरै सर्वाजनिक गर्दै सप्रमाण पेश गर्नुपर्ने हो वा नेपालमा रहेका संस्थाहरु जस्तै (नेपाल प्रस्तोता संघ, नेपाल संगीतकार संघ, नेपाल निर्देशक संघ, लोक दोहोरी प्रतिष्ठान आदि आदि) सप्रमाण उजुरी गरे ती संस्थाबाट कारवाही हुन्छ?
आदरणीय संगीतकार, कलाकार, डाइरेक्टरज्यूहरु, तपाईँहरूको संघ संस्थाले त्यस्ता बेइमान काला धब्बालाई कसरी नियमन/ कारबाई गर्नुहुन्छ? त्यति धेरै संघ संस्थाले पक्कै पनि कला क्षेत्रको दुर्गन्ध ब्यथिति रोक्न पहल गर्नुभएको छ। अन्यथा नेपालका राजनीतिक दलले जस्तै पद ओगट्ने, खदामाला लगाउनेमा सिमित हुनेछ। संगीत क्षेत्रमा लाखौं करोडौं लगानी छ त्यसको किन अवमूल्यन? किन यस्तो मनपरी?
आज हामी डिजिटल प्रविधिमा पुगेको पनि वर्षौ भइसक्यो। तर हाम्रो कला क्षेत्रमा किन यस्ता महत्वपूर्ण कुराहरु ब्यवस्थित गर्न अन्तर्राष्ट्रिय प्रचलन प्रयोग गरिँदैन? के हामी स्मार्ट फोन बोक्दैमा, सुकिला कपडा र चस्मा लगाउँदैमा स्मार्ट भईन्छ त? हैन भने हामी आफैं कार्यरत क्षेत्रमा किन ब्यबस्थित गर्न सकिदैन?
संगीत सम्बद्ध संस्थाले गायक ,गायिका, संगीतकार, डिरेक्ट, अडिटर, रेकर्डिङ स्टुडियो, एरेन्जरसँग सहकार्य गर्दै गर्दा सबै पक्षले अनिवार्य लिखित सम्झौता गर्नुपर्ने प्रावधान किन अघि नसार्ने? भविश्यमा कुनै पनि एउटा पक्षले उल्लंघन गर्दा पीडितलाई कानुनी प्रकृयामा जान सजिलो होस्।
कला क्षेत्रलाई आफ्नो पेशा बनाएर अगाडि बढ्नेले गम्भीरतापूर्वक सोच्न जरूरी छ। पेसा सम्मानित भएमा मात्र नाम, दाम अनि सान हुन सक्छ। कला तथा संगीत क्षेत्रको मर्म कुशल कर्मले मात्र गर्न सक्नेछ। महान दार्शनिक प्लेटोको एउटा भनाई छ,‘ संगीतले ब्रमाण्डलाई आत्मा दिन्छ, दिमागलाई पखेटा दिन्छ, कल्पनालाई उडाउँछ र सबैलाई जीवन दिन्छ।’ चेतना भया !
लेखक पोखरेल सिड्नीका कलाकर्मी हुन्