‘हामी आफ्नो जीवनको एक पन्ना च्यात्न सक्दैनौं, तर हामी पुरै किताबलाई आगोमा फाल्न सक्छौं।’
माथिका भनाई आफ्नो समयकी युरोपकै लोकप्रिय लेखिका जर्ज सेण्डकाको।
फ्रान्सकी लेखिका सेण्डका लेखहरूले कुनै समय युरोपमा चेतनाको आगो सल्काएको थियो। खासगरी उनका कृतिहरूमा आत्मदाह तथा आत्महत्याप्रति तिब्र असहमति र आक्रोश पाइन्थ्यो।
खै कुन शब्दहरूले सम्बोधन गरौं! बस यति लेख्न सक्छु छातिको बह भनौं कसरी ? आँखाको दह पोखौं कसरी? आँशुको दह हो सुकेर जाला। मुटूको घाउ हो ओभाएर जाला …
यदि समाज बाँच्ने हो भने निहारिकाहरू बाँच्नुपर्छ। यदि समाज मर्ने हो भने निहारिकाहरू मर्नुपर्छ। जबसम्म समाजमा पामरहरूले सजाए पाउँदैनन् तबसम्म निहारिकाहरूलाई बाँच्न निकै कठिन हुन्छ। यदि बाँचे भने पनि प्रत्येक पल हेला र घृणामै बेलिनुपर्छ। देख्दा कायर देखिन्छन् निहारिकाहरू तर उनीहरूका अगाडि मृत्यु समेत काँपिरहेको हुन्छ।
घोर निराशा या आक्रोश जे पनि हुनसक्छ। राष्ट्रपति भवन अगाडि आत्मदाह गर्न खोज्ने निहारिकालाई प्रहरीले नियन्त्रणमा लियो।
यो घटनाको पृष्ठभूमि के हो? सत्य तथ्य सम्बन्धित निकायले पत्ता लगाउनुपर्छ। दोषीले सजाय पाउनुपर्छ निर्दोषले न्याय। रोग, भोक या दबावमा दैनिक कयौं मानिसले आत्महत्या गर्छन् आत्मदाह गर्छन्।
धेरै मानिसहरू मृत्युसँग डराँउछन्। तर केही मानिसहरू जीवनसँग डराँउछन्। मर्नुभन्दा कठिन छ बाँच्न। मर्नेहरू मरेर जाँन्छन्। तर तिनीहरूको पछाडि हुनेहरू भने हजारौं पटक मरिरहेका हुन्छन्। आत्महत्याको सघनता विश्वब्यापी रूपमा बढ्दो छ। ब्यस्थ जीवनको यो एउटा दाग हो। आफूले आफूलाई समाप्त गर्नु हुँदैन। यसलाई जीवनको अपमान समेत मान्न सकिन्छ।
जब गुराँस फुल्ने जीवनमा सघन कालो बादल मडारिन्छ। न हर्ष हुन्छ न गौरव बस हुन्छ त खाली उदासीनता। आफूप्रति नै अन्जान जीवनका बूँदहरु मृत्युको बाटो रोज्छन्! उराठ शून्यताहरु र उदास रिक्तताहरुबाट बाहिर आउन सक्दैन। खुला आकाशको निलो पछ्यौरीमा जाने हिम्मत गर्दैनन्।
सुगन्धहीन जीवनको भोको लास भएर निराशाका गाँसहरू चपाइरहेका हुन्छन्। प्रत्येक गाँसहरूमा मृत्युको जलधारा पिइरहेका हुन्छन्। निराशा मृत्यु हो आशा जीवनको आधार। आफूले आफूलाई माया गरौं। आफूबाहेक आफ्नो भन्ने अरू केही हुँदैन। आफूबाहेक आफ्नो प्रतिस्पर्धी पनि त अरु कोही हुँदैन। ए, निहारिका तिमी बाँच्नुपर्छ, र लड्नु पर्छ यी पामरहरूसँग। तिमी देखिएकी एउटा पात्र मात्र हौं। तिमीलाई थाह छ? यो देशमा दैनिक कयौं निहारिकाहरू मारिएका छन्। मरिरहेका छन्।
लाग्छ, जुनकिरीहरूलाई मार्न उद्धत अँधेरी रात हो मान्छे। सुन्दर खोला अनि शान्त झरनाहरूको दुस्मन हो मान्छे। प्रकृति र त्यसका धड्कनहरूलाई रक्तमुक्षेन पार्दैछ अनि डकार्दैछ अहंकार। विस्फोटन छ। बारूदको गन्ध छ, अनि मृत्युको साइरन छ। दुई खुट्टे मानव केवल आफ्नो मात्र विनाश गरिरहेको छैन। प्राकृतिक सम्पदा तथा जनावरको आँसुमा स्नान गर्दैछ। र स्नान गर्दैछ निर्दोष निहारिकाहरूको आँसुमा। थुक्क भन्न मन लाग्छ आफैंलाई। एउटा दुई खुट्टे मानव हुनुका नाताले म कसरी अपवाद बन्न सक्छु अनि मेरो निधार कसरी ओभानो हुन सक्छ।
मान्छे जमिनको जीवनलाई मासेर अबोध बालकलाई जमिन जोत्न पठाँउदैछ। कलिला भविष्यलाई काट्दा काट्दा खुँडिएका तरबारहरूमा मध्ययुगीन दासता देखिँदैछ। अचानोमा छ प्रकृति। अचानो मै छन् हजारौं निहारिकाहरू। खै कुन नामले पुकारौं? हामी दुई खुट्टेहरूलाई। मानव, मुर्खता या अहंकार।
मृत्युको मुखबाट फर्किदाँ भेटिएकी मृत्युकै अग्निकण निहारिकालाई न्याय दे! निहारिकाहरू बाँच्नुपर्छ, तब मात्रै समाज बाँच्न लायक हुन्छ। त्यसै अकारण बन्दैनन् मानिसहरू मानव बम। त्यसै अकारण डुब्दैन मानिस निराशामा। यो समाज, यो सत्ता, यसको चरित्र र यसका ठालुहरूले एकछिन आँखा चिम्लिदैमा सत्य लुक्दैन।